काठमाडौँ- काठमाडौँ उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई नाटकका रूपमा देखाइने भएको छ ।
बज्र कला कुञ्जको प्रस्तुतिमा ‘पचली भैरव’ नामक सांस्कृतिक नाटक कात्तिक २५ गते बाट टेकुको कौशी थिएटरमा मञ्चन हुँदैछ ।
नाटकको निर्देशन, कथा तथा परिकल्पना चन्द्रमान मुनिकारले गरेका छन् । इँगिहोपो कोंइच सुनुवार नाटकका सहनिर्देशक हुन् ।
निर्देशक मुनिकारले नाटकको मुख्य आशय नेपालको कला संस्कृति, धार्मिक, परम्परागत र सांस्कृतिक मौलिकताको संरक्षण संवर्धन र उत्थान गर्नु रहेको बताएका छन् ।
पचली भैरवको स्थापना र १२ वर्षे जात्रामा देखाइने कथाहरू समावेश गरी नाटकीयशैलीमा नाटक तयार गरिएको छ ।
नाटक मञ्चनका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, सानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारलगायत कलाकारले अभिनय गर्नेछन् ।
पचली भैरवलाई भैरवहरूमध्येका प्रमुख मानिन्छ । पञ्चलिंगेश्वर शव्द अपभ्रंस भएर पचली भएको मानिन्छ । ५ प्रकारका ऊर्जा मिलेर पञ्चलिंगेश्वर उत्पत्ति भएको किंवदन्ती पाइन्छ । काठमाडौँको व्रह्मटोल, चल्खु, टेकुलगायत क्षेत्रका स्थानीयले पचली भैरवको जात्रा धुमधामले मनाउने गरेका छन् ।
किंवदन्तीअनुसार किराती राजा यलम्बर पञ्चलिंगेश्वर (बागमती विष्णुमती दोभान)मा साधना गरिरहेका बेला उनीसँग स्थानीय नेवार समुदायकी छोरी रुक्मिणीसँग भेट भएपछि उनीहरूबीच प्रेम बढ्दै गयो । तर, उनीहरूको प्रेम वियोग भयो । त्यसपछि उनीहरू पचली भैरवको १२ वर्षे मेलामा संयोगले भेट भएको किंवदन्ती छ ।
नाटक मंसिर ४ गतेसम्म चल्नेछ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...