'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३०

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले । 
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य ९धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका० लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” ९आन्दोलन कविता० का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 
यस अन्तर्गत प्रस्तुत छ कवि अस्मिता पौडेलको कविता– ‘म त्यो हुँ’ । 


ढुंगाको छातीमा छचल्किइरहने जीवनको सुरुवात हुँ
बलेँसीको अन्तिम थोपामा मिश्रित  विश्राम हुँ
म त्यो हुँ 
जो अर्थहरुको खोजीमा संवाद गरिरहन्छ 
गहिराइहरुसँग 
तर पनि उत्रिइरहन्छ आफ्नै विश्वासको तलाउमा
इतिहासको गर्तमा भेटिने जिउँदो अक्षर हुँ
बुँदबुँद मिलेर बनेको शब्दको पहाड हुँ
म त्यो हुँ
जो आफैले भत्काइरहन्छ आफ्नै किनारा
तर पनि सम्हालिरहन्छ वर्तमान 
कतै बगिरहने गतिशीलता हुँ
कतै जमिरहने स्थिरता हुँ
तिम्रो पूजाकोठामा उभिएको ईश्वर 
मेरो सन्तान हुन सक्नेछ
तिम्रो संघारमा ठोकिएको पाइला
मेरो स्पर्शले पवित्र हुन सक्नेछ
म त्यो हुँ
जो आफै मेटाइरहन्छ बालुवामा लिखित नाम
तर पनि बचाइरहन्छ अस्तित्व 
सभ्यताहरुको संक्षिप्त यात्रा म हुँ
पत्र-पत्रमा उप्किरहने संवेग म हुँ
तिमी जे बनाउँछौ म त्यही हुन सक्छु।।
सूर्यमुखी फूलले सूर्य अँगालिरहेजस्तो
चुमिदेऊ प्रेमिल बिम्बहरुद्वारा मलाई
म सोच्दिन पराई  तिमीलाई
म बनिदिनेछु तिम्रो इच्छास्वरुप
बुझ्नु- म कालीगण्डकी मात्रै होइन
धड्किइरहने सजीवता हुँ
बदलिइरहने ऋतुको चाल हुँ
म तिम्रै क्षमतामा लुकेको सम्भावना हुँ 
तर यत्ति नबुझ्नु 
बुझ्नु- म आँधी हुँस भत्काउन सक्छु- पर्खाल
म तुफान हुँस मिच्न सक्छु- सीमा
यसर्थ,
नबिथोल्नु मेरो मौनतालाई 
नगिजोल्नु मेरो सभ्यतालाई 
नचिथोर्नु मेरो गर्तलाई 
तिमीलाई थाहा होला
नदीको प्रतिशोध ज्यादा खतरनाक हुन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार