'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २९
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २९
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो ।
कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् ।
पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ ।
कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका)लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ कवि निरज दाहालको कविता– ‘नदीको बाटो’ ।
बग्न देऊ उसलाई
जो आफू बनेर
वर्षौंबाट बगिरहेको छ ।
सुसाउन देऊ उसलाई
जसको सुसाइले
थकित बटुवा
'जीवनको सार भेट्छ ।'
जीवनबाट विश्राम लिएको तनले
'स्वर्गीय बाटो भेट्छ ।'
नरोक नदीलाई
नछेक नदीलाई
सभ्यतामा उभिएर बाँचेको नदीलाई
तिमीले आँखा लगायौ भने
कुनै दिन नदीले ताण्डव नाच्छ
तिमीले भनेको बाटोमा नदी हिँड्छ ?
नदीको आफ्नै बाटो हुन्छ, बिसिर्यौ ?
तिमीले भनेको बाटोमा नदी
आज हिँड्छ
भोलि हिँड्छ
पर्सि हिँड्छ
अर्को दिन
नदी आफ्नो धरातल खोज्दै आइपुग्छ
त्यो दिन तिमीलाई नदीले आफ्नो बाटो सोध्यो भने ?
नरोक नदीलाई
नछेक नदीलाई
बरु नदीको मुटु निकाल्न खोज्नेलाई
मध्यरातमा जाऊ अनि रोक
बरु नदीको सास तान्न खोज्नेलाई
राजधानी आऊ र छेक बाटो ।
नदीलाई नदी भएर बाँच्न देऊ
तिम्रो अधिकार नदीसँगै हिँड्ने हो
नदीलाई सँगै लिएर हिँड्ने होइन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...