'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २८

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।

यस अन्तर्गत प्रस्तुत छ कवि नेत्र एटम (Netra Atom)को कविता– प्रिय काली !’ ।

...

प्रिय काली !
————
 © नेत्र एटम
जीवनकी आधार तिमी
आस्थाकी पर्याधार तिमी
कत्ति घाम उदाएका छन् तिम्रो अँगालोमा
कत्ति फूल मुस्कुराएका छन् तिम्रो मुहारमा
बगरमा गुनगुनाउँदै गीतहरू

कत्ति खोले उम्लेको छ 
तिम्रै चुच्चे चम्कामा
कत्ति क्रोध सनसनाएको छ 
तिम्रै काला आँखामा
कत्ति अर्थहरु छापिएका छन् 
तिम्रै श्यामशिलाका गर्भमा
सबै(सबैलाई हुर्काएर जलाधारको पाठेघरमा
सबै(सबैलाई गतिशील बनाएर 
बतासको गोरेटोमा

जीवन्त रगतझैं बगिरहेछ्यौ हामीभित्र
सास लिइरहेछौं हामी तिम्रै सुवास
राक्षसी सुनको लट्ठीले छोएर 
लाटो पारिएको तिम्रो 
अस्तित्वको ऊर्जालाई जोगाउन
पत्ता लगाउनुछ स्वार्थको काल
अनि फोड्नुछ पुँजीवादको स्फटिक खम्बा
मुट्ठीमा कैद गर्नुछ 
तिनको निर्देशनमा भुनभुनाएर 
फुत्त भाग्ने भमरोझैं कालो कर्तुतका साक्षीहरु
र, 
तिम्रै पानीको धारलाई 
मानेर दधिधिको हाडजस्तै कठोर हतियार
उभिरहेछौं हामी निरन्तर लामबद्ध 
सुकाउन ठिक पारिएको 
प्रवाहशील तिम्रो छातीमा चिसै लुगासित
अँजुलीभरि आँसुको संकल्प
नीलकण्ठझैं तयार भएका छौं 
पिउन सत्ताको हलाहल 
प्रिय काली !

(काठमाडौं 

...

May be an illustrationकालीगण्डकी बचाऔँ अभियान - Save Kaligandaki 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार