नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २७
नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २७
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ कवि नवीन शर्मा (Nabin Sharma)को कविता– 'प्रसवपछि’ ।
...
प्रसवपछि
———
© नवीन शर्मा
पहाड पहाड हुनुकै पीडाले थेचिए पनि
जसरी शान्त खोला बगाउँछ
आफैलाई निचोरेर/ चिरेर
त्यसरी नै म जन्मिएको थिएँ
त्यो खोला नदीसँग मिल्छ या मिल्दैन
त्यो खोला सागरसँग मिल्छ या मिल्दैन
त्यो खोला कि तालमै पुगेर सकिन्छ
अथवा समुद्र भेटेर आनन्दको निद्रा निदाउन सक्छ
जसरी आफ्नै परिश्रमले खियाउँछ भूगोलको काख
जसरी आफ्नै थाप्लोमा बोकेर लैजान्छ ढुंगाको देश
घडीको ब्रह्माण्डमा
म्याराथुन खेलिरहेका सुईहरुसँगै
आफ्नै रङ बिर्सिएको रुखजस्तो
मानौं कि रुख बूढो भएपछि
पातले आफै साथ छोडेजस्तो
- बूढो रुख हो कि पात ?
स्वार्थको भागबण्डामा यो धर्तीको छाती बारम्बार
चिरेर लालपुर्जा देखाउनेहरु यो याद राख्नु कि
यो ब्रह्माण्डको आकार तिम्रो जिन्दगी हुर्काउन
आमाले चुसाएको स्तनको आकारसँग मिल्छ
मैले मेरी आमाको छातीमा ब्रह्माण्ड देखेको छु।
आमाको छाती च्यात्नु भनेको
ममताको स्रोत मास्नु हो
आमाको साँध मिच्नु भनेको
आफैलाई साँघुरोमा पार्नु हो
खोस्रिएर नदीको गर्भाशय
पारेर बाँझो पाठेघर
सभ्यताको जननी
मान्छेहरु गरिरहेछन्
आफ्नै आमाको दोहन
पहाड पहाड हुनुकै पीडाले थेचिए पनि
जसरी शान्त खोला बगाउँछ
आफैलाई निचोरेर/ चिरेर
त्यसरी नै म जन्मिएको थिए ।
***
-दाङ
...
कालीगण्डकी बचाऔँ अभियान - Save Kaligandaki
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...