यात्रा के हो ? भन्ने कुरा सबैले थाहै छ । यात्रा प्रायशः मानसिक आनन्दताका लागि र शारीरिक शक्ति प्रदानका लागि पनि यात्रा गर्ने गरिन्छ । जो यात्राधारीले चासोका साथ हेर्ने, पढ्ने र अनुभव गर्ने गरिन्छ । यसरी नै ताप्लेजोङ्को लिङ्खिम गाउँका रविन पतङ्वा अति कष्ट र दुःखका साथ याक्थुङ् (लिम्बू) भाषा उच्चमाध्यमिक शिक्षा बोर्डमा असोज १ गते २०७८ मा याम्बोःङ्को कार्यालयमा भाषा परीक्षाका लागि सरस्वती मावि भालुटार माङ्सेबुङ् इलामको उपकेन्द्र लिन टुप्लुक्क आइपुग्छन् । हामीले तत्काल बैठक बसी उपकेन्द्र दिने र केही व्यवस्थापन गर्ने निर्णय हुन्छ र वहाँलाई बोर्डबाट आउने भन्ने सूचना पनि दिई पठाउँछौँ । वास्तवमा वि.सं. २०६६ सालमा नै स्थापना गरेको ‘लिम्बू भाषा उच्चमाध्यमिक शिक्षा बोर्ड’ सञ्चालन हुँदै विभिन्न समस्या र अप्ठ्यारो कुइनेटाहरू पार गर्दै यस वर्ष (२०७८) सालमा मात्र ताप्लेजोङ् जिल्ला प्रवेश पाउँछ । एउटा सुखदको समय हो यो ।
समय बित्दै जान्छ, फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३, लिङ्खिम स्थित सिँवाबजारमा रहेको सिँवा माध्यमिक विद्यालयमा जानुपर्ने आउँछ । जसमा म र सुपरिवेक्षणका लागि सेरबहादुर लिम्बू जानुपर्ने अनिवार्य रह्यो, कारण कक्षा ११ र १२ का परीक्षार्थिहरूलाई परामर्श दिनुपर्ने ।
म कुनै तयारीमा छैन अथवा सरसफाईदेखि लिएर बाटोको सातुसामल समेतमा । यत्तिकै असोज १२ गते समय निकालेर उक्त समस्यालाई निराकरण गर्छु भन्दाभन्दै अविरल वर्षाको कारणले केही गर्न सकिन । त्यत्तिकै अवस्थामा सिँवा माविमा अनुगमन र परामर्श साथै केही छलफल चलाउनका लागि प्रस्थान गर्न तयारी हुन्छु ।
वास्तवमा सिँवा बजार, सिँवा मावि र साबिक लिङ्खिम गाविस कस्तो होला अथवा फक्ताङलुङ् गाउँपालिका वडा नं. ३ । मलाई लाग्छ, यो स्थान त धेरै दुरदराज, खासै बाक्लोवस्ती नरहेको, कछाड क्षेत्र । जहाँ केही पनि उत्पादन, खेतीयोग्य जमिन र प्रशस्तै भीरैभीरहरू होला भन्ने कौतुहलता जाग्छ मनमा । चट्टानको देश पक्कै होला र एउटा नाके डाँडीमा सानोबजार होला भन्ने अनुमान मानसपटलमा आउँछ ।
यात्रा क्रम :
असोज १३ गते बिहान अल्छी लाग्दै पनि छोराको मोटरसाइकल लिएर बिहानको ८ बजे याम्बोःङ् चोकमा छोरा निसुमले पुर्याउँदै निस्कन्छु । कच्ची मोटर बाटो याम्बोःङ् चोक, पात्लेभञ्ज्याङ्, घिसिङ्टार हुँदै कान्छिदोकान पुगेर मेची लोकमार्गको पक्की मोटर बाटो भएर साढे नौबजे तिर फेदेनमा पुग्छौँ र भवानी तावालाई एउटा सामान माग्न अह्राएको काम नभएपछि मोटरसाइकल धोएर हिलाम्य लाग्छौँ । लगभग पौने बाह्र बजे गोपेटारको आशिष् होटेलमा खाना खाएर काबेली हुँदै साढे दुई बजेतिर फुङ्लिङ् बजार पुग्छौँ । थकाली होटेलमा सर सुरेश लिङ्खिमसँग भेट हुन्छ । वहाँ हामीलाई लिन सिँवाबजारदेखि आउनु भएको रहेछ । वहाँकै पहलमा प्रधानाध्यापक ओम गौतमसँग भेट भई उच्च माध्यमिक शिक्षा बोर्डको पत्र र केन्द्राध्यक्ष नियुक्ति–पत्र बुझाउने काम सेरबहादुर लिम्बू सरले गर्छन् । हामीसँग रहेको मोटरसाइकल सुरेश सरको पहलमा भूपू मन्त्री विष्णु मादेनको आँगनमा लुकाउँछौँ र सिँवाबजार जाने टेक्सि मे १ ज ३१३१ (हाङ्गामे माइला) चालक मनु तामाङ्को स्टेयरिङ्मा पानीको अविरल बाछिटासँगै हिलाम्य बाटोमा सयौँ घुम्तीहरू काट्दै तल तमोर पार गर्छौँ । वास्तवमा फुङ्लिङ्, माछापोखरी, आम्बोटे, थुक्वाजङ्, छरछरे, कटहरे, थुम्मा भएर तमोरपुल नाघेर तमोर किनारको खोक्लिङ्को खुर्पादेन डुँढ भएर फेरी तमोर नदी पुलबाट पार गर्छौँ, साबिक फुरुम्बो गाविसमा । बाफरे, तमोर नदी त पुरै पोखराको सेती नदी जस्तै सेतै बगेको देख्छु, दूध खन्याए झैँ । फुरुम्बोको पक्वामा, मित्लुङ्, सिम्ले, थाङ्घङ् भएर सिस्नेखोला नाघ्दै लिङ्खिमको लुगुवेप्मा, तिबुङ् भएर बेलुका साढेपाँच बजे सिँवाबजार पुग्छौँ । मलाई के लाग्छ भने अविरल वर्षा भइरहँदा पनि ताप्लेजोङ्को बाटाका तलमाथि जंगल, बारीहरू अलैँचीहरूले स्वागत गरिरहेको देख्छु भने खेतियोग्य जग्गाहरूमा धानको बाला पसारी रहेको अवस्थाले मुस्कान दिइरहकै देख्छु । तमोर नदीको सेताम्मे मुस्कान र वरिपरि टारहरूको खेतमा धानवाली अनि जङ्गलहरूमा अलैँची देखेर एउटा पालाम् उप्किन्छ मनहरूमा ।
तमोरै बग्यो सेतैपानी
डुलन्ते ज्यान्को जीन्दगानी.. खै खै खै खै ए ए
अलैँची घारी वारिपारि
धान खेतै दृश्य मनैसारी... खै खै खै खै ए ए
मित्लुङ्को केरा, खाँदा मिठो
सिस्नेको भीरमा, आँखै तितो.. खै खै खै खै ए ए
खुर्पादेन् खोक्लिङ्, फुरुम्बो गाउँ
पुगिन्छ लिङ्खिम्, सिँवा ठाउँ.. खै खै खै खै ए ए
पालाम मनसँगै सिँवाबजारको ‘थ्रि जेके होटल एन्ड लज’ (प्रो. जोएल लिम्बू) अगाडि टुप्लुक्क पुग्छौँ, खुसीसँगै । रविन पतङ्वा र सुरेश सरले त्यही होटेलमा वास व्यवस्था गर्नु भएको रहेछ । त्यही उत्रन्छौँ । बेलुका भएपछि कार्बोहाइड्रेट खानाहरू म खान्न । सुरेश सर, सरोज सर, रविन सर लगायत थुप्रै सरहरूले ताप्लेजोङ्को ३१० नम्बरको विषयमा निक्कै बहस चलाउँछन् बेलुकानेर । अपितु ३१० के हो ? भन्ने कुरामा पनि निक्कै चासोका साथ सुन्छौँ, शेरबहादुर सर र म । थाकेको ज्यान भएकाले विभिन्न कुराहरू गफगाफ भएर विश्राम कोठामा लाग्छौँ । होटल प्रोप्राइटर जोएल उर्फ डाकबहादुर लिङ्खिम वास्तवमा कलिलै उमेरमा धेरै परिपक्व गफहरूले हिर्काउँछन्, मलाई । अचम्म लाग्छ, उनको जीवन डायरीहरू सुन्दा र मुन्धुम दर्शन पनि त्यत्तिकै अनुभवी तर्कनाहरू । अझै बाइबलसँग तुलनात्मक बाछिटाहरू । बेलुका खानापछि गलिएकाले पनि आराम गर्छौँ तर सुरेश सर र म आधारातसम्म गफमै रहन्छौँ र अन्तमा भुसुक्कै निदाउँछौ ।
असोज १४ गते विहान सधैं योग गर्ने मान्छे, सिंगल बेडमा डब्बल सुताईका कारण हुन सकेन । विहानै उठेर सामान्य जीउ तन्काएर माथिल्लो बजारहुँदै पर्तिर स्कुलको मैदानसम्म पुग्छु । सबै नयाँ लाग्छ, कान्लाहरुमा, बारीहरुमा, भीरको भित्ताहरुमा अव्यवस्थित अलैँचीहरु जंगलीभीर भरी रोपेको देख्छु । फर्कन्छु र लगत्तै सेरवहादुर सरसंग होटलमै भेट भएर फेरी तल्लोपट्टि लाग्छौं, बजार चिरेर । धानखेत हुँदै तमोरको पारी झोलुङ्गे पुल नाघेर साउदेन खेत (जहाँ भुजेलहरुको भोगचलन रहेछ) पुग्छौं । पर छेउमा, साउदेनको भित्ता भीर भरी अलैंचीहरुले हामीलाई जिस्क्याउँदै हाँसी रहेको देख्छु, क्या गजब । चट्टान बाहेक कुनै खुल्ला अवसर छैन । फर्कन्छौं र पुलमा सेल्फि पनि लिन्छौं । लगभग खाना खाने बेला भएकाले खाना खाएर साढेदश बजे सिँवा मावि पुग्छौं । सरहरुसंग चिनजान र परीक्षाका सामग्रीहरु सेरवहादुर सरले बुझाउनु हुन्छ । म, सिँवा माविको खेलमैदान र मैदानकै मुखमा रहेको यु आकारका विद्यालय भवनका भौतिक सुविधायुक्त भवनहरु हेर्छु । भवनका भित्ताहरुमा आकर्षक विभिन्न धर्मका क्वोटेसनहरु लेखिएका, राष्ट्रिय गान, चिह्न, रंग आदिहरु कोरेका दृष्यहरु हेर्छु । कक्षा कोठाको सिटहरु, कम्प्युटर कक्ष, आइटि कक्ष, बालउद्यान, चउर र सबै भवनहरु भुईसंग एकतले छन् । विद्यालयको भौतिक परिदृष्यले मोहनी लगाई रहेको छ, मलाई । विद्यालयका सबै विद्यार्थीहरुलाई टाई लगाउनु पर्ने पोशाकमा पर्दा रहेछ, सबैको गर्धनमा टाई देख्छु । तत्कालै पदमसुन्दर अन्छङ्बो (लेखापाल)लाई परीक्षाको रुमगार्ड (निरिक्षक) को जिम्मेवारी पाउँछन् । वहाँ र शुरेस लिङ्खिम (शिक्षक) को खटाईमा परीक्षा सञ्चालनका लागि कक्षा १२ कै कोठा व्यवस्थापन गर्दछन् र ११ बजे परीक्षा शुरु हुन्छ ।
परीक्षा सञ्चालन हुँदैछ । यत्ता म, विद्यालयको पुस्तकालयमा भवानी तावाको ‘सुम्हा?लुङ्’ (पूर्णाङ्क ९, २०७८) दुईप्रति र मेरो ‘केयुक्ना नु आयुक्ना’ (२०७७) निवन्ध संग्रह दुईप्रति शिक्षक तेजप्रसाद पोखरेललाई पुस्तकालय कोठाभित्रै फोटो खिचेर हस्तान्तरण गर्छु र वहाँले तत्कालै दर्ता गर्नुहुन्छ । यसपछि सामूहिक फोटो मोबाइलमा कैद गरेपछि कक्षा ११ कालागि परामर्श कक्षा शुरु गर्छौं । शुरेस सरले पुरै समय लगाएर साथीहरुलाई जुटाउँदै लामो सभाहलमा भेलाउँछन् । ह्वाइट बोर्ड र साइनपेन् बोकेर कोठा व्यवस्थापन गर्दै परामर्श कक्षा शुरु हुन्छ । कक्षामा पुरानो प्रश्नहरुको आधारमा परीक्षा परामर्श शिक्षक सेरवहादुर लिम्बूले लगभग तिनघण्टा लिनुहुन्छ र वहाँले सकेपछि मैले पनि सामान्य लिपि विकास र लेखन मानकीको विषयमा परामर्श र वहश गर्छु । यसैबेला चियानास्ता पनि हुन्छ । सबैको जागरुक छलफल पश्चात चार बज्ने बेलामा सकिन्छ । यसपछि कक्षा १२ का परीक्षार्थीहरुलाई प्रत्येकलाई ‘सुम्हा?लुङ्’ पत्रिका र ‘केयुक्ना नु आयुक्ना’ निवन्ध संग्रह प्रदान गर्दछु । सिँवा माविका कार्यालय सहायक बुद्धिप्रसाद श्रेष्ठको खटाई स्मरणयोग्य छ किनकि जत्तिवेला पनि पुगी रहने, पानी ल्याईदिने, चियानास्ता ल्याईदिने, कोठा व्यवस्थापनहरु गर्ने दुवैतिर भ्याइरहेकै देख्छु ।
होटलमा पुग्ने वित्तिकै होटलमा नास्ता हुन्छ । नास्ता पश्चात होटल मालिक र अरु सरहरुसंग निक्कै घनिभूत रुपमा भाषा र ताप्लेजोङ्को विषयमा धेरै वहश हुन्छ । सामान्य सवाल जवाफमात्र होइन, बेलामौका राजनैतिक समस्या, मुन्धुमका परिव्याख्या र यसक्षेत्रको लोकआख्यानहरु समेतको श्रवण भइ रहेकैछन् । बेलुका खाना पश्चात एकछिन डाकबहादुर सरबाट गितारबाट गीत सुन्ने काम हुन्छ, अत्ति रमाइलो मात्र होइन वहाँको गफ र अनुभवहरु सुन्दा चालिस नाघी सकेको अनुभूत मलाई दिन्छु । तर वहाँ त मेरो अनुमानभन्दा भर्खरकै ठिटौला व्यक्ति रहेछन् । यसपछि अघिल्लो रातको अनिँदोलाई पुरा गर्न कोठामा गएर विश्राम लिन्छु ।
असोज १५ गते विहान लगभग साढेपाँच बजे उठेर योगको सट्टा मर्निङ वाकमा निस्कन्छु । माथिल्लो बजारको कच्ची मोटरेबल बाटोहुँदै पर–पर तमोरको आवाजसम्म पुग्छु, बगरसम्म मोटरबाटो पछ्याएर । यो मोटरबाटो भने फक्ताङ्लुङ् हिमाल पदयात्रीहरुको रुट रहेछ । तेहाँ झोलुङ्गे पुल रहेछ । तेसको मुखनेर पुगेर फर्कन्छु र वार्मअप गर्छु । खुल्ला खेलमैदानमा अभ्यास गर्दै सामान्य उकालोमा दौडेर शरीरलाई तताउँदै होटल पुग्छु । यसपछि पूनः सेरवहादुर सरसंग फर्कन्छौं तेहि बाटो भएर । तमोरको पुल नाघेर खेजेनिमको हाङ्बोरुङ् खेतको सानोबजारमा पुग्छौं आठदश ओटा सामान्य दोकान र होटल रहेको स्थानमा अण्डाको अम्लेट र स्प्राइट जम्बो एकबोत्तल किनेर सेवन गर्छौं तेहाँका एकजना आङ्देम्बे (सराङ्डाँडा) हुँ भन्ने भाईसंग । वहाँले पर्तिर त्रीवेणीमा पु¥याएर तिनको महत्ताबारे सुनाउँछन् । फर्केर होटलमा खाना खान्छौं ।
परीक्षा तयारीका लागि रविन पतङ्वा सर खटेर जान्छन् र परीक्षा ११ बजे हुनुपर्नेमा साढेएघार बजेमात्र शुरु हुन्छ । मैले वाथरुममा शयन गरेपछी डाकवहादुर सरसंग निक्कै लामो गफ हुन्छ । वहाँको जीवनमा पाएका हरेक दुःख र अनुभूतिहरु बारे । म, ढुक्क भएर श्रवण गर्छु । यसपछि वहाँलाई लिएर परीक्षाको अनुगमन गर्न पुग्छौं, विद्यालयमा । अनुगमनभन्दा पहिले कार्यालयमा पुग्छौं । मसंग रहेका अच्युत घिमीरे सम्पादित ‘आलेख’ साहित्यिक पत्रिका अकं ३५ र ३६ एक–एक प्रति सहायक प्र.अ. तथा निमित्त प्रधानाध्यापक निर्मला तामाङ् मार्फत विद्यालय शिक्षक परीवारमा हस्तान्तरण गर्छु । चियानास्ताले स्वागत हुन्छ ।
चिया सम्पन्न पश्चात हामी परीक्षा हलमा म, सेरवहादुर सर र डाकवहादुर (यसै विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षको प्रत्यासी)संग अनुगमन गर्छौं । एकछिन अनुगमन पश्चात वहाँकै बोर्डिङ् स्कुलमा अभिभावकको वैठक तिर तिनजना उत्तै लाग्छौं । डाकबहादुरको बोर्डिङ्को जग्गा, वहाँको योजना र मोटरबाटो अनि तमोरको पुल (लिङ्खिम खेजेनिम) निर्माणाधिनमा पुगेर तमोरनदी हेर्छौं । पुल निर्माणमा प्रयोग गरिएका विभिन्न सामानहरु अभिभावक विहिन एक्लो भएर बसेको पीडा अवोध अबोला भएर बसेकाछन्, अटल भएर । फर्कन्छौं, डाकवहादुर सर वैठकमा म र सेरवहादुर सर परीक्षा भवनतिरै । एकछिन केहि सहजीकरण पश्चात वाहिरै रहन्छौं । परीक्षा सम्पन्न हुन्छ ।
उत्तरपुस्तिकालाई रुजु गर्ने काम र लाहाछाप लगाउने काम निमित्त प्र.अ. तथा केन्द्राध्यक्ष निर्मला तामाङ्बाट सम्पन्न हुन्छ र हस्तान्तरण समेत हुन्छ, फोटो लिएर । यसपछि सिँवा माविको मैदानमा सबै परीक्षार्थी, केन्द्राध्यक्ष, निरिक्षक, सुपरीवेक्षक तथा अनुगमक र व्यवस्थापकहरु सम्मिलित ऐतिहासिक फोटो सेसन सम्पन्न हुन्छ । कत्तिपय नजिकका परीक्षार्थीहरु यहिबाट विदा लिएर गन्तव्य लाग्छन् त कत्तिपय सिँवा बजारमै रहन्छन् । फर्केर होटलमै पुग्छौं । यसपछि मैले खेजेनिमको विषयमा मिङ्सो साम्रा र पदमसुन्दर अन्छङ्बो सरहरुसंग फेहरिस्त लिन्छु र सामान्य जुस सेवनपछि वहाँहरु पनि गन्तव्यमा लाग्छन्, विदा लिएर । लिङ्खिमको विषयमा शुरेस लिङ्खिम, रविन पतङ्वा र डाकवहादुर लिङ्खिम (होटल प्रोप्राइटर) संग सिलसिलेवार टिप्पणी लिन्छु । बेलुकाको खानापछि पूनः गफ शुरु हुन्छ । निक्कै लामो गफगाफमा विज्ञान, समाज, शिक्षा, आख्यान, मुन्धुम, बाइबल, राँकेभूत, अनौठो वस्तुहरु आदि वारे धारावाहिक वहश हुन्छ । ११ बजे राती कोठामा सुत्न लाग्छु ।
असोज १६ गते विहान सामान्य योगापछि साढेछ बजे चाउचाउको खाजा खाने काम हुन्छ । शुरेस लिङ्खिम र रविन पतङ्वा सरहरुको अगुवाईमा नास्ता सम्पन्नपछि हाङ्गामे कान्छाको टेक्सिमा सातबजे विहान चढ्छौं, म, सेरवहादुर सर र शुरेस सर । यात्रा आरम्भमा नै सिमसिम पानीले स्वागत गर्छन् । मित्लुङ् पुगेपछि गतिलै पानी पर्न थाल्छन् । प्रकृतिले प्राकृतिक रुपमा ठगेको जस्तो महशुस मलाई हुन्छ । हुनु त ‘पानी पर्नु शूभ साइत’ लोकआख्यान झैं । थुम्मा पुलको पल्लोछेउको बाटोमा पहिरो झरेकाले जेसिभिले सफा गरिञ्जेल हामी तमोर पुलमाथी बस्छौं । तमोरको डब्बल पार गरेपछि फुङ्लिङ्को उकालो सयौं कुइनेटा पार भएर लगभग साढेदश बजे फुङ्लिङ् बजार पुग्छौं । हामीसंग शुरेस लिङ्खिम सर भएकाले वहाँकै कमाण्डमा खाना व्यवस्था हुन्छ । र पत्रकारहरुका लागि परीक्षाको सूचना सम्प्रेषण गर्न भाषा पठनपाठनका सहजकर्ता श्री लिङ्खिमसंग बजारको एक होटलमा भेट हुन्छ । कक्षा ११ का लागि सम्वन्धन विषयमा वार्ता हुन्छ । वहाँकै करकमलबाट सिँवा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मचिन्द्र तवेबुङ्संग तेहि होटलमा बोलाएर भेटवार्ता हुन्छ । वहाँले सकारात्मक जवाफ दिनुहुन्छ, सम्वन्धनका लागि ।
श्री लिङ्खिमको चिया सौजन्य पश्चात हामी एकापसमा विदा भएपछि लगभग साढे एकबजे फर्कन्छौं, मेची लोकमार्गको पाःन्थःरतिर ।
काबेलीपुलमा माछा सुकुटि खरिद, गोपेटार आशिष होटलमा चिया, चारबजेतिर फेदेन भवानी तावाकोमा निस्केर आलेख पत्रिका दुइअंक सात ग्राहकका लागि लिन्छु । भवानी र परिवारहरु आगेजोङ् गुम्बा पुजासेवाका लागि गएता पनि आलेख पत्रिका प्राप्त हुन्छ । पत्रिका र केहि सौदा पात बोकेर लालीखर्कमा तेल भराई र कान्छि दोकानमा स्याउ खरिद गरेर घर फर्कन्छौं । वेलुका ६ बजेतिर घर पुग्छौं ।
सिँवाबाट देखिने परिवेशहरु :
जे सोचेर सिँवा बजार र माविमा पुगेर दुईदिन पुरै अध्ययन, अवलोकन र सोधखोज गर्छु । जुन पहिले सोचे जस्तो पाइन, विल्कुलै । अनुमान पुरै फेल खान्छन् । सबै अचम्म लागेर आउँछ । सिँवा बजार न नाके डाँडामा छ नत भीरमा नै । पहिले याक्थुङ्बाहरु मात्र रहँदा यस क्षेत्रमा सेङ्वा? भन्ने जंगली कुखुराहरु थुप्प्रै पाइने र तिनीहरु बासेपछिमात्र घरका भालेहरु बाँस्ने गरेकाले सेङ्वा? हुँदै सिङ्वा स्थाननाम भएको रहेछ । तेसैले सेङ्वा?बाट सिङ्वा (सिँवा) नाम रहन पुगेको भन्ने थाहा पाउँछु । बडो गजवको मुन्धुम् र आख्यान् । यो क्षेत्र उत्तरदेखि दखिनपाटा भएर बग्ने तमोरनदीको खुल्ला किनार, पश्चिमपाटा तमोरनदी पारी खेजेनिमको पुरै भिर, यत्ता पूर्वपट्टि सिँवा बजारको माथिल्लो चरदेखि पुरै लिङ्खिमको मन गड्ने भीरको फेदीमा अवस्थित छ । भीरको काखमा रुमलिएकी सिँवाबजार र बजारको तल्लोक्षेत्र खेतियोग्य मैदानी भू–धरातल । पानपाते उपत्याकामा बसेको समथरी टार रहेछ, सिँवा । माथिल्लो उत्तरपाटा पुरै गल्छेँडो देखिने र तल्लोपाटा पनि तेस्तै गल्छेँडो देखिने बीचमा एक सुन्दर ठूला टारीसंगै मधेस जत्तिक्कै मलिलो माटो भूभाग रहेछ । लगभग एकसय पाँच घर उत्तरदखिन बसेको मोटरबाटोको दायाँबायाँ भएर पुरानो प्रकारका घरहरु रहेछन् । यहाँ व्यवस्थित पक्कि होटल नै हामी बसेको होटल रहेछ ।
सिँवाबजारमा याक्थुङ्बा (लिम्बू), वाहुन क्षेत्री, तामाङ्, शेर्पा, सुनुवार, श्रेष्ठ, दमाई कामी आदि जातिहरुको संयोजनमा मिलेर बसेको पाउँछु भने सरकारको उपस्थिती पनि राम्रैछ । प्रहरी चौकी, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, सिँवा माद्यमिक विद्यालय, आइएमइ सेवा सहित सिद्धार्थ वैंक शाखा, आइएमइ सेवा सहित सनराइज वैंक शाखा रहेको छ । यसरी नीजि तहका संस्थाहरु पाथीभरा बोर्डिङ् स्कुल (प्राथमिक तहसम्म), नेपाल रेडक्रस सोसाइटि उपशाखा, नेपाल उद्योग वाणिज्य संघ शाखा, चर्च, शिवालय मन्दिर, यातायात सम्वन्धि काउण्टर छ । यस बजारमा स्तरिय होटल र लज नै थ्रि जेके होटल एण्ड लज वाहेक प्रायः सबै सामान्य होटल लज, दोकानहरु, फेन्सि र कस्मेटिक पसलहरु, टेलरिङ्, ज्वेलर्स, सैलुन, चियानास्ताका पसलहरु आदि पाइन्छन् भने तावा खोलाबाट लघुजलविद्युत आयोजनाले सिँवाबजारलाई सुन्दरताको अनुपम गहनामा थप आकर्षण बनाएको छ । कम्प्युटरका लागि राजकुमार लिम्बू र पदम बुढाथोकीले सेवा दिइरहेका छन् । सिँवाबजारमा अन्दाजी दशओटा कुखुरापालन, तेजवीर लिम्बूको माछापालन, फावाखोलेको बंगुरपालन, अग्नी सिग्देलको टर्किपालन, सुमन कार्कीको कुटानी मिल, पदम बुढाथोकीको पाउरोटी फेक्ट्रि छ भने यस बजारमा माविको खेलमैदान र तमोरनदीको किनारमा एउटा खुल्ला खेलमैदान छ । यहाँ टनेल सिस्टमबाट कृषि उपज उत्पादन गर्ने र अन्य व्यवसायमा अलैँची, किवि, अम्लिसो, धान, मकै, कोदो, टमाटर, सिमल तरुल, घर तरुल, फुलतरुल, मास आदि उत्पादन हुन्छ । बजारमा ढल समेत रहेकाले व्यवस्थित बजारको रुपमा लिन सकिन्छ भने वि.सं. २०७२ सालमा मोटरबाटो निस्केदेखि टेक्सि सेवा सञ्चालन भइरहेको छ । सिँवा बजारको तमोरमा खेजेनिम जाने मोटरबाटोको पक्किपुल बनेपछि सिँवाबजारको एउटा सुन्दर भविष्य निर्धारण गर्छ ।
तमोर किनारमा रहेको सिँवाबजार र फुङ्लिङ्देखि अथवा तमोर कोरिडोर निर्माण भएपछि चाइना बोर्डरसम्म मोटरबाटो पक्कि भएमा यस क्षेत्रको मानिसका लागि सुन्दर भविष्यका रोजगारका क्षेत्रहरु बन्छ । कञ्चनजंघा र फक्ताङ्लुङ् पदमार्गका वैदेशिक पर्यटकहरुको आराम, विराम र खेल्ने स्थान सिँवाबजार छ । पर्यटकहरुको गन्तव्य रहेको सिँवाबजारको भविष्य अवश्य सुन्दर छ ।
सिँवा मावि वि.सं. २०३० सालमा स्थापना भएको हो । स्थापना कालपछि लिङ्खिमको सुभासङ्का लामाहाङ् लिङ्खिम, तेज लिङ्खिम, सर्नवहादुर लिङ्खिम र बुद्धपति लिङ्खिमहरुले आफ्नो किपटको जग्गादान गरेर विद्यालय बसाएका हुन् । वहाँहरुको यो योगदानलाई सायद विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले विर्सनु नहुने ठूलो योगदानले वर्तमान माद्यमिक विद्यालय भएर आफ्ना बालबच्चाहरुले शिक्षा प्राप्त गरिरहेका छन् । यसरी नै पछिल्लो समयमा भीम बरालले पनि जग्गादान गरेका हुन् ।
वास्तवमा सिँवा उपत्याकाको जग्गाको किपट भने लिङ्खिमका सुभासङ् र महरेसङ् लिङ्खिम र तबेबुङ् थरीका १४ सुब्बाहरुको थियो र हो । ति किपटधनीहरुले मेदीबुङ् बस्ने भीम बरालका बाजेलाई डोलीमा बोकाएर ल्याई यसै जग्गामा बसाएको रहेछ । उर्वरभूमीमा बराल थरीलाई बोकेर ल्याएपछि तेहाँका लिम्बूहरुले पुरै जग्गा नै सामान्य लिनदिनका नामले जग्गा छोडिदिए भने आफुहरु भीर पहरामा टाँसेर बसे, वर्तमानसम्म ।
वास्तवमा सिँवाक्षेत्र भीरहरुले घेरिएको जस्तो देखिए पनि ति भीरहरुमा घना आकारका जंगलहरु र जंगलभित्र अलैँचीहरु व्यवसायिक रुपमा आश्रित छ । भीर भएर पनि माटो रहेको स्थानमा अलैँची बाँचेका छन् । तेत्तिक्कै पानीका मसिना मुहानहरु अनगिन्ति छन् । माटो सबै कालो दुमोट, अलैँचीका लागि अत्ति योग्य र प्रीय माटो । यत्ति अचम्म हो कि हरेक रुखहरु, बुट्यानहरु, झारहरु, अलैँचीहरु, अम्लिसोका बोट, धानको बोट, कोदोको बोट, फुलतरुल, रोपीएका मसला काठ, रुद्राक्षको बोट, पानीसाज, सुन्तला, कागती आदिहरु पुरै कालो भएर बसेको देखिन्छन्, कत्ति निरोगी । भीरको जंगलहरुभित्र धेरै जडिबुटिहरु पाउन सकिने मात्र होइन, यहाँ मृग, घोरल, दुम्सि, कालिज, लुइचे, ढुकुर लगायत विभिन्न जंगली पशूपंक्षिहरु पाउन सकिने रहेछ । जंगलहरुमा पनि सिमल, साज, कटहर, बडहर, उत्तिस, बाँस, लहराहरु, मलत्तो, चिलाउने आदिहरु पाइन्छन् भने हरिया घाँसहरु त प्रसस्तै नै ।
सिँवाबजारमा नियमित आवाज सनननननन तमोर नदीको चिच्याहटले साथ दिइ रहने रहेछ याने कि ३६५ दिन ६ घण्टा २२ मिनेट सम्मै । यहि आवाजसंगै पारी तमोर पश्चिमतिर खेजेनिम, सावदेनपाटा ठाडोभीर देखिएपनि जादुमय घरहरु टाँसिएर बसेको देखिन्छन् । अझै राती झन भीरमा मोतीहरु बलेझैं बिजुली बत्तिको चमकहरु उराठैलाग्दो देखिन्छन् पहराहरुमा । यहाँबाट सेवालुङ्को चुच्चो, सावदेन, इखाबो (युक्खाबो) र खेजेनिमको पहाडसंगै अक्कर भीरहरु र हरियो जंगलहरु ठाडो भएर हेर्नुपर्ने लोभलाग्दो र कहिले मन नअघाउने दृष्यहरु देखिन्छन् । सिँवाबजार छोएर आएको लिङ्खिमको भीर हेर्दा उनको काखामा बसेझैं लाग्छ भने फुरुम्बोको जंगलेडाँडाहरु आँखा लोभ्याउँदो देखिन्छन् । वास्तवमा लिङ्खिम गाउँ भने मुक्कुमलुङ्को एउटा पाटा पर्दो रहेछ । आकाशसंग जोडिए जस्तो पहाडका टुप्पाहरु देखिने सिँवाबजारबाट आकाशको परिधि सानोमात्र देखिन्छ । बेलुका मृगहरुको बोलाहटले तमोर नदीको आवाजमा नयाँ अन्तरा थपी दिन्छन्् । यसर्थ सिँवाबजार नयाँ स्वादको नयाँ धुनहरु प्राप्त गर्न सकिन्छ । वरिपरि अक्कर पहाड र भीरहरु देखिने बीचमा तमोरको आवाजसंगै पानपाते उपत्याका नै सिँवाबजार रहेछ ।
सिँवाबजार समुद्री सतहबाट लगभग साढेआठ सयको उचाई रहेछ । यसलाई केन्द्रीत बनाएर त्यसक्षेत्रको प्राकृतिक छटाहरु खेजेनिमको थुम्बेन्लुङ्, मु?इगुम्, सिरेबु, पुधाम्लुङ्, याङ्बेन्लुङ्, सेवालुङ (सेम्सेम्लुङ् मिक्वाखोलातिर र खसकरणमा मानाभरा), इङ्लेक्केनी (यो सेवालुङ्भन्दा अलिक मुनीको डाँडा), वाःक्मा पोखरी (नराम्रो हुने देखिएमा पोखरी उम्लने), झ्याउ पोखरी, लिगोबा (गोरुजुरे) जस्तो प्राकृतिक धरोहरहरु भेटिन्छन् । यसका मुनी गाउँहरुमा यक्चेयक्, अरक्पा, थुम्बेबुङ्, आम्बेबुङ्, याङ्सिङ्बुङ्, साराहाप्पा, मापाङ्भे, पाक्वामा, लुप्थुक्पा, तिङ्दो, शिबो, हाङ्पङ्लुङ (हाङ्बोरुङ्) जस्ता गाउँहरु छन् भने यसै गाउँको माध्यम भएर इम्मा खोला र मेधेम् खोला तमोरमा मिसिन्छन्, संगसंगै । इम्मा र मेधेम्् खोलाहरु नजिक भएर तमोरमा मिसिएकाले यसलाई सुम्वादो (त्रीबेणी) पनि भन्न सकिन्छ । खेजेनिम, वास्तवमा यो खेजेक् र नाःम्बा अथवा झगडा गरी लाप्पा पर्ने स्थान भएकोले खेजेक्नाम् हुँदै खसकरणमा खेजेनिम् भएको हो । यस गाउँको किपटवाला याक्थुङ्बाहरु अन्छङ्बो र सवेन्हाङ्हरु हुन् ।
लिङ्खिम गाउँको प्राकृतिक सुन्दर धरोहरहरु लिङ्खिम माङ्गेन्नायक् (लुङधुङ्), इजङ् (इजमको गढ), सुक्तेम्बुङ् (मानेडाँडा), इत्छिङ्देन् पोपोरुम्बा डाँडा (तबेबुङ् उत्पत्ति), महादेउ थान, हेङ्घाम वारक् (तालखर्क पोखरी), थाक्थाक्सिबो (युमा?ले तान बुन्न शुरु गरेको स्थान), मुक्कुमलुङ्, हाक्मा डाँडा (प्राकृतिक भ्युटावर), रमिते डाँडा (प्राकृतिक भ्यूटावर), सानो पाथीभरा, मिक्खेक्चुङ् देवीथान आदि छन् ।
यस क्षेत्रमा तिबुङ्, ठौवा, खेबेङ्, थक्वा, लिङ्खिम्, ताक्वा, थिक्वा आदि गाउँहरु छन् । यहाँ लिङ्खिम् र तबेबुङ् थरीहरुको किपटको रुपमा रहेको पाइन्छ । लिङ्खिम् वास्तवमा निङ् र खिम् अथवा खरको घर निङ्खिम् हुँदै लिङ्खिम् भएको हुनसक्छ ।
सिँवा माविका सहप्रधानाध्यापक निर्मला तामाङ् अनुसार वहाँहरुकै पुर्खा तामाङ्हरुले इखाबु (युक्खाबो) गाउँको खानीबाट सुब्बाहरुले खन्न आदेश दिई धनकुटामा कर तिरेर फलाम निकाली गालेर तेहि फलामबाट साङ्ला बनाई झोलुङ्गे पुल लगाएका थिए । फाबुखोला, बैदारेखोला, तमोर नदीको थुम्मा (हाङ्देवा खोक्लिङ् आवतजावत) मा गरी तिनोटा फलामेपुल हुन् । कत्तिपयमा अझै अवशेषहरु तत्तिक्कै छन् । सिँवा क्षेत्रको तमोरनदीमा झर्ने खोलाहरु तावा खोला, सिस्ने खोला, साक्वा खोला, थिङ्गे खोला, इम्मा खोला, मेधेम खोलाहरु पर्दछन् ।
सिँवा बजारको वरिपरि गाउँहरुमा समग्रले याक्थुङ् (लिम्बू), खसआर्य, शेर्पा, तामाङ्, गुरुङ्, श्रेष्ठ, सुनुवार, राई, दलित जातिहरु बसोबास गरेको पाइन्छन् । यसक्षेत्रको हरेक कुना कुनाहरुमा लगभग दुईहजारको उचाइसम्म पुरै जंगलहरु लगायत खेतियोग्य जमिनहरुमा ७५ प्रतिशत अलैँची रोपेको देखिन्छन् ।
यस्तो प्राकृतिक सम्पदाहरुको मध्यमा रहेको सिँवाबजारमा वर्षेनी माघ १ गते माघेनी मेला लाग्छ । माघको १, २, ३ र ४ गतेसम्म मेला लाग्दै आएपनि माओवादी द्वन्द्वकालभित्र र वर्तमान कोभिड १९ कोरोना कहरभित्र बन्द खेप्नु परेको छ । यसरी नै फेसे?वा बगर (बाङ्गेबजार) पनि हरेक १ गते र १५ गते पाक्षिक रुपमा बजार चार–पाँच वर्षसम्म लगातार लाग्दै आएकोमा सबै अस्थायी टहराहरु आगलागी भएदेखि यत्ता बजार वन्द छ । बाङ्गेबजार वन्द भएपश्चात वर्तमान वडापालिकाको स्थापना पश्चात सिँवाबजारमा हरेक महिनाको १ गते मासिक बजार लगाउन उद्घाटन भएलगत्तै कोरोना कहर शुरु भएकाले उद्घाटन पछि वन्द छ ।
फक्ताङ्लुङ् गाउँपालिका सरकार, वडा नं. २ र ३ का वडापालिका सरकारले साँच्चै जनताको अधिकार र रोजगारको पक्षमा काम गर्ने हो भने यस क्षेत्र धेरै विकासका पूर्वाधार र उद्योगहरुको सम्भावनाहरु प्रशस्तै छन् । सर्व प्रथम गल्छेँडो भएको स्थानहरुमा शाहसिक खेलहरुका लागि लामो झोलुङ्गेपुल बनाई तमोरनदी माथि बोञ्जी जम्प गर्न, लिङ्खिम, सावदेन र खेजेनिमका भीर र भीरको झरनाहरुमा फल्स तथा रक क्लाइम्बिङ् गर्न, सेवालुङ् चुचुरो चढ्न, तमोरको तिव्र धारमा र्याफ्टिङ् गर्न सक्ने आधारहरु छन् भने तमोरमा धेरै विद्युत उत्पादन गर्न सकिने अवस्था छ । यसरी नै प्राकृतिक डाँडाहरुसंग लुकामारी खेल्नका लागि तमोरकै विद्युतबाट केवलकार पु¥याई सेवालुङ् र तिभन्दा होचा टाकुराहरुमा पुगेर सेवा पुजा गर्न, घुम्न र रमाईलो गर्न सक्ने आधारहरु छन् । तमोरनदीमा बन्दै गरेका विद्युतहरुमा आदिवासी जनजातिहरुको पहुँचमा राख्न र रोजगारहरुको ग्यारेण्टि गर्न सकिने अवसरहरु छन् । तितेमाछाका मूलहरुलाई संरक्षण गरी तितेमाछाको वैदेशिक मागहरुलाई पुरा गर्न सकिने अवस्थाहरु छन् । यसक्षेत्रमा पौडी पोखरीहरु बनाएर पौडीवाजहरु निकाल्न सकिने आधारहरु प्रशस्तै छन् । अलैँची खेतीलाई लाइन व्यवस्थापन गरेर खेतिलाई अधिक उत्पादन गर्न सकिने अवस्थाहरु छन् । अलैँचीभन्दा महँगोमा विक्रि हुने विरुवाहरुमा बुद्धचित्ता रोपण गर्न सकिन्छ । यहाँ किवि खेती, रुद्राक्ष उत्पादन, अलैँचीको रक्सि उत्पादन गर्न सकिने क्षेत्र भएकाले उद्योगको रुपमा लैजान सकिने आधारहरु धेरै छन् । सिँवा बजारमा होम स्टेहरु खोल्न सकिने रहेछ किनभने कञ्चनजंघा पदयात्री पर्यटकहरु यहि रुट भएर जान्छन् । राष्ट्रिय प्रशारण लाइनको ११ केभि प्रशारण तारमा विजुली सञ्चालन गरिनुपर्छ । सिँवा बजारको भीरपट्टि मोटरबाटो नलगी बजारको तल्लो साइडबाट सकभर तमोर कोरीडोर बनाएमा दिर्घकाल पहिरो रोकिन्छ । भीरको फेदबाट तमोर कोरीडोर लगाएमा माथिल्लो भीर हल्लिएर कुनै समयमा भीर झर्न सक्छ र सिँवा बजारले ठूलो क्षति खेप्नु पर्दछ । तमोरनदीमा करेण्ट लगाउनुको सट्टा जाल, महाजाल, पासो आदिबाट माछा मारेमा माछाको उत्पादनमा असर नभई पानीको वातावरण सन्तुलन हुनसक्छ ।
धन्यवादका पात्रहरु :
यस्तो अध्ययन गर्न मौका दिने त याक्थुङ् (लिम्बू) भाषा उच्च माद्यमिक शिक्षा बोर्ड र सिँवा मावि नै हुन् । अझै भन्नुपर्दा सिँवा माविमा फक्ताङ्लुङ् गाउँपालिका भरी वा ताप्लेजोङ् जिल्ला भरीको परीक्षा केन्द्र स्थापना गरी याक्थुङ् भाषाको कक्षा ११ र १२ को पठनपाठन गर्न अभिभावक तहबाट सधैं चासो दिएर छलफल र वहश गरी सदा झक्झक्काइ रहने याक्थुङ् भाषाको अभियान्ता श्री लिङ्खिम ज्युलाई धन्यवाद दिन्छु । वहाँको यो अभियानले नियात्रा लेख्ने अवसर जुराई दिए । र वोर्ड र सिँवा माविसंग जोडाउने सहजीकरणको श्रेय श्री लिङ्खिमलाई जान्छ । यसरी नै परीक्षा उपकेन्द्र तोकिएपछि सो कार्यको व्यवस्थापकमा सिँवा माविकै शिक्षक शुरेस लिङ्खिम र अर्का शिक्षक रविन पतङ्वालाई जान्छ । वहाँहरुलाई मुटु र मनभरी सम्झिरहने मेरा सक्कल पात्र भए र सधैं नमन गर्दछु । सहयोगी भूमिकामा आसिन उदय लिवाङ् र गुल्सन आङ्बुहाङ्लाई धेरैधेरै सम्झन्छु । परीक्षा सम्पन्न गरेर फर्कने क्रममा फुङ्लिङ् बजारको एकछिन बसाईमा सिँवा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मचिन्द्र तबेबुङ्संग भेटभई वहाँले दिनुभएको मौखिक सुयोग्य वचनका बाचाको सधैं नमन गर्न चाहान्छु र वहाँको उक्त सत्बाचा पुग्न सकोस् भन्ने कामना सहित मेरो चनाखो मन र मस्तिष्कहरु तेत्तापट्टि ढल्किन्छन् । र अध्यक्ष श्री मचिन्द्र तबेबुङ्लाई धन्यवादी पात्रमा आसिन हुनुहुन्छ । तसर्थ अध्यक्ष ज्यूलाई पनि धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।
सिँवा मावि परीवार र विद्यालयका निमित्त प्रधानाध्यापक निर्मला तामाङ्, सम्पुर्ण शिक्षक स्टाफहरु, लेखापाल पदमसुन्दर अन्छङ्बो, कार्यालय सहायक बुद्धिमान श्रेष्ठ लगायत सबैलाई मुरीमुरी धन्यवाद दिन चाहान्छु । लेखलाई सहयोग गर्ने सरहरु फक्ताङ्लुङ् २ खेजेनिमका मिङ्सो साम्रा र पदमसुन्दर अन्छङ्बो, फक्ताङ्लुङ् ३ लिङ्खिमका शुरेस लिङ्खिम, रविन पतङ्वा र डाकबहादुर लिङ्खिम (सिँवा बजार)लाई मुरीका मुरी बधाइका पात्र बन्नु भएको छ भने एक कुनामा सरोज कङ्लिवा पनि । वहाँहरुबाट धेरै आख्यान र मुन्धुमहरु सुन्न पाएको छु । यसरी धन्यवादको थुप्प्रै पात्रहरु रहँदारहँदै पनि ‘थ्रि जेके होटल एण्ड लज’का प्रोप्राइटर जोएल उर्फ डाकबहादुर लिङ्खिमसंग ‘सुरुवालभन्दा इँजार लामो’ भई खल्लोपनमा फर्केको छु । खल्लोपन ममा मात्र सिमित छन् । जसमा गएँसम्म मात्र भन्न भ्याएकाले विरक्तिन्छ मनहरु । बेलुका पनि बात मार्न सकिन र विहान पनि तेस्तै । दयाविहिन जस्तो मेरो मनहरु भए त्यस दिनभरी । तसर्थ लजका प्रोप्राइटर डिकवहादुर लिङ्खिम, व्यवस्थापक द्वय शुरेस लिङ्खिम र रविन पतङ्वा ज्यूहरुको करकमलमा शाब्दिक क्षमा माग्छु, ख्यालीसंगै ।
ए,
तमोरको तिरमा, फक्ताङ्लुङ् शीरमा ।
नूनविना तिहुन, मनखल्लो पीरमा ।।
सिँवाको छेउछेउ, होला नि आँपै ।
गल्ती छ मनको, होला नि माफै ।।
धन्यवाद ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...