रोशन परियार नेपाली कविताको क्षेत्रमा एक परिचित नाम हो । परियार लामो समयदेखि समसामयिक समाजको,देशको विकृति-विसंगति बिरुद्धमा कलम चलाइरहेका छन् । उनको यो भन्दा अगाडि 'सियोको दुरबिन' कविता कृति प्रकाशित छ ।

नआउनु तिमी

नआउनु तिमी
म बौलाएको बेला नआउनु
मैले बिर्सन सक्छु 
तिमी कसैको प्रिय पुस्तक हौ
मैले जबर्जस्ती पढ्न सक्छु
र पन्नाहरु च्यातिदिन सक्छु 
 
या त,
कसैको नशालु रक्सी हौ
मैले बाध्य भएर पिउन सक्छु
र बोतलहरु फुटाई दिन सक्छु 
 
अथवा, 
बरफको मन्दिर हौ
मैले लाख बत्ती बाल्न सक्छु 
 
नआउनु तिमी 
म बौलाएको बेला नआउनु 
मैले बिर्सन सक्छु
तिमी कसैको महङ्गो कलम हौ
मैले आफ्नो निर्णय लेख्न सक्छु
र निमोठेर निबलाई भाँचिदिन सक्छु 
 
या त,
कसैको गमलामा फूलेको गुलाफ हौ
मैले उखेलेर मिल्काउन सक्छु
चुँडेर हत्केलामा निचोर्दिन सक्छु 
 
अथवा,
ऐनाहरुको दोकान हौ
मैले ढुङ्गाहरुको गोदाम राख्न सक्छु 
 
नआउनु तिमी
म बौलाएको बेला नआउनु 
मैले बिर्सन सक्छु
तिमी कसैको मनपर्ने सिगरेट हौ 
मैले धुवाँ बनाएर उडाउन सक्छु
कुल्चिएर अस्तित्व मेटाई दिन सक्छु 
 
या त,
कसैको उपहारमा आएको सुन्दर घडी हौ
मैले तिम्रो समय नचल्ने बनाउन सक्छु
नाडी नजिकै खुकुरी राखिदिन सक्छु 
 
अथवा,
ढोकाहरुमा झुण्डिने ताला हौ
मैले वैकल्पिक चाबी बनाउन सक्छु 
 
नआउनु तिमी
म बौलाएको बेला नआउनु 
मैले बिर्सन सक्छु
तिमी कसैको रित्तो डायरी हौ
मैले रगतका प्रेमिल अक्षरहरु पोत्न सक्छु
र नदिको किनारमा छोडिदिन सक्छु 
 
या त,
कसैको भित्तामा 
टाँगिएको नग्न तस्वीर हौ
मैले भित्तो भत्काउन सक्छु
र हस्तमैथुन गरिदिन सक्छु 
 
अथवा,
प्वाँखहरुको पानी जहाज हौ
मैले आँधीका यात्रुहरु पठाउन सक्छु 
 
नआउनु
म बौलाएको बेला 
भरसक तिमी आउँदै नआउनु 
यदि आइहाल्यौ भने
कि त तिमी म जस्तो बन्नु
कि त मलाई तिमी जस्तो बनाउनु
हैन भने....।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...