खस्याङमस्याङ
अत्याधुनिक बौद्धिकताको पिंजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ। उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमीदिए हुन्थ्यो। यस खेलबाट मैले उन्मुक्ति पाइदिए हुन्थ्यो। आधारविहिन, बकम्फुसे, तोरीलाहुरे, लट्ठक, बिकामे, बेठागाने, बेकम्मा, लम्फु, ठण्डाराम, लछारपाटो केहि नलाग्ने हरिबिजोग क्याटागोरीका यी तमाम जमात र सन्जालबाट आफूलाई बचाउनु पाए कस्तो हुन्थ्यो! कति आनन्ददाई हुन्थ्यो ! कति मनोरम हुन्थ्यो ! कति चित्ताकार्षक हुन्थ्यो ! बस्, यी-यस्तै मनोकामनाबाट ओतप्रोत होइरहँदा यतिखेर मसँग ‘यस्तो यस्तो भइदिए हुन्थ्यो’ नाम गरेको विष्मायोधिबोधक स्थिति, परिस्थिति र मनस्थिति मात्रै छ।
जसले हरबखत साहित्यसँग नाता जोडेर उम्किभाग्ने चेष्टा गर्दछ। तर हरहमेशा यो चेष्टा कट्टर पुरुषवादी समाजको मुखारबिन्दूमा झुन्डिएको उखान- ‘तिम्रै छोरी तरुनी,हाम्लाई के को दोष’ सिद्ध होइराख्छ । कारण हो- साहित्यकारहरूमा जति अत्याधुनिक बौद्धिकताको लेपन कसैमा छैन। यिनीहरूलाई जति उत्तरआधुनिक चारित्रिक विशेषताले अलंकारित कसैलाई हुनु छैन। यिनीहरूलाई जस्तो बौद्धिक, भलाद्मी, नैतिवान, चरित्रवान एवं सदाचुरी-गुणाचारी कसैलाई देखिनुछैन। एक त वर्तमान समाजमा परनिर्भरमुखी बौद्धिक जमातको लाम छ, अर्को सोही जमातको दिनहू उठबसमा नै आफ्नो जिविकोपार्जन तमाम भइरहेको छ। एक हिसाबले म पनि यहाँबाट निस्कन सकेको छैन। कहिलेकाही यस्तो लाग्छ, यहाँबाट निस्कने चेष्टा गर्नु मेरो ढोङ शिवाय अर्थोक केहि होइन। जानेर-नजानेर, चाल पाएर-नपाएर हरहमेशा अत्याधुनिक बौद्धिकता तथाथित सिंहासनमा मेरो पनि उपस्थिति छ। म पनि आसनलीन छु।
कुरालाई सिधा सिधा सुरु गरूँ। बाङ्गो बनाइरहनुको कुनै औचित्य एवं उद्देश्य छैन।
कुरा त्यसरातको त्यतिबेलाको हो, जतिबेला म साहित्यलाई तथानाम गाली दिदै थिए। साहित्य, साहित्यकार, साहित्यिक समाज, साहित्यिक व्यवहार, साहित्यिक आस्था.. सबसँग मेरो कुस्ताकुस्ती चलेको थियो, मुखामुख भएको थियो। म सक्दो हूँ त, साहित्यलाई गैरकानूनी घोषित गरिदिन्थे। साहित्यकारहरूलाई आजीवन काराबासको सजाय सुनाइदिन्थे। साहित्यिक समाज र सम्पदाहरूमा डोजर हुलीदिन्थे। र, साहित्यको लावारिस खण्डहरहरूमाथि बसेर एक झुप्पा निन्द्रा लोलाउथे, त्यसपहिले एक झुप्पा अंगुर खान्थे, मुख मिठ्ठाउँथे। त्यसपछी चरम सुखको एक सुन्दरतम परिवेशमा आफूलाई चराइरहन्थे। आह..त्यो एक गोठालोविहिन स्थिति..! आह..त्यो हर्षतिरेक समय चौतारी..!
अत: कुरा त्यसरातको हो, जब म आफ्नो दैन्निदिनमा भिजेर लुछुप्पै भएको थिएँ- झरीले कुटेको भुत्ले बिरालोजस्तो। ‘हालते-हालको के बयाँ गरूँ जनाब?’ कुकुरले नपाउने दु:ख पाएको थिएँ। सिकिस्त थिएँ- आफैँदेखि। सिथिल थिएँ-आफैँसँग। थकित थिएँ-आफैद्वारा। गलित थिएँ-आफ्नै लागि। विभिन्न अनलाइन साहित्यिक पत्रिकाहरूका साहित्यिक अंकहरूमा आफूलाई पेलाइरहँदा/ थेप्चाइरहँदा/ चेप्टाइरहँदा/ निचोरीरहँदा/ चिथोरीरहँदा म उठ्न नसक्ने गरि लडीसकेको थिएँ। साहाराका लागि कुनै हातहरू थिएनन्। सहयोगार्थ कुनै जन्तुको आगमन हुने वाला थिएन। घोर निस्सारता र घनघोर भावविभोरता'कन उठ्दा/लड्दा/अडेस लाग्दा र खङ्गारिदा मानिसक क्षतविक्षतले तहसनहस भइसकेको थिएँ। दीक्क यतिसम्म लागिसकेको थियो कि ठिक्क ठिक्क मैले खान, सुत्न र निदाउन छाडेको महिना दिन नाघीसकेको थियो। नित्य एकै कर्म। नित्य एकै दैनिकी। नित्य एकै मानसिक असन्तुष्टि। नाथे..साहित्य।..यसले मलाई गलाएरै छाड्यो। यसले मलाई सिध्याएर छाड्यो। यसले मलाई चोइटा-चोइटा पारेर मिल्कएरै छाड्यो। तर जनाब, विकल्प थिएन। गैर-दोबाटो र उप-गल्लीहरू थिएनन्। ठसठसी कन्दै भए पनि मौज्दुगी हालतसँग उठबस गर्नु नै थियो,..आसिनपासिन हुनु नै थियो।
यसप्रकार म त्यसरात साहित्यलाई गाली गरिरहेको थिएँ कि साहित्यतर्फ आफ्नो लगाव र आस्था देखेर दिक्क-ए-दिक्दार भएको थिएँ। आफ्नो आस्थामा पखला चल्दा के को भजन, केका शंख फुकाइ ?..
जति पनि साहित्यिक रचनाहरू मेरो जिमेल एड्रेसमा आउने गर्दथे। ‘पाउनु भयो ?’ भनेर सोधिएको हुन्थ्यो। ‘पाएँ’ भन्नुपर्थ्यो। भन्थेँ। पाएँ मात्रै होइन ‘राम्रो लाग्यो, उत्कृष्ट लेख्नुभएछ, गजब नै छ, यस्तो त मैले कहिल्यै पढेको नै थिइन्, यसले त नेपाली साहित्यलाई उपल्लो कोटीमा पुर्याउछ, तपाईको चेत कत्ति मज्जाको छ हाउ कवि ज्यू, कसरी लेख्नुहुन्छ हँ यस्ता कविताहरू यार?’ लगायतकका रेडीमेट तर तरमताजगी जवाफहरू पनि मेसेज या फोन कलतिर हुत्ताईदिनुपर्थ्यो। कारण थियो- म ती रचनाहरूको पारिश्रमिक दिदैन थिएँ। नदिनुको थुप्रा कारणहरू छन्, त्यो मध्ये मुख्य हो मसँग हुँदैन थियो। नहुनुका थुप्रा कारणहरू थिए, तीमध्ये मुख्य हो- म सिमित तलबमा काम गर्दथे र खर्च ज्यादै नै बढी थियो। तलबले खर्चको बहिखातामा छेउ-टुप्पो भेट्दैन थियो।
कुनै पनि सृजनाकर्मीहरूको सृजना प्रकाशित गरेबापत ५०० रुपियासम्म भए पनि दिउँ भन्ने सधैँ लाग्थ्यो। तर काठमाडौंको बसेरा र सोहिअनुसार रहनसहनले आफ्नो तलबबाट रचनाकारहरूलाई पारिश्रमिक दिनु चुनौतीपूर्ण रहन्थ्यो। आफ्नो तलाब काटेर दिनु शिवाय अर्को विकल्प मसँग रहदैन थियो/हुँदैन थियो। पारिश्रमिकको लागि अफिसका हाकिमहरूसँग कुरा राख्दा उनीहरूको तथानाम बहानाबाजीमा टाउको हल्लाइरहनु पर्थ्यो। कहिले सरकारलाई पोस्थे, कहिले एड दिने बैंक र डोनरहरूलाई। “के गर्नू सर, देशको हालतै यस्तो छ, सरकारको ठेगान छैन, कोरोनाले अर्को आर्थिक संकट निम्ताएको छ।..” र यावत
जस्तै- कहिले विजुलीको बिल बढेको कुरा आउथ्यो। कहिले कर्मचारीहरूलाई तलब दिन नपाएको देखावटी दुखेसो। अझ यति गुनासो छताछुल्ल पारिसक्दा पनि म आफ्नो निर्णयबाट टसको मस भइन भने ‘राजनीतिक संकट र आफ्नो पार्टी प्रतिपक्षमा रहेको बहाना अघि सारिन्थ्यो। त्यसपछी पनि भएन भने अर्को मिडीयाले पनि सृजनाकर्मीहरूलाई पारिश्रमिक दिने नगरेको, अझ यस्तो चलान नै नभएको, दिन आवश्यक नै नभएको, लेखन भनेको स्वान्त सुखाय भएको, यसमा पैसा खोज्नै नहुने' जस्ता अत्यन्त दुर्गन्धित र वान्ता छुटाउने पदोटिप्पणीहरू अघि सारिन्थ्यो। जुन डुङ्ग गनाउँथे, त्यहाँ सोही 'सो कल्ड बौद्धिक' माखो भुनभुनाइरहन्थ्यो। अझ 'पैसा हातको महल भएको, पैसाका लागि लेख्ने पनि के लेख्ने, पैसा र सिर्जनाकर्मीहरू दूरदराजको नातागोता र साइनो-समबन्ध नभएको' बहानाहरू सदैव अघि सारिन्थ्यो- धारावाहिकको मुख्य भूमिका जस्तो। 'प्रस्तुत घटना पूर्णत काल्पनी हो कसैँसँग मेल खाएमा संयोग मात्रै हुनेछ।'
यतिले पनि म पर सरिन या अडान छोडेर काममा लागिन भने तलब कटनीको कुरा, निष्कासनको डर र राजिनामा पत्रको ढाँचाको बारेमा प्रसंग उप्काइन्थ्यो। त्यतिबेला महिनामा दुई जना कर्मचारी फेरीरहेको अवस्थामा आफ्नो जागिर जोगाउनु नै उपयुक्त विकल्प ठान्थे, चुप बस्थे। मलाई थाहा थियो ठुलो स्वर र लिडेढिपी गर्दा जागिर चैत बनिदिन्थ्यो र बसेरामा तहसनहस आउथ्यो, उठिबास लाग्थ्यो। कुम्लो-कुटिरो बोकेर धादिङ झर्नुको विकल्प रहन्न थियो। आँधी महिनाको तलब बुझ्दा पनि ‘हवस्, हुन्छ, भइहाल्छ नि, समय/परिस्थती नै यस्तै छ सर’ जस्ता नैतिकताहिन कुराहरू अघि सारेर हाकिमहरूकै खुटा दबाइरहेका आफ्ना सहकर्मीहरूलाई देखेर किन्चित आफू अझै पनि भाग्यमानी भएको ठहर गर्दै म सोही ‘म्यूजिकल चेयर’मा आफूलाई लडखडाइरहन्थे। र, मेरो दूर्भाग्य आजसम्म पनि मैले यो खेलबाट उन्मुक्ति पाएको छैन। र, मेरो चेयरमा अर्को विराजमान भएको छैन ।
अब यो स्थितिमा कसरी रचनाकारहरूलाई पारिश्रमिक दिनु? फेरी पारिश्रमिक दिन नसक्दा कसरी हप्तैपिच्छे लेख-रचना पठाइरहनेहरूको रचनाको मानहानी गर्दै प्रकाशित नगर्ने अडान कस्नु? पहिलो कुरा त, राम्रो लेख्नेहरू राम्रो पारिश्रमिकको माग राख्छन्। त्यो दिन सकेको खण्डमा यसप्रकारको स्थिति सिर्जना नै हुँदैन। सिर्जनशिल व्यक्तिले आफ्नो सिर्जनशिलताको मूल्य माग्नु जायज हो। उसले पाउनुपर्छ। मैले दिनुपर्थ्यो। तर त्यो म सक्दिन थिएँ। र, मूल्य नपाएको खण्डमा उसले आफ्नो सिर्जना मकन पठाउदैन थियो, मैले पाउदिन थिएँ। र, म आगामी अंकमा के छाप्ने होला भन्ने पीरतापमै पिल्सीरहन्थे। छट्पटीरहन्थे ।
यस्तै केही कारणहरू थियो, जसकारण जे-जस्तो रचना आउथ्यो, तिनलाई छाप्न करै लाग्थ्यो। र, तिनको झुटो प्रचारवाजी र प्रशंसाको पूल पनि बाँध्नै पर्थ्यो। यसमध्ये कत्ति त असाध्यै राम्रा र उपल्ला श्रेणीका हुने गर्दथे। छाप्न पाउँदा आफूलाई गौरावान्तित महसुस हुन्थ्यो। श्रद्धाले उनीहरूप्रति मुन्टो निहुराउ निहुराउ हुन्थ्यो। अझ त्यसमा पनि पारिश्रमिक बेगर निरन्तर रचना पठाउनेहरूको त नित्य पूजा गरौँ, उनीहरूको नाममस आरती गाऔँ-नारिवार्ल फुटाऔँ जस्तो हुन्थ्यो। कति मनकारी व्यक्तिहरू….। कति सद्चारी व्यक्तिहरू..। तर मेरो दुर्भाग्य, यस्ता रचनाकार र रचनाहरू असाध्यै कम हुने गर्दथे। छिटपुट कहिलेकसो आउथ्यो, जहिलेजसो आउथ्यो म आफ्नै तलबबाट निकालेर भए पनि उनीहरूलाई पारिश्रमिक दिन्थे। मनले धरै मान्दैन थियो- नदिदासम्म। आफ्नो खाजा कटाएर यसो गरि मैले धेरै कवि, लेखक र अभियान्ताहरूलाई पारिश्रमिक दिएको छु। दिएको छु भन्दा पनि लाज लाग्ने, यथोचित दिन सकेको थिइन। झरीको मूल्य छाता ओढेर पनि कहिँ तिरिन्छ र? रुझे पो तिरिन्थ्यो। खैर.. थोरैमा पनि उनीहरू चित्त बुझाउथे र निरन्तर लेख-रचना पथाउथे।
त्यहिँ त, ठिक-ठाक या मध्यतस्तरका रचनाहरूले जिमेल भरिएको हुन्थ्यो। तिनलाई म पढ्थे, छाट्थे, शुद्दाशुद्धि हेर्थे। प्रकाशित हुने-नहुने खबर दिन्थे। प्रकाशनपश्चात प्रकाशित भएको खबर दिन्थे। जसै एउटा रचनाको काम सकिन्थ्यो, अर्को रचनामा सोही सिलसिला सुरु हुन्थ्यो। यो कहिल्यै अन्त्य नहुने खेल जस्तो थियो। हर शनिबार आउथ्यो, हर शनिबार १० वटा सामाग्री जुटाउनुपर्थ्यो। हरेक अंक अघिल्लो भन्दा विशेष र फरक बनाउने चाहना हुन्थ्यो। हरेक अंकमा समानुपातिकता होस् भन्ने चाहन्थे। बुढ्यौली साहित्यदेखि देखि एसइई अध्ययनरत भाइबहिनिहरू केट्यौली रचनासम्म छापौं लाग्थ्यो। दलित, मधेसी, महिला, अपांग, फरक लिंगी, गैरआवासीय नेपाली, विदेशीहरूको रचना समावेश गर्ने इच्छा हुन्थ्यो। यसमा बडो दौडधुप हुन्थ्यो। हैरानी हुन्थ्यो। परिश्रम लाग्थ्यो। तर पनि म नित्य यो काम गरिरहेको थिएँ। गलीरहेको थिएँ। थाकीरहेको थिएँ। उही कुरा..हरबखत सिथिल, गलित नै थिएँ। तर न भविष्यको कुनै बिमा थियो । बस् वर्तमान धितोमा राखेर अहोरात्र साहित्य सेवा हो नामको अधिकतम हीनताबोधी ठिगुँराबाट आफूलाई अपलक हिँडाइरहेको थिएँ।
र, त्यो दिन म यसै उपक्रममा लागेको थिएँ। शुक्रबारको रात थियो त्यो- करिबन साढेँ दश अन्दाजी। मैले नौ वटा सामाग्री तयार गरिसकेको थिएँ। कसैगरि पनि दश वटा पुर्याउन सकीरहेको थिइन्। आफैँले एउटा केहि लेखेर संख्या पुर्याउन सक्थे तर लेख्नको लागि आवश्यक मनस्थिति मकन हुँदैन थियो। त्यसबाहेक ब्यानर र डिजाइनीङको काम बाँकी थियो। लेख्ने हुति नै बाँकी रहदैन थियो त्यसो हुँदा। नौ वटा मात्रै छाप्दा भोलिपल्ट हाकिमलाई स्पष्टीकारण दिनुपर्थ्यो। उसका तथानाम बग्रेल्ती उखान-बखानहरू सुन्नुपर्थ्यो। हप्ताभरमा अन्तर्वार्ता, कथा, मनोवाद, समानुपातिकता, समावेशिता लगायतकका आफैँले तय गरेको नियम-उपनियममा गाँजिदा आफूले नलेखेको कत्ति भइसक्थ्यो..भइसक्थ्यो। यस्तैमा कहिलेकसो च्या गफमा दाजूहरू ‘तिमि पत्रकार भन्दा कवि होइदिए हुन्थ्यो ‘ भन्दिन्छन् तब मन साह्रो अमिलो हुन्छ। लेख्छु नि त भनेर लाग्छु, फलानोको फोन आउँछ, ‘कवि ज्यू रचना पठाएको छ, पाउनुभयो ?’ अब त्यसपछि लेख्ने मुडको सत्यानासै हुन्थ्यो। कहिलेकाही त लाग्थ्यो- भनिदिउँ- ‘६ महिना भइसक्यो एउटा कविता लेख्न नसक्या, केका कवि ज्यू? तोरीहरू…।’
हो, त्यसरात यी-यस्तै बग्रेल्ती-वासरल्ल कारणहरूका कारण साहित्यलाई भरपूर गाली गरिरहेको थिएँ- नाथे..साहित्य..। यसिम हिडाँउने साहित्य ।
साहित्यिक पत्रकारिता अँगालेकोमा आफूलाई पोसिरहेको थिएँ। आफैँलाई थुकीरहेको थिएँ। यसबाट निस्कीभाग्न पाएँ पनि हुने नि। यो सब च्यात्त् छोडेर जुम्ला-जोमसोम-झार्लांङ तिर चौरी चराउदै बस्न पाए पनि हुने नि। नभए विदेश भागे पनि हुने। नभए धादिङ पुगेर बाह्रबिसे-अर्चले खेत र केउरिनी-पँधेरबारी खने पनि हुने।..
एस्ट्रेमा खरानी र ठुटा जम्मा भइरहेका थिए, निभीरहेका थिए। तर कुनै जुक्ति सामुन्ने आइरहेको थिएन। सबै क्याटागोरीका सामाग्री आइसकेको थियो तर नवसर्जकको कुनै पनि रचना समावेश गर्न सकीरहेको थिइनँ। यसबेला गर्नुपर्ने के हो मैले भेउ पाउन सकेको थिइनँ। एक मन लाग्यो, ‘जिमेल फेरी चेक गरौँ। के थाहा केहि आइहालेको पो छ कि? महिना-दुई महिना पहिले कसैले पठाएको कुनै रचना बाँकी पो बसेको छ कि?’ यही अभिप्रेरणाबाट अभिप्रेरित भएर जिमेलका ५० वटै पेजहरू स्क्रोल गर्न थाले।
..४८ औँ पेजमा पुगेर म टक्क रोकिए। धेरै भएछ आएको लाग्यो । र, मैले त्यतिबेला किन भेटिँन- म भन्न सक्दिनँ । शिर्षकबिहिन एउटा लामो आलेख (प्रेमकथा?) मा मेरो नजर पर्यो। त्यहाँ प्रेम थियो, पश्चताप थियो, पछुतो थियो,..त्यसभन्दा बेसी साहित्यप्रतिको अतुलनीय लगाव र आस्था थियो। कसोकसो पढ्दै जाँदा मलाई मैले खोजेको लेख यहि हो, खोजेको चीजै यहि हो भन्ने हुँदै गयो। जसै..जसै म पढ्दै गएँ..बस्,..म त्यहि अल्झीदै गएँ। लेखसँगै मेरो मानिसिक गतिशिलता र हृदयगत भावनात्मक तीव्रताले बढोत्तरी पाउँदै गयो।..
( शिर्षकबिहिन आलेख/प्रेमकथा ?) यस्तो थियो..
***
ऊ भन्थी- ‘प्रिय, संसार एक मायावी बधशाला हो।’
ऊ भन्थी- ‘प्रिय, जोगी हौ हामी।’
ऊ भन्थी,- ‘प्रिय, चिहान डुलीहिड्ने भूतप्रेत हौँ हामी।’
भन्थी मात्रै होइन भनिरहने गर्थी ऊ..। ऊ अर्थात् मेरो प्रेम। र, ऊ सहि थिई। हाम्रो प्रेम चिहानघाटमा नै उम्रियो। जलिरहेका लासहरू नियाल्दै हाम्रो प्रेमले गर्भधारण गर्यो। बगिरहेको बागमतीमा आ-आफ्ना छायाँहरू बगाउदै हामी प्रेमिल नहरीमा डुबुल्की मार्न थाल्यौँ। काठमाडौका अग्ला-एक्ला डाँडामा बेरिएका तुँवालो र हुस्सुलाई एक-अर्कामा बेरेर नै हामीले एक-अर्कालाई न्यानो दियौँ। पानी अमला र सल्लाका पातहरूमा चिप्लेटी खेलेर नै हामीले एक-अर्कालाई एक-अर्कासँग अड्डाइरह्यौँ।
ऊ धारामा मुख जोतेर पानी खान्थी र मलाई दिन्थी । प्रेम र प्यास यसैगरी बुझ्थ्यो । म सबेरै उसको पुग्थे र एक-एक माना चिया घुट्काउथ्यौँ । हामी एकाबिहानै खाली पेटमा पानीपुरी निल्थ्यौ र जोडले उफ्रन्थ्यौँ । त्यसपछी दर्किरहेको झरीलाई माझि औँला देखाउँदै छाताभित्र लुटपुटिएर एकअर्काको छाती मुसार्थ्यौ, जिब्रो खेलाउथ्यौँ ।
ऊ भेटिनुभन्दा (हो, ऊ भेटिएकी थिइ, अकस्मात आइपुगेकी) धेरै पहिलेदेखि नै म प्रेमका कविताहरू लेख्ने गर्थे। प्रेमिल कथाहरू लेख्ने गर्थे। प्रेमले ओतप्रोत गजल, मुक्तक र मनोदशा र मनोभावनाहरूको मसँग खात थियो। यस्ता खातहरूको एउटा गोदाम नै थियो। ती छन्, अझै पनि। केहि जलाएँ, केहिलाई च्याते। केहीको डुंगा बनाएर असारको आँगनमा छाडीदिए। केहिलाई फूल बनाएर शिशिरका हाँगाहरू झुण्डाइदिए। केहिलाई समातेर घन्टौं घोरिए, केहिलाई समातेर घन्टौ हाँसे। केहीलाई दोर्हाएर, तेर्हाएर पढे। केहीलाई पढ्नै सकिन। तर अहँ,..कत्ति गर्दा पनि त्यहाँ एक गेडो प्रेमको बीज भेटिएन। एक अंकुर प्रेमको टुसो भेटिएन। क्या खल्लो प्रेमका किस्साहरू थिएँ। बस्..फुस्सा।
म सम्झन्छु ती दिनहरू, प्रेमका साध्य, सिदान्त र व्याख्या-उपव्याख्याहरूमा मेरो खास दख्खल छ भन्ने गर्थ्यो- मेरो साहित्यिक सेरोफेरो। म दिनहुँजस्तो फेसबुकाँ प्रेम लेख्थे। प्रेम त मानौं मेरो शिरमाथिको आकाश हो। मेरो पैतलामुनिको धरती हो। मलाई हरबखत उत्तेजित पार्ने चट्याङ् हो। मलाई हरप्रहर प्रेमिल बनाइराख्ने बादल हो। र, मलाई सिथिल तुल्याउने उरन्ठेउला इन्द्रेणीहरूको रुप-रंग र जोवन हो। मानौं, ति तथानाम प्रेमका साध्य, सिदान्त र व्याख्या-उपव्याख्याहरू मलाई स्वछन्दता दिलाउने हावाहुरी हो, प्रकाशका किरणहरू हुन्,..जो जतिखेर पनि जति पनि मात्रामा मसँग थिए। जतिबेलै मसँग थिएँ। बस्,..तिनलाई लिपिबद्ध मात्रै गरिदिनुपर्दथ्यो। तिनलाई अक्षरस: ओकलीदिनु मात्रै पर्द्थ्यो। मसँग मानौँ प्रेमको भण्डार थियो, जतातै वासरल्ल..छरपस्ट। टिप्यो, लेख्यो, टिप्यो लेख्यो। र, फेरी लेख्यो, फेरी टिप्यो। लेख्यो... टिप्यो..। केहि फिक्री नै थिएन। लेख्ने म थिएँ। पढेर ‘वाह; गरिदिने प्रेमपूजकहरूको 'फेसबुकियन झुण्ड' थियो।
झुण्डको ‘वाहीवाही’मार्फत मलाई फिल्म-किस्सा-कहानी र कल्पनाको मद्दतले प्रेम लेखाइरह्यो। म लेखिरहेँ। यतिखेर सम्झिदा त्यस साहित्यिक सेरोफेरोलाई ‘कठै’ भनि पुर्कान मन लाग्छ। र, ‘कठै’लाई कण्ठदेखि नै उच्चारण गर्न नसक्ने सिथील अवस्थामा आफूलाई यतिखेर पाउँदा गलल हास्न मन हुन्छ। खित्का मारिरहन मन हुन्छ। आफैँलाई गिज्जाईरहन मन लाग्छ। आफैँलाई लात मार्न मन लाग्छ। कारण हो- त्यसकिसिमको बहुलठ्ठी हर्कतले सु-सम्पन्न प्रेमका तथाकथित उच्छ्वासहरू ओकल्न म कसरी लालयित भए, मेरो दिमागले धर पाउदैन यतिखेर। हाहा..म बस्, देखे-सिकेका तर कदाचित अनुभूत नगरेका प्रेमका ‘ऐरेगैरे नत्थु खैरे’ विश्लेषण, व्याख्या र परिभाषाहरूमा आफूलाई मोल-माल गरिरहन्थे। त्यसो गरेर प्रेमको एउटा डल्लो निर्माण गरिरहन्थे। र, त्यहि डल्लोलाई गिलगीलाईरहन्थे।...त्यस किसिमका हर्कतहरूलाई सम्झेर खितिति खितिति खित्खीताइरहेछु यतिखेर म। मलाई के थाहा, त्यो डल्लो प्रेमको पिण्ड रहेछ? श्राद्धमा गाइलाई खुवाएको चामलको खात जस्तो मात्र..। एक मृत अनुभूति । जीवनहिन कविता र कथाहरू ।
म आज यतिखेर आफैँलाई प्रश्न गरिरहेछु, प्रेम अनूभूत हुनुपूर्व नै मैले कसरी थाहा पाएँ कि प्रेम हुनु भनेको सबैभन्दा सुन्दर कुरा हो? प्रेम भनेको मनदेखि मनको साइनो हो? हृदयको आँखीझ्याल हो? मस्तिष्कको गैर-हाजीरी हो? शरिरको स्फूरर्ता हो? आँखाको सूदुर क्षितिज हो? पैतालाहरूको एकनास तर निर्जन पल्लो किनारा हो? हाय..। प्रेम यसरी भन्न सकिने कुरै रहनेछ- आज म यो पाउँछु। जसलाई प्रेम गर्थे, उसलाई पनि बताउन सक्दिन कि प्रेम के हो? यतिसम्म कि यतिबेला आफूलाई पनि। कसरी भनूँ प्रेम के हो ? कसरी लेखौँ प्रेम यो-यो हो ? कसरी बोलौ- प्रेम यस्तो यस्तो हुन्छ? बस्..एक खालीपन। बस्,..एक शब्दातीत आलोक। बस..प्रेम आकारविहिन, सीमाविहिन.. केहि रहेछ। र, त्यो 'केही' के रहेछ ?..म यतिबेला पनि उत्तरविहिन छु।
प्रेम त्यो- बस्,.एक विश्राम? बस..एक थकाइ?
प्रेम त्यो- बस्, एक निश्वास? प्रेम त्यो- बस्, एक निस्सासायाई?
के हो प्रेम ?
जेठमासको झरीमा तुँवालोले नुहाइरहेको बुढानिलकन्ठका डाँडाहरू सम्झिन्छु। असारमासका हिल्लामे बागमती किनारमा लड्दा दुखेका घुंडा र गोलीगाठाहरू मुसार्छु। शिवपुरी जंगलमा चरीरहेको हरिणको पुच्छरलाई याद गरिबस्छु। बिहानको घाम नतप्किदै हाम्रा हात-पाखुराहरूमा तप्किएका असनका चिसा-मसिना शीतका थोपाहरू सम्झन्छु। घिमिरे गाउँ र नाग डाँडाका बैशालु फुलका बेर्नाहरू सम्झन्छु। नगरकोटका सुनसान तर झरीको कोलाहल आवाजहरूको तालमा नृत्यमग्न रुखबिरुवा-स्याउलाहरू सम्झन्छु। त्रिवेणी घाटका नेवा: ऐला र लरबराईरहेका दुई जोडी खुट्टाहरू सम्झन्छु। रानीवनका उबडखाबड गोरेटाहरू त्यसमा उछ्लकुद गरिरहेकी उसलाई सम्झन्छु।.. दशैँताका पिङमा मच्चिरहेकी ऊ र उसलाई मच्चाइरहेको त्यो नौजवानलाई सम्झन्छु । ठमेलका झुम्का पसलहरू र भक्तपुरको तरकारी बारी सम्झन्छु । चोभारको फेदी र ह्वाइट हाउसको उच्चटम चोटि सम्झन्छु । पशुपतिको चिहानघारी र स्वयम्भूको भगवान पाउ,..सम्झिन्छु। यसो गर्दा यसै मात्र गर्छु। यत्ति मात्रै गर्छु। यत्ति मात्रै गर्नु नै होला प्रेम? के पो होला खै..? के-के गर्नु र के-के नगर्नुबीचको शुन्यता होला प्रेम?..के पो होला प्रेम? खै के-के होला प्रेम?..
***
उसँग हुँदा मैले लेख्न नै सकिन। किनकि म ‘तथाकथित प्रेम’ मात्रै लेख्ने गरि तालिमप्राप्त थिएँ। मलाई तथाकथित प्रेम मात्रै लेख्ने आदत थियो। त्यहि आउथ्यो मलाई। तर जब म उसँग रहे, त्यतिबेला जान्दिन म- मलाई के भयो?
सुरुसुरुका दिनहरूमा त अझ ऊ पनि मैले लेखेकै तिनै प्रेमिल गन्थनमन्थनहरू गन्थनाइ रहन्थी, मन्थनाइ रहन्थी। मेरा तिनै बकम्फुसे प्रेमिल उच्छ्वासहरूमा ऊ प्रेमको आस्वादन गर्ने गर्थी। मैले जे लेखे पनि, जसरी लेखे पनि उसलाई रुचिकर लाग्थ्यो। उसलाई प्रियतम लाग्यो। ऊ खुब स्वादले मेरा कोरा प्रेमहरू पढ्ने गर्थी। ऊ खुब स्वादिलो अन्दाज-ए-बयाँसहित तिनलाई भट्टाउने पनि गर्थी। आफूले लेखेका प्रेम नामधारी कविताहरू आफ्नै प्रियसीले त्यत्तिको प्राणप्रिय लवजमा पुकारीरहँदा, कुन चाहिँ प्रेमी हुँदो हो जसको हृदयका परेलीहरू नभिजोस्? भिज्दथे मेरा पनि।
ऊ यसैगरी गरि मलाई आफ्नो हृदयसम्म लागिरहन्थी। आफ्नो हृदयको अगेनोमा मलाई सेकाइरहन्थी। साँचो हो, उसँग हुँदाका दिनहरूमा मेरा हातगोडा र सम्पूर्ण शरिर, तन-मन र मस्तिष्क बस्, हतप्रभ रहन्थे,..होइरहन्थे। लोलाईरहन्थे। म यसैउसै पग्लीरहन्थे..जमीरहन्थे..फुटीरहन्थे र फेरी बगीरहन्थे। ऊ एक बगाई। बगाई अर्थात् मेरो प्रेम। र, ऊ भन्ने गर्थी- ‘प्रिय जोगी हौँ हामी।’ हाहा..जोगीहरूको बगाइ जति रुचिकर के होला अर्कोथोक ?
म प्रश्न गर्दिन थिएँ- ‘हामी किन जोगी हौँ’ मसँग जवाफ पनि त हुँदैन थियो। मसँग आवाज पनि त हुँदैन थियो। न सुन्नलाई कान, न बोल्नलाई मुख। म सशरिर उसँग हुँदा म आफूलाई सशरिर भेट्दिन थिएँ। बस्..उसैमा लिप्त होइजान्थे। उसैमा समाहित भइजान्थे। सायद यसैलाई सत्ययुग भनिदो हो। यसैलाई तमिलनाडूको एलिभोर गाउँ भनिदो हो। मार्क्स यसलाई साम्यवाद भन्दा हुन्। कृष्ण यसलाई द्वारिका भन्दा हुन्। र, ज्याकब यसलाई जेरुसेलम।..
***
मलाई लाग्दछ, हुर्काई सबैभन्दा महत्वपूर्ण कुरा हो। कुनै पनि बच्चो कस्तो सामाजिक एवम मानिसक परिवेशमा हुर्कियो भन्ने अर्थले निकै फरक पार्दो रहेछ। म उसको र हामीबीचको प्रेमको कुरा गर्नुपूर्व मेरो समाजको थोरै चर्चा गर्छु, हुन्न राजूजी ?
(एक्कासि मेरो नाम सम्बोधित भएको पाउँदा म झसङ्ग हुन्छु, आच्या यसले मलाई नै किन सम्बोधन गर्यो ?) ***
मेरो सामाजिक परिवेश निकै अभद्र थियो। जेट जेनेरेसनको अन्तिम पुस्ता म, मसँगै विज्ञान र ज्ञानविज्ञानका अनेकन रुपरेखाहरू खिचिएँ, साँजसँज्जा गरिए। काठमाडौँदेखि ५ घण्टाको दूरीमा रहेको मेरो गाउँले आफू हुन् कहिले खोजेन। भन्ने हो भने सिन्धुपलान्चोकले आफू हुन नै चाहेन। नून चाहिए पनि ऊ काठमाडौँ आइपुग्थ्यो र सून चाहिए पनि। तरकारी बेच्न पनि ऊ काठमाडौँ नै पुग्थ्यो र फर्कदा मरमसला उहीदेखि किनी ल्याउथ्यो। सिन्धुपलान्चोक आजसम्म पनि काठमाडौँको प्रभावबाट मुक्त छैन। बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला ऊ धुलिखेलको बजारसँग पनि बरोबर आश्रित रह्यो। र धुलेखेल काठमाडौंसँग। यसप्रकार ऊ आफूकन नै आश्रित हुनै सकेन। म हुर्कदा काठमाडौँको भव्यताको प्रभाव मेरो गाउँमा थियो। काठमाडौँ एक सपना भन्दा बेसी थियो म गाउँले ठिटोको लागि। काठमाडौँको बखान-ए-उपबखानबीच म हुर्किएँ।
काठमाडौंको विराटस्वरूको दर्शानार्थ म प्रतिक्षारत रहीरहे। काठमाडौंको दिव्य स्वरूपको दर्शानार्थ म चिन्तित, प्रताडित भइरहेँ। कहिलेकसो म सदरमुका- चौतारामसम्म पुग्थे। तर ल्याउन मन लागेकै कपडा हुन्न थियो, खेल्न मन लागेकै खेलौना हुन्न थियो। जब दशैँ-तिहार आउथ्यो, काठमाडौं बसेका फूपुदिदिहरू आ-आफ्ना बलबच्चा घिर्सार्दै माइत आउँथे। फूपूका बच्चाहरूले लगाएका कपडा र समाएका खेलौनातर्फ मेरो आँखा पर्थ्यो, नजर गड्थ्यो। अब मलाई त्यहि चाहिन्थ्यो, र, त्यो मैले पाउने कुनै सम्भवना थिएन। यसले एक किसिमको मानिसिक खल्लोपन बोकाईराख्दो रहेछ यसले। सो खल्लोपन आफूकन बोकीरहें मैले।
सामाज यसप्रकार दीक्षित हुँदै थियो की पठनपाठन ध्वस्तप्राय हुँदै थियो। माओवादी कालको एकछत्र रजाइ एक ठाउँमा थियो भने वैदेशिक प्रभावको असर उस्तै थियो। यसबीच म ममीसँग हुर्किए। बुबा माओवादी विचारधारादेखि उम्किभाग्न विदेश फुत्कनु भयो। मभन्दा तल भाइबहिनीहरू रहे। ममीबाहेक घरमा हजुरआमा हुनुहुन्थ्यो। हजुरबुबाको देहान्त भइसकेको थियो। दुई अंकल-आन्टी र मेरा सहित ८ जना भाइबहिनिहरू म तल भए।
बुबा/अंकलहरू सब विदेश लस्किएपछि ममी/आन्टीहरूको संरक्षकत्वमा हाम्रो लालनपालन भयो। कृषि पेशाका कारण उहाँहरूको दिनाचार्य खेत-बारीमा बित्यो। हामी फुक्काफाल भयौं। जहानमा पढेका व्यक्ति त्यति थिएनन् र पढेका फूपु दिदीरू पनि आ-आफ्ना घरजम गरि बसीसकेका थिएँ। यसक्रममा टुकी र पानस बालेर नै मैले पढे। बिजुली बत्ति, टीभी, रेडियो.. त्यो धेरै परको कुरा थियो। पत्रिका मैले पल्स टु पछी पढ्न थालेको हुला। लाइब्रेरीको नाममा विद्यालय परिसरमा ‘रुम टु रिड’को एक थान लाइब्रेरी र ४/५ सय पुस्तक विद्यालय हातामा थियो तर त्यहाँबाट त्यतिखेरको समयमा ‘पल्पसा क्याफे’जस्ता किताबहरू पढ्न दिइदैन थियो। ‘माओवादी सन्त्रास’ काठमाडौंमा माओवादीले हतियार बिसाइसके पछी पनि गाउँमा जबर्जस्त थियो।
यसक्रममा पाठ्यक्रमबाहेक मसँग पढ्नका लागि कुनै पनि पुस्तकहरू थिएनन्। म तीनै पाठ्यपुस्तकहरू दोर्हाई-तेहराई पढ्थे। कण्ठस्थ पार्थे। सम्झन्थे र तिनैलाई परिक्षामा बान्ता गरिदिन्थे। सोही वान्ताले मलाई ‘ब्रोड फ्रस्ट’ दिलाईरह्यो। ताली दिलाइरह्यो। मैले पनि पुरस्कारमा एउटा फाउन्टेन पेन र दुई चार वटा बाक्ला कपीहरू कुम्लाइरहें।
मेरो समग्र बाल्यकाल राजनीति, विश्व जगत र समसामयिक घटनाक्रमदेखि धेरै पर..पल्लो छेउमै रह्यो। ममीसँग हुर्केको हुनाले गाउँघरका बुढापाका र साथीभाइहरूसँग मेरो दोस्ती जम्न सकेन। त्यो दोस्ती जमेको खण्डमा छिटपुट रुपमै सहि मलाई ति कुराहरू त्यतिबेली थाहा हुने थ्यो कि? हो, यी कुराहरू थाहा नभएकाले मसँग समाजको बहुआयामिकतालाई देख्ने, निहार्ने र चिन्ने एउटा अलग आँखा छ। त्यस अलग आँखाको आजसम्म काम आइरहेको छ तर त्यससँगसँगै राजनीतिक र सामाजिक चरित्रको यथार्थरुप पनि हुँदो हो त अलग बात होइजान्थ्यो। तर अवस्था बिल्कुल फरक होइदियो। बाहुनको घर, बाहुनको जात, बाहुनको काम, बाहुनको गोत्र र बाहुनको आनीबानी लगायतका ‘टपरटुईया प्रवृती’ले मलाई गाज्न छाडेन, न्याक्न छाडेन। तिनै विचारधाराको जगमा निर्मित मनस्थितिसहितको कुम्लोकुटिरो बोकेर म तथाकथित प्रेमका आख्यान-ए-व्याख्यान लेखिरहेको थिएँ। तिनैको चर्चा-ए-परिचर्चा गरिरहेको थिए, शहरमा।
समग्रमा म परनिर्भार्ताको वाछिटाले लिछुप्प भिजेको गाउँले परिवेशको सिमानामा बाख्रा चराइरहेको म बाहिरी दुनियाँका तमाम खबर-ए-खाबर देखि बेखबर थिए। पाठ्यपुस्तक बाहेक मसँग बाहिरि दुनियाँ निहारने स्रोतसाधन केहि थिएन। र, आज चाल पाउँछु- ति पाठ्यपुस्तक मलाई संकोचित बनाउने प्रमुख अम्मल रहेछन्।
मसँग सम्झिन सक्ने मानिसक खुबी थियो-जसले मलाई क्लासकै उत्तम विद्यार्थीको पदभार दिईराख्यो। काक्रा चोर्ने, आलु उखल्ने, बाँदर धपाउने, वन-घर गर्ने कामहरू ‘पढनदास-घोकन्ते विद्यार्थी’ हुनाका कारण एकदम सिमित भए। मलाई आज लाग्ने गर्दछ सन्तुले बाउलाई खोलाबाट बचाएको आदर्शको कथा पढ्नु (रटनु) भन्दा साथीसँग काक्रा चोर्न बारम्बार गइराखेको भए म ज्यादै परिपक्क र सामाजिक यथार्थतालाई छाम्न सक्ने हुन्थेँ।
तर बात अलग भइदियो, फर्स्ट आउनु र क्लासमा नम्बर एक दर्हिनुको बोजभारले मलाई पाठ्यक्रममै केन्द्रमा फनफनी रिगाईरह्यो। यत्तिसम्म कि एक थोपा आलोचना गर्न नसक्ने भए। आलोचनात्मक प्रवृति नहुने मानिस गधा हो, मलाई आजभोली यस्तै लाग्छ। कोहिसँग दोहोरो संवाद गर्नै नसक्नु गधाको चारित्रिक विशेषता हो। पाठ्यक्रमको भारी बोझले म बस थिचीरहें- गधा झैं। र, अन्तातागोत्व म त्यो गधा बनेँ- जसले न खेतिकिसानी गर्न जान्यो, न कोहिसँग दोरोहो संवाद गर्न सक्यो, न जातपातले गाँजेको गाउँलाई निहार्न सक्यो, न धर्म र आर्थिक हैसियतले न्याकेको परिस्थितिबाट आफ्नो मुन्टो उठाउने चेस्टा गर्न सक्यो।
जसै काठमाडौं आए, म यो सबदेखि उम्किन चाहन्थे। प्लस टूसम्ममा म अर्कै भइसकेको थिएँ। मलाई बस् समाज चिन्नु थियो, देख्नु थियो। सिन्धुपलान्चोक भन्दा फरक थियो काठमाडौं। यसको विरानो व्य्कतित्त्व थियो । र, यो विरानो व्य्कतित्त्व चरित्रधारी काठमाडौंसँग पौठेजोरी खेल्नका लागि मसँग साइकल थियो। म सोही साइकल चलाउदै, डोर्हाउदै, धकेल्दै, घचेट्दै शहरका तमाम भीड र किनाराहरूसम्म पुग्न थाले। र, तिनै यात्राको क्रममा भेटेका, देखेका, भोगेका आफ्नो अनुभवलाई लिपिबद्ध गर्दै गएँ। तिनैबाट ‘वाहिवाही’ पनि बटुल्दै गए। मलाई आजसम्म हास्य्पस्द लाग्छ, त्यतिबेला म देशको प्रधानमन्त्रीको नाम सम्म भन्न सक्दिन थिएँ। यसप्रकारको ‘जिरो नलेज’को आधरस्तम्भमा उभिएर म ‘प्रशंसाको फेदा’ गुछ्दै थिएँ। छ्या..
शहरमा भइरहने आन्दोलन, विरोधका स्वरदेखि निकै पर म बस् साइकल डोर्हाउदै कोइली र चिबे चराको उडान नियालीरहन्थे। जंगलका कुहिरो र जमेका झ्याउहरू कोटटाइरहन्थे। आफू जस्तै शिलस्वभावकी प्रेमिकाहरूसँग लठ्ठारिरहन्थे। उनीहरूको वक्षस्थलमा मुन्टो जोतिरहन्थे ।
गाउँले वान्ता छुटाउने गरि नियमबद्ध गरि तय गरिदिएको आफ्नो मानसिक संरचनाका सब सीमा र तगाराहरू नाघ्न चाहन्थ्यो- त्यो केटो। म बस..आफू आफैँ मात्रै हुन् चाहन्थे। आफूबाहेक मलाई कसैको प्रवाह थिएन। ..मेरो भोक..मेरो सपना..मेरो यात्रा..मेरो स्वतन्त्रता।..यसप्रकारले स्वतन्त्रताको चरम उपयोग (दुरुपयोग?) गर्दा म एक कट्टर पुरुष, कट्टर बहुलठ्ठी, कट्टर डकुलन्ठू भएछु। व्यवाहरत: मैले आफ्ना सम्पूर्ण जिम्मेवारी र दायित्व बिर्सिएछु।
***
यस उपक्रममा यहि शहरमा उसँग भेट भयो। उसको र मेरो हुर्काइमा जमिन-आकाशको फरक थियो। ऊ माध्यामिक लेभेल पढ्नेक्रममै पाँच भन्दा माथि स्कुल र स्थानमा पुगीसकेकी थिई। 'हिमालको हिउँदेखि तराईको लू'सम्म उसले भोगीसकेकी थिई। त्यसैअनुरुपको सांस्कृति, सामाजिक, राजनीतिक र मानोवैज्ञानिक सोचबुझ उसले बनाउन भ्याई। यसक्रममा पुरुषवादी समाजको खटनपटन भोगी र त्यसबाट निस्कीभाग्ने अनेक उत्कण्ठाबाजी बारे पनि सोच्न थाली। उसै पनि हाम्रो समाजले दबाएर राख्छु भन्दा किशोरीहरूलाई ज्यादा विद्रोही र व्यवहरगत हिसाबले पनि निपुण बनाइरहेको छ। र, ऊ त्यो मध्येकी एक किशोरी थिइ, जो घरपरिवार र समाजसँग बरोबर विद्रोह गर्दै हुर्किएकी थिइ । समाजको बहुआयमिकता देखेकी, बुझेकी उसँग प्रखर आलोचनात्मक प्रवृति थियो। प्रखर वक्ता थिइ ऊ। खुंखार खुसमिजाज मान्छे तर उदास अनि लाचार थिइ। ऊकन गलत र सहि जाँच्ने सुझबुझ थियो, गलतलाई गलत भन्ने हिम्मत थियो तर भन्दा सुनिदिने कोही थिएनन्। उकन निकै असल र वाचल हृदय थियो, जो असाध्यै मितव्ययी थियो। तर ऊ आफूले भोगेका/भेटेको पुरुषवादी समाजका झापड र निलडामहरूले अत्तालीरहन्थी। यद्यपी ऊ यति आँटीली थिइ कि- त्यसविरुद्ध हरबखत भुनभुनाइरन्थी। मकन ऊ ठोक्किदाखेर उसको यो भुनभुनाहाट अत्याधिक नै थियो। प्रथमतः म त्यस भुनभुनाहटबाट अत्तालिएको थिएँ । तर मेरो तथाकथित साहित्यक हाइरार्की र जेठो उमेर एवम सम्पूर्ण मलाई पर्गेल्न नसकेका कारण उ चुप बसी ।
म उसको कुरा गर्दै थिएँ-
पुरुषवाद र भ्रष्ट राजनैतिक चरित्रले गाँजेको सत्तासँग हरबखर भिड्न ऊ आफ्नो पाखुरा सुर्काइरहन्थी। उसलाई क्रान्तिका तमाम चरण र असजिला-असजिला घुम्तीहरूबारे थाहा थियो। क्रान्तिमा होमिएका मानिसका मनोदशाहरू पनि थाहा थियो। र, त्यसलाई ठीक पार्ने तरिकाहरू पनि। ‘आमा’ लगायातका पुस्तकहरू पाँच कक्षा नपढ्दै पढीसकेको बताउँथी। तर उसको पनि परिवार थियो, समाज थियो। जो हुबहु मेरो जस्तै थियो, म जस्तै थियो। म अर्थात्, कट्टर पितृसत्तालाई प्रश्रय दिने पुरुष। र, उसको लडाई मजस्ताहरूसँग नै थियो। तर उसको दुर्भाग्य उसको बसउठ मसँग हुन् पुग्यो। उसको हृदय मेरो हृदयसँग बज्रन पुग्यो। अर्थात्, ऊ आफ्नो यात्राको पर्खालसँग प्रेम गाँस्न पुगी। उसको लक्ष्यभेदको कम्जोर तीर-वाणसँग माया साट्न पुगी। दिल लगाउन पुगी । समग्रमा आफ्नै यात्राको ठेसलाई उसले हृदयमा वास दिई।
***
अँ, एक्कासी हामी दुईको भेट भएको थियो। र, मलाई लाग्छ यो भेट एक घटना भन्दा बेसी दुर्घटना हो। यस्तो दुर्घटना जसले कायापलट ल्याउँछ। उथलपुथल ल्याउँछ- दुवैको जिन्दगीमा..सम्पूर्ण सेरोफेरोमा। हामीबीचको दुर्घटनाले पनि त्यो काम गयो। हाम्रो जोडी केहिका लागि ‘प्रेमको नमुना जोडी’ समेत सिद्ध भयो। तर यस नमुना जोडीको भित्री कथा असाध्यै बाङ्गोटिङ्गो र बक्र छ, असाध्यै छिस्मिसीएको र अपठ्यारो छ। यसै यस जोडीको कथा वियोगान्त भएको छैन, राजूजी!
***
उससँग ठोक्किनुपूर्व मैले केही दर्जन साहित्यिक, गैर-आख्यान एवं अन्तराष्ट्रिय किताबहरूको स्वाद चाखेको थिएँ। केहि वाद-दर्शन र चलनचल्तीहरूको चंगुलमा परिसकेको थिएँ। र, तिनै विचारधाराहरूको प्रभावसहित म ऊकन पुगेको थिएँ। अनि, तिनै कुराहरूलाई कल्पना एवं अनुभूतिको घोलमा मिसाएर प्रेमिल गन्थन-मन्थनमा उसलाई साझेदार बनाइरहेको थिएँ। ओशोको अनुयायी थिएँ, नविन के.भट्टराईका गीतको पारखी थिएँ। भर्खर-भखर साउथ इन्डियन फिल्मको चंगुलदेखि पर भाग्दै थिएँ। बेस्ट सेलर र लोकप्रियताको पन्जामा अझै पनि जकड़ीरहेको थिएँ। समग्रमा झट्ट कसैबाट प्रभावित होइरहने र आफ्नो मनमौजी चलाईरहने विसंगतीपूर्ण स्थितिमा थिएँ।
एकातिर साहित्यिक गन्थनमन्थनका कारण प्रसिद्धि पाउदै थिएँ, अर्कोतिर आफूले लेखेका कुराहरूको म आफैँ भेउ पाउन नसक्ने स्थितिमा पुग्दै थिएँ। कम्जोर जगसहितको घर जस्तो..म क्रमशः खोक्रो हुँदै थिएँ। जसोजसो दिनहरू बित्दै गए, मेरो प्रसिद्धि बढ्दै गयो- मैले आफ्नो लेखनलाई निरन्तरता दिइरहनुपर्ने बाध्य्तामक वातावरण तय हुन पुग्यो। र, लेख्नेहरूको एउटा कमजोरी कसैले तारिफ गरिदियो भने बेलुका अर्को लेख/रचना लेखिदिइ हाल्छन्, भलै त्यसको लागि आफू तयार होउन्/नहोउन्।
अत: मैले त्यतिबेला कदाचित सोचविचार गर्न भ्याइन- चोरेर हुन्छ कि सारेर हुन्छ; म लेख्दै गएँ। कसैको गफ सुनेर हुन्छ कि कसैबाट प्रभावित भएर हुन्छ; म बस्,..लेख्दै गए। लेखिरहे। लेख्दै गरे।..बस्, आफ्नो अनुभूति-भोगाई र सुझबुझ बिना नै म शब्दहरूको थुप्रो तयार गर्दै रहे।
उसले थाहा पाएकी थिई कि म किन र कसो गरि लेखीरहेको छु भनेर तर उसले मलाई रोक्न सकिन। ऊ ‘फलानो किताबको उद्दरण दिएर चोरेको हो?’भनेर सोध्थी। म बनिबनाउ बहाना अघि सारेर उम्कि भाग्थे। ऊ ‘फलानो व्यक्तिको अन्तर्वार्ता हेरेर लेखेको हो?’ भन्थी...म ‘आफैँले अनुभूत गरेको हो’ भनेर झुटा बहानाबाजी अघि सार्थे। ऊ जति जति मलाई आफू हुन, आफू भएर लेख्न आग्रह गर्थी, म उति उति कराउथेँ, सूत्र सिकेर आएको समालोचक नबन्न आग्रह गर्थेँ। ‘टिप्पणीकार’ त मैले उसको उपनाम नै राखेको थिएँ। ..यसक्रममा न ऊ ऊ रही, न म म रहे। बस..ऊ मलाई म बनाउन नसकेको सन्तापमा पिल्सीरही र म उसलाई म जस्तै बनाउन (नबोल्न, मेरो लेखाइबारे कुरै नगर्न,..) लागिरहे। नमानेको खण्डमा धम्काईरहेँ ..। जे होस्, तर एउटा तोरीलाहुरे हर्कत--मैले लेख्न कसैगरि पनि छाडीनँ। बरू म हामी दुईकै यात्रा र गफगाफलाई आधार बनाएर लेख्न थालेँ।
यी करिबन ६ महिनाजतिका कुराहरू थिएँ होलान्। त्यसपछी ऊ सफल भइ। मैले लेख्न छाडे। मैले लेख्न पटक्कै सकिनँ। मेरो साहित्यिक सेरोफेरोले मलाई लेख्, लेख् भनिरह्यो। ..मैले लेख्न सकिनँ..। साहित्यिक सेरोफेरोले पनि मलाई बिर्सिदै गयो। मैले पनि उसलाई बिर्सदै गएँ। कारण हो- म ऊप्रति अचाक्ली नजिक भइसको थिएँ। लेखेर पाएको झुटो प्रशंसाबाजी भन्दा उसँगको बसाउठीमा नै मन रमाउन थालेको थियो। कहिलेकसो लेखेर कमाएको तथाकथित ख्याती गुमेको पीरले मलाई चिमोटीरहन्थ्यो। त्यतिबेला केहि लेख्न पनि खोजीरहेँ तर लेख्न बिल्कुल नसक्ने हुँदै गएँ।
अर्को २/३ महिना उसँग शहरका तमाम दारुलय र पुस्तकालय छिर्न भ्याएपछी मैले आफूले लेखेर कमाएको ख्याती झुटो थियो भनेर बुझें। भनौं न, नलेखेर नै सन्तोकी हुँदै गएँ। नलेख्दा पनि खुसी हुन् थालेँ।
अर्को २/३ महिनामा त म आफ्नो लेखनको कमजोरीहरू औल्याउँन थाल्ने भइसको थिएँ। अघि अघि लेखेका मनोवाद, कविता,लेख-रचनाहरूलाई ओल्टाई-पल्टाई गर्न थाल्ने भइसकेको थिएँ। तर कदाचित तिनलाई पुनर्लेखन गर्ने आँट र हिम्मत भने आएन। बरू, त्यतातर्फ लाग्नुभन्दा उसँग कामवासनामा लिप्त हुँदै असली स्वादका फिल्म, गीत, चित्र र किताबहरू पढ्नु आन्नददायी ठहरियो। यतातर्फको मज्जा र सुख त्यता कदाचित थिएन। शहरमा हुनेगरेका साहित्यिक कार्यक्रम र भेटघाटमा पनि मेरो ऊपस्थिति पातलो हुन् थाल्यो। बरू हामी दुवै नाटकघरका गुप्त सिट, भट्टीका गुप्त कोठाहरू र चिहानघाट चिसा सिँढीहरूमा बसेर जिन्दगीका असली मज्जा लुट्न थाल्यौं।
यसै दिनहरूमा हो, हामीले बधशालाको विचरण गरेको। टेकु आसपास निकै पैश्विक हालतमा राँगा र बुढ्यौलीले गांजीसकेको भैंसीहरूको नरसंहार गरिन्थ्यो (सायद आजभोली नै गरिदो हो)। ऊ त्यहि आसपास बस्थी। र, हाम्रो भेट्ने-छुट्ने थाँतथलो त्यहि हुन्थ्यो। तर त्यहाँ भेटिइसकेपछि हामी कहाँ कहाँ पुग्थ्यौं र के-के उटुङ्ग्या गर्थ्यौं- त्यसको कुनै लेखाजोखा थिएन। ऊ हरेक दिनजसो भन्ने गर्थी- ‘प्रिय, संसार एक मायावी बधशाला हो।’ हामी घुमन्तेहरूको बिहान ३ बजेदेखी साँझ ९ बजे र राती १० बजेदेखी बिहान ७ बजेसम्मको घुमघामको 'निष्कर्ष वाक्य' थियो त्यो । जून, आजसम्म पनि साँचो छ।
वसन्तपूरका हर भित्रि चिया अड्डा र दारुमहलहरूमा हामी कविता पाठ गर्थ्यौं। निकै राम्रा कविताहरू थिएँ ति। हो, ति दिनहरूमा पनि हामीबीच वैचारिक मतभेद बर्कार नै थियो तर त्यसबेला हामी चुपचाप एक-अर्काको रिसराग र नक्रात्म्कतालाई घुटुक्क निलथ्यौं (यो धेरै हदसम्म ऊ नै गर्थी, ममा यो गुण अझै पनि भ्रूण अवस्थामा नै थियो..। बस्, अंकुरण हुन् बाँकी थियो)। दारुमहाल र चिया अड्डाहरूमा एक-अर्काको पोल्टोमा घोप्टो परेर सुनेका कविता, कथाले हामीलाई साहित्यप्रति अझ लगनशील बनाइदियो। अझ श्रदान्वातित बनाइदियो।
दिनहूँ पुस्तकहरू किन्थ्यौं र दिनहू त्यसकै कुरा गरिरहन्थ्यौं। एक-अर्काले किनेका पुस्तकहरू एक-अर्काला दिँदा बीचका पानाहरू भरी प्रेमपत्रहरू हुन्थे । प्रेमका साउती र कानेखुसीहरू हुन्थे । उसो त हामी दुवैले लेख्न छाडेका थियौं तर असली कविता के हो, असली कथा कस्तो हुनुपर्छ हामीलाई थाहा थियो। निरन्तर पुस्तकालय पुगीरहने र खाजा नखाएर पुस्तक किनीरहने आदतको हामी यतिसम्म दास भएका थियौं भरे फर्कदा भोको पेट हामी आ-आफ्नो डेरामा आइपुग्थ्यौं। त्यसअलवा उसको र मेरो डेरामा हामी एक्ला-एक्लै रहेको हुँदा हामी एक-अर्काको डेरामा बरोबर जाने-आउने गरिरह्यौँ। कामवासनाको अलावा पनि कोठाको रंगरोगन, भान्छा, किताबहरूको स्याहार-सम्भार, फिल्महरूको ह्यांगओभर र दारूको भरमार दिवाना हामी महिनौँ एक-अर्कामा होस् गुमाएर बस्यौं।
आफू दुई भए कोही नचाहिने, आफू दुई भए जे पनि गर्न सकने त्यसप्रकार आत्मविश्वास र बहादुरीले हामीलाई हामी बनायो।…. सहयात्री बनायो । एकै लक्ष्य, एकै सपना र एउटै गन्तव्यको वाचा-बन्धन समेत गर्न पुग्यौँ ।…….
तर यो धेरै दिन चल्न सकेन। टुप्पोमा पुगेपछी झर्नु आवश्यक थियो। खस्नु अनिवार्यता थियो। लड्नु स्वाभाविक थियो। पछारिनु यथार्थता थियो। चोटपटक लाग्नु वैज्ञानिक थियो।..र त्यहि भयो..जून पूर्णत व्यावहारिक थियो,..जैविक थियो,..प्राकृतिक थियो।
म जान्दिन, त्यसदिन उसलाई के भएको थियो। ऊ एकाबिहानै मकहाँ आइपुगेकी थिइ..!
****
छद्म नामधारी सो व्यक्तिको आलेख(प्रेम कथा?) यही सकियो। मैले पुन: पेज रिफ्रेस गरे...गरिरहेँ ।तर केहि हात लागेन। उसले यसभन्दा बढी केहि पनि लेखेको थिएन। मैले पटकपटक रिफ्रेस गरे तर अहँ..यसपछि केहि पनि लेखिएको छैन।
म घोर निराशतामा डुबे। चरम कष्टकर स्थितिमा पुगे। म सोच्न थाले, ऊ उकहाँ आइसकेपछी के भयो? ऊ उकहाँ किन आएकी थिइ? त्यसपछी के भयो । उसले मलाई सम्बोधन गर्ने क्रममा वियोगान्त कथा भनेको छ । एक-अर्कामा त्यसप्रकारले समाहित भएको त्यस प्रेमिल जोडीको कथा कसरी वियोग भयो? के कारणले छुटिए उनीहरू?
अझ त्यसभन्दा पनि महत्त्वपूर्ण प्रश्न, अनि उसले त्यसपछी लेख्यो कि लेखेन? उसको कथाअनुसार उसले लेख्न चटक्कै छोडेको थियो,..फेरी उसले यति लामो कथा मलाई कसरी लेखेर पठायो? उसको लेखन अब्बल छ, प्रवाह रुचिकर छ। अझ महत्वपूर्ण उसँग कथा लेखन शिल्पी छ र उसले आफ्नो कथालाई सुरुचिपूर्ण बनाएको छ। उसको लेखनी नियाल्दा उ लेख्न सक्ने मान्छे हो । के उसको कुनै किताब बजारमा आएका छन् ? उसको असली नाम के हो ?
म त्यो छद्मनामको एक-एक अक्षरलाई घुरीरहेँ..घुरीरहेँ।...तर आइडीमा उसको फोटो थिएन र जिमेल एड्रेस निकै अस्पष्ठ र नबुझिने थिगो । बस अङ्ग्रेजी अक्षरहरूमो हुलमुल जस्तो मात्रै । …
रातको घडी एकाएक समाहित भए। तीनवटै सुई एकअर्कासँग समागममा लिप्त भए। अब यो घडीका सुईँहरूको गर्भधारणको समय हो। यसपछि अर्को बिहान जन्मिनेछ। अर्को दिन र रात क्रमश: आउनेछन्। तर…,तर…,उनीहरूको वियोग कसरी भयो होला? उनीहरूको त्यसपछी पनि भेट भयो होला? उनीहरू अहिले सँगै होलान्? उनीहरूलाई यतिबेला एक-अर्काको हालखबर थाहा होला? र, ऊ आफ्नो कथा आधाअधुरोमै छाडेर कता गयो होला?..के उसले बाँकी कथा फेरी लेखेर मलाई पठाउनेछ? या बाँकी कथा अर्को छद्मनामबाट उसको प्रमिकाले लेखि पठाउनेछे?..के म अर्को भागको प्रतीक्षा गरौँ? र, मेरो भोलिको साहित्यिंक अंक?..
म सम्भोगलीन अवस्थामा रहिरहेका तीन वटा घडीका सुईहरूलाई हेर्दै निरन्तर प्रश्न गरिरहेछु।..गरिरहेछु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...