कजना साथी छन् मेरा । उनी भनिरहने गर्दछन्, “हेर राजु, प्रेम जोसँग जहाँ पनि हुन् सक्दछ ।” उनीसँग म सहमत थिइन् क्यारे ती दिनहरूमा । म सोच्दथे, “ना बाबा ना, प्रेम त एकफेर हुन्छ । एउटी सँग हुन्छ । भइराख्छ । भइरहन्छ ।” ..... म सोच्दथे क्यार ती दिनहरूमा । 

अर्का एकजना साथी छन् मेरा । उनी भनिरहने गर्दछन्, “सँगालेर राख्नु पर्छ खुसीहरू । बाँड्दै हिँड्ने होइन ।” उनी आफ्नो प्राचीन प्रेमलाई खुसीको नाम दिएर दंगदास भई हिँडिरहेका छन् । राधाको रूप लावण्यमा जगदगुरु कृष्ण लट्ठ....। क्या मिलेको चट्ट । विछट्ट ।

हृदयको वाचलता, बौद्धिक बहस या विचारहरूको ताल-बेताले अभिव्यक्तिबीच कहीँकतै म पनि रुमल्लिरहेँ क्यार...। सोची ल्याउँदा सोचीरहने गर्दछु कि “मुला झल्लु । तेरो प्रेम इस् प्रेम, तेरो भावुकता इस् भावुकता । तेरो अभिव्यक्ति भुत्राको अभिव्यक्ति ।” म पनि रुमल्लीरहे क्यार । । । 

कालो आँखा भएका लाटोकोसेराहरूले कालो रात र रातो सिउर भएका भालेहरू रातो बिहान ल्याईरहे । साइत निकालिरहे, तिनको लेखाजोखा गरिरहे । घडी, पला, नक्षत्र,... हिसाबकिताब गरिरहे । मान्छेहरू त्यसैअनुरूप दगुरिरहे (छन्) । तर लाटोकोसेरो जब निन्द्राबाट ब्युझियो- तब रात भइरह्यो । भाले जब निन्द्राबाट ब्युझियो- तब बिहान भइरह्यो । ....चलिरह्यो- एउटा शाश्वत सत्य...... । टाँगिरह्यो- एउटा आस्थाको वस्त्र, मानस खोपडीमा ।

जीवन उपयोगिताको कठोर ठिंगुरामा गुजारिरहे मैले आफूलाई, घिच्याइरहे त्यतातर्फ । कहिले पेट भर्ने रहर, कहिले आन्द्रा तृप्त पार्ने चेष्टा । कहिले दौडी भाग्ने आवेग । कहिले दिन बियाल्ने अनेक उत्कण्ठा । कहिले भागी हिँड्ने मन । कहिले लखेटिरहने मस्तिष्क । 

जीवन एउटा ठाडो भिर अनि दैनिकी एक बोझिलो भारी र काँखीको गन्ध । जीवन दूर भागिरहने क्षितिज र दिनाचर्या भास्सिरहने पैताला र आँखाहरू । अरूकै गीत र गाथा...., अरूकै स्वर र भाका.....। 

तर लगातार गुन्गुनाइरहेछु म- 
‘रेट्न सकेन सारङ्गीले पनि, 
ए लौ..... बिझीरहने काँडा भयो जिन्दगानी !’

मनुष्य भइकन पनि मैले आफ्नो जन्मसिद्ध रागात्मक वृत्ति त भुसुक्कै भुल्दिएछु क्यार । क्या विधि खस्रोपन नि यो मेरो । क्या ठेट्ना वैशिष्ठयता नि मेरो । अहिले एकफेर खुसुक्क आफूलाई चड्काएर ‘आत्थो आत्थो’ ओकल्दै तातो पानीले भरिएको चिसो गिलास मुसार्दै सम्झिन्छु, “हो त, साँच्चै । चिसो थियो उसको वक्षस्थल ।” 

ऊ भन्थी, “तैंले मेरो वक्षस्थल भित्रको सुकुमार मन भेट्टाइनस् । तीनले संगालेको मातृत्व देखिनस ।” प्रेमिकाका वक्षस्थलमा मातृत्व ? त्यो असजिलो  प्रश्नको सजिलो उत्तर त्यतिखेर मैले... मैले भेट्न सकिन । परिमाणतः उसले मलाई प्रेमपत्रको नाममा आरोपपत्र थमाएर भनी, “गन्तव्य एकै भए पनि अबदेखि हाम्रो यात्रा फरक...... बिल्कुलै फरक ।”

आधा ठिहिरो र आधा सिरेटो त्यसपश्चात अलग भए । धिपधिपे साँझ र धमिलो लाल्टिन फेरि देखिएनन् प्रेमको गल्लीहरूतिर ।

झुसिलकिरा पुतली बन्न पाएनन् यस अर्थमा । फूलहरू शोकमग्न होलान् । प्रेम ओइलायो । । । हृदय मुर्झायो । मेरो मात्रै कि उसको पनि ?

...प्रेमको पुस्तकमा ओइलाउन पाएन एक थुन्गो फूल । थुंगो-मधुर वर्षातको ! ..थुंगो-अनन्त आकाशको ! थुंगो !

स्वीकारे मैले उसको प्रस्ताव ....सकिन । सिउँडी घारीमा पसlगयो एक टुक्रा उज्यालो ।

फेरि पढे उसको प्रस्ताव, स्वीकारे...... तर, तर फेरि सकिन । ...सिउँडी घारीबाट निस्कीगयो एक टुक्रा उज्यालो !

फेरि पढे... पढे... ! र फेरि पनि सकिन । यो सिलसिला चलिरह्यो । ....अन्ततः त्यो एक टुक्रा उज्यालो अब सिउँडी घारीतर्फ देखिँदैन यतिबेला ।

सिउँडीका काँडाहरू यद्यपि जूनताराका झल्लारी छाता ओढेर सङ्घर्षमय संसारको भीडमा रुङिरहेका छन् अरे ! पत्ताउनै मुस्किल ! 

आफ्नै वास्तविकता एक मोर्चा, आफ्नै वास्तविकता एक युद्धमैदान । 
लडाई आफैँसँग, जीत आफ्नै, हार पनि आफ्नै । 
हतियार पनि आफैँ । र, लडाकू... ?

शब्दहरू रेखाशास्त्रमा परिणत भए, रेखा गणितमा रूपान्तरित भए । 
र, बन्योस त्यो प्रेम, त्यो प्रेमपत्र- एक अबस्ट्रयाक्ट अंकगणितीय कोलाज । 
र, बन्योस त्यो प्रेम, त्यो प्रेमपत्र- वाक्य र अर्थमा सनन्हित अभिव्यन्जनाको अमूर्त शब्दहरूको चाङ । 

मानिस स्वभावतः आफ्नो भावनाहरूलाई आफूकन मात्र सीमित राख्न सक्दैन । म सकिरहेको छैन । नत्र ‘भावना कला हो’ भन्दै कलाकारहरू आफूलाई किन पोखी हिँड्थे ? भरिएपछि पोखिनुपर्छ, ठिक छ....। पिँधमा एक टुप्पो सियो छिद्र पारिरहनु र भरिरहनु पनि त कला होला ? कलाको साध्य हुनुपर्छ भन्ने त छैन होला । यदि छ भने आनन्द र चिन्तनलाई कसरी सुत्रपात गर्ने हो, हो ... साध्य बेगरका प्रेमहरूमा म परिरहे । रहिरहे । 

यतिका अनुभवले यहि बताउँछ कि कला वस्तुतस् अनुभव रहेछ अनि एक प्रेरणा पनि- सिर्जनाका निमित्त ।
सिर्जना त्यो एक प्रेम । सिर्जना त्यो एक कविता । सिर्जना त्यो एक प्रेम र कविता बीचको न्यानोपन । 
सिर्जना-त्यो एक जीवन । सिर्जना त्यो एक मृत्यु । सिर्जना त्यो एक-जीवन र मृत्यु बीचको चिसो आलिंगन । 

प्रेम, सर्वकालिनता ?
प्रेम,अवधारणा ?
प्रेम, अनुभूतिजन्य भावनाको तीव्रता ?

यदाकदा शहरका गल्लीहरूमा उसको गन्ध पाउँछु । 
मेरो नाकले भन्छ ‘उ यही कहीँ छे’ । 
मेरो आँखाले यताउता खोजेर भन्छ,”छैन हो छैन, यता कतै छैन ।” 
मन बाठो भइटोपल्छ र प्वाक्क बोल्छ, “तँ आफ्नो मस्तिष्कबाट उतारी फ्यांक उसको गन्ध ।” त्यसपछि नाक नाक खुम्चाउँछ । आँखा परेला चिम्साउँछ । मन दंग पर्छ । छाती भुक्क फुल्छ । र, मस्तिष्क प्वाक्क परिरहिन्छ । । । । 

खुट्टाहरू फेरि गति समात्छन् । र, हातहरू पुनस् लय पक्डन्छन् ।  
सहर साँझ बनिदिन्छ र आकाश मेरो छायाँलाई लुकाउँदै लैजान्छ ।

एउटा साथी छे । उसको न कुनै व्याख्या गर्न गइरहेको छु म, न तुलना । 
न कुनै प्रणालीगत कथन, न मुल्याकंन नै । 

उसको विचार एकांगी र सौन्दर्यको परिकल्पनाले मलाई हायकायल बनाउँछ । 

ऊ भन्छे, “म राम्री मान्छे हो, मैले घरको ऐना फुटाइदिएँ ।” त्यति कुराले मलाई उससँग उठबस गराइराख्छ ।

न बहिष्कारजन्य भाव छ हामीबीच, न समन्यवतमक्ता जस्तो केही । 
न परावर्तन कतैको, न प्रकाश कहीँदेखि । 

छौँ त्यही पनि उज्यालो । छौँ त्यही पनि घमाइलो लसपसमा ।
यतिलाई ‘प्रेम’ भन्नु भन्छु । ‘प्रेम यति मात्र पनि हो ।’

म खोकीरहेको हुन्छु, ऊ आउछे र भन्छे, “ पानी तताएर खा ।” 

हामी हिँडिरहेका हुन्छौँ र उ अडिग उभिएर भन्छे, “अँगालो बन्धन हो ।” म अँगालो हालौँ क्यारे भनेर सोच्दै थिएँ..... एउटा साथी छे मेरो । 

“लाजको घुम्टो ओढी, तिमी माया यसै लुकाऊ छेउ... ।” गीत बजिराख्छ..... ।
अस्तु ! 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार