कामाख्या रेल स्टेसन ।
रेलमा उठियो । म जस्तै अरू पनि उठे । कोही बेग लिएर एक्लै उठे । कोही केटा-केटी, टोप्ला-टोप्ली लिएर, कसैले आफ्नी दुर्बल पत्नीलाई हातमा समाएर उठाए । रेल छुटेको छैन । तथापि बस्नलाई सिट पाइँदैन भनेर दौडा-दौडी गर्यौं । सुत्नलाई पनि जग्गा चाहिन्छ । रातिको रेल । रातभरि रेलमा नै जानु पर्छ । बिहान मात्रै पुग्नेछ ।
रेल एक्सप्रेस हो । जुनसुकै स्टेसनमा रोकिँदैन । रातभरि दौडिएर उज्यालो भएपछि मात्रै नाहरलगुन पुग्नेछ । धेरै जसो नै बीचका स्टेसनहरूमा उत्रनेछन् । कति चैँ राङापाडा, विश्वनाथ चारालि, गहपुर अथवा अरूणाचलमा उत्रनेछन् । अरूणाचलको नाहरलगुनसम्म जानेछ रेल । धेरैको नै रिजर्भेसन छ । नभएकाहरू जनरल डब्बामा उठेका छन् । छेउमै उत्रनेहरू दर्जाकै छेउमा उभिनेछन् । उठेका छैनन् । रेल चलेपछि उठ्नेछन् उनीहरू । ठिटा केटाहरू डर भर केही छैन ।
म भने एक्लै भए पनि आफ्नो सिट खोजेर बसिहालेँ । म बसेको खिड्कीको छेउमा एउटी आइमाई पनि बसेकी छ । उसको मुख देखेको छुइनँ । बुढी हो कि केटी हो थाह पाएको छुइनँ । कहाँ जान्छे जान्दिन । सोधेको पनि छैन । खिड्की छेउमा बसेर उ बाहिर हेरिरहेकी छ । एक खेप पनि म तिर फर्किएकी छैन । सानो बेग एउटा लिएकी छ । गोडामाथि दुईटा हातले समातेकी छ बेग । पहिरनमा साडी । हल्का नीलो नाइलनको । रातो पारी भएको । हल्का नीलो साडीलाई पानीमा भिज्न दिनु हो भने आइमाईको अङ्ग-प्रत्यङ्गहरू सबै देखिनेछ ।
आइमाई केही क्षण अघि पसिनाले भिजेकी हुनुपर्छ । तात्तातो पसिना गन्हाई रहेको छ । आफ्नो पसिना नराम्रो गन्हाए पनि त्यो आइमाईको पसिना भने मलाई भित्रैदेखि राम्रो लागेर आइरहेको थियो । मान्छे मान्छेमा ठेला-ठेली हुँदा म पनि लिकति ठेलिएँ । ठेलिँदा ठेलिँदै आइमाईको छेउमै धस्किन पुगेँ । आइमाईको कुइनामा ठोक्किए जस्तै लाग्यो । मेरो हत्केलो आइमाईको हत्केलामाथि नराम्रो गरि जोडिन पुग्यो । म पनि लजाएँ । आइमाईले के सोची जान्दिनँ । आइमाईले आफ्नो हत्केलो हटाए पनि मेरो हत्केलो भने त्यस्तै लागि रह्यो ।
राम्रो भएन । उत्रने क्या हो भनेर मलाई सोधी । उत्रन्न । कुनै रकमले जान्छु, मैले भने । एक समयमा रेल दौडन थाल्यो । रेल दौडन थालेपछि मेरा भावहरू पनि दौडिन थाले । आइमाई कहाँ जालीरु । । । । एक्लै हो किरु । । । । । इत्यादि इत्यादि । अरूहरू विभिन्न कुरा गरिरहेछन् । कोही मोबाइलमा गेम खेल्दैछन् । कोही हेड फोनमा गाना सुनिरहेछन् । हामी दुई चुपचाप । आइमाई पनि, म पनि । बात मार्न कुनै बहाना भेटेको छुईंनँ । कुनै विषय पनि छैन । चिनेको पनि छैन । मुख नै देखेको छुईंनँ, कसरी बात मार्ने । आइमाईले जब बाहिरतिर फर्केर हेर्न लागि एकटक लगाएर हेरिनै रहेकी छ । चुपचाप बाहिरै हेरिरहेकी छ । टाढा देखिएको गुवाहाटी शहरको रमझम, बिजुलीको झिलिक-मिलिक हेरिरहेकी होली । हेरेर के सोच्दै होली जान्दिनँ । आइमाईले कपाल सम्हाली । कपाल मिलाउँदा पनि उसको मुख देख्न पाइनँ । हेर्न चाहेको मुखलाई केही बल गरेर अर्कै पट्टि फर्काई ।
मैले सोचेँ- आइमाई जस्ती-तस्ती हैन । भद्र महिला हो । उच्च वर्गकी । कवि हुन सक्छे । कविताको हरफ, कविताका शब्दहरूमा खेलिरहेकी हुन सक्छे । कविले कविता लेखिरहेको बेला जसरी भाषा र शब्दमा डुबिरहन्छ आइमाई पनि त्यस्तैमा डुबिरहे जस्तो लाग्यो । बात मारौ भने कविताका हरफहरू हराउने डर भए जस्तो । हरायो भने पागल जस्तै घरकै बराण्डामा यता उता गरिरहेको कुनै नामी कविको हालत जस्तै विक्षिप्त भावको स्थिति हुनेछ । आइमाईको चुप रहेको अवस्थालाई मैले त्यस्तै होला भन्ने सोचेँ ।
शराईघाटको पुल आयो । भावुक भएर म पनि चुप भएँ । पुलको शब्द हाम्रो डब्बामा पनि आयो । सबैले भाषा बुझ्नु पर्छ । सबै चुप हुनुपर्छ । आइमाईले त्यही समयमा आफ्नो वेगलाई दुवै हातले खोली । केही बोलिन । मैले पनि लाज लाज मानेर केही भनिन । चुप लागेर बसेँ । भद्र महिलालाई जस्तो तस्तो कुरा गर्नु हुँदैन । भन्नु उचित पनि होइन । बाटा घाटामा चप्पल खोलेर पिटेका उदाहरणहरू छन् । कहिलेकाहीँ अरूले भनेको सुनेको छु र आफ्नै नजरले पनि देखेको छु । जस्तो तस्तो कुरा हरू हेर्नुभन्दा आफैँ संयत रहेको राम्रो । लाजले मुख लुकाएँ ।
दुवै गोडामाथि राखेर चेइन खोलेर ब्यागबाट केही चीज निकालेर मुखमा हाली । सादा हो कि के हो केही भन्न सकिनँ । पान पनि हुन सक्छ । त्यसै समयमा भद्र महिला भन्ने सोचिराखेको मेरो मनमा केही खलबली मच्चियो । भद्र महिलाहरूलाई तामुल-साधाको टोप्ला बोकेको देखेको छुइनँ । किनेर लगेको पनि देखेको छुइनँ । कस्ती आइमाई हो योरु धत् म पनि के के सोचिराखेको छु । कोही बेला त के हुन्छ । दबाई पनि त हुनसक्छ । दबाई थियो भने पानी चाहिने थियो । दबाई हैन त्यो । दबाई थियो भने त्यसको खोल देखिने थियो । खोल बाहिर फ्याँक्नु पर्ने थियो । अहँ । । होमियोको दबाई पनि हुनसक्छ । होमियोको दबाई पानीसँग खानु पर्दैन । पानी नखाँदा पनि हुन्छ ।
दबाई खाएकी हो भने आइमाईलाई केही बिमार छ कि क्या हो....। सोच्न न सक्ने बिमार लागेको छ कि कसो । आल्ट्रासाउण्ड गर्दा पनि फेला नपर्ने कुनै नराम्रो बिमारले भेटेछ कि क्या हो । न केटा केटी न हुने दबाई खाएकी हो । केटाकेटी नहुने के के दबाई हाम्री नानीकी आमाले पनि खाएकी थिई । ढिलो गरेर बच्चा जन्माउनलाई नानीकी आमाले पाँच वर्षसम्म त्यो दबाई खाएकी थिई । छिट्टै बच्चा जन्मायो भने आमाहरूको देह बिग्रन्छ । कुरा सबैले बुजेका छन् । त्यसैले हिजोआज सबै आमाहरू दबाई खान्छन् । बिहे नभएका केटीहरू पनि दबाई खान्छन् । दबाई खाँदा खाँदा । । पछि बच्चा न जन्मने हुन्छ । बच्चा जन्मने सम्भावना पनि कमाउँछन् । नत्र एबर्सन गराएर यन्त्रणामा एक्लै जीउँछन । त्यसो भएन भने बाउ बिनाको बच्चा जन्माइदिन्छन् । त्यसो गर्नुभन्दा आँखा खुला राख्नु राम्रो हुन्छ ।
सहरहरूमा अक्सर त्यसरी जन्मिएका बच्चाहरूलाई कहिल्यै बाटा छेउमा, कहिल्यै डस्टबिन छेउमा फ्याँक्ने गर्दछन् । यस्तै यस्तै सोच्दै हत्केलालाई तानेर ल्याएँ आइमाईको हत्केलाको छेउबाट । आइमाईको हत्केलोलाई पर सारिदिएँ । आइमाई अलिक पर सरी । अर्कपट्टि फर्किए जस्तै गरी मबाट टाढा गए जस्तै गरी । म पनि अलि पर सरेर बसेँ । मलाई नहेर्ने जस्तै गरी । मैले सोचेँ- कहिल्यै यस्तो कुरा सोचेकी थिई होला । मलाई पर राख्ने । राख्न सकिरहेकी थिइन । मेरो हत्केलाले लागेको उसलाई थाहा हुनुपर्ने उसको उष्णता मलाई महसुस भइरहेको थियो । म देखि रिसाई कि क्या होरु मलाई असभ्य, नराम्रो मान्छे भनेर सोचीहोला । मलाई लाज लागेर आयो । मेरो भूल भयो । त्यसै उसै सोचेँ । आइमाई धेरै लेखे पढेकी हुन सक्छे । कुनै कलेजकी छात्रा पनि हुन सक्छे । छात्रा नभएर अध्यापक पनि हुन सक्छे । नत्र अफसर पनि हुन सक्छे । आफ्नो कार्यालयमा कस्तो काम चल्दैछ, स्टाफले राम्रो गर्दैछन् कि छैनन् त्यस्तै सोचेर बसेकी हुन सक्छे । नभए दुर्नीतिको बाटो लिएर धन कमाउने हुन सक्छे । दिन दिनै राम्रो बाटो खोज्दै हिँडेकी पनि हुन सक्छे । सिँचाइ अभियन्ता हो भने कुनै अञ्चलको, कुनै जिल्लाको कृषकहरूलाई ठगाएर रूपया ऐँठने बाटो खोज्ने पनि हुन सक्छे । खनिराखेको नालालाई देखाएर प्रतिशत भाग गर्ने पनि त हुन सक्छे । मैले पनि आइमाईको जीउको छेउबाट आफैँलाई पर सारेँ । पर सरेर बसेँ । आइमाई पनि कोल्टे फेर्दै अर्कैपट्टि फर्किएर बसी । उता फर्केर के कुरा सोच्न थाली । भित्र भित्रै के के सोच्न लागी । ‘तँइले बूजिस, तँ केही चिन्ता गर । आइमाईको कुरा छाडि दे’, मेरो अन्तर्मनले भन्यो ।
तर भएन । फेरि त्यही आइमाईको कुरा सोच्दै हिँडेँ । आइमाई बिहे नभएकी हो कि बिहे भएकी आमा हो फेरि सोच्न थालेँ । बिहे नभएकी भए किन एक्लै हिँडथी र ! पघा नभएका भेडा बाख्रा जस्तै । चर्न छोडिदिएका गाई बाख्रा टाउनका बाटा घाटामा हिँडे जस्तै । सबैले खेद्छन् । कसैकोमा पसेर पानी खान्छन् । चर्न छोडिदिएका गाई गोरुहरू जताततै दोकानहरूमा दाल आलु फ्याँकेको खोज्दै हिँड्छन् । त्यो आइमाई पनि त्यस्तै घर बारी नभएकी, आमा बाबु नभएकी, पति नभएकी घुमी फिरी हिँडने देह व्यापारमा लागेकी कुनै वेश्या त हैन । न आइमाईको कुनै मायालु छ कि क्या होरु जे होस्, त्यो आइमाई राम्री आइमाई हैन । आइमाईको तातो पसिना मलाई अब नराम्रो लाग्न थालो । त्यो आइमाईको देहबाट अब गोमूत्र जस्तो गन्ध आउन थाले जस्तो लाग्न थालो । त्यस्तो भए पनि चुप लागेर बसेँ ।
आइमाईबाट पर गएर बस्न मन लाग्यो । खिड्कीको छेउमा गएर हेर्न मन लाग्यो । हेर्न सकिएन । पर सर्ने जग्गा पनि छैन । खिड्कीमै चेपिएर बसेकी छ विचारी । कतै पनि नहल्लिकन गाछको मुढा जस्तै स्थिर भइरहेकी छ । श्वास फेरेको आभास भइरहेछ । मुटु ढूक.....ढूक..... गरिरहेछ । उसले श्वास फेरेको मेरो जीउमा पनि अलि-अलि अनुभूत भइरहेछ । नयाँ मारूतिलाई स्टार्ट गरेर स्लो रेसमा चलाएर साईलेन्सार पाइप बाट थर्...थर्.... गरे जस्तो । त्यो आइमाई तर मारूती पनि हैन, ट्रैक्टर पनि होइन । हावालाई भेटेर आफ्नो बनाए पनि पाउन नसक्ने चीज हो त्यो आइमाई एमआरआई गरे पनि त्यो आइमाईको कुरोलाई जान्न सकिन्न ।
भूतलाई मैले देखेको छुइन । भूतको कामलाई कसै कसैको मुखबाट सुनेको छु । भूतको हात-हत्केलाहरू अति चिसो हुन्छ अरे ! तर त्यो आइमाई त भूत पनि हैन । त्यसको हत्केलो तातो छ । खुन पसिनाले बनिएकी मान्छे हो ऊ । उसको जीवन छ । सोच-विचार छ । पृथ्वीको सौन्दर्य हेर्ने दुई वटा आँखा छन् । मुटुमा के छ जान्दिनँ । माया-रुनु-हाँस्नु उसको मुटुमा छ कि छैन त्यो खोजेर पनि केही पाउने छुइनँ । खोज्ने सुयोग पनि छैन । कुनै सूत्र भेटिएन । केवल सोचेँ अनि सोचेँ । समय पनि अलि अलि गर्दै गइरहेछ । अहिलेको समय कस्तो हो केही थाहा छैन ।
रेलबाट को उत्रियो, को उठो केही देखेको छुइनँ । आइमाईले हेरिरहेकी खिड्कीबाट बाहिर उज्यालो भएको भर्खरै थाहा पाउँदै छु । उज्यालो भएको हुनुपर्छ । उज्यालो भयो । रेल पनि रोकियो । नाहरलगुन स्टेसन आइपुगेको हुनुपर्छ । सबै उत्रन ठिक परे । म पनि आस्तेले आइमाईको रातो पारी भएको साडी थिचिएबाट उठ्दै आइमाईलाई त्यसै बोलाएँ- ‘आऊ । ’
केही नभनीकन आइमाई उत्रिएर मेरो पछि पछि आई । हामी दुवै पति पत्नी जस्तै रेलबाट उत्रियौँ । प्लेटफार्म छाड्यौँ । बतलको पानीले मुख धुन खोज्दै आइमाई अलि परतिर गई ।
‘चिया पिउने ?’
‘पिउँदिनँ ।’
पिउँदिनँ भने पनि रातभरि सँगै बसेकी आइमाईको मुखबाट पहिलोपल्ट भए पनि कुरा सुन्न पाएर राम्रो लाग्यो । उसको अनुहारलाई धेरै राम्रोसँग हेरेँ । आइमाई देख्नमा राम्री छ । गोरी, ठुलो अनुहार भएकी सुन्दरी । नाक मेरो भन्दा अलिक ठुलो अनि थेप्चो थियो । राम्री भए पनि उमेर सोध्न ठिक लागेन ।
केटी त हैन । बिहे भएकी आइमाई । तीस वर्षकी जस्ती देखिए पनि असल उमेर भने त्यो भन्दा बढी नै हुन्छ ।
‘तँपाई पिउनुहोस् है दाजु, म पान खान्छु । यो पनि राम्रो हैन । पान खाने मेरो निशा नै भयो । ’ यसरी ब्यागभित्र राखेको तामुलको थैलो निकाली र थैलीबाट पान निकालेर मुखमा हाली । ‘बिडी, सिगारेट केही पनि म खान्न । अरूले खाए पनि म नराम्रो मान्दिनँ । मास्टर थिएँ । अहिले रिटायार्ड भएँ ।’
‘पर्दैन दाजु । सँगै बसेर मेरो अभिभावक जस्तो भएर आयौँ त्यसको लागि दाजुलाई धन्यवाद है । मेरो त जीवन नै एक्लै । बिहे भएपछि पनि मेरो पतिले मलाई छाडेर हिँड्यो । कहीँ गयो । त्यही हराएको पतिलाई खोज्दै आजसम्म बीस वर्ष घुमेँ । तर पनि उसलाई भेट्न सकिंनँ । कहाँ गयो के गर्छ जान्दिनँ । मलाई विश्वास छ उ मरेको छैन । छिट्टै उसलाई भेट्नेछु । गुवाहाटीको कुनै पहाडमा गाई पाल्छ अरे भन्ने सुनेर गएकी थिएँ । छैन, भेटिएन । फेरि सुनेँ, अरूणाचलको कुनै ठाउँमा काठको काम गर्दै छ । तर कुन जिल्लामा, कुन जङ्गलमा त्यो पनि जान्दिनँ ।’
‘नाम के हो ?’ अचानक सोधिहालेँ ।
‘दिल बाहादुर । त्यही दिललाई खोज्न म अरूणाचल आएकी । तपाईं जानुहोस् दाजु । म जान्छु ।’ यति भनेर उ हतारमा गई । फोन नम्बर पनि लिइनँ ।
दिल बाहादुर..... म चिन्दिनँ । चिन्नु पर्ने कुनै कारण पनि छैन । ऊ भयो अर्कै जातिको । अर्कै संस्कृति मान्ने । म एक जना मास्टर । अब रिटायार्ड ।
आइमाई जाँदै गरेको दृश्य टाढासम्म हेरिरहेँ । रातो पारी भएको नीलो साडी उच्च पावरको चस्मा लगाएर हेरिरहेको छु । सोचेँ- त्यो आइमाईले आफ्नो पति दिल बाहादुरलाई भेट्ली त............!!!
(मूल लेखकः नन्देश्वर दैमारी, इस्वीको १-५५, मे २५ मा भारतमा जन्मिएका हुन् । दैमारी बडो भाषाका प्रसिद्ध लेखक हुन् । उनका रचनाहरू असमिया र बडो भाषामा प्रकाशित छ ।
नेपाली भाषान्तरः वैद्यनाथ उपाध्याय, इस्वीको १-६७ सेप्टेम्बर २८ मा जन्मिएका हुन्, उनी कवि, पत्रकार एवं समालोचक हुन् । उपाध्यायको हिन्दी, असमिया र नेपालीमा पुस्तकहरू प्रकाशित छन् । उनी केन्द्रिय हिन्दी निर्देशालयबाट हिन्दीतरभाषी हिन्दी लेखक पुरस्कारले सम्मानित छन् ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...