धनकुटामा जन्मिएका नरेन्द्र कश्चित कवितामा निरन्तर कलम चलाइरहेका एक सक्रिय कवि हुन् । कश्चित कवितासँगै पत्रकारितामा पनि आबध्द छन् ।
मानिसहरूको भिडबाट
धर्तीबाट वाफ लिएर
सोचाई आकासमा वादल बन्दछ
र आँगनमाथि
बर्षाइ रहन्छ सम्झनाको साउन
टोरोन्टो सहरको गल्लीबाट
हुँइकिएर अतितको झोँका
नङ्वारिखा डाँडामाथि पुग्दछ
र सिरूका फुलहरू छुँदै
हल्लिन्छ बेस्सरी उत्तिसका पातहरूमा
खसाउँदै यादका आद्रता
जोवनको
अनगिन्ति पहाड स्खलित गर्दै
मज्बुल्लाहको किनारमा थुप्रिएको
गिटी र बालुवाभित्र
देश खोजि रहेछ समय
डिग्री सेन्टीग्रेडको मिटरभित्र
तातो रापमा उम्लिरहेछ सपनाहरु
यथार्थ झुन्डिरहेछ ज्वालामुखिमाथि
वर्तमान
मेरो देश भइदिए
विरानो देशमा
आउने थिएन भुतकाल
सम्झनाको घोडा कुदाउँदै
भविष्य चिम्टा बोकेर
कैलाश झर्ने थिएन
फुल्थे नौ रङ्गी खुसी
आफ्नै आँगनमा
हुर्किँदै जान्थे उल्लासका जोवनहरु
र उक्लिएर
सुख सर्वोच्च शिखरबाट
घर घरमा
धुवाँ निस्के ननिस्केको हेर्थ्यो
मलाई धेरै भन्नु छैन
बश यति मात्रै भन्नु छ
तापमान मथ्थर भएको पल
तातो देशका
सबसे चिसा मानिसहरूको भिडबाट
कहिले उडुँ ?
र मालिङ्गोको बाँसुरी
बजाउँदै बजाउँदै
झरू कटहरे खेतैखेतको गल्लीमा ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।