कथ्य...
तपाईंको ठिक सामुन्नेको नेपथ्यमा गञ्जागोल बेपर्बाह गाँठिएका डोरीको जालो छ । प्राङ्गणको दायाँतिर प्राचीन गोरेटो बाटो छ । दायाँतिर छ, सम्झनाको चौतारो जस्तो केही ।
अब तपाईं, पचासको दशकतिर फर्कनु भो ।
एउटा गाउँ छ । गाउँमा कुनै साझा ठाउँ छ । व्यापारी माईला सधैँ झैँ गाउँलेलाई आवश्यक केही खिजिरमिजिर सामानहरू लिएर आएको छ । खर्पन बिसाएर चुर खाँदै मानिसलाई सामान लिन आह्वान गर्नु व्यापारी माईलाको पुरानै बानी हो ।
'ईलामको चिया फाकफोकको तोरी, तेल आउँछ तुरुरु
सँगैका साथी हवाइजहाज माथि, मन रुन्छ धुरुरु........'
त्यतिकैमा रामकृष्णको प्रवेश हुन्छ मञ्चमा । उक्त गाउँको क्रान्तिकारी अथवा प्रगतिशील पात्र हो रामकृष्ण । निर्दलीय पञ्चायत पछिको बहुदल प्राप्तिको संघर्षमा तिनको केही योगदान देखिन्छ नै । आंशिक रूपमा, सामाजिक उदारपनको उदाहरणको रूपमा देखाएका छन् उनले आफूलाई । छोरी निशालाई जुनसुकै पुस्तक पढ्नमा छुट छ । नाक समेत ऐलेसम्म बुच्चो छ निशाको ।
रामकृष्णको सामाजिक उदारपन यसै यसै अप्ठ्यारोमा देखिन्छ । व्यापारी माईलालाई निशाको नाक छेड्न घरैमा निम्तो छ । बाउआमा दुवैले जिद्दी गरेपनि निशालाई फकाउन सकेका छैनन् । अन्त्यमा नाक छेडन नमानीरहँदा निशा त्यहाँबाट उम्कन्छे । कहाँ जान्छे ? .....रूपाकहाँ, जो सबैभन्दा नजिक छ उनको लागि ।
नेपथ्य शून्य शून्य छ । शून्यतामा मौन संवाद छ । निशा र रूपा संवादको भाव बुझ्न भने मञ्चसम्म पुग्नैपर्ने हुन्छ । निशा केही बुझाउन खोजिरहेको देखिन्छ रूपालाई । असहजताको बीच त्यो मौन सामिप्यतामा निशाले कवितामार्फत आफ्नो भावना व्यक्त गर्छिन्........!
हेरिसकेपछि तिम्रो हृदयमा सुन्दरता
उसले आफूभित्रको पारिजातलाई भेटेकी छे
हेरिसकेपछि तिम्रो आँखामा कोमलता
उसले आफूभित्रको परि जातलाई भेटेकी छे
अब उसले रातलाई जोगाउनु छ अँध्यारोसँग
अब उसले रातलाई डोहोर्याउनु छ उज्यालोतिर ।
उबेलाको पञ्च हर्कमान । ऐले त भूपू भएका छन् । तथापि बचेखुचेको पञ्चको रवाफ देखिन्छ हर्कमानमा । उनै भूपू पञ्चका छोरा सूर्यमान बम्बैबाट फर्कदै छन् । उनको रवाफ छुट्टै छ । केही न केही लाहुरबाट ल्याएकै छन् । टिभि छ, बाँकी त खिजिरमिजिर ।
बाटोमै भेटिन्छ रूपा र निशा । रूपालाई देखेपछि सूर्यमानमा लोभ देखिन्छ । लाहुरेको रवाफ त देखाईहाल्छन् । गाउँ उक्लने गोरेटो बाटो छ । गीत गाउँदै उक्लिरहेका छन् सूर्यमान गाउँतिर । साथमा भरिया छ । यतिकैमा व्यापारी माईलासँग भेट हुन्छ । रूपालाई लोभ्याउन उनले केही थोक किन्छन् ।
गाउँमा सूर्यमानको टिभिको चर्चा छ । पचासको दशक, एन्टिनावाला टिभि त यसै खानदानी जिनिस । भूपू पञ्चकोमा भेला छ गाउँलेको । यतिकैमा टिभि खोलिन्छ । विष्णुपुराण चलिरहेछ टिभिमा । हेरिरहेका छन् गाउँले छरछिमेक ।
आफ्नो विवाहको कुरा सूर्यमान सँग चलेपछि रूपा अतालिएको देखिन्छ । उनका बुवा हरिलाल, सूर्यमानसँग रूपाको बिहे गरिदिनु नै सर्वस्व ठानिरहेका छन् । जसैरी गरिदिनु छ रूपाको बिहे सूर्यमान सँग ।
नेपथ्यको मञ्च मौन छ । कतै बिरहको बासुँरी धुन नेपथ्यभरि फैलिएका छन् । मौनतामा मौन मौन संवाद छ रूपा र निशाको । रूपा आफ्नो कुरा भनिरहेकि छिन् निशालाई । उक्त संबादमा आफ्नो समलिङ्गिक क्लिष्टता कम गरिरहेको देखिन्छ रूपाले । अब भने रूपा र निशाले आफ्नो शारीरिक पहिचानलाई प्रष्टसाथ महसुस गरेको देखिन्छ । यतिकैमा कविता मार्फत आफ्नो भावनत्व ओकल्छिन् निशा.......!
धर्तीबाट घामले लिएर गएको पानी
जूनलाई छोएर फर्किंदा शित भएर फर्केको छ ।
मेरो हत्केलामा खसेको एक बुँद
मैले पर्खिरहेको त्यही अन्तिम बुँद थियो
जसले मलाई सागर बनाइदियो ।
मेरा पाइला यत्ति हलुका कहिल्यै थाहा थिएन ।
अब मलाई बाटोका यी तिखा ढुङ्गाहरूको के पिर.....
मलाई यी काँडाहरूको के पर्वाह.....
पञ्च भेला छ गाउँमा । उनै रूपाको बुवा हरिलालले डाकेका हुन् पञ्च बैठक । हरिलालको सम्पूर्ण दोष रामकृष्ण माथि छ । रामकृष्णको छोरी निशाले आफ्नो छोरीलाई बिगारेको आरोप छ हरिलालको । समलिङ्गिक विषयलाई मिथ्या पारेको छ भेलाले । भेलामा हर्कमानले उ बेलाको आफ्नो रिस पोखेको देखिन्छ रामकृष्णमाथि । अन्तत्व आफ्नो समलिङ्गिक पहिचानलाई व्यक्त गर्न सफल हुन्छे निशा । भेलाको आक्रोश झनै बड्छ । छिछिदूरदूर गरिन्छ निशालाई । छुट्याउने, गाउँ निकाल्ने कुरा भएपछि आफूलाई रोक्न सक्दिनन् रूपा । निशा र रूपा भेलाको बेपर्बाह अंकमालमा बाँधिन्छन् । रूपालाई हरिलाले जवर्जस्ति त्यहाँबाट घर लान्छ । आफ्नो बाउआमाले समेत नदिएको पीडा पञ्च हर्कमानले दिन्छ निशालाई । उनको नाक छेड्ने उर्दी गरिन्छ । अन्ततः नाक छेडिन्छ निशाको ।
नेपथ्य सदा झै शून्य शून्य छ । निशा एक्लै छिन मञ्चमा । बाँसुरिको विरह मधुरमधुर छ । यतिकैमा खुसी बनेर प्रवेश हुन्छ रूपाको...... अन्ततः ती सबैसबै थोक बिर्सेर निशा र रूपा कतै टाडा गएको संकेत नेपथ्यको मौनताले दिन्छ । कतै टाडा, जहाँबाट उनीहरू मुक्त हुन्छन्, जहाँ उनीहरू मुक्त हुँदैनन् ।
बिम्बनका केही कुरा........
भनिन्छ कला अमूर्त भाषा हो । चौबाटोमा उभिएको शालिक जस्तै । प्रस्तुत नाटक 'तिम्रो आँखामा खसेको साँझ'लाई एउटा बिम्ब प्रयोगको पुञ्ज भन्दा अत्याेक्ति नहोला । नाटकका लेखक र निर्देशकले अनेकौँ बिम्ब प्रयोग गर्ने प्रयास गरेको देखिन्छ नाटकमा । कुनैमा प्रतिकात्मकता देखिन्छ भने कुनैमा हाम्रो समाजको सामाजिक धरातलको यथार्थ वकालत ।
व्यवस्था त परिवर्तन भयो, व्यवस्थाको प्रवृत्ति परिवर्तन भएन । सर्वदा त लागू नहोला, तथाकथित परिवर्तनको बिगुलकारीहरू अन्ततः आफैँ पूर्ववत् व्यवस्था बनेको साँचो हो । नाटकमा रामकृष्णलाई त्यही उभ्याइएको छ । परिवर्तनको आँधीबेहरीबाट आएका प्रगतिशील रामकृष्ण भूपू पञ्चको छायाँमा देखिन्छ । उ आफैँ पनि छाेरीको प्राकृतिक र जैविक समलैङ्गिकता पहिचानलाई स्विकार नगर्नुले हाम्रो समाजको बौद्धिक यथार्थ पात्रलाई चिनाउँछ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व गरेको निशा र रूपा हरेक भेटमा पिङ खेल्छन् । त्यो गज्जपको सामाजिक वास्तविकताको बिम्ब भन्ने लाग्छ । उनीहरू, मन परेको फूल एकआर्कालाई दिन उद्दत छन् । जो पिङको मच्याईबाट मात्र सम्भव छ । अन्ततः फूल टिपिन्छ । पिङको मच्याइले केहीछिन् आफूलाई हलुका त होला, कतै टाढाटाढा नेपथ्यको सुन्दर दृश्यहरू त देखिएला । सौन्दर्य कल्पनाले क्षणिक खुसी त देला, अथवा दुःखको बिसौनी बन्ला पिङ । तर पिङको जड त एकैठाउँ हुन्छ, त्यो बलियो भएन भने दुर्घटनाको अर्को सम्भावना बन्छ । पिङ हाम्रो समाज हो, समधान यसैबाट सम्भव छ ।
खर्पनको प्रयोग अन्य वस्तुगत प्रयोग बावजुद लैङ्गिक अधिकारको लेखाजोखाको प्रयोगको रूपमा देखिन्छ । न्यायिक समानताको आधारमा खर्पन अथवा तराजुको प्रयोग स्पष्ट भएपनि लिङ्गको आधारमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको स्वतन्त्रताको हक अष्पस्ट देखिन्छ ।
नेपथ्यमा त्यस्तै वस्तुगत प्रयोगहरू छन्, जसले दर्शकलाई पचासको दशकमा पुर्याउँछ । हाम्रो देशमा ६० को दशकयता मात्र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको स्वतन्त्रताको हक सम्बन्धि धेरै बहसहरू भए । २०६५ पूर्व 'यौनिक तथा लैङ्गिक अभिमुखिकरण' शब्द नेपाली कानुनी साहित्यमा प्रवेश गरेकै थिएन । ऐलेसम्म आइपुग्दा प्रविधि र शिक्षामार्फत जतिपनि त्यस विषयमा छलफल भए, तर समाज त त्यही यथार्थमा छ भन्ने ५० दशकको घट्नाले उठान गरेको छ । यसमा लेखकको चेतलाई मान्नैपर्ने हुन्छ । तथापि नाटक, प्रश्न निर्माणमा चुकेको देखिन्छ ।
नाटकको नियमित दर्शकहरूलाई नाटक हेरिरहँदा धेरै त प्राविधिक कमजोरीहरू थाहा लाग्छ । सीमित प्राविधिक जोरजाम छ । नेपथ्य र ब्याकस्टेज जेनतेन छ । कदम थिएटरको सेउपाखा नाट्य हल, नाटक मञ्चको रूपमा अहिले प्रयोग भइरहेको छ । विसं. २०७३ मा स्थापना भएको 'कदम थिएटर'को समग्र हल निर्माणाधीन छ । चौकोस बाँधिएको छ, घेरा लाइएको छ । भवन निर्माणका केही कामहरू भएका छन् । तथापि अहिले काम शून्य छ । सँगसँगै निर्माण थालिएको छेउमै रहेको राष्ट्रिय गौरव अन्तर्गतको दमक सभागृहको काम लगभग सकिसक्यो । नाट्य हल उँघेकोउँघ्यै छ । यसले पनि स्थानिय निकायको विशेषतः कला र साहित्य प्रतिको दायित्वबोध कम लिएको उेखिन्छ । व्यक्तिमा जति दायित्व छ, समाजको त्यतिकै दायित्व रहन्छ । समाज जति जिम्मेवार रहन्छ, राज्य त्यतिकै त्यस विषयमा उदार हुन जरुर छ । अन्ततः राज्यमै नीहित हुनेहोला सम्बन्धित विषय । यसमा राज्य जिम्मेवार हुनुपर्छ कि नाइँ ?
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका कुरा
सानो छँदाका गाउँको एउटा घटना सम्झन्छु, गाउँका युवाहरूले विद्यालयकै खेलमैदानलाई खेल खेल्न प्रयोग गर्थे । प्रायः सप्ताहमा सानोतिनो फुटबल प्रतियोगिता भइरहन्थ्यो । खेलमा जति रोचकता थियो, त्यतिकै रोचकताको अर्को घटना थियो । खासस त्यो रोचक हुन जरुर थिएन । कुरा सामान्य प्राकृतिक र जैविक कारणको थियो ।
शारीरिक रूपमा एक महिला प्रायः खेलमा सहभागी जनाउँथिन् । खेल औसत थियो । कतिपय मानिसले कुरा काट्थे, छोरी भएर केलाई छोराको हर्कत् ? खेलले लिङ्ग नभन्ला, तर उनको उपस्थिति पुरुषको समूहमा रहन्थ्यो । पछि, गाउँमा अर्को हल्ला चल्यो । छाेरीले छाेरीलाई नै भगायो । पछि केहिपल्ट उनीहरूलाई छुट्याउने कोसिस भयो परिवार समाजबाट । अन्ततः एकदिन उनीहरूले गाउँ छाडे । त्यसपछि कहिल्यै फिरेनन् गाउँ ।
यो त प्रतिनिधि घट्ना थियो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा आज पनि समाज उति साह्राे उदार देखिँदैन । न त पाठ्यक्रमले सिकायो न त समाजले । ऐलेसम्म नितिनिर्माणको कानुन पनि जानाजान अन्जान छ ।
सायद, ६९ सालतिर हुनुपर्छ । यस्तै प्रकृतिको अर्को घटना समाचारपत्रमा छापियो । घटना केन्द्रकै थियो । दुई सन्तान भएपछि आफू समलिङ्गी भएको पहिचान भएर आफू आफ्नै तरिकाले रहने भनि श्रीमतीले रिट दर्ता गरेकी थिइन् । मितिनी नेपालको शरणमा पुगेकी उनलाई श्रीमानको पक्षबाट अनेकौ दुःख दिइयो । विचाराधीन उक्त मुद्दाको फैसला के रह्यो त्यो थाहा भएन तर यस घटनाले केही कुराको रहस्योद्घाटन गर्याे नै । यौनिक तथा लैङ्गिक पहिचान प्राकृतिक तथा जैविक कारण हो, जसको पहिचान गर्न धेरै समय लाग्न पनि सक्छ ।
त्यस्तै प्रकृतिको अर्को रिट दर्ता भयो अदालतमा । अमेरिका बस्दै आएकि भक्तपुर निवासी उनले अमेरिकी नागरिकसँगै विवाह गरिन् । उनीहरू समलिङ्गी थिए । पछि नेपाल आएर गैर-पर्यटकीय भिसाको निमित्त अध्यागमन विभागमा आवेदन गरिन् । विपक्षी अध्यागमन विभागले पर्यटकीय भिसा दिन इन्कार गर्याे । कुनै लिखित जानकार दिन जरुर ठानेन । 'Private international law' अन्तर्गत कुनैपनि नेपाली नागरिकसँग विवाह भएपछि विवाह गरेको नाताले नेपालमै बस्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको अवस्थामा उनीहरूले मुद्दा लड्नुपर्याे । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको विषयमा कानुनी रूपमा उल्लेख गरिएपनि अल्पसंख्यकहरू प्रत्याभूत हुनबाट बन्चित देखिन्छन् ।
अन्तरिम संविधान २०६३ मा उल्लेख गरिएको धारा १२ र १३ को स्वतन्त्रताको हक अन्तर्गत निहितका पक्षमा अधिकारका कुराहरू उल्लेख गरिएको छ । वर्तमान संविधानको धारा १० ले त झनै प्रत्येक नागरिकलाई 'लैङ्गिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको छु भनी उल्लेख गरेको छ । त्यस्तै संविधानको धारा १५ ले प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्नुपर्ने दायित्व राज्यलाई सुम्पेको छ । यति हुँदाहुँदै पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले कानुनले प्रत्याभूत गरेको अधिकारको उपभोगबाट किन बन्चित छन् त ?
नेपाललगायतका मुलुकहरूले अनुमोदन गरेको 'मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय कानुन महासन्धि'ले लैङ्गिक वा समलिङ्गी अभिमुखिकरणको मुद्दाहरूमा कुनै नकारात्मक मापदण्ड निर्धारण नगरेको अवस्थामा राष्ट्रिय कानुनको विकास साथै पालना गर्दा मानव अधिकारको मूल्यहरू एवं कानुनहरू सही रूपमा संयोजन गरी विकास गरिनुपर्छ कि नाइँ ?
स्मरण रहोस, दक्षिण एसियाकै पहिलो देश नेपाल, जसले अल्पसंख्यकहरूको अधिकारलाई कानुनी रूपमै मान्यता दिएको थियो । बिडम्बना, आजपनि त्यहि देशका अल्पसंख्यक नागरिकहरूले स्वतन्त्रता हकको प्रत्याभूत गर्न पाएका छैनन् । विद्यालयको पाठ्यक्रम पनि यौनिक तथा लैङ्गिक मैत्री देखिन्न । समाजमा आजपनि यस किसिमको बहसहरू कमै हुन्छन् । जसको कारण उनीहरू आफू खुल्न सकिरहेका छैनन् । समाज चुप छ, कानुनी प्रत्याभूति छैन....। यसैले धेरै दुर्घटना निम्त्याइरहेको छ ।
नाटककै कुरा....
वर्तमान यस्तो समय हो, जहाँ नाट्य, कला, सिनेमा, साहित्य । सम्बन्धि गज्जप कामहरू भइरहेका छन् भने अर्कोतिर त्यसलाई कमर्सियल बनाउने दौडधुप पनि छ । केही वर्षअघि नेपाली रंगकर्म क्षेत्रले यही विषयमा गज्जपको प्रस्तुति पाएको थियो । सोलो मोनोलोगमा आधारित घटनाप्रधान कथ्यको 'जिउँदो आकाश'ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको बहसलाई झनै उठाएको थियो । रंगकर्मी अनिल सुब्बाले चरितार्थ गज्जपले न्याय गरे । त्यसपछि यौनिक तथा अल्पसंख्यकहरूको विषयमा बनेको नाटक यही हुनुपर्छ । नाटकले भाष्य त छाड्छ नै, तर नाटकको मञ्चनले मात्र उठान गरिएको विषयबोधलाई सार्थकता दिन्छ भन्ने लाग्दैन । यो प्रारम्भ होला, सम्बन्धित विषयप्रतिको खोज अनुसन्धान तथा बहसमार्फत कानुनी र सामाजिक रूपान्तरणको भूमिका जरुर छ नै । मेडिकल साइन्सले पनि सन् १९९० को दशकपछि मात्रै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई सहज तरिकाले हेर्ने नजीर निर्माण गर्याे ।
विश्व स्वास्थ्य संगठनले यसलाई कुनै मनोरोग नभई जैविक तथा प्राकृतिक कुरा हो भन्ने धारणा सार्नुअघि मनोरोगको रूपमा यसलाई लिइएको थियो ।
पूर्वीय दर्शनका पौराणिक कथाहरूमा समलिङ्गी बारे केही चार्चा पाहिएको छ । शिखण्डी, उमामहेश्वर, अर्धनारिश्वर आदिलाई पौराणिक कालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक भन्न सकिएला । नाटकको उठान मारुनी बेसमा गरिनु, अन्त्य त्यसैमा गरिनुले झनै महत्व दर्शाएको पाहिन्छ । केही रंगकर्मीहरू अनुभवका आधारमा नया रहेतापनि उनीहरूको उपस्थिति जब्बर देखिन्छ ।
कथ्य उठान सामान्य लागेपनि त्यसको विषय विमर्शमा गहनता छ । यो विषयलाई सो कल्ड रेडिकल भन्दा अन्युक्ति नहोला । ऐले यसैलाई सही मानौँ । नाटकले उठाएको विषय मात्र मञ्चनमा सीमित रहनु हुन्न ।
'तिम्रो आँखामा खसेको साँझ'
निर्देशन/परिकल्पनाः सागर खाती कामी ।
लेखनः प्रकाश शर्मा अधिकारी ।
मञ्चमाः सिजन, सुशान्त लिम्बू, करिना बास्तोला, दिपक खरेल, सोना यादव, स्वेच्छा नेपाल, मनिक संकर, रमिला राई, युवराज भण्डारी ।
प्रस्तुतिः रोट्राक्ट क्लब अफ दमक र कदम थिएटर झापा ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...