लेखन स्मृति पनि हो । मलाई यतिखेर स्मृतिहरू लेख्न मन भै'रहेछ । ।

पुरानो क्यासेट छ घरमा । १०/१५ वर्ष अगाडिको । त्यो बेला हजुरबुबा काधमा भिरेर गाउँगाउँ डुलिहिँड्थे । बिहानको देशप्रेमले भरिएको गीत र नारायण पोखरेलको भजन भैँसीको गोबर सोहर्दै सुन्थे, दूध दुहुदै सुन्थे, बाख्रा झिक्दै सुन्थे । र, बिहान ६ बजेको समाचार चिया पिउँदै सुन्थे । 

बाक्सामा रहेछ, हिजो निकालेर ठ्याङठुङ पारे । खोले, एक मुठ्ठी जति साङ्लोका गु पनि  रहेछन् । ...टक्टकाए । ऊ बेला पाइने एभ्रीडे ब्याट्री पाइन छोडिसकेछ किरानापसलमा ।  ...हजुरआमाले कताबाट हो ध्वाँसोले कालो न कालो भै'सकेको ३ टा ब्याट्री ल्याएर दिनु भो । ...काम गर्यो ब्याट्रीले , क्वारर क्वार्र....घ्वार्र घ्वार्र... गर्न थाल्यो । रिल हाली ऊ बेला खुबै सुनेको गीत ' पानसमा बत्ती बालेको ' बोलको गीतको रिल रहेछ, बजाए ।

 ...ऊ बेला दाइहरूले मगर्नीको पोइ भन्दै जिस्काउँथे ।  म सानै थे, ३ कि ४ पढ्थेँ  । जवाफ फर्काउन सक्दिनथेँ । तर भित्रभित्र कतै लाग्थ्यो, 'म साच्चै त्यै मगर्नीको पोइ हुँ क्यारे !' मोटी थिइ, म लुते त्यहाँमाथि बाहुनको छोरो । जातैले जिऊ नपाको मैले ।  'आइज न मात्रै हाम्रो घरमा,... लुते बाउन तलाई तँ टिपेर पछारिदिन्छु ।', म्याजिक चप्पलले टाउकोमा ड्वाङ्गै हिर्काइ । कपाल भुत्लाइदे । रुँदै घर गै  । उसको आँसुले रातभरि पोल्यो । म पनि रोए । आफ्नो आँसुले झनै पोल्दो रछ । रातभरि उसलाई भुत्लाएकोमा छुकछुक लागिरह्यो ।  भोलिपल्ट एउटा मात्रै चप्पल ल्याएर स्कुल आथी । सब्बैले जिस्काए । सब्बैलाई जिस्काउन लगाउनी मैँ थिए । ... भरे घर जाँदा चप्पल दिए । खिस्स हाँसेर भनेकी थिइ, 'ए बाहुन हाम्रो घर जान्छँ ?'  त्यो साँझ म उसकाे घर गए । जाँड को गन्ध अहिले पो मनपर्छ । उबेला त के बसिसक्नु हुन्थ्यो र ? ...त्यो रात मेरो बुबा मलाई खोज्दै आए र मलाई लिगेर गए । उसको घरको तगारो नाघ्ने बेला दाहिने हात च्याप्प समाएए ङिच्च दाँत देखाएर भनेकी थिइ,'भोलि खालाँस ल्याइदिन्छु है ।' ....उसले लाइदी पनि तर मैले खानै सकिनँ । ... अनि रिसाउँदै भनेकी थिइ, 'खाए पो मोटाउँछ  ।' पछि फेरि कुरैकुरामा उसले भनी, 'यो बाहुनले घिउजति सब्बै नाकलाई खुवाउँदो र'च, अनि के मोटाउँछ ?' ...उसलाई मेरो नाकसँग गुनासो सधैँ रहिरह्यो । मलाई उसकाे लामो कपाल लुछ्न औधी मनपर्ने । 

एकदिन भने, दसैँको बेला थियो । स्कुल छुट्टी थियो । 'तेरो कपालमा झुनिन्छु, तँ मुन्टो यता उता गर् । म चहीचही होइ गर्छु ।' 'मुर्दार, कति मात्तेको ।' म रिसाए । मेरो नाक तान्दै भनी, अनि के मा झुन्डाउचस् त मेरो कपाल ? तेरो पाखुरामा झुन्डाउथिस् होला, ...बाँसको भाटा जस्तो छ ।' रिसले नाक देखिन । फेरि जगल्टाइदे । आत्थो मरे मरे गर्दै ऊ कुदी  । मेरो लागि लाइदेकी जाँड आफैँ पिउँदै भनी, खाए पो मोटाइन्छ । 

दिनहरू उज्यालिँदै गए । रातहरू अध्यारिँदै गएँ । सँगै हुँदा सधैँजसो दिन हुन्थ्यो । छुट्टिन्थ्याै जब रात पर्थ्यो । रात र म दुवै मुन्टो फर्काएर सुत्थ्याैँ  । 

म पाँचमा पुगेँ । ऊ पनि पाँचमा पुगी  । रिजल्ट हेर्दिने मै थिए । मेरो भन्दा ठ्याक्कै तल थियो उसकाे नाम । म सेकेन्ड ऊ थर्ड । ...तर हाम्रो लागि त हामी दुवै फर्स्ट भएका थियौँ । ...बोर्डफर्स्ट नै भएकी थिइ ऊ त । .... त्यति खुसी त त्यसलाई मैले कहिल्यै देखेकै थिइन । ... पछि भन्थी' बाहुनले मलाई १ नम्बरले जितेर मात्तै हो, नत्र म सेकेन्ड हुन्थे ।' तर ऊ आफू थर्ड भकोमा भन्दा पनि म सेकेन्ड भकोमा धेरै खुसी थिइ । स्कुलमा भैरहने हाजिरीजवाफ प्रतियोगिता , वादविवाद जता पनि हामी दुई सँगै जान पाइने भो भनेर मख्ख थिई  । 

....पछि क्लास शुरू भयो । ... ऊ आइन । ...अँ, आउँदै आइन ।.... असार साउनको बिदा पछि पनि आइन । ....दसैँ अगिसम्म पनि आइन । .... मलाई क्लासमा मन लाग्न छोड्यो । किताबहरू भारी लाग्न थाले । ऊ हुँदा क्लासरुम देउराली जस्तो लाग्थ्यो । राम्चेको चौतारी जस्तो लाग्थ्यो । समी भञ्ज्याङ्गको समीको छहारी जस्तो लाग्थ्यो । ऊ आखैले बतास चलाउथी  । मेरो जिउ लुगलुग भै'हाल्थ्यो । उफ्फ...यसपालिको पट्ट्यारलाग्दो गर्मी । थकाइलाग्दो पर्खाइ । झिझक लाग्दा दिनहरू । उदेकलाग्दा रातहरू....

दिनहरू बितिरहे ।... म पिल्सिरहे ।...एक्कासी दसैँमा पो देखे उसलाई । .... कोलेमा हालेको रँगटे पिङमा मच्चिरहेकी ।... नाइ, नाइ मच्चिरहेका । .... बिहे गरिछे ।.... त्यसपछि भेट भको छैन । ...... 'पानसमा बत्ती बालेको, कसरी हेर्नू खै मनपरेको मान्छेलाई अर्कैले सिंदुर हालेको' गीत भर्खर सक्किएको छ ।

क्यासेट एकदम शान्त छ । कुनै भाका झिकेको छैन, मेरो मन जस्तै । मेरो हृदय पनि यतिखेर त्यै पिङ जस्तै मच्चिरहेछ । ...रित्तो...एकदम रित्तो । 

... म बेलामौकामा यो गीत अझै पनि गुनगुनाउछु । र नाक छामिरहन्छु,...मेरो नाक साँच्चिकै लामो नै छ । ....यो गीत, ऊ र  हजुरबुबा पनि सँगसँगै जस्तो हराए । हजुरामा पनि यतिखेर त त्यै पुरानो लोकगीत जस्तो भै'सक्नुभएको छ । ....  अर्को पट्टी फर्काए चक्का, काम गरेन । अरू क्यासेट कतै पाइएन् । ...बल्ल बल्ल रेडियो टिप्यो । १०६ मेघाहर्ज लगाए । धादिङ एफ.एम.  मा दसैँको शुभकामना सहितका एडहरू बजिराथे । ...सगसँगै उहीँ पुरानो मुग्लान फिल्मको गीत बज्यो । ...' दसैँ आयो...दसैँ आयो ।' 

हो त, दसैँ आएको छ । गीत सुनिरहदा यस्तै लाग्यो ।  

खसी काटेको थाहा पाएको सब से पुरानो दसैँ सायद त्यै सालको दसैँ होला । त्यो बेला घरमा खसी काटे तर मलाई खानै मन लागेन । ऊ अर्काकी भैई,...बारबार म यही भनिरहन्थे । ऊ अर्काकी भैइ, तर म कस्को भए ?...म आफ्नो पनि भैइन, ऊ उसकाे पनि रहिन । म कसकाे भएँ..?

झलझल्ती उसलाई पिङमा मच्चिरहेको देख्थे । ....त्यै बेला भुँडी धुन धारामा पठाए  बुबाले । ममि पनि सँगै हुनुहुन्थ्यो । ठूलो ढुङ्गेधारो । धाराभरी भुँडी धोइरहेका अरू पनि । ....ममिले भुँडी धुन थाल्नुभयो । म बसेर हेरिरहेँ । ... ममिलाई म नि धुन्छु भन्दा पर्दैन बाबू, आची लाग्छ भन्नुभाथ्यो । पछि पिरेर मैले पनि धोएँ । पिरेर के रोएरै धोको ।... 'दसैँले आन्द्रा खाछ, आफूलाई, कति पिर्दो रछ यो' भन्दै मलाई गालामा थप्पड लाउनुभको अहिले पनि सम्झिन्छु । .... धेरै जेल रोए । पछि फकाउदै भन्नुभएको थियो,' ल आँ त आँ धो यो । तर लुगामा नलगाँ । पर्सी टीका ल्याउदाखेरी ल्याउनपर्छ ।' 

ममि आन्द्रा कति लामो हुन्छ ? आन्ध्रा धुँदै सोधेँ  । 

लामो हुन्छ । यत्ति भनेर एकछिन चुप हुनु भो । सातपत्रेमा अड्किएका बाँकी गु धुँदै भन्नु भो, 'हाम्रो दु:ख जत्तिकै ।' यसैले गुजुल्टिएको हुन्छ । गुजल्टाे फुकाएर धो है ।' ....पछि खै कुन्नी किन हो एक्लै बर्बाइरहनु भाथ्यो,' दसैँ भनेको दशाको गुजुल्टो हो, ...राम'ररी फुकाँ है ।'

अर्को साल हो कि ।

लङ्गरगुर्जामा ५०० जितेको । मामाघर देखि टीका लगाएर बुढी मावली जाँदाँ बिच बाटो 'ठाँटी'मा खेलाइरहेका थिएँ । चार दाउ सम्म हुकुममा परेको थियो । र, दुई दाउ चौबर परेको थियो । ... त्यसपछि सुरिएर १०० हाले हुकुममा, गयो ।...दाऊ सारे । इट्टामा ५० हाले, त्यो पनि गयो । बुर्जामा २० हाले, गयो । ...झन्डीमा २० हाले, गयो । चिडीमा १० हाले, गयो । ...पानमा हालिन ।...मायामा घाउ बेहोरेको मान्छेले पानमा दाऊ हालेर के जित्थ्यो ?..यसैले हालिन । 

...३०० बचाएँ । रुचि चाउचाऊ १८ मा तिन्टा पाइन्थ्यो, त्यो किनेँ  । सब्बै खाएँ  । ...बनाना चुइगम पनि किनेँ  । म्यारी बिस्कुट पनि किनेँ  ।...सुकाखाले कालो चकलेट २० वटा किने, साहुजीले एउटा सित्तैमा द्याथे ।...सब्बै खाएँ  ।...

त्यै साल हो क्यारे, तास खेल्न सिकेको पनि हो । सान्बाऊ आएका थिए- काठमाडौँबाट  । ममिको सानुबुबा, मेरो चाहिँ सान्बाऊ ।  मावलीका दाइहरूको खाल जमेको थियो । ममिको मामा मेरो हजुरबाउ । हजुरबाउको छोराहरू मलाई भाइ भन्थे, म दाइ भनु कि मामा चाल पाउन्नथेँ । तिनै दाइ भनु कि मामा भनुहरू तास खेलिराथे । चल फ्रास खेलेका रहेछन्, अहिले था पाउछु । तर त्यो बेला मेरो लागि उनीहरू तास खेलिरहेका थिएँ । त्यै रात खोपीमा राखेको तासको बुक झिकेर झोलामा राखेँ । राती ७ चोटी ब्युझिएर झोला चेक गरेँ । एकचोटी रातिको भात खाएपछि तासको विषयमै हल्लाखल्ला पनि मच्चेको थ्यो । ...एकछिन पछि सामसुम भो  । राती भयो भोलि खेलौला भन्ने आवाज सुनेको हो । ... त्यसपछि दाइ आएर मलाई पनि सोधे । मैले था छैन भन्दिए । ... तर उनी मै'लाई था छ झै गरि हेर्दै फर्किए ।

...त्यसपछि बल्लतल्ल बिहान भो । ....बिहान देखि मेरो रटान शुरू घर जाऊ भनेर । ममि र बुबाले टीका लाएर जाउला भन्नुभो । मुख थुनियो ।.... टीका लगाइयो । बिहानको ८ जति बजेको हुँदो हो । ...मेरो 'घर जाउ' रटान फेरि शुरू । माइजुले अब खाना खाएर जाने भन्दिनु भो । यसपाला पनि मुख थुनियो । 

खाना खाइयो । ...मेरो 'घर जाउ' रटान फेरि शुरू । ... यसपालि बुढी हजुरआमा कान मिच्दै कराउनुभो,'घाम चर्क्या छ पर्दैन, शितल भएसी गए नि हुन्छ ।' यसपालि जिब्रो नै चलेन ।

दिउँसोभरि तास चोरेको थाहा पाउँछन् कि भनेर कतै मन लागेन । पाइन्टको अगाडिपट्टी गोजीमा राखेर पिङ खेल्न दगुरे । पिङ मच्चाउँदा सब्बै उरुरु...,पिङ मच्चाउने दाइहरू तिनै थिए । ' जुवाडी भान्जा' भनेर जिस्काउन थाले । ...जुवा खेल्नै नजानी केरि जुवाडी ?....

यै रन्कोमा फर्किदा १ बुक तास किने । ममिलाई पिसाब लाग्यो जाँदै गर्नु भनेर पछि बसे । अनि तास किने ।... घर फर्किएसी काकाहरू तास खेलेको हेरे । उसो त तास र दसैँ पर्यायवाची शब्द नै हुन् । २ घर छाडी तासका खालहरू हुन्थे, हुन्थे । दसैँ तास प्रेमी र मासु प्रेमिहरूको लागि त एउटा उत्सव नै हो । तास र मासु सँगसँगै  रक्सीप्रेमी, होहल्लालभर र बाइकराइडरहरूको लागि मेला नै बनेको छ आजभोलिको दसैँ । 

ए, म ऊ बेलाको कुरा गर्दै थिएँ । त्यो सालको दसैँमा अरूले खेलेको हेरेरै मैले तास सिके । मनमा यत्ति लागेको थियो, अर्को साल बूढो मावली जाँदा टन्नै पैसा जितेर आउछु । म यसै पनि जुवाडी भान्जा उसै पनि जुवाडी भान्जा ।

अर्को दसैँ,

'...सानाको हात, ठूलाको माथ

आशिष दिदै दसैँ आउँछ...'

फेरि 'रि' गरेर बजाए त्यो क्यासेट ।  

तास खेल्न नामुद भै'सकेको थिएँ । रात सर्लक्कै बित्थ्यो । मामाघर जान खासै मन लाग्न छोड्यो । त्यो साल ममिको करैले गए । यता तास खेलेर जितेको पैसा उता गएर हारे । हारेकै निहुँमा अबदेखि तास खेल्दिन भने । त्यो साल खेलिन पनि ।... काकाहरूसँग बसेर खेल्ने भै'सकेको थिएँ, तास खेल्न छोडेको कत्तिले त मनपराए, कत्तिले चाहिँ मति बिग्रेको सम्म पनि भने । भन्नेको केही लाग्दैन भन्ने त भनाइ नै छ । ...मेरो पनि केही लागेन, अर्को साल खेल्छु भनेर टारिदिएँ  । 

यो ७ कक्षाको कुरा हो । दक्षिणाका खुब चासो हुन्थ्यो । दक्षिणाको चेकजाक मामाघरबाट फर्किएपछि गाउटोलको केटाहरूसँग भै' नै हाल्थ्यो । कोही जुत्ता किन्छु भन्थे । कसैलाई बढ्दै गरेको चिसोको चिन्ता हुन्थ्यो; जकेट, स्वीटरको कुरा झिक्थे । सुदिपले अङ्ग्रेजी, विज्ञान र गणितको गाइड किन्ने प्लान सुनायो, समिरले अङ्ग्रेजी डिस्नेरीको कुरा गर्यो । रमेशले याक चुरोट, एक जर्किन लोकल र साइकल, सुस्मिताले लेहङ्गा, उदयले उता काठमाडौँ घुम्न जाने कुरा सुनायो ।...मसँग कुनै उम्दा प्लान थिएन् ।...पैसा भएसी खर्च गर्न के चिन्ता ? ...'हात्ती के ले मर्ला ? चिलले घिसार्ला ।'

...यस्तैयस्तै गरी अरू दुईतीन दसैँ पनि आयो अनि गयो ।

अलि अगिल्ला दसैँहरूमा काठमाडौँ बसेर पल्लो गाउँको केटीहरूलाई फेसबुका गफ लाइन्थ्यो । अनि दसैँमा घर आउँदा उनीहरूलाई भेट्न गैन्थ्यो । कहिले सुनखानी, कहिले बर्हाकालिका, कहिले बतासे, कहिले ठाँटी त कहिले मैदीकोट ।... यी दसैँमा गाउँघरमा हल्ला बढी चलाइयो । 'फलानेको छोरो, फलानेकी छोरीसँग ढिस्कानो ठाउँमा, कान्लामुनि,...'

त्यसपछिका दसैँहरू झिझकलाग्दो हुन थाले । किन हुन थाले, अहिले म आफैलाई सवाल गर्छु । बिस्तारै बिस्तारै दसैँको रौनक हराउन थाल्यो । यसपालि जम्मा एउटा पिङ देखेको छु, त्यहीँ पुग्दा पनि खेलिन । लङ्गरबुर्जामा अस्ति २०० हारे, तर अब फेरि खेलेर जितु जस्तो लाग्या छैन् । खसी काटियो, मार हान्न मन लाग्दैन् । मासु खाने गरे पनि काटु झैँ चाहिँ लाग्दैन् । 

तासको खालमा एकैछिन बसे अगि । अलिकति जिते पनि तर खुसी ला'छैन । माथी सातदोबाटो तिर सास्कृतिक कार्यक्रम थियो क्यार आज, मन लागेन- गैइन । पुराना एसएलसी पढ्दाका साथीहरू भेटिन्थे होला, तर पनि.... । कोलेमा भलिबल प्रतियोगिता भै'राछ । हिँडेर ५ मिनेटमै पुगिन्छ ।..तर पनि.... । 

अब सुत्केरो परेर टीका थुनिएको छ यसपालि । तृतीयाको दिन ल्याउन हुन्छ  । टीका सक्काएर फर्की हालौँ झैँ लागेको छ । ...तर फर्कनलाई उही काम, उही घरधनिक कोठा हो थाहा छ । ...मन त उता पनि रमाउन्न् । यता पनि उस्तै । उही बिहान बेलुका ममिले पकाको खाना, बुबाको खा-खा अलिकति खा अनि तलाई केही गर्न आउन्न वाला हप्की, बैनीको घुर्की, भाइको थर्काई,..यी यस्तै प्रिय् छन् । बस् । अस्ति हजुरआमाले निरमसी ल्याएर दिनुभो । पेट काटेको थ्यो, भोलिपल्टै सन्चो भो । 

यसपटक घर आएर ३ टा किताब सके । ५ वटा मुभी हेरे ।...दसैँ यस्तै यस्तै भैराछ मेरो त ।

दसैँ त उही बेलाको रमाइलो है दाइ, भाइले पोहोरको दसैँमा भनेको सम्झिन्छु । मैले अँ भनेथेँ, यो पनि सम्झिरहेछु । 

बैनी पोहोरसम्म खुसी नै थिइ । पिङ खेलाउन लैजा भन्दै पिर्थी । यसपाली पिरेकी छैन् । अब आगुन/परआगुन ऊ पनि मलाई सोध्न सक्छे, 'दाइ दसैँ त उहीँ बेलाको रमाइलो है ?'

पुरानो क्यासेट फेरि खटक्क पार्छु, उही गीत बज्छ । 'दसैँ आयो...दसैँ आयो.... ।'

हो त, दसैँ आयो । शुभकामना ।

अस्तु ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार