रत्न पासा

जसैतसै बाँचेका 
वैरागी दिनहरू बीच 
मेरो घरको आँगनमा
एक हुल दसैँहरू आइपुगेको छ ।

आफ्ना केटाकेटीहरू हराएको 
बाबुआमा जस्तै कुनै अपसकुन अफसाेस 
मुहुर्तलाई सराप्दै गर्दा 
बिना कुनै सूचना समाचार 
एक हुल दसैँहरू दैलोमा 
लम्पसार उत्तानो पर्न आइपुगेछ । 

आफैँ तन्नम 
रित्ता ढुकुटी र 
रित्ता आशा ।
चिसा निराशाहरूको सेपमा हुर्केको
सुख्खा जमराहरू उम्रिन नपाउँदै
एकहुल दसैँहरू मेरो घरभित्र छिर्‍यो ।

बलि अनि बोका 
मासु अनि मौका 
धोकाधडी दिनरातहरूको बीच
म दसैँ भित्र्याउन बाध्य छु ।
र त्यस्तै  झोँक चलेर आउँछ 
हुलमुलमा दसैँहरू म घरभित्र 
भान्साको चिसो चुल्होमा अगाडि हुत्याउछु ।
र थान्को लगाउछु उनीहरूको 
मीठो जिब्रोमा बासी गुन्द्रुकको
सिन्के झोलको स्वाद ।

आफ्नै आँखा अगाडि 
निर्दोष आत्माहरू बलि भएर लम्पसार पर्दा,  
दुखेको दुर्गा
बैरागिएर मन्दिर छाडी 
अन्तै कतै पहाडि गुफामा 
देवी हराएको दिन ,
एक हुल माँसपिशाच 
रक्तपिपासु दसैँहरू 
मेरो घरभित्र छिराएको छु ।

दसैँबजार,
बम्बर उपहारहरू-
होर्डिङ बोर्डभरिमा टाँसिएको 
कार, कोकाकोला, हरियो जमरा र हरिया नोटहरूका 
चित्र-व्यंग्यहरू मेरो रित्तो गोजीमा 
लुरुलुरु बोकेर घर आउँछु
यता आसन जमाएर, 
मुख बाएर बसेका छन् 
घरमा एक हुल दसैँहरू ।

मेरो रित्तो भकारी
मेरा भोका बच्चाहरूका नाँगा शरीर बेवास्ता गर्दै
मेरो गरिबीको भद्दा मजाकमा 
मेरो खाली निधारमा
भरिन खोज्छ व्यंग्यका रसायनिक टिकाहरू 
त्यसै झ्वाँकमा निर्णय गर्छु,
घरभित्र छिरेका दसैँका हुलहरूलाई
च्याप्प समातेर बलपूर्वक हुत्याइदिन्छु 
घरआँगन बाहिर
र बन्द गर्छु  ढोका 
ढप्प......!  

चाहिन्न आशिष र आशिर्वादका फुस्रा आशहर"
चाहिन्न निर्दोष प्राणीहरु बलीका रक्तरँजित आहालहरु
एक हुल दसैँहरूको घेराबाट घरलाई मुक्त गर्दै
र लाग्छु लेकतिरको हिमाली यात्रामा 
जहाँ फुल्दै गरेका 
गुराँसहरूका यामहरूमा
प्रकृति, पर्वत र पानीको पर्वहरू 
मनाइने गरिन्छन् !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार