'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २१

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ कवि रमेश श्रेष्ठको कविता– 'कविताको नदी’ ।

मानचित्रमा थुप्रै नदीहरू छन्
नदीहरूका आ–आफ्नै रहरहरू हुन्छन्
निर्वस्त्र बगरका ढुंगाहरूको निधार धुँदैरपखाल्दै
अविराम अविराम बगिरहन्छन्
जब आकाशले भोको अँध्यारो पस्कन्छ नदीमा
भोका, निमुखा ढुंगाहरूलाई अँगाल्दै
नदी पर्वमय आँसुको गीत बगिरहन्छन्,
अँध्यारोमा नयाँ आकार खोज्दै बग्दा
प्रत्येक रात नगरबधुले झैं
आकारविहीन पाउँछन् आफैलाई
र अत्तासिँदै आकाशको धुवाँ घुमेको
धमिलो अनुहारमा
आफैलाई कोर्दै चुपचाप बगिरहन्छन्
मानचित्रमा थुप्रै नदीहरू छन्
नदीहरूका आ–आफ्नै तहतह सपनाहरू हुन्छन्
गर्मीका छेपारोजस्तै अल्छी दिनहरू
निथ्रुक्क रुझेका चल्लाहरू जस्ता
जाडोका कठ्यांग्रिने रातहरूमा
कतै च्यातिएको सपना ओड्दै
कतै हराएका सपनाहरूको सुस्केरा बिछ्याउँदै
बाँसुरीको बाटोजस्तै भएर बगिरहन्छन्
जब रातको कामुकतालाई चिर्दै
उज्यालोको वेगवान् आगमन हुन्छ नदीमा
उन्मुक्त बैंसालु विभा बोकेर नदी
पोखिएला-पोखिएलाझैं भएको
चखेवाका आँखाहरूबाट अनेक रहर बगिरहन्छन्
आफ्नो अनियन्त्रित मुस्कानहरू छर्दै
जब दिनको निधारमा आगो लगाउँदै
रातको अहंकारमा डुब्न खोज्छ सूर्य
युद्ध मैदानका घाइते सिपाहीहरू झैं
नदी रग्ताम्य मुद्राअग्निमा
आफ्नै रगत चाट्दै बगिरहन्छन्
मानचित्रमा थुप्रै नदीहरू छन्
नदीका आ–आफ्नै भ्रमप्रिय विश्वासहरू हुन्छन्
विश्वासै विश्वासमा बगिरहँदा
ठूला नदीहरू साना नदीहरूलाई
आफू उभिएको पानीको तिर्खार्झैं विभ्रम पिइरहन्छन्
मानिसहरूका हृदयबाट सपनाका गीतहरू सुसेल्दै
काँचा भ्रमहरूसँगै तन्नेरी भएर बगिरहन्छन्
ए शालिग्रामकी आमा १
तिम्रो रगतले सिञ्चित सभ्यता
मानिसको अनुहारैपिच्छे दुखेर
मेरो कवि आहत भएको छ,
म मेरो मृत्युलाई तिम्रो नागबेली यात्राको
पाठेघरमा राखेर सोचिरहेको छु
यतिखेर मेरो देश
कविताको गतिमान नदीभन्दा
उल्टो बगिरहेको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार