कोरोना महामारी आयो, गएको छैन । तर ऊ आएसँगै धेरैथोक आयो । अर्थतन्त्र, राजनीति, स्वास्थ्य-शिक्षाका क्षेत्रहरूमा विभिन्न समस्याहरू देखिए । सँगसँगै आमनागरिक पनि विभिन्न खाले मनोसामाजिक दुःखकष्टहरू बेहोर्नुपर्यो । बिस्तारै व्यापार व्यवसाय क्षेत्रमा चहलपहल बढ्यो तर रंगमञ्च अन्योलकै अवस्थामा रहिरह्यो । 

कोरोनाले मानिसलाई घरबाट बाहिर निस्कन दिएन, चियाभेट पनि रोकिदियो । एक्लै बस्ने र घरभित्रै थुनिएर रहँदा जस्तै 'मै हूँ' भन्ने पनि अप्सेट भएकै हुँदा हुन् । रंगमंच, पुस्तक, साहित्य, कला मानिसका आत्मा हुन्, यी नहुँदा आत्मा बेगर भइन्छ । सुनसान, एकानासता, छटपटी । बडो गाह्रो कुरा यो । यसबाट निस्कने दाउ छोपिरहेकै थिएँ । तर नाटक हेर्न पुग्ने रहर थाँती बसिरहको थियो । महामारीबीचमै शिल्पी र कुन्जमा नाटक चलेका थिए, बाहिर निस्कने आँट आएन, पुग्न सकिएन । 

महामारीले दर्शक र नाट्यकर्मीबीच कोरिदिएको फराकिलो दूरी छोट्याउने प्रयासस्वरूप कथा घेरा (कौशी थिएटर) ले डंकन म्याकमिलनको 'एभ्री ब्रिलियन्ट थिंग'को नेपाली रूपान्तरण नाटक 'हरेक बबाल कुरा' दुई-दुई पटक मञ्चन गर्यो, र खुसीको कुरा दुवै पटक शो फूल भए । पंक्तिकार स्वयं टिकट नपाएर एकपटक त फर्कियो । टिकटको चाँजोपाँजोको लागि अघिल्लो दिन नै ऋषिकेशलाई फोन गरिसकेको थिए । ‘ढुक्क भएर आउनुस, तपाईंले टिकट भेट्नुहुन्छ!’ ऋषिकेशले यत्ति भनेपछि पंक्तिकार दोस्रोपटक कथा घेरा पुगेको थियो । 

र, त्यो साँझ।

कथा घेरा पुग्न बाँकी नै थियो, साँझ छिप्पिदै थियो। म आफ्नै काममा नामनगरतिर अल्झीरहेको थिएँ । पठाओ बोलाएँ । अनुपचारिक कुरापश्चात गुप्त रहस्य खुल्न आयो- पठाओवालाले पनि नाटक हेरिसकेका रहेछन् ।

‘पुगिएला त?’, मेरो प्रश्न ।
‘पुर्याउने जिम्मा मेरो।’, उत्तर उनको ।

यसपछि उनीसँग संगीत र साहित्यको कुरा भयो । नाटक र फिल्मका कुरा भए । मजा आए ।  यस्ता विषयवस्तुमा कुरा गर्न पाउँदा हृदय खुसी हुन्छ । आफ्ना साथी-सर्कल बाहेक अन्त्यत्र पुगेर यी विषयवस्तुमा बोल्न आजभोली उतिसाह्रो जाँगर आउन छाडेको छ । गुट-फुटका कुरा, पुरस्कार-विवादका कुरा, आर्टिकल-पारिश्रमिकका कुरा, बहर-छन्दका कुरा, लेख्दै लेखेनन्- लेख्नै खोजेननका कुरा..कुरैकुरा । यावत कुरा । वाक्क लाग्ने । त्यो भन्दा मुन्टो बटार्यो,  चिया अड्डा छिर्यो- पढ्न बाँकी किताबमा घोत्लिरह्यो । कोही ठोक्किहाल्यो भने, ‘ओहो, लौन हतारै छ, दौडिहाल्नुपर्यो- फेरि भेटौँला’ भन्यो । सुइँकुच्चा ठोक्यो । हरेक आ-आफ्ना पर्सनल डिप्रेसन, एन्जाइटी, सफरिङले विकारित हुन्छन्, कोसँग कता गफ्फिरहनु ?

मेरो दिमाग यतैकतै बरालिरहेको थियो क्यार, पाठाओवाला बोले, “यो नाटकले मलाई गुड गर्यो । यो दही खाएजस्तो,  नाटकको चिसो बसिराख्छ । तपाईंलाई म जसरी पनि पुर्याउछु ।  नआत्तिनुस ।’ 

साढे ५ देखि नाटक सुरु हुँदै थियो । पठाओवाला जाम छल्न कोसिसरत थिए । पछिल्ला वर्षहरूमा हतार र पठाओ समान्तर कुरा भएका छन् । तर हतार व्यवस्थानको साधन ‘पठाओ’ नै नराम्री जाममा जाकिंदा एकसाथ सडक र शहरलाई आमचकारी गाली दिन मन लाग्ने । तर पाठाओवालाले भने, ‘तपाईंका बबाल कुराहरू के नि ? सूची भए सुनाउनुस् ।’ अकस्मात आएको प्रश्नको भूमिरीमा रिंगीरहेको थिएँ, उनी आफैँ आफ्नो लिस्ट सुनाउने थाले- “मेरो सुन्नुहुन्छ ? बिरेनुन र कागती पानी खानु । सयपत्री फुल जस्ताको छानामा हुत्याउदै धुजाधुजा बनाउनु । बाइकको अगाडी पांग्रो उठाउनु ।" यो भन्दा डर पनि लाग्यो, उचाल्दिए त गार्हो भो नि । यसपछि उनी फेरी बोले- “निलो लाइट बालेर सुत्नु, त्यो हुन्छ नि जिरो वार्डको । ३ दिनसम्म लुगा भिजाएर चौथो दिन परफ्युम छर्केर लुगा धुनु। ...” उनी सुनाइरहे । म मुस्कुराईरहें । कतै आफैँलाई भेटे, कतै आफूलाई भेट्न-भेट्न खोजें । जे हो, पठाओवालाको ‘बबाल कुराहरूको लिस्ट’ जाम घचेट्ने मेलो बन्यो । 

समयमै मलाई टेकु ओरालीदिएर उनी बिदा भए । ऋषिकेश भाइ प्रांगडमै भेटियो । मुसुक्क हाँस्दै सोधीहाल्यो- ‘दाइ चिया पिउने ?” 

“भ्याइन्छ ?” 

‘एक कप चिया नि के नभ्याइने हो र ?’ 

त्यो होइन, समय छ भन्या नि ?”

“अझ १० मिनेट छ ।” यसपछि घडी हेरें, ऊ साँचो बोलिरहको थियो । 

“टिकट, मेरो टिकट कता हो ?” 

“माथि’, उसले हातले इशारा गर्यो । 

मारुतीजीले टिकट दिनुभयो । टिकट समाएर तल ओर्लिंदा भाइले चिया दियो ।  चिया समाउँदै ऋषिकेशलाई खुसुक्क भने, “भाइ, अर्को सिजन पनि चलेछ है?”

“अघिल्लोमा तपाईं छुट्नुभयो, त्यसैले ।”  यसपछि ‘मुला’ भन्दै मैले उसलाई चियाको पैसा बुझाएँ।

चिया रित्तिदै थियो, बच्चु कैलाश हास्न भनिरहेका थिए- ‘टाढा टाढा जानु छ साथी, एकफेर हांसीदेऊ । छुटीसकेको मायालाई साथी एकफेर गाँसीदेऊ ।’

घन्टी बज्यो । 

थिएटरको भर्यांग उक्लदै थिएँ, ‘थाक्नुभयो ?” एकापट्टी लेखेको देखें । “आइ पुगी त हाल्यो,” अर्कोपट्टी लेखिएको थियो । म ओठभरि मुस्कान सोहोर्दै थिएटर उक्लिएँ । सुदाम (सीके) मन्चमा थिए । कुर्सीतर्फ इशारा गर्दै भने, “यता छेउमै बस्नुस्”, उनी मनले खाएका मान्छे थिएँ- बसीदिएँ । दर्शक आउने क्रम जारि थियो, लाइटले रंग फेरिरहेको थियो । सुदाम कुर्सीले घेरिएर बीचमा उभीरहेका थिए- बडो हँसमुख अन्दाज-ए-बयाँमा ।

सबै टिकटधारी दर्शक नआइपुगीसकेकाले सुदाम अनौपचारिक रूपमै दर्शकसँग  जिस्किरहेका थिए । 

‘थाकियो ?’

‘म कस्तो देखिएको छु ?’

“पहिलोचोटी नाटक हेर्न आउने यहाँ को-को छ ?’

“तपाईंहरूले लामो भिडियो गर्न पाउनुहुनेछैन । मेरो फोटो खिच्न पाउनुहुनेछ तर राम्रो ।” 

यी-यस्तै कुराहरू गरेर सुदाम दर्शकसँग न्यानो सम्पर्क स्थापित गरिरहेका थिए । मतिर फर्किएर सोधे, ‘जीवनजल खाने हो ?’ यो पखला चलाउने प्रश्न थियो, गोलाकार बनाएर राखिएको कुर्सीमा बसेका दर्शकहरूको हाँसोले थिएटर गुन्जियो । ‘भइगो’को इशारामा मुन्टो बटारे । 




एकछिनपछि उनले नाटक हेर्न आएका दर्शकहरूलाई एक-एक वटा कार्ड दिंदै भन्दै गए, “मैले नम्बर भनेपछि तपाईंहरूले यहाँ लेखेको पढ्नुपर्छ । ठुलो स्वरमा । सबैले सुन्ने गरि ।” समुहको उभिएको मानिसको स्वभाव हुन्छ, ‘कसैले केही कुरा भीडलाई दिंदै छ भने आफूले पनि पाउँ भन्ने ।’ त्यही स्वभावले तानिँदै मैले पनि २/३ फेर हात लम्काएँ,  मेरो भागमा कार्ड आइपुग्ने सुरसार देखिएन । चुपो बसें । समुहमा उभिएको व्यक्ति अर्को पनि स्वभाव हुन्छ, ‘कसैले केही कुरा भीडलाई दिंदै छ भने आफूले नपाईसकेपछी ‘ठिकै छ नि त’ भनेर चित्त बुझाउने ।’  

तर अन्तिममा मेरो हाता कार्ड पायो । 

कार्ड नम्बर- ९,९९,९९९ 
र, लेखिएको थियो- 'गर्छु भनेको काम गरेर सकिनु ।'

यसपछि नाटक सुरु भयो,

‘आमाको पहिलो प्रयासपछि यो लिस्ट बनाउने काम सुरु भयो। संसारका हरेक बबाल कुराहरूको लिस्ट। हरेक कुरा जसले हामीलाई बाँच्ने आधार दिन्छ’, नाटकको पहिलो एकालापले सिरिङ्ग बनायो - पठाओवालाको असीम यादले असीमित सतायो । र,  उनको यादमा खुसु-खुसु मुसु मुसु हांसीरहें । मेरो हाँसोमा आफ्नो हाँसो मिसाउँदै सुदामले मनोवाद शैलीमा नाटक अगाडि बढाए। 

मुख्य पात्रको कुकुर साथी कुकीको निधन र त्यसपछि उनको आमाको आत्महत्या प्रयासको प्रसंगले असामान्य सोच र अप्ठ्यारो परिस्थितिमा दर्शकदिर्घा पुगीरह्यो । मृत्यु र जीवनको अविछिन्न समबन्धको बारेमा कमै कुरा हुने यस हतासिँदो समाजको वासिन्दा हामी ‘किस्ताबन्दीमा आत्महत्या’ गरिरहेका छौं। शहरी भागदौड र करियर रेसले खर्लप्पै पारेको म स्वयं ‘अरे, आत्महत्या र मृत्युको कुरा, त्यो पनि नाटकको सुरुमै ?’ भनेर बिथोलिएँ । असन्तुलित मानसिक अवस्थाबाट गुज्रिरहेकी आमाको प्रसंगलाई उनी जतिजति उप्काउदै जान्थे, उतिउति म असजिलो महसुस गर्दै गएँ । पहेलो लाइटमुनि भिजिरहेका सुदामको भावभंगीलाई गोली मारेर म उनका हरेक शब्द-शब्दमा अल्झिन्दै गए, फस्दै गएँ, न्याकिँदै गएँ । 

“तिम्रा आमालाई किन बाँच्ने भन्ने नै थाहा छैन रे’ - आत्महत्या गर्न उद्द्वेलित भएकी आमाको मानिसक अवस्थाको बारेमा नाटकको मुख्यपात्रले बुबासँग जिज्ञासा राख्दा बुबाले दिएको जवाफ हुन्छ यो । 

यो सम्वादपछी केही बेरसम्म मलाई थाहा हुन्, सुदाम के बोलिरहेका छन्, के गरिरहेका छन् ? बस्, उनी मेरा अगाडी छन् र उनको हात-मुख चलेको छ ।  मैले त्यसपछि कुनै आवाज सुनिन, कुनै कुराको चालमेसो पाइन् । 

साँच्चै मानिस किन बाँच्छ ? के बाँचीरहेका हरेक मानिससँग बाँच्नुको कारण छ ? बाँच्नलाई कारण चाहिन्छ कि चाहिदैन ? चाहिँदैन भने किन बाँचिरहने ? चाहिन्छ भने के-कस्ता कारणहरू चाहिन्छन् ? म आफैंले कतै लेखेको थिएँ, - ‘मृत्यु न्यायधीस हो, जसले जिन्दगीलाई जन्मकैदको सजाय सुनाएको छ ।’ के जीवनले जन्मकैद पाएकै हो? मृत्युचिन्तन के हो ?  मृत्युका बारेमा विभिन्न वाख्या-उपव्याख्या छन्, ति कति साँचा हुन्, कति झुटा हुन् ? 



बुबाको जवाफ सुनेपछि मुख्य पात्रले बाँच्न प्रेरित गर्ने बबाल कुराहरूको सूची बनाउन थाल्छन्। उनलाई लाग्छ, ती बबाल कुराहरूको सूचीले आफ्नी आमालाई जीवनप्रति आशावादी बनाउने छ र उनले आत्महत्याको प्रयास गर्ने छैनन्। अनाम पात्र अर्थात् नाटकको एक मात्र पात्र (व्यक्ति सुदाम) ले सात वर्षको बेलाको सन्दर्भबाट कथा सुरू गरेर आफ्नो जीवनको प्रौढवस्थासम्म घटनाहरू जोड्दै जान्छ।  घटनाहरूलाई जोड्ने मियो- हरेक बबाल कुराको लिस्ट हुन्छ । 

‘बबाल’ कुराहरूको लिस्ट बनाइरहेका सुदामका लिस्टहरू बडो गजबका छन् । बालक हुँदा बालकवयका लिस्ट, किशोर हुँदा किशोरवयका लिस्ट, र गृहस्थी जीवनमा पुगेपश्चात सोही अनुरूपका लिस्टहरू । लिस्टको संख्या बढ्दै जाँदा कथावाचकको उमेर, जीवनदृष्टि, सोचाइ, भोगाई र अनुभवहरू पनि उमेरका हुँदा जान्छन् । उमेरको हुनु भनेको समस्याहरूसँग जुध्न सक्ने हुनु पनि हो । बाल्यवस्थाका लिस्टहरू मुख्य पात्रको मन बहलाउने मेसो हुन्छ तर उमेरसँगै त्यस लिस्टमा सूचीकृति कुराहरूले जीवन दर्शन, जीवनका आयामहरू अङ्कित हुँदै जान्छ । अझ, तिनै लिस्टले कथावाचकको जीवनलाई हेर्ने तौर-तरिकामा पनि फेरबदल आउंदै जान्छ । 

उनले बनाएका लिस्टहरूमध्ये केही मेरा पनि मनपसन्द (बबाल) कुराहरू थिए । जस्तै:

पानीमा भिज्नु

राती अबेरसम्म नसुतेर टि.भी हेर्न पाउनु

धर्के लुगा

रोटेपिङ

मान्छे चिप्लेर लड्नु’

वियर खोल्दा ह्वास्स आवाज आउनु
… यावत यावत ।



‘म तल गएँ, भान्सामा । चिकेन स्यान्डवीच बनाएर खाएँ । चिकेन स्यान्डवीच तर, चिकेनबिनाको । टिभीको अगाडि गएर बसें, अनि 'लिस्ट' कन्टिन्यु गर्न थालें । अनि मलाई के लाग्यो, त्यतिखेर लिस्ट मैले कुनै प्राथमिकताको आधारमा लेख्नुहुँदैन । किनभने हामीले कसरी थाहा पाउने मोमोभन्दा मुमिन बेटर हो'? छेउका मानिसहरूलाई प्रश्न गर्दै सिके लिस्ट बनाउन थाले ।
‘२४ . मोमो
२५ . स्कूलको त्यो अन्तिम घण्टी
२६. स्वीमिङ पुलमा कसैले थाहा नपाउने गरेर सू गर्नु
...
१२३२१. डाँडाको टुप्पोबाट पूरै सहर देखिनु र केही समयका लागि भए पनि आफ्नो सबै पीडा र तनाव बिर्सिनु।

र,
पुरानो किताबको गन्ध,
नराम्रो गाउनेले अरूको वास्ता नगरी मस्त गाउनु,
उडिरहेको सपना देख्नु,
माया,
सेक्स 
‘सबै कुरा छाडेर जोगी भएर हिडौँ जस्तो 

..आदिइत्यादि ।



कलाकार र दर्शकबीचको पर्खाल तोड्ने ‘हरेक बबाल कुरा’

सुदाम आफ्ना बबाल कुराहरूको लिस्ट बनाउदै गए । दर्शकहरू उनले नम्बर बोलेपछि त्यहाँ लेखिएको पढेर सुनाउने गर्दथे । यसो गर्दा दर्शक र कलाकारबीच भावनात्मक सम्बन्ध गाँसिन पुग्यो । दर्शक स्वयंले मुख्य पात्रको जीवनको विभिन्न आयामहरूमा आफूलाई पाउने भयो । यसरी दर्शक र कलाकारलाई एकापासमा जोड्ने मियोको रूपमा त्यो कार्डले काम गरिरहेको थियो । सँगसँगै कुनै समय बबाल लागेका कुराहरू समयको बदलावसँगै बबाल नलाग्दा रहेछन् भनेर जीवनको यथार्ततालाई बताइरहेको पनि थियो।

उनको बबाल कुराहरूको लिस्टलाई लिएर सोचमग्न भइरहेको दर्शकदिर्घामध्येकै कोही एकलाई इशारा गरेर ‘तपाईं मेरो आमा बनिदिनुहुन्छ ?”, “तपाइँ अनामिका बनिदिनुहोस् न”, ‘ल, मैले तपाईंलाई प्रोफेसर बन्न अनुरोध गरे है’, ‘अनि तपाईं चाहिँ मेरो बुबा बनिदिनुपर्यो, बुहारीलाई आशिर्वाद दिनुपर्यो’ भन्थे । बुहारी पनि दर्शकदिर्घाबाटै, बुबा पनि दर्शक दिर्घाबाटै ।.. यसरी दर्शक नै कलाकार बन्न पुगे । 

र, कहिले सुदाम आफैँ दर्शकदीर्घामा आएर बसीदिन्थे । मन्चमा ‘के गरुँ/के नगरुँ, के बोलु/के नबोलु’को दोसाँधमा अल्झिरहेको प्रोफ्सेरलाई ‘छट्टु विद्यार्थी’ भएर प्रश्न पनि तेर्साइदिन्थे । अब मन्चमा रहेको प्रोफेसर (जो वास्तवमा नाटक हेर्न आएका व्यक्ति हुन्) अप्ठ्यारो प्रश्नको सजिलो उत्तर खोज्न अक्माउथे, र केही न केही डाइलग बोल्थे पनि । फेरी, सोही डाइलग अनुसार सुदाम प्रश्न गर्थे, उत्तर दिन्थे । एवं रितले सम्वाद अघि बढ्छ । धेरै प्रश्नहरू छाडेर, धेरै ऊत्तरहरू अघि सारेर। नाटक अघि बढीरहन्छ। आमालाई बाँच्ने प्रेरणा दिन पात्रले सुरु गरेको बबाल कुराको लेखनीद्वारा पात्रले आफैँलाई खोज्छ, मनोसामाजिक जीवनको भिन्‍न-भिन्‍न आयामहरूलाई बुझ्ने क्रममा आफैँलाई भेट्छ ।  

यस पहिले पनि धेरै नाटकहरू हेरियो तर, कलाकार र दर्शकबीच सदैव अदृश्य पर्खाल खडा रहिरहन्थ्यो । होला- ती नाटकहरू प्रस्तुति, विषयवस्तु र कलाकारिताका कारण उत्कृष्ट हुन्थे तर ती नाटकहरूले  'फोर्थ वाल' भनिने त्यो अदृश्य जंगी पर्खाल भने ढाल्न सकेका थिएनन् ।  तर ‘हरेक बबाल कुरा’ ले यो काम गर्यो । कथाघेराको यो साहसलाई धन्यवाद भन्नै पर्छ । 



मानसिक स्वास्थ्यसम्बन्धि भ्रमहरू चिर्दै यथार्थतालाई अगाडि राख्ने जर्मको:

कौसी थिएटरकी संस्थापक तथा निर्देशक आकांक्षा कार्कीको निर्देशनमा मञ्चन भएको 'प्राइभेट इज पोलिटिकल' सुदामले अभिनय गरेका यस नाटकले मानसिक स्वास्थ्य र डिप्रेसनलाई मुख्य कथा बनाएको छ। नकारात्मकबाट क्रमशः सकारात्मकउन्मुख हुँदै गएको नाटकको प्रस्तुतीकरणले मानसिक स्वास्थ्यसम्बन्धि विभिन्न भ्रमहरूलाई चिर्दै यथार्ततालाई अगाडी राख्ने जर्मको गरेको छ । 


 

फोटो कथा : अनुवादक क्षितिज कार्की नाटकलाई मिम्समा ढाल्दै, उनले ‘हरेक बबाल कुरा’अन्तर्गत रही यी-यस्ता थुप्रा मिम्सहरू बनाएका छन् । 


विश्व स्वास्थ्य सङ्गठनले वर्षको कुनै पनि समयमा प्रत्येक चार जनामा एक जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको हुनसकने बताउँछ । मानसिक स्वास्थ्य समस्यालाई विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरिन्छ । साथै, यो मानिसलाई अपाङ्गताको अवस्थामा पुर्याउने विभिन्न कारणहरू मध्ये एउटा प्रमुख कारण पनि हो । 

मानसिक स्वास्थ्यलाई लिएर धेरै भ्रमहरू पनि सृजना गरिएका छन् । जस्तो कि- ‘मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन् ।’ तर यथार्थ यो हो कि मानसिक समस्या भएका व्यक्तिहरूले अवसर र सहयोग पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् र गरिरहेका पनि छन् । कडा खालका मानसिक समस्यामा मनोचिकित्सीय तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन्। 

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू हिंस्रक तथा आक्रामक स्वभावका हुन्छन् भन्ने भ्रम पनि छ तर यथर्ताता फरक छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्ने हो भने प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानव अधिकार हननका घटनामा परिरहेका हुन्छन् ।

‘बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन’ भन्ने भ्रम पनि समाजमा छ । जसलाई यस नाटकले चिर्ने काम गरेको छ । अभिभावकको मानसिक स्वास्थ्यमा समस्या हुँदा उनीहरूका सन्तानको बालमनोस्वास्थ्य कस्तो हुन्छ? अभिभावकले आफ्ना समस्यालाई केन्द्रमा राख्दा बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य कसरी छाँयामा पर्छ र त्यसले दीर्घकालीन असर कसरी निम्त्याउँछ ? ७ वर्ष हुँदा नै आमाको स्वास्थ्य अवस्थालाई विचलित भएको नाटकको मुख्य पात्रको मनोवादमार्फत यो कुरा नपत्याइदो तरिकाले बताइएको छ । ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरु हुने गरेको र प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको डब्लुएचओले बताउँछ।  

‘मानसिक स्वास्थ्य समस्या, समस्या नभई बहाना वा नाटक हो’, ‘मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हामी केही सहयोग गर्न सक्दैनौँ’, ‘मानसिक स्वास्थ्य समस्या कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई मात्र हुन्छ’, ‘मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ’ लगायतका विभिन्न भ्रमहरूलाई चिर्ने काम पनि यस नाटकले गरेको छ ।

“कुनै पनि व्यक्तिको मनले गर्ने विभिन्न कामहरू जस्तैः सोचाई, निर्णय गर्ने क्षमता, स्मरण शक्ति, भावना तथा संवेगको नियमन आदिमा व्यक्तिको सामाजिक परिस्थितिसँग मेलखाने गरी सम्पन्न गर्न सक्नु नै मानसिक रूपमा स्वस्थ्य हुनु हो” निर्देशनक आकांक्षा कार्कीले भनिन्, “ तर  महामारीका कारण मानसिक रूपमै मानिसहरूलाई आघात पुग्यो । म आफैँ पनि यसको शिकार हुन् पुगे । यो समयमा यो नाटक मन्चन गर्न सकेमा राम्रो हुन्छ भन्ने लाग्यो । सुदाम पनि तयार भयो । धेरै पात्रहरू पनि नचाहिने र थोरै दिनको रिहर्सल पनि पर्याप्त हुने देखियो । त्यसपछि हामीले यो नाटक मन्चन गर्यौं ।” 



‘मानिस स्वस्थ हुनका लागि शारीरिक रूपमा रोग नलागेको भएर मात्र पुग्दैन । शारीरिक, मानसिक र सामाजिक रूपमा पनि स्वस्थ हुन जरुरी छ । यसैको लागि हामीले यो नाटक चयन गरेका हौँ’, लुगा फेरेर भर्खरै तल झरेका सुदामले एक टुक्रा ब्रेड मतर्फ अघि सार्दै भने, “अन्तक्रियात्मक शैलीमा पात्रको कथालाई हरेक दर्शकसँग जोड्नु थियो । दर्शकहरूलाई ‘तपाईंहरूको पनि कथा हो’ भन्ने विश्वास दिलाउनु थियो । गाह्रो पनि थियो र नयाँ शैलीको काम भएको कारण उत्साह पनि । यस्तोमा चिप्लिने डर पनि हुने रहेछ । पर्फर्म गरिरहँदा चनाखो होइरहनु मेरो बाध्यात्मक अवस्था रहन्छ तर म गरिरहेछु । तपाईंहरू आइरहनुभएको छ । खुसी लागेको छ ।” 

फ्ल्यासब्ल्याक जाँदै दर्शकसँग मिलेर आफ्नो स्मृतिलाई ‘रिक्रिएट गर्ने र दर्शकलाई कहिले आफ्नो पिता, कहिले साथी, कहिले डाक्टर त कहिले प्रेमिका बनाइदिने सिके यसपछि कता अलप भए कुन्नि आकांक्षासँग म गफ्फीरहें । उनले गफैगफमा ‘एनिमल फारम’ नेपाली रूपान्तरण तिहारपछि गर्न लागेको पनि बताइन् । यो खुसीको कुरा रह्यो, प्रतीक्षा रहिरह्यो ।

मलाई रुवाउन उद्वेलित पार्ने सुदाम :

गम्भीर भूमिकामा देखिरहने सुदामले आफ्नो कम्फर्ट जोनबाट निस्केर अब्बल काम गरेका छन्। 'छेक्यो छेक्यो देउराली डाँडा' गाइरहेका, 'मटरगस्ती'मा नाचीरहेका सुदाम नाटकको मुख्य पात्रको रूपमा मात्रै नभएर 'रिहाभ अर्थात् उपचार केन्द्र'को रूपमा पनि प्रस्तुत भएका छन् भन्दा अप्ठ्यारो नहोला, अतिसोयुक्तिपूर्ण नसुनिएला । यसमा निर्देशक र नाटककारको भूमिका चाहिँ के भन्ने कुरा आउला, तर सुदाम अब्बल हुनु भनेको नाटक पनि अब्बल हुनु हो । लेखक, निर्देशक, लाइट, सेट डिजाइन सबै-सबै अब्बल हुनु हो ।

निराशाबीच पनि आशावादी बनाइराख्ने काम कलाको हो । मानिसको हृदयमा संवेदना जगाउनु सक्नु नै कला हो, यो काम यस नाटकले गरेको छ । म आफैँ नाटक सकीएपश्चात सुदामलाई अंगालेर रुन पुगे । मलाई रूहाउँन सकेकोमा पनि सुदामलाई धन्यवाद ।  छरिएका लिस्टहरू टिपीरहंदा म यति आह्लादित थिएँ कि मैले आफ्नो एकान्त, जीवनभोगाईका कठोर ठिंगुराहरू, अनिदा रातहरू सबै चटक्कै भुल्न पुगे । त्यो दिन सुदामलाई अंगाल्ने म पहिलो थिएँ । म पछी धेरैले सुदामलाई आफ्नो अंगालोमा बेरे । दर्शकदीर्घाका धेरैका आँखा रसाए । सुदामका आँखा पनि रसाए । हामीलाई रूहाउँन सकेकोमा निर्देशक आकंक्षालाई पनि धन्यवाद । 

नाटक सकिएपश्चात बेग्लै ऊर्जा थियो, ताजगी थियो । र, थियो- एक सुनसान, चकमन्नता पनि । कोही हतारिएका थिएनन् । कोही बोलेका थिएनन् । जो-जहाँ थिए, त्यहि थिएँ । म लगायत केही साथीहरू भुँइभरी छरिएका लिस्ट सोहोर्दै थियौं । त्यो हामीले गर्नुपर्ने काम थिएन, न हामीलाई त्यसो गर्न नै भनिएको थियो । त्यो जोश, त्यो होस् (या बेहोसी नै) कहाँदेखि आयो- थाहा छैन । सुदाम कागज सोहोर्दै थिए, हामी उनलाई सघाउँदै थियौँ । बेलुकी आकांक्षाको स्ट्याटस देखेपछि झस्किएँ- 'अरे, यो के थियो ?' 


उनले लेखेकी थिइन्- ‘आजको अति बबाल कुरा, शो सकिएपछी  दर्शकहरू धेरै बेरसम्म कुर्सीमै बसिरहनु भयो, केही नबोली, शान्त। त्यसपछि आफ्नै घरमा झैँ स्टेजमा छरिएका प्रप्सहरू उठाउन मद्दत गर्नुभयो। एक पछि अर्को गर्दै। यो दृश्य एक्दमै मीठो थियो, आँखा भरिएर आयो। साँच्चिकै बबाल कुरा यार । मनै टन्न भयो । उफ ।’  

साँच्चैमा,  मनै टन्न भयो। उफ ।

अस्तु!

(एकल नाटक प्रस्तुति ‘हरेक बलाल कुरा’ अंग्रेजी नाटक ‘एभ्रि ब्रिलियन्ट थिङ्ग’ को नेपाली अनुवाद हो । यो नाटकलाई लेखकद्वय जोनि डोनाहो र डुन्चन माचमिनलले सन् २०१३ मा लेखेका हुन् । विश्वका धेरै ठाउँमा अनुवाद भई मञ्चन भएको यो नाटकको नेपाली अनुवाद आकांक्षा कार्की र क्षितिज पराजुलीले गरेका हुन् । नाटकको निर्देशन आकांक्षाले नै गरेकी छन् भने मञ्चमा सुदाम सिकेले प्रस्तुति रेहको थियो । नाटक सकिएको छ ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार