सुमन लिङदेन

फोटोग्राफी गर्न रुचाउने ईलामका सुमन लेखक हुन् ।

टुँडिखेलमा 
टाउको काटिएका मेरा पुर्खाहरू 
फुटेको डम्फु बजाउँदैबजाउँदै 
हरेक मध्यराति जुलुस निकाल्छन् 
म त्यही जुलुसमा हिँड्ने 
पीपाको एउटा सन्तान 
अपमानित इतिहासको हिसाब खोज्न 
तिम्रो शालिक अघि उभिएको छु ।
- राजु स्याङतान

प्रदर्शनमा राखिएका प्रत्येक चित्रहरू बिम्बात्मक छन् । ती चित्रहरूमा बिद्रोहको प्रतिकात्मक बिम्ब देखिन्छ। कवितामा पोखिएका भावाकृत झैँ आज पर्यन्त ती चित्रहरुले वर्तमान समयसम्मको आग्रहलाई प्रस्तुत गरिरहेको पाउँछौँ ।



बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गरिएको चित्रकला प्रस्तुति 'काइतेन' को प्रदर्शन केही दिन अघि सकिएको छ । तामाङ समुदायमा त्यो समयदेखि आजसम्म हुँदै आइरहेको दमन शृङ्खलाको हरेक पक्षलाई देखाउन चित्रकार सुवास तामाङले उक्त चित्रकला प्रदर्शनी गरेका हुन् । 'काइतेन'को प्रस्तुति भाद्र २५ बाट भएको थियो ।

'काइतेन' तामाङ भाषाकाे शब्दावली हो । यसको अर्थ कुनै पनि कुरालाई व्यक्त गर्नु/भन्नु भन्ने बुझिन्छ । चित्रकला प्रदर्शन गरिरहेका सुवास तामाङ भन्छन्, 'मलाई इतिहासले कुन रूपमा व्याख्या गर्छ ? मेरो परिचय के थियो, के हो ? तामाङहरूमा भएको उत्पीडनको स्वरूप कस्तो थियो ? समग्र तामाङ जाति आजको समयमा कहाँ छ ? यस्तै प्रश्नहरूले मलाई केही गर्न झकझक्याई रह्यो । त्यसैको प्रतिउत्तरमा सानो प्रयास हो 'काइतेन'।' उहाँको भनाइअनुसार, चित्रकला प्रदर्शनको तयारी विगत दुई वर्षदेखि थालिएको हो ।

प्रारम्भमा यस भूगोलको हिमवत् खण्डमा आज यहाँ स्थापित आदिवासीहरू कबिलाको रूपमा आएका थिए । समय क्रमअनुसार रहँदै जाँदा तिनीहरूले समाज स्थापनार्थ आवश्यक हरेक कुराहरू निर्माण/आविष्कार गर्दै लगे । भाषा, लिपि निर्माण गरे । हरेक वस्तुलाई हेर्ने आफ्नै सौन्दर्यशास्त्र सिर्जना भो । गणराज्यको रूपमा विकसित ती झुण्डहरू अन्तत्व राष्ट्र बन्यो । तिनै राष्ट्रमाथि लादिएको तत्कालीन समयको क्रुरतालाई कला मार्फत देखाइएको छ।

तामाङ जाति/राष्ट्रसँग सम्बन्धित हरेक पक्षहरूलाई विगतमा नामेट पार्न खोजियो । पछिल्लो समयसम्म उनीहरूलाई आफ्नो जात उल्लेख गर्न अनुमति थिएन । अहिले जसले आफ्नो जातथरमा तामाङ लेख्छन्, उनीहरूलाई तत्कालीन शासक वर्गले ‘मुर्मी भोट्यार भोटेू आदि जातथरले सम्बोधन गर्थे । भेटिएका अधिकांश ऐतिहासिक कागजपत्रहरूमा तामाङको ठाउँमा मुर्मी भोट्या नै उल्लेख भएको पाइन्छ ।



'आदिवासी विद्रोहको इतिहास'मा राजकुमार दिक्पाल लेख्छन्, 'तामाङ लेखाउने पहलका लागि एक जना भूतपूर्व सैनिक ब्रिटिश भारतीय सेनाका सरदार बहादुर सुवेदार मेजर जंगवीर तामाङ (सन् १८८९–१९४७) ले भूमिका खेलेका थिए । पुर्ख्याैली थलो संखुवासभाका मोक्तान थरका यी तामाङ आसाम राइफल्सका सैनिक थिए । २५ वर्षको उमेरमा पहिलो विश्वयुद्ध (सन् १९१४) लडेका जंगवीरले ओबीआइ–डीएमएलसी नामको बहादुरी पदक समेत पाएका हुनाले आफ्नो समुदायमा उनको नाम सुवास ठूलो थियो ।

त्यतिबेला दार्जिलिङ लगायत प्रवासमा नेपालमा मुर्मी भोट्या भनिएकाहरूले सगौरव आफ्नो जातथरमा तामाङ लेख्न थालिसकेका थिए । सम्भवतः जंगवीरले पनि तामाङको अर्थ प्राचीन घोडचढी वीर भन्ने बुझेरै आफूहरूलाई सिमानाका भोटे भन्नुको सट्टा तामाङ भनाउनु उचित सम्झे ।



जंगवीर नेपाल पनि आए र तत्कालीन राणाशासक श्री ३ भीमशमशेरसँग आफूहरूले आफ्नो जातथरमा तामाङ लेख्न पाउनुपर्ने माग गरे । भीमशमशेरले उनको माग सम्बोधन गर्दै १९८९ भदौ ६ गते यस्तो इस्तिहार जारी गरेः

......आगे नेपाल सरहदभर मुलुकका जंगी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतीदुनियाँ गैह«के यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरू–अरू अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङ ओवीइडीएमएलसी अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ । अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउने गर्नु जंगी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियाँदारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् ।

तामाङहरू नेपालका अन्य आदिवासी समुदायहरू झैँ प्राचीन जाति हुन् भनेर पुरातत्वविद् जनकलाल शर्माले आफ्नो प्राग्ऐतिहासिक पुरातात्विक अन्वेषणबाट पुष्टि गर्ने कोसिस गरेका छन् । रुसी प्राग्ऐतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लाभ शटेन्कोले गरेको अनुसन्धानसँग तुलना गरि पुरातत्त्वविद् जनकलाल शर्माले ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३८८-३९२) मा प्रस्तुत गरेका छन् ।



खास उपत्यकाको वरिपरिको डाँडा, उत्तरतिरको सिन्धुपाल्चोक, नुवाकोट, रसुवामा बढी रूपमा बसोवास गर्ने तामाङ जाति तिनै हुन्, जसले राज्यको दमनमा पारेर हरेक रुपले समाजको पिँधमा परिनुपर्यो । अलिखित सामुदायिक सजाय भोगिरहेका तामाङहरूलाई १९१० को मुलुकी ऐनले त झन कानुनी रूपमै सजायको भागिदार बनायो । तामाङ, चेपाङ, थारू लगायतका जातहरू कमारो बनाउन मिल्ने मासिन्या मतवालीको सूचीमा पारियो । तामाङ जातिमाथिको उत्पीडनको शृङ्खला झनै बढ्याे ।

त्यही शृङ्खला पछिल्लो समयसम्म यथावत रह्यो । नेपालको चौहद्दीमा फैलिएका जाति तथा राष्ट्रको उपस्थितिमा तामाङहरूको उपस्थितिले पनि यसलाई प्रष्ट पार्छ । 



चित्रहरूले आफैँमा प्रतिकात्मक बिम्ब बोकेका हुन्छन् । 'काइतेन'मा प्रस्तुत गरिएका प्रत्येक चित्रहरूको सार त्यस्तै जब्बर छ । आर्ट इन्स्टलेसन मौलिक अर्थको छ । कोस् को म्हेन्दो अर्थात् टोटोलाको फूलहरूलाई मेहनेत र जतनले जोडिएका छन् । टोटोलाको फूलले तामाङ जातिको हरेक कर्मकण्डमा विशेष अर्थ राख्छ । जनविश्वासकाे पवित्र फूल हो टोटोला । त्यसैमा गरिएको छ इन्स्टलेसन आर्ट । बाँकी नेपाली कागज सिम्बोलिक छन् । 

प्रदर्शनको माथिल्लो कक्षमा राखिएको छ, टोटोलाकै निक्कै ठुलो इन्स्टलेसन आर्ट । माथिल्लो एकतिहाई भाग खाली रहनु, अन्तिम भागमा चित्र रहनुको आफ्नै अर्थ देखिन्छ। स्वेस्त इन्स्टलेसनको तल्लो भागमा बनाइएको छ गोले काइलाको चित्र । गोले काइला उर्फ तुलाराम तामाङ । जो नेपालको इतिहासमा अझै गुमगाम छन् । विसं. २००७ को प्रजातान्त्रिक आन्दोलमनमा जनमुक्ति सेनाको विराटनगर मोर्चाबाट लड्दालड्दै उनलाई मारियो । प्रजातन्त्र प्राप्तिपछि साहदत् अन्य वीरहरूको योगदानलाई राज्यले सम्मान गर्यो तर तुलाराम तामाङलाई सोही लाइनमा ल्याउन चाहेन । त्यहा पनि व्यवस्था विरोधीहरू अन्तत्व आफैँ व्यवस्था बने ।



प्रत्येक चित्रहरूमा प्रतीकात्मकता झल्किएको पाइन्छ । अर्धकदका चित्रहरूको अनुहार प्रायः लालमोहर तथा काँचो कागतले छोपिएको देखिन्छ । चित्रले बोल्न खोजेको आफ्नै भाषा होला त्यसमा । कर मिनाहाको लागि आजीवन काँचो कागतको पर्याप्ततालाई ढाक्नु, शासकको बगैँचा रुग्नु । प्रदर्शनीका चित्रलाई देखाउँदै चित्रकार सुबास तामाङले भने, 'त्यो बेला अधिकारको हरेक बाटोहरू बन्द गरिएको थियो । एकदमै तल्लो स्तरको कामहरू तामाङ जातिको हातमा पर्थ्यो । त्यो सुनियोजित नै थियो । यिनीहरू भरियाहरू हुन् । त्यो काम गर्नेलाई पिपा भनिन्थ्यो । धेरै तामाङहरूले पिपा बनेरै जीवन बिताए ।'



चित्रहरूकै लाइनमा एउटा शिलालेख छ । त्यहाँ लिपिकृत गरिएको छ.....

तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन् । यिनीहरू खासगरी बुहारी-छोरी स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन् भन्ने गरिन्छ । यत्तिमात्रै होइन, राम्रो खान र लगाउनको लागि आफू स्वयं पनि बन्धकीमा बस्न सक्ने हुन्छन् । यिनीहरूको धर्म बौद्ध हो । कोदो, मकै, जौ, फापर यिनीहरूको मुख्य खाना हो । घ्याङ र गुम्बा यो जातिमा पनि बनाइन्छ । यिनीहरूमा बौद्ध धर्म अलावा ‘वोनधर्म’ पनि मान्ने गरेको पाइन्छ । सामूहिक भोजभतेर, मोजमज्जा र पूजाआजामा तल्लीन रहने यो जाति अशिक्षित, गरिब र सोझो हुन्छ । यिनीहरूको चार्डपर्व दसैँ, तिहारको अलावा संक्रान्ति, पूर्णिमा पनि पर्दछन् । यिनीहरूको विवाहवारी फुपूचेला, मामाचेलामा पनि चल्दछ । यो जातिमा मृत्यु र जन्म संस्कारमा लामा पुरोहितको ठूलो हात रहन्छ । मर्दाखेरी ३ दिनभन्दा बढी जुठो बार्ने चलन हुँदैन, लाशलाई गाड्ने प्रवृतिका हुन्छन् र यिनीहरूमा चाडपर्वमा समूहगत केटाकेटी मिलेर डम्फु बजाउँदै सार्‍है राम्रो गीत गाएर नाच्ने प्रचलन रहेको छ। अन्य संस्कार लिम्बू जाति झैँ हुने गरेको छ ।

पैरवी प्रकाशनले प्रकाशन गरेको लोकसेवाको नयाँ पाठ्यक्रममा आधारित सामाजिक अध्ययनमा उल्लेख गरिएको पाठ्यांश हो यो माथिको वाक्यहरू । उक्त पुस्तकका लेखकहरू नारीश्वर भण्डारी, ऋषिराम आचार्य र श्यामकुमार पोखरेल हुन् । पछिल्लो समयसम्म समग्र तामाङ जातिको चिनारी यस्तो बनाइएको थियो, आंशिकता अझै कतै बाँकी नै छ । करिबन ५० दशक आसपासको हाम्रो पाठ्यक्रमको उपस्थितिले हाम्रो समाज र नश्लिय चेतनालाई यसले प्रष्ट पार्छ ।



लिपिकृत शिलाका अक्षरहरू बिस्तारै मेटिदै छन् । लहरको अन्तिम शिलामा आइपुग्दा जातिय लाल्छनाका ती वाक्यहरु क्रमः हट्छन् । मात्र तामाङ रहन्छ । यसले चित्रकारको अढोटलाई बडो उत्साहजनक तुल्याएको छनक दिन्छ । समयचेतना र विद्रोहरू प्रारुप सुन्दर तरिकाले झल्कन्छ त्यहाँ ।

यस किसिमको विभेद तामाङलगायतका अन्य जाति तथा राष्ट्रमा पनि भएकै हो । नश्लिय उत्पीडनको सिलेवर यतिमै सीमित देखिन्न । आज तिनै राष्ट्रहरू समय सापेक्ष रहन खोज्छन् । आजको युगले इतिहासको भूललाई स्विकार्नै पर्छ र बाँकी समन्वयको बाटो खुलाउनु पर्छ ।

चेतनाले स्वतः रूपमा उन्मुक्ति खोज्छ । कारण खोज्छ । आजको समय र विद्रोह चेतनाको परिणाम हो । हिजोदेखि उत्पीडनमा परेका समुदायहरू अधिकार तथा आफ्नो उपस्थितिको लागि पहल गरिरहेको छ । यसलाई सतही रूपमा मात्रै लिएर साम्प्रदायिक भनिनु हुन्न जस्तो लाग्छ । पछिल्लो समय लोकसेवा आयोग अन्तर्गत रहेर विभिन्न बहसहरू भए । आरक्षण कोटाको विषय खुबै चर्कियो । हुन त आरक्षण कुनै अन्तहीन कुरा हैन । अन्तहीन हुनुहुन्न पनि । तर, विगतमा बान्चतिकरणमा पारिएका ती आम समुदायलाई समान प्रतिस्पर्धासम्म ल्याउन राज्यको कर्तव्य हुन्छ कि नाइँ ?



'काइतेन'ले गज्जप डिस्कोर्षको आधार तय गरेको छ । अनाम कलाप्रेमीहरूको तर्फबाट चित्रकारलाई हार्दिक शुभकामना ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सुमन लिङदेन

लेखकबाट थप...

सम्बन्धित समाचार