प्रकाश आङदेम्बेसँग मेरो भेट त्यतिबेला भयो, जतिबेला धेरैले मेरा बारेमा “आगो ओकल्ने मान्छे” भनेर टिप्पणी गर्छन् भनेर प्रकाश स्वयं पनि भन्ने गर्थे । प्रकाशसँग पहिलोपल्ट भेट भएको तिथिमिति नै त मलाई थाहा छैन तर उनीसँग भेट भएको करिब एक बीस बढी भएको छ । आज मलाई आफ्नै बारेमा आत्मसमीक्षा गर्नु पर्दा लाग्छ तिनताका म फरक विधामा लागेँ । फरक विधामा लागेँ पनि के भन्नु, अभाव, युवा जोश र भ्रमले मलाई आगोमा हाम फाल्न दुष्प्रेरित गर्यो ।
म फसेँ भन्ने कुरा थाहा पाए पछि म भागेँ । मैले ओकल्ने आगोलाई अरूले सम्हाले, म त्यो आगोको हिस्सा रहिनँ, रहन चाँहिन । आज लाग्छ मैले ठिक गरेँ । म र म जस्तै धेरैले फाल हालेको आगोको पोखरीको लप्काले करिब सत्र हजार लगभग म जस्तै मान्छेहरूको जीवन लिला समाप्त पार्यो, हजाराैँलाई आधुनिक चिकित्सा विज्ञानले समेत शल्यक्रिया गरेर निकाल्न नसक्ने शरीरका भित्री अंगहरूमा आगोका फिलिंगा र गोलीका छर्राहरू बोकेर बाँच्न बाध्य बनायो । उपलब्धिहरू भए तर समग्रमा ती उपलब्धिहरू केही दुईचार थान भुइँमान्छेहरूलाई भौतिक सुविधा सम्पन्न बनाउँदैमा सकिए ।
मैले ओकल्ने आगो- क्षणिक थियो ।
- निभ्यो !
अभावले कसैलाई विद्रोही बनाउने रहेछ भने रूपमा ठ्याक्कै त्यस्तै अभावले कसैलाई कवि । प्रकाश आङदेम्बेले मैले भन्दा कैयन ठूला अभावका पहाडहरू झेलेका छन् यो कुरा मलाई उनीसँग चीनजान भएको दुई दशकपछि मात्र थाहा भयो जब उनले हिँडेको बिहान मेरो हात पर्यो ।
“म एउटा बिहान हिँडिरहेछु” मेरो हातमा परेको ५ महिना भएको छ । प्रकाशले जन्माएको पछिल्लो कृति हो यो । मेरो लागि भने उनको पहिलो कृति । म सीतिमिति कविता पढ्दिनँ किन पनि भने म कविता बुझ्दैबुझ्दिन । तर मैले प्रकाशको यो कविता संग्रह ३ पटक पढेँ । पहिलोपल्ट सरसर्ती, दोस्राेपटक अलि समय लिएर र तेस्राेपल्ट परीक्षाको तयारी जसरी ।
अचम्म के लाग्यो भने प्रकाश पनि आगो नै ओकल्दा रहेछन् । त्यस्तो आगो जो कहिल्यै निभ्दैन ।
म एउटा साघुँरो घेरामा रहेर अरूले गरेको गल्तीको सिकार भएका बालबालिकाहरूको पहिचानको लागि काम गर्छु, तलबी काम । मेरो कामले मलाई पहिचानको अभाव कस्तो हुन्छ भन्ने कुराको अनुभूति नजिकबाट बुझ्न मदत गरेको छ । प्रकाशको कविता सङ्ग्रहमा एउटा कविता छ, “पहाड र लहरा” । मलाई सबैभन्दा बढी हल्लाएको भने यही कविताले हो । प्रतीकात्मक रूपमा पहिचानको आगो ओकल्ने यो कविताले राज्यद्वारा सदियौँदेखि हेपिएका आम अल्पसंख्यक रैथानेहरूलाई पहाडको बिम्बको रूपमा देखाउन खोजेको छ । लहराहरूले पहाड म चढ्नको लागि ठडिएको हो, नत्र यसको अस्थित्व नै छैन भन्ने भ्रम पालेको हुन्छ तर यथार्थ त्यस्तो कहाँ हुन्थ्यो र ? जब लहराले पहाडलाई छोड्छ, उसको अस्थित्व सकिन्छ, लहराको घमण्डमा पहाड मुस्कुराउँछ मात्र । एउटा व्यंग्यात्मक मुस्कुराहट ।
प्रकाशको कविता सङ्ग्रह पढिरहँदा मलाई नर्बेजियन कवि हेनरी इब्सनको याद आयो । नर्बेजियन कवि हेनरी इब्सनको कृति पुतलीको घरले एक सय वर्षपछि युरोपमा लैंगिक विभेदविरुद्ध आगो ओकलेको थियो । जतिबेला कृति लेखियाे, युरोपियन समाज पुरुषप्रधान थियो, इब्सन बहिष्करणको सिकार बने, उनको कृतिलाई प्रतिबन्धित नै गरियो । तर पहिचान हराएकी र तत्कालीन समाजको विभेदको सिकार बनेकी इब्सनकी नोरा एक शताब्दीपछि खासगरी युरोपियन आम नारीहरूको मनमष्तिस्क हुँदै हरेक नारीहरूका पहिरनमा देखा परिन् । भनिन्छ “नोराले घर छोडे पछि के भयो ?” लेखिएका टिसर्टहरू इब्सनको निधनको ५ दशक पछि युरोपमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरूको सूचीमा सूचीकृत थिए ।
मेरो कविताप्रतिको अनिच्छा र अरुचिलाई भत्काउने कविता सङ्ग्रह बन्यो प्रकाशको कविता संग्रह । कविता सङ्ग्रह पढेपछि लाग्यो, कविहरू लम्बे अभियानका अभियन्ताहरू हुन्, राजनितीमा सामेल हुनेहरू छोटो रेसका घोडाहरू मात्र हुन् । प्रकाशका कविताहरू लामो समयसम्म ननिभ्ने आगोका फिलिंगा जस्ता लागे मलाई ।
प्रकाशहरूले कवितालाई आत्मबोध भन्ने गर्छन् तर उनले सत्य बोले जस्तो लाग्दैन पाठकलाई उनको कविता सङ्ग्रह पढेपछि । आम पाठकको मनका हतपत ननिभ्ने आगो झोसेर त्यसलाई आत्मबोध भन्ने प्रकाशलाई अरूले पत्याउलान् तर मैले भने पत्याउन सकिन ।
कुनै वाद वा विचारको घेराभन्दा माथि नउठ्तासम्म मानव समाज मुक्त हुन सक्तैन भन्ने सन्देश बोकेको प्रकाशको कविता सङ्ग्रह पढेपछि प्रकाशसँग एउटा कुरा सोध्न मन छ ।
प्रकाश ! तिमीले २ दशक अगाडि किन भनेनौँ ?
साथी ! तिमीले ओकल्ने आगो दाना छुट्याएपछि थुपारिएको सुकेका तोरीका बोटहरूमा झोसिएको जस्तो मात्र हो त्यो निमेषभर मै निभ्नेछ ।
मेरो जस्तो आगो ओकल- जो निभ्दैन !
तिम्रो कविता सङ्ग्रहको “पिँजडा”ले त त्यही भन्छ त ?
खहरे जस्तो क्षणिक जीवन होइन महासागरको गहिराई नाप्न निस्केका लम्बे अभियानका अभियन्ता प्रकाशलाई उनकाे “म एउटा बिहान हिँडिरहेछु”को लागि बधाइ तथा शुभकामना ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...