'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ १२
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।
यस शृङ्खला अन्तर्गत प्रस्तुत छ,यात्री रामजी नेपालीको कविता– 'म अर्थात् कालीगण्डकी’ ।
हे कालीगण्डकी माता !
तिमीमाथि गरिएको यो दोहनरुपी बलात्कार
अब म टुलुटुलु हेरेर बस्न सक्दिनँ
तिम्रो पवित्र देहमाथि गरिएको
बीभत्स आक्रमण
अब म सहेर बस्न सक्दिनँ ।
सरकाररुपी दानव प्रवृत्ति
किन तिम्रो अस्तित्वमाथि
यसरी धावा बोलिरहेको छ ?
किन यो विनाशलीलामा बेखबर छ ?
कानुन नै बनाएर तिम्रो किन
इतिहास हरण गर्न खोज्दै छ ?
ऊ किन यसरी बारम्बार लागिपरिरहेको छ ?
कुन शक्तिको साँठगाँठमा तिमीमाथि
यसरी पिठ्युँ फर्काइरहेछ ?
किन नामेट पार्न खोजिरहेछ
तिम्रो अस्तित्व ?
हामी त विधिको शासन मान्ने
गणतान्त्रिक देशका सभ्य नागरिक हौँ भन्थ्यौँ
आखिर कस्तूरीले बिनाको बास्ना खोज्न
भौंतारिरहेका पो रहेछौ !
आफ्नै पौराणिक सभ्यता
कालीगण्डकी सभ्यता सिध्याउन
अहोरात्र खटिरहेछौँ
अहोरात्र खटिरहेछौँ !
अब म यसरी चुप बस्न सक्दिनँ
म अर्थात् कालीगण्डकी ।
० ० ०
बाग्लुङ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...