कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस शृङ्खला अन्तर्गत प्रस्तुत छ, 

कवि राखी गौचनको कविता– ‘मान्छे र कालीगण्डकी’ । 

जन्म र मृत्यबीचको छोटो दूरीलाई 
के कुनै एकाइ छ नाप्ने ?

तर एउटा इतिहास लेखिन सक्छ 
सुखद बाचिरह्यो भने
कालीगण्डकीको निलो पानी 
हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा 
खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट 
पक्कै बग्दैन आँसु 
बेचेर माटोको रङ 
कस्तो भविष्य छोड्न खोजिरहेछौँ हामी ?

क्षितिजपारिबाट हेरिरहेको नवजात घामलाई 
पत्रपत्र च्यातेर आमाको गुन्युझैँ
किन सेक्न खोजिरहेछौँ हामी आफ्नो मात्रै देह ?
भत्काइदिएर प्रकृतिको घर.... 
किन आतुर छौँ हामी 
प्लास्टिकका फूलहरूमा सुगन्ध खोज्न ?
फाँडेर हरिया जंगलहरू 
किन सजाइरहेछौँ
कंक्रिटको टावरमा आर्टिफिसियल ट्रिज ?
भत्किएपछि पद्धति 
कहाँ बाँकी रहला र हाम्रो अस्तित्व ।

पानी खतरनाक हुन्छ 
यसले बिर्सिएपछि 
बाटो तहसनहस हुन सक्छ 
तहसनहस हुन सक्छ 
मान्छेको अभिमान र
उग्र सभ्यता 

को हो कालीगण्डकीको डिलमा बसेर 
पानीमा बल्छी लगाइरहेको शासक जस्तो मान्छे ?
० ० ०
हाल अमेरिका

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार