'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ९

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस शृङ्खला अन्तर्गत प्रस्तुत छ, कवि रोशन परियारको कविता– 'म कालीगण्डकी हुँ’ ।

मेरा जन्मदाताले दिएको स्वतन्त्रतामाथि
तिम्रो अवरोध, आक्रमण र अतिक्रमण सह्य छैन मलाई

मेरो पवित्रता पिएर
मेरै अनुहारभरि जुठो छर्ने अधिकार 
कसले दियो तिमीलाई ?

मुक्तिनाथमा पाप पखाल्छौ, बिनासर्त बगाइदिएको छु
कागबेनीमा प्रसाद चढाउँछौ, पितृसम्म पुर्याकइदिएको छु

तिम्रा कलिला छोराछोरी जस्ता
अनगिन्ती नाबालक जीवहरूको प्राण छ मभित्र
मार्न चाहन्छौ ?
तिम्रो विज्ञानको अनुसन्धानले कहिल्यै नभेट्ने 
अनमोल वस्तुहरूको अस्तित्व छ मभित्र
मेट्न चाहन्छौ ?
तिम्रो आस्थाले पुज्ने ईश्वर जस्तै 
शालिग्रामको खानी छ मभित्र
पुर्न चाहन्छौ ?
तिम्रो भूगोलको क्यानभासमा 
प्रकृतिले पोतेको सर्वोत्तम सुन्दरता हुँ म
के बिगार्यो् मेरो सुन्दरताले ?

तिम्रा मिर्गौला जस्तै हुन् मेरा गिटीहरू
तिम्रो फोक्सो जस्तै हो मेरो बालुवा
तिम्रो मुटुको चाल जस्तै हो मेरो जीवनको गति 
निकालेर शरीरबाट अंगहरू
किन मार्न चाहन्छौ मलाई ? 

तिमीले तिम्रो भाषामा मेरो मौनतालाई दोहन गर्छौ भने
सम्झ मैले मेरो भाषामा बोलेको दिन 
तिम्रो मानव सृष्टिको अन्त्येष्टि निश्चित छ
तिमीले टेक्ने जमिनको समाप्ति निश्चित छ

म कालीगण्डकी हुँ
मेरो स्वभावको अर्थ 
मैले भन्दा ज्यादा तिमीले बुझेको हुनुपर्छ 
कृपया !
मलाई लुछेर मेरो धैर्यको परीक्षा लिन बन्द गर ।
० ० ०
पाख्रीबास नपा-४, धनकुटा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार