'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ८

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस शृङ्खला अन्तर्गत प्रस्तुत छ, कवि मोहराज शर्माको कविता– ‘नभत्काऊ सभ्यताको जग’ 

आस्था विश्वास र श्रद्धाको त्रिवेणी 
सनातन सभ्यताको मूलथलो 
जस्को तटमा ऋषि महर्षिहरुले 
ब्रह्मज्ञान प्राप्त गरे । 

गर्भगृहमा शालिग्राम बोकेर
किनारका बस्तीमा प्राण भर्दै  
अनन्त यात्रामा अविरल 
बगिरहेको कालीगण्डकी 

मुक्तिनाथको प्रसाद बोकेर 
गलेश्वरधाम, मोदीवेणी, सेतीवेणी
हुँदै तपोभूमि रुरु क्षेत्र र देवघाटलाई 
अभिषेक गर्दै 
मानव हृदयको महासागरमा 
अनन्त  बगिरहेको कालीगण्डकी ।

मुहानले सागर भेट्न बनाएको 
नदीको बाटो मात्र होइन 
सभ्यता, संस्कृति र जीवनरेखा हो कालीगण्डकी 
जसको किनारमा उभिएर 
सूर्यलाई चढाएको अर्घले मोक्ष प्राप्तिको 
द्वार खुल्ने विश्वास छ । 

त्यसैले 
नखलबल्याऊ आस्था र विश्वासको जग 
नभत्काऊ वैदिक सभ्यताको धरोहर 
चुँडाल्न नखोज जीवन र जगतको ब्रह्मसूत्र
किनकि 
यो अनेकमा एक हो 
एकमा अनेक हो ।

० ० ०
जैमिनी नपा-७, बाग्लुङ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार