लेखन/संकलनका दुःख !

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामले पाए । नेपाली इतिहासको प्राथमिक सामग्रीको संकलन र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै मदन पुरस्कार गुठीले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ का लेखक इङ्नामलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम अहिले काठमाडौँ अनामनगरमा बस्छन् । ६५ वर्षीय इङ्नाम २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि निरन्तर लेखनमा तल्लीन छन् । मदन पुरस्कार पाएपश्चात लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहका लेखक भगिराज इङ्नामसँग द मार्जिनले गरेको कुराकानीको सारसंक्षेपः

पुरस्कारबारेः

मदन पुरस्कार पाएको खबर सुन्दा प्रथमतः मलाई विश्वास नै लागेन । पुरस्कार पाएको कुरा कथा सुने जस्तै पो लाग्यो । एकजना पत्रकार भाइले ‘दाइ तपाईंले पुरस्कार पाउनुभएको छ', भनेपश्चात पो मैले मदन पुरस्कार गुठीको विज्ञप्ति पढेँ । भैरवजीको पनि नाम देख्दा संयुक्त दिएछन् कि जस्तो पनि लाग्यो तर होइन रहेछ । नृत्यशास्त्री भैरवबहादुर थापाज्यूलाई जगदम्बा श्री पुरस्कार दिइएको रहेछ ।

विज्ञप्ति पढेपछि मात्रै पुरस्कार पाएछु भन्ने लाग्यो । खुसी पनि लाग्यो । रातभर मनमा कुरा पनि खेल्यो । पुरस्कार प्राप्त गर्छु भन्ने मनाशयले लेखेको पनि होइन, पुरस्कारको लोभ पनि थिएन । पुरस्कार पाएपछि एकप्रकारको ताजगी पनि महसुस हुँदो रहेछ, ऊर्जा आउँदो रहेछ । 

मदन पुरस्कार पुस्तकालयमा सुरक्षित रहन्छ, त्यहाँ बुझाउनुपर्छ भनेकाले बुझाएको हुँ । पोर्चुगल बस्ने पत्रकार र इतिहासमा रुचि राख्ने भाइ राजकुमार दिक्पालको सल्लाहलाई मैले मनन गरेको मात्र हुँ, पुरस्कार पाउँछु कि भनेर मदन पुरस्कार गुठीमा पुस्तक बुझाएको पनि होइन ।

यी ऐतिहासिक दस्तावेजहरू संरक्षण गर्नुपर्ने दायित्व सरकारको हो तर मैले गरेँ । यद्यपि राज्यले गुठीद्वारा मैले गरेको कामको मूल्याङ्कन गरेकाे महसुस भएको छ । यसमा म राज्यलाई पनि धन्यवाद दिन्छु । मदन पुरस्कार प्राप्त गर्दा साँच्चै खुसी लागेको छ। 

म सामान्य मान्छे हुँ, गुठीका कसैलाई म व्यक्तिगत रूपमा चिन्दिनँ, मूल्यांकन कमिटीमा को छ थाहा छैन । तरपनि गुठीले मलाई पुरस्कृत गर्ने निर्णय गरेकोमा खुसी लागेको छ । कसैले नखोजेको ऐतिहासिक दस्ताबेज बहुत दुःख गरेर खोजेकाले गुठीले सही निर्णय गर्यो भन्ने लाग्छ ।

पुस्तकबारेः

यो एक महत्वपूर्ण ऐतिहासिक दस्ताबेज हो । प्राज्ञिक व्यक्ति र इतिहासकारले खोज्नुपर्थ्यो । तर खोजेनन् । कसैले नखोजेपछि ७० वर्षको उमेरमा दुःख गरेर गाउँ गाउँमा पुगेर ऐतिहासिक दस्ताबेज खोजेँ । र, प्रकाशित गरेँ । मैले धेरै समय यो पुस्तकको लागि खर्च गरेको छु । दस्तावेज संकलन गर्नेदेखि यसलाई लेख्ने, सरक्षित राख्ने क्रममा धेरै दुःख भएको छ।

संकलनका दुःखः

दस्तावेज संकलन गर्न गाउँगाउँ पुगेँ । झरीमा भिज्दै लुगलुग काम्दै संकलनमा जुटेँ ।  कतिपय व्यक्तिहरूले पुराना दस्तावेजहरू बेची खाला भनेर संशय पनि व्यक्त गरे । राष्ट्रिय अभिलेखालय, परराष्ट्र मन्त्रालयले पनि आफूहरूसँग भएको स्याहामोहर, लालमोहर, इस्तिहार, कस्यपत्रहरू सहज उपलब्ध नगराई दिएर दुःख दिए । तथ्यांक संकलनमा उद्देश्यमूलक पद्धति अप्नाए । स्नोबल स्याम्प्लिङ (सोधखोज) धेरै नै गरेँ । लालमोहरिया वा पुरानिया सुब्बाहरू, फुटी सुब्बाहरू, राई पगरी र इतिहासमा अभिरुचि राख्ने व्यक्तिहरू कहाँ पुगे । कतिले साह्रो ठूलो मन बनाए, आफूसँग भएका दस्तावेजहरू दिए । कसैले दस्तावेज छ, दिन्छु भनेर दिएनन् । कतिले आज दिए, भोलि बिहानै खोस्न आए ।  

अहिले राजपत्र, ऐन, कानुन, संविधान परिपत्र भए जस्तो शाहकालमा लालमोहर हुन्थ्यो । त्यसकै माध्यमद्वारा मुलुक सञ्चालन हुन्थ्यो । मेरो घरमा पनि त्यस्ता कागजात थिए । तर घर आगो लागेर जल्यो, सबै दस्ताबेज मेटिए । त्यतिबेलासम्म मलाई लिम्बुवानको इतिहास थाहा थिएन । जागिर खाने क्रममा इतिहास पढ्न शुरू गरेँ । घरमै भएको इतिहास घरसँगैं जलेकाले त्यो खोज्ने हुट्हुटी चल्यो र यसलाई संकलन गर्नुपर्छ भन्ने सोचेँ । राष्ट्रिय अभिलेखालयमा पनि बेला बेला जान्थेँ । 

२०७१ सालमा जागिरबाट अवकास लिएपछि गाउँगाउँ पुगेर इतिहासका दस्ताबेज खोज्न थालेँ । त्यस्ता दस्ताबेज कहाँ, कोसँग छन् भनेर पत्ता लगाएर लामो यात्रा गर्दै गाउँगाउँ पुग्न थालेँ । लामो समय पैदलै भोकभोकै हिँडेर, पानीमा लुगलुग काँप्दै, बास बसेर त्यस्तो गाउँमा पुग्दा कतिले त यसको महत्व गाउँमा थाहा छैन, सहरमा लाखौँमा बिक्छ भनेर कागजात दिएनन् । अझैँ यस्ता ऐतिहासिक दस्ताबेज सुब्बाहरूसँग प्रशस्त छन्, घरमै राखेका छन् । संकलनका दुःखहरू धेरै नै छन् । ७ वर्षसम्म निरन्तर यही काममा लागे । कुन-कुन पो सुनाउनु !

तर, ती सबै दुःखहरूको मूल्याङ्कन भएको छ । मैले कसैको लागि नभएर आफ्नो जातिको दस्तावेज हराउँछ, आफ्नो जातिको इतिहास हराउँछ भनेर दुःख गरेको थिएँ । आज मेरो काम देखेर जुन सम्मान मलाई मिलेको छ, त्यसले पनि मेरो कामलाई प्रोत्साहन गरेको छ । एकदमै खुसी लागेको छ । पुरस्कारका लागि योग्य ठान्ने सबैलाई यो कुरामा धन्यवाद दिन चाहन्छु । 

इङ्नामसँगकाे विस्तृत कुराकानी भाेलि शनिवार द मार्जिनमा पढ्न तथा द मार्जिन टिभीमा हेर्न सक्नुहुनेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार