'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ७

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस शृङ्खला अन्तर्गत प्रस्तुत छ, कवि हेमन्त गिरीको कविता– ‘काली’ 

छोड्लान कि सन्तानले भन्दै 
डराइडराई आमा-बाबुले आँसु बगाए जस्तै !

निमोठिएला कि गर्भ भन्दै 
डराइडराई बहिनी-संगीनीले मासिक स्राव बगाए जस्तै !
जहाजमा फर्कूंला कि बाकसमा भन्दै 
डराइडराई परदेशीले मरुभूमिमा पसिना बगाए जस्तै !
आफू मरेर बँचाएको देश बाँच्ला कि नबाँच्ला भन्दै 
डराइडराई सिपाहीले युद्धभूमिमा रगत बगाए जस्तै !

डराइडराई बग्नु परिरहेछ अचेल मलाई !
डराइडराई बाँच्नु परिरहेछ बडो नमज्जासँग !
सोच्न सक्नुहुन्छ-
स्वयं नदी नै बग्न डराउने भूगोल कस्तो हुन्छ ?

प्रकृतिले प्राथमिकतामा पारेको स्वर्गभूमिमा 
नहुनुपर्ने हो ईमानको ईश्वर दुर्गन्धित, 
तर 
मेरै छातीमाथि 
कौडीमा बेचिइरहन्छन् शालिग्रामहरू !
देवताहरु खेल्ने देवभूमिमा 
नहुनुपर्ने हो देवीहरु बलात्कृत,
तर
मेरै किनार साक्षी राखेर 
बलात्कृत भइदिन्छ आस्थाको बगर दिनहुँ !

त्यसैले त अचेल डर लाग्छ 
हिउँदमासमा सुसाउन मलाई !
झनै डर लाग्छ बर्खामासमा बहुलाउन पनि !

काली हुँ म,
यस्तो देशमा बगिरहेकी छु डराइडराई !
देख्दै, सम्झिँदै, झस्किँदै-
भोलि मेरो नियति पनि महाकाली नबनोस् !

म सुकेँ भने कुनै दिन 
सोध्लान् कि नसोध्लान् कसैले
देवीहरु बेचिने भूमि 
कसरी आजसम्म देवभूमि कहलियो ?
० ० ०
सैनामैना, रूपन्देही हालः जापान

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...