'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ६

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस शृङ्खला अन्तर्गत प्रस्तुत छ, कवि प्रज्वल अधिकारीको कविता– ‘नदीको उद्घोष’

ओरालो झर्दैझर्दै 
ओरालोको पिँध चुम्नु- मेरो गौरव हो !
पहिचानको सहअस्तित्वको गीत गाउँदैगाउँदै
विशिष्ट पहिचान निर्माण गर्नु- मेरो संस्कार हो !

मभित्र जीवन्त बाँचेको कालिगडीले 
तिमीलाई ईश्वर उपहार दिनु- मेरो कला हो !

झर्नु विस्तारित हुनु हो
बग्दा हर्षविभोर हुन्छु म
जम्नु व्यर्थ हो- मेरा लागि 

ढुंगाका छातीमा काउकुती लगाउँदै दौडिनु 
किनारका हातहरू समाउँदै यात्रा गर्नु 
हामीबीचको त्रिकोणात्मक प्रेम हो !
तर जब,
हाम्रो प्रेमको फूलबारीमा 
कर्कश क्रसर चलाउँछौ तिमी
विक्षिप्त हुन्छु म 

विक्षिप्त मन लिएर
मेरो हराएको प्रेम खोज्दैखोज्दै
म तिम्रो घर पस्छु
मेरो पीडाको भलले
भत्किन्छौ, टुट्छौ र हराउँछौ तिमी

प्रिय मान्छे !
यसमा मेरो कुनै दोष छैन
तिम्रो अस्तित्व जोगाउनु- मेरो कर्तव्य हो 
तिमीले पनि हाम्रो प्रेममा आँखा नलगाउनु 
बुझ्नु-
प्रेममा धोका खाएको प्रेमी कति हिंस्रक हुन्छ !
० ० ०
लमजुङ

कालीगण्डकी बचाऔँ अभियान 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...