नगेन्द्र बजगाइँ

तपाईंको घर 
तयार हुनुअघि

आफ्नो 
भएभरको सीप लाएर मैले
भान्साकोठा- तयार गरेँ !

त्यो भन्दा पनि सीप लाएर मैले 
बैठक कोठा- तयार गरेँ

मलाई थाहा छ 
तपाईंको घरका 
जम्मा पाचवटा कोठाहरू हुन्  
जसमध्ये 
पूर्वतिर-  सयन कक्ष छ,

इशानमा- पूजा कोठा छ
वायव्यमा- स्नान र शाैच कक्ष छ

दक्षिणतिर- अन्न राख्ने ढुकुटी छ 

यस्तै यस्तै
विभिन्न प्रयोजनका खातिर
तत्सम्बन्धी तत्तत कोठाहरू छन्

यसलाई यसरी बुझ्नुस् 
कि एउटा सुव्यवस्थित 
घरको निम्ति जे-जे हुनुपर्छ 
ती- सबै/सबै तयार छन्

तयार गर्न बाँकी त 
अहिलेसम्म तयार गर्दागर्दै 
तयार हुननसकेको 
मात्र त्यो एउटा मूल दैलोको पल्ला छ
र आँङ्नामा तुलसीको मठ छ 

मलाई थाहा छ 
बनाउँदै जाँदा एकदिन

तुलसीको मठ तयार हुनेछ 
त्यसपछि 
बुट्टेदार मूलदैलोको पल्ला तयार हुनेछ

र त्यसपछि म 
तपाईंको घरभित्र 
कहिल्यै पस्न पाउने छैन......!

त्यतिखेर
तपाईं भन्नुहुनेछ,  
नो इन्ट्री पूछारघरे काँइला - नो इन्ट्री........!
किनकी यो बाहुनको घर हो !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।