उहिल्यै ठूल्ठूला लाजहरू भइसकेका
छन्
तसर्थ अब यहाँ लजाउनु पर्ने कुनै
कारण नै छैन ।
यति ठूलो आकाश हुँदाहुँदै
त्यो आकाशभन्दा पनि ठूलो आकांक्षा
लिएर
जब मान्छेले धर्तीमा आफ्नो साँध
बनाउन थाले
तब उनीहरू आफैँ कसैको
पराधीनतामा कैद भए
र अचेल उनीहरू आ-आफ्ना देशको
झण्डाका छिद्रहरूबाट
खण्डहर आकाश चिहाउँछन्
यो दुनियाँमा यो भन्दा ठूलो लाज अरू
के होला...?
यति विशाल मानव सागरभन्दा अलग
केवल आफ्नो दलको खोक्रो
आदर्शमा लठ्ठिएर
आफ्नो गुटको नारा नै अन्तिम सत्य
भन्ठान्ने लठुवाहरू
उनीहरू जस्तै उनीहरूका नेताका
भाषण सुनेर
अन्दाधुन्द ताली ठोकिरहेका छन्
त्यो भन्दा ठूलो लाज अरू के
होला ...?
जन्मजात सबसे अश्लील स्वभावको
थाङनामा बेरिएर हुर्किएको सबसे
अश्लील मान्छे
आज यो शहरको चोकमा उभिएर
शालीनताको भाषण ठोक्छ
उसकै स्कुलिङ्मा हुर्किएका आज्ञाकारी
लठकहरू
लाजैबिना अझ भद्र शालीन अभिनय
गर्दै भाषण सुन्छन्
त्यो भन्दा ठूलो लाज अरू के
होला ...?
यात्रा एकातिर छ अलमल अर्कोतिर छ
ज्ञान एकातिर छ ध्यान अर्कोतिर छ
काम एकातिर छ लगाम अन्तैतिर छ
नाम एकातिर छ बदनाम अर्कोतिर
छ ...
हे जिन्दगीको सिँढी उक्लिनलाई
सुनको भर्याङ छाडेर
पलासको भर्याङ बनाउँदो मान्छेहरू
हो
हे मृत्युजन्य कार्यक्रममा आशक्त भई
मृत्यु हुँदा
धुरुधुरु रुने मान्छेहरू हो ...
स्वाद भन्दा कति लामो छ तिम्रो जिब्रो
खाना भन्दा कति ठूलो छ तिम्रो मुख
भोक भन्दा कति विशाल छ तिम्रो पेट
कद भन्दा कति अग्लो छ तिम्रो
अहंकार
जीवन भन्दा कति मूल्यवान छ तिम्रो
महत्वकांक्षा
हे मानव अस्तित्व !
तिम्रो अराजकतालाई यो शास्वत
ब्रम्हाण्डको समय सुइरोले
अति चरम पतीत र लाचार बिन्दुमा
सूचित गर्दै छ
यो भन्दा ठूलो लाज अरू के होला
र ...?
हे दर्शकदीर्घा, हे पाठक वर्ग
पहिले-पहिले मलाई यस्तो कविता
लेख्न लाज लाग्थ्यो
तर अब मलाई लाज लाग्न छाड्यो
किनकी उहिल्यै ठूल्ठूला लाजहरू
भइसकेका छन्
तसर्थ अब यहाँ लजाउनु पर्ने कुनै
कारण नै छैन ।
तथास्तु !!!
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...