फाँडेर भष्मे खोरिया
नमिची कसैको सिमाना
नकिची कसैको पहिचान
बनाएको हाम्रो
घामजस्तै अनन्त
कर्याङकुरूङ चराको उडानजस्तै स्वतन्त्र
अस्तित्वको छातीमा
दागेर विभेदको बन्दुक
सत्ताले
घोषणा गरेपछि आकाशमा नाकाबन्दी
उड्न पाएनौँ गर्मीमा हिमालतिर
जाडोमा तराईतिर
यसपछि
बिग्रिएको हो हाम्रो आदिम सपनाहरूको आवादी !
रैथाने रहररूको रोपनि, कटनी र छरनी !
त्यतिबेलैदेखि
कसैले सोचेको हुनुपर्छ
आफैँलाई देउता घोषणा गरेपछि
स्वर्गको बाटो पहिल्याउन
उतै पस्नेछन् भूमिपुत्रहरू
बिर्सनेछन आफ्नो पदचापहरू
छाड्नेछन आफ्नो धरातल !
कसैलाई भ्रम हुनसक्छ
पहाडको मुटु ठोसेर भत्काउँदै पुर्खाको चिहान चौतारी
घिसारेपछि विकासे बाटो
सोहोरिएर झर्दा आधुनिक धमिलो बाढी
धमिल्याउन सकिन्छ सभ्यताको एउटा महासागर !
तर
अफसोच
आदिम सभ्यताको फेरो समातेर बगिरहेको नदीले
बिर्सन सक्दैन बगिरहनुको लय !
जसरी हावाले फेर्न सक्दैन बहिरहने धर्म।
मानिलिउँ
सबै भ्रमहरू सत्य भएर आएपनि
प्रतिबन्धहरू सफल भैहाले पनि,
खुवालुङले छाड्ने छैन
इतिहासको विरासत बोकेर अन्यायको विरुद्ध अटल उभिनु
थुन्सेमा लुकाएर जोगाएको सपनाको बीउ
फूल्न छाड्ने छैन बुकीफूल बनेर लेकतिर।।
रूखहरूमा
पातहरूले नाचिरहेकै हुनेछ समयको सिली !
त्यस बखत पनि
कुनै आदिम माटोमा
पुर्खा बसेको अगेनाको तीन चुल्हा बीचमा
बाँकी रह्यो भने पनि
एक फिलिङ्गा आगो!
त्यसले छाडेको हुनेछैन विद्रोहको राप !
त्यसैले अब बन्द गर्नु
आगोजस्तै अनन्त अस्तित्व विरूद्धको चाल।
विचार गर त !
आगोले ठेगाना भुलेको समय
तिम्रो साम्राज्यको कुन अवशेष बाँकी रहलारु
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...