कजना महिला मित्र हुनुहुन्छ । ‘मलाई साहित्य मनपर्छ’ भन्ने उहाँ हृदयगत तवरमै मलाई पनि मनपर्छ । उहाँलाई साहित्य मनपर्नुको पुरापुर अर्थ यही हुन् आउँछ कि उहाँ खुब खुब खुबसुरत लेख्नुहुन्छ । तर जसै मैले एकदिन ‘तपाईँ कति खुबसुरत लेख्नुहुन्छ, आफूजस्तै’ भनिदिएको थिएँ, उहाँले लेख्न छाड्नुभयो । या लेखेर पनि मलाई भन्नुभएन । खै के हो तर त्यसपछि उहाँले लेखेको मैले पढ्न र सुन्न पाएको छैन । 

कारणहरू जे पनि हुनसक्छन् । केही कारणहरू मलाई लाग्छन् जो हुन् पनि सक्छन् र नहुन पनि । 

तर त्यसपहिले एक दुई प्रश्नहरूले मेरो मस्तिष्कमा डेरा जमाउँछन् । लेखिरहेको कोही मान्छे एक्कासि लेख्न किन बन्द गरिदिन्छ? लगातार लेखिरहने मान्छेले एक्कासि लेख्न बन्द गरिदिनुको पछाडि के-कस्ता मानसिक एवं सामाजिक कारणहरू हुन् सक्छन् ? के उहाँसँग केही त्यस्तो वैयक्तिक दुर्घटनाहरू पनि घटित भएँ, जसले उहाँको लेखन कार्यलाई पूर्णतः तहसनहस गरिदियो? 

मान्दछु म कि लेखिरहनलाई एक व्यक्तिगत अनुशासन अपरिहार्य हुन्छ । लेखन एक अनुशासनभन्दा बढ्ता अरू केही होइन । अनुशासनबेगर निरन्तर लेखन कपोकल्पित कुरा हो, लगभग असम्भव प्रक्रिया । ‘लेखन अनुशासन’ लेखिरहने मानिसको नित्यकर्म हो । (उसो त केही वर्ष म अनुशासनविहीन रहेँ । जसको पश्चात्ताप म यसैगरि गरिरहेछु । )

जस्तै थप प्रश्नहरू:
निरन्तर लेख्ने मान्छेले एक्कासी लेख्न बन्द गरिदिँदा या अरूले लेखेको मात्रै पढिरहँदा सो व्यक्तिलाई कस्तो हुँदो हो? हृदय कति विचलित र विकीर्ण बन्दो हो ?

मेरो अनुभवले त यही भन्दछ कि आफूले लेख्न नसकिरहँदा र आफू नजिकैको कोही अर्कोले निरन्तर लेखिरहँदा निकै पीडा हुन्छ । दुख्छ, पोल्छ र चिमोट्छ । एउटा सुकोमल पीडा, एउटा मुलायम दुखाइ। एक चिस्याइलो पोलाई र एक मायालु चिमोटाइ । 

म कहिलेकाहीँ सोच्ने गर्दछु, मैले जे-जति लेखेँ- त्यसक्रममा भोगेका मानिसिक उथलपुथलहरूलाई लेख्न नसकेको खण्डमा म के गरिरहेको हुन्थे होला  ?

मेरो हृदय यसप्रकारको चिमोटाईबाट आकुलव्याकुल भएकै हो र त्यसबाट छुट्कारा पाउनलाई मैले के-के गरिन ? हरेक बिहान लेख्नलाई भनेर बसेँ । हरेकपटक अगरबत्ती र सिगरेट नजिक ल्याएँ । कोठालाई धुवाँमा रुमल्लाएँ । (कारण हो, अगरबत्ती र सिगरेटको धुवाँबेगर मैले आजसम्म, आजको प्रहरसम्म लेख्न सकेको छैन । मेरो हकमा यही लागू हुन्छ ।) त्यसपछि मानिसिक उथलपुथल र समसामयिक घटनाक्रमहरूको निरन्तर उछलकुद अत्यावश्यक हुन्छ । म कहिलेकाहीँ सोच्ने गर्दछु, मैले जे-जति लेखेँ- त्यसक्रममा भोगेका मानिसिक उथलपुथलहरूलाई लेख्न नसकेको खण्डमा म के गरिरहेको हुन्थे होला ? मलाई डर लाग्छ कि झेल्नै नसक्ने मानिसिक तनावलाई अक्षरशः उतार्न सक्दिन थिएँ भने म कहाँ हुन्थे होला ?

अँ, म भन्दै थिएँ कि म कसरी लेख्ने गर्छु । त्यही त, धुवाँ र मानिसक उथलपुथलमा रुम्मलिरहेको म, जसैजसै आफूलाई रित्ताउन थाल्छु (फेरी कहिल्यै नभरिने सर्तमा), म आनन्द महसुस गर्दछु । हलुका हुन्छु । र, लेखिसिद्ध्याउँदा एक मीठो व्यावहारिक लसपसमा आफूलाई हिँडाइरहेको हुन्छु । केही लेखेको र लेखिसकेर पढ्दा- आफूलाई पनि मनपरेको क्षणमा एउटा बेग्लै ताजगी हुन्छ । एक सुमधुर हर्षोतिरेक समय, जहाँ सन्तुष्टिको वर्षात् हुन्छ । खुसीका असिनाहरू पर्दछन् । यस्तो बेला आनन्दको आकाशमा हर्षका बेलुनहरू  उडिरहेका हुन्छन्। म रमाइरहन्छु । 

अँ, म उहाँको कुरा गर्दै थिएँ कि उहाँले लेख्न छाड्नु भयो । र, उहाँले किन लेख्न छाड्नु भयो होला ? किन छाड्नुभयो त्यसको पक्का-पक्का जवाफ मसँग छैन । र, मलाई थाहा छ- उहाँसँग पनि छैन । 

कहिलेकसो उहाँसँग भेट हुँदा उहाँ भन्ने गर्नुहुन्छ, “के लेख्नु ? लेख्नलाई केही पनि छैन ।“ कुरा ठिकै हो, ‘के लेख्नु ? लेख्नलाई केही पनि त छैन ?’ तर कुरा बेठीक पनि हो, ‘लेख्नलाई के छैन ? के-के पो छैन ? किन नलेख्नु ?’ तर उहाँको त्यस जवाफ सुनेपश्चात् म दुःखी मुद्रामा आफ्नो खुट्टामा बढेको नङ नियाल्न थालेँ । 

जस्तो कि खुट्टाको नङ बढ्यो भनेर पनि त लेख्न सकिन्छ । खुट्टाको नङ बढ्नु भनेको गहिरो कुरा हो । यसले सामाजिक, मनोवैज्ञानिक सँगसँगै दार्शनिक अर्थ पनि राख्दछ । आजको समयमा जुत्तामा घुस्रिरहने खुट्टाहरूले आ-आफ्ना नङ बढाउनुको कुनै औचित्य नै छैन । यात्रारत जिन्दगीमा लामा-लामा नङ पालेर जुत्तालाई र आफूलाई किन कष्ट दिनु? खुट्टामा लामा नङ हुनु भनेको यात्रारत नहुनु हो । गतिशीलता नहुनु हो । स्थिर रहनु जिन्दगीको एक मौसम होला तर बाँकी पाँच मौसम किञ्चित होइनन् । (नङ माहात्म्येप्रति मलाई किञ्चित जानु छैन, यसैले यसलाई यही टुङ्गाए ।)

लेख्नेक्रममा पनि देउराली चाहिन्छ । हावा सरर चल्नुपर्दछ । त, देउरालीमा आइसकेपछि पसिना ओभाइजाओस् ।

मेरो खराब आदत छ, म लेखनक्रममा धेरै तलमाथि गरिरहन्छु । म उहाँसँगको सवाल जवाफमा थिएँ । अँ, उहाँले लेख्नलाई केही पनि छैन भन्नुभएको थियो । मैले उहाँको कुरा कसैगरी पनि स्विकार्न सकिन । किन छैन ? नाथे खुट्टामा बढेको नङको बारेमा म यतिबेर गन्थन गर्न सक्दो रहेछु भनेर नङभन्दा कति मज्जाका र खुबसुरत कुराहरू छन्, जसबारे लेख्न सकियोस् । हो, आफूले लेखेको कुराले समाजमा भयावह परिवर्तन ल्याउन सक्नुपर्छ, समाज कायापलट नै गर्नुपर्दछ भन्ने लाग्दछ भने कुरा अलग हो । तर खुट्टा छ र खुट्टामा नङ बढेको छ भने समाज परिवर्तनका लागि नै लेखिरहेकाहरूले पनि त्यही नङको बारेमा चाहिँ किन नलेख्ने ? उहाँहरूले समाजलाई परिवर्तन गरिरहँदा खुट्टामा बढिरहेको नङतर्फ पनि आ-आफ्ना दृष्टिकोणहरू राख्दिए बेसै हुने थियो । उहाँहरूबाट पनि नङ माहात्म्ये पढ्न पाए, बेसै हुने थियो । नपाए भुत्रै सित्ति,..मलाई केको टनटन ? हाहा..एकछिन यहाँनेर बसेर हाँसौँ । 

लेख्नेक्रममा पनि देउराली चाहिन्छ । हावा सरर चल्नुपर्दछ । त, देउरालीमा आइसकेपछि पसिना ओभाइजाओस् । शरीरमा स्फूर्तता आइजाओस् र मन एवं मस्तिष्कले फेरी गति समातिजाउन् ।  

अँ, अब चाहिँ सिधै फड्को मारौँ । मैले सुरुमा नै एउटा प्रसङ्ग उप्काएको थिएँ । ‘उहाँले लेख्न नसक्नुको केही कारणहरूबारे । मेरो विचारमा सायद ती यस्ता हुन् सक्छन् । कस्ता ? म भन्दै छु है ।

पहिलो कारण : 

उहाँ युवावयमा नै एक प्राइभेट कम्पनीमा दिलोज्यान दिएर होमिरहनु भएको छ । काम गर्नुपर्दछ तर आराम पनि गर्नुपर्दछ । र, आराम सँगसँगै दुनियाँबाजीमा पनि लाग्नुपर्दछ । उहाँ काम र आराम गरिरहनु भएको छ तर दुनियाँबाजीमा अलिकति पनि समय निकालिरहनु भएको छैन । 

एयरे-गैरे-नत्थुखैरे टाइप्सको दुनियाँबाजी होइन तर दुनियाँमा आफूलाई पुर्‍याइरहनु पर्दछ । जस्तो सहरको पल्लो कुनाहरूमा । सहरका गुमनाम चिया अड्डा र कफी सपहरू । सहरका लावारिस गल्लीहरूमा । उहाँ यति सुन्दर नगरीमा रहनुहुन्छ- जहाँ थिएटरहरू छन्, महफिल अड्डाहरू छन्, पुस्तक घर र घाटहरू छन् । डुङ्ग गनाउने नदी किनार र त्यसछेउमा पर्फ्युम छर्केर रमाइरहेका प्रेमील वार्ताघरहरू छन् । चरा र तीनका गुडहरू छन् । यही सहरका माख्ला भेगहरूमा एक-एक वटा गाउँले परिवेश छ, गाउँले आतिथ्यता छ । सहरमा अझ पनि खेती-किसानी र माटोसँग साइनो गाँसिरहेका व्यक्तिहरू छन् । 

यो सहरदेखि अलिकति मात्रै पनि निस्कने हो भने के-के छन् केके । जहाँ जहाँ आफूलाई पुर्‍याए पनि भयो, जसरी-जसरी आफूलाई रित्ताए पनि भयो । यसकारण भनेको, उहाँ यस किसिमको दुनियाँबाजीदेखि आफूलाई पर..पर..धेरै पर पुर्‍याइरहनु भएको छ । 

मैले कति पटक भने हिँड्नुहोस् न, कहीँ पर जाऊ । तपाईँ चिया पिउनुस्, म कफी घुट्काउछु । तपाईं मलाई हेर्नुस्, म तपाईंलाई हेर्छु। एक-अर्कालाई हेर्दाहेर्दै एक-अर्कामा हराइजाऊँ ।

मैले कति पटक भने हिँड्नुहोस् न, कहीँ पर जाऊ । तपाईँ चिया पिउनुस्, म कफी घुट्काउछु । तपाईँ मलाई हेर्नुस्, म तपाईंलाई हेर्छु। एक-अर्कालाई हेर्दाहेर्दै एक-अर्कामा हराइजाऊ । एक-अर्कामा सक्कीजाऊ । उहाँ मान्नुहुन्न।..साँच्चै उहाँलाई दुनियाँबाजीमा लगाउन असाध्यै गाह्रो छ । 

दोस्रो कारण : 

उहाँ आफू त लेख्नुहुन्न नै तर, मलाई भने लगातार लेख्न अह्राइरहनु हुन्छ । यसो गर्दा मलाई थोरबहुत फाइदा त होला । म आडेपाडे जस्तो भए पनि लेखुँला तर उहाँ ठप्पै हुनुभयो । एउटा नाथे क्याप्सन धारी मलाई लेखिदिन भन्नुहुन्छ । यार..त्यति खुबसुरत काव्यिक चेत भएको खुबसुरत मान्छेले नाथे क्याप्सनको लागि पनि मलाई भन्नु ? 

मलाई जहाँसम्म लाग्दछ, दोस्रो कारण उहाँ लेख्न सकिरहनुभएको छैन । 

उपसंहार :

लेख्नु भनेको धेरै त के नै हो र ? आफूलाई व्यक्त गर्नु न हो । आफू व्यतीत हुनु न हो । अलिकति आफू अलिकति आफू नहुनु र अलिकति आफू अलिकति आफू हुनु न हो । प्रभाव फरक कुरा हो । शैली त्यसपछिको कुरा हो । विचार-दर्शन हरेक चिजवस्तुसँग गाँसिएर आउने कुरा हुन् । अनुभवजन्य भोगाइले हरेकलाई मुद्दा दिइरहेको हुन्छ, घटना साझेदार गरिरहेको हुन्छ । त्यसलाई अलि बेसी पर्गेल्न सक्दा भइहाल्यो । त्यसलाई अलि बेसी निफन्न खोज्दा भइहाल्यो । लेखेर ठुलै केही गरी भ्याउनु पर्दैन । टाउकोमा परिरहने चायाँ मेरो लागि लेखाइको स्रोत हो । खुट्टामा अल्झिरहने दुबो लेखनको मुहान हो । बस्, निरन्तरताको कुरा हो । दैनिक अनुशासनको कुरा हो । र, त्यसभन्दा बढ्ता, लेखिरहेको कुराप्रति आफ्नो इमानदारिताको कुरा हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार