विजय मल्ल (विसं १९८२ - २०५६) नेपाली साहित्यकार हुन् । उनले विसं २०२७ मा एक बाटो अनेक मोड कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका हुन् ।

विजय मल्लको जन्म विसं १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको थियो । उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन् । विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । पिता सुब्बा ऋद्धिबहादुर मल्ल राजधानी काठमाडौँका राणाहरूका दरबारसँग सम्बन्धित भएकाले उनले दरबार हाई स्कुलबाट शिक्षा हासिल गर्ने मौका पाएका थिए ।

प्रकाशित कृतिहरूः
विसं २०१६ विजय मल्लका कविता (कविता)
विसं २०१६    कोही किन बर्बाद होस् (नाटक)
विसं २०१७    जिउँदो लास (नाटक)
विसं २०१८    अनुराधा    (उपन्यास)
विसं २०२६    एक बाटो अनेक मोड (कथा)
विसं २०२८    पत्थरको कथा (नाटक)
विसं २०२८    बौलाहा काजीको सपना (नाटक)
विसं २०३९    कुमारी शोभा (उपन्यास)
विसं २०४०    स्मृतिको पर्खालभित्र (र) मानिस र मुकुण्डो (नाटक)
विसं २०४०    भित्ते घडी (नाटक)
विसं २०४१    भूलैभूलको यथार्थ (नाटक)
विसं २०४८    सृष्टि रोकिँदैन (नाटक)
विसं २०५२    मान्छेको नाँच र अन्य कथा (कथा)
विसं २०५६    श्रीमती शारदा (उपन्यास)

प्रस्तुत छन्, विजय मल्लका तीन कविताः

१. कतिले आत्महत्या गरिसक्थे !
कतिले आत्महत्या गरिसक्थे !
बगर-बगरमा, गल्ली(गल्लीमा,
रानीपोखरीको नील जलमा,
हरेक देखिने दलिनहरूमा
कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे !
कतिले आत्महत्या गरिसक्थे !

दुःखले पोलेको मुटु लिएर
पीडाले सढेको शरीर लिएर
अन्यायको तातो झीरले डामेको अन्धो आँखा लिएर
कतिले नमर्दै आफूलाई मारिसक्थे !
कतिले आत्महत्या गरिसक्थे !
जिउनु छ भनेर नै कोही जिउँदैनन् यहाँ,
मृत्युसँग तर्सेर नै कोही बाँच्दैनन् यहाँ ।

यहाँ कतैकतै पाइन्छ-
आँसुलाई पुछिदिने,
स्नेहको मीठो स्वरले टुटेको दिललाई साँचिदिने
मायालु मुलायम हात, मायालु मुलायम आँखा।
त्यसैले पो-
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो,
टुटेको दिलको, फुटेको मुटुको,
कसिङ्गरैकसिङ्गरको, करङैकरङको थुप्रोझैँ ।
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो !
मसान भइसक्थ्यो !
उफ्! कतिले आत्महत्या गरिसक्थे !

२. महान् लेनिनप्रति 

कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।

सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।

ऊ, को आयो हेर, नेभा नदीको तीरबाट
लाख लाख मानिसको जुलुस लिएर।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ,
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ?

एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हरइँटले बोलिरहेछ,
हरपत्थरले दोहो¥याइरहेछ ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–

दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन।

३. यस धर्तीको पानीमा
एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लान्छु बागमतीको
अकस्मात् बज्र गिरेझैँ आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैँ,
या छली रामले बालीलाई हानेझैँ वाण
या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा !

तप्कन्छ यही औँलाको काप कापबाट
त्यही रक्त विस्तारै धरतीमा ।
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु,
अभिशप्त, विवश, व्याकुल ।

किन आकाशका ताराहरू
हेर्दैनन् अहिले अनुहार आफ्नो
यस धरतीको पानीमारु
किन नारसिस हुँदैन मोहित
आफ्नो छायाँको सौन्दर्यमा ?
के भो यस धरतीको पानीमा
अचानक यस बीसौँ शताब्दीमा ?
म खोज्दै खोज्दै पुग्दछु,
विक्षिप्त पागलझैँ
पृथ्वीका सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपी, अम्याजाँ, नाइल,
जताततै बदलिन्छ पानी,
अकस्मात् रक्तमा !
मानौँ चन्द्रावतीले सराप पाएझैँ !
तिर्खाएको तिर्खायै
पानी खोज्दै छु यस बीसौँ शताब्दीमा
म विष पिएझैँ एउटा मानिस
अभिशप्त, विवश, व्याकुल।

गुलाफको फूलमा अहिले
किन बारुदको गन्ध आउँछ ?
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाजझैँ
किन हरेक झाँग झाँगबाट
चितुवा लुकेझैँ शङ्का चिच्याउँछ ?
हरेक क्षण किन त्रास ओसारिएर
यस धरतीमा लहराउँछ ?
के भो यस धरतीको पानीमा ?
बाघले मृगलाई मार्दै पछारेझैँ
नदीका किनार किनारमा,
रगत त्यसैको मुछिई बगेझैँ,
किन रातोपन छ यस पानीमा ?

कुनै सुनकेशरी मैयाँ नुहाउँदिनन् अब
यस बीसौँ शताब्दीको जलमा ।
बगरेखानाबाट धारो छुटेझैँ
के सारा नदीका मुहान भए रक्तरञ्जित ?
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली,
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु
अभिशप्त, विवश, व्याकुल !
के भो आज यस धरतीको पानीमा
अचानक यस व्यापक महान्
बीसौँ शताब्दीमा ?

बोनस कविताः यान्त्रिकता 

सडक-सडक, होटल-होटलमा
कागजका कोरा पर्चाहरूमा
केही लेखिएजस्तो, केही कोरिएजस्तो
यन्त्रमानव
पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ।
मानौँ यस दुनियाँमा केही भएको छैन
मानौँ यहाँ केही समस्या नै छैन !
ए पत्थरका सालिकहरू,
तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो,
साँच्चै गाह्रो भो !

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

विजय मल्ल

लेखकबाट थप...

सम्बन्धित समाचार