कवि के.जी सुब्बा नेपाली कवितामा एक परिचित नाम हाे । धनकुटाका चाैबिसमा जन्मिएका सुब्बा करिब दुई दशकअघि देखि कवितामा निरन्तर कलम चलाइरहेका छन् । उनी कवितासँगै शिक्षण पेशामा आबध्द छन् ।

 

पहेँलो सपना

 
कुनै बेला मेरो पहेँलो सपना
माघमा खसेको फलेदोको पातमा
प्रतिबिम्बित हुन्थ्यो ।
 
उल्टो तलबाट 
माथि बग्दै आउने खहरे खोलाको भ्रम
किनारमा पाकेका पहेँलाे ताैली धान
दाउरा बाल्न बुबाले छासेको 
स्याउको हाँगामा 
शेष रहेको एउटा पहेँलो स्याउ खाएर 
देखेको एक पहेँलो सपना
पारि आकासका ताराहरु जस्तै चम्किने
आमाको माइती देश 
अहिले सम्झेर ल्याउँदा
उत्तिबेलै म एउटा बिराट सपनामा थिएछु ।
 
तर सपनाको पहिरो 
यस्तरी भत्कियो कि अब जीवन 
बगरको रुखो आभासमा हुर्किँदो भयो
तर अर्कै आयामबाट 
भए पनि एउटा सपना त उदाए छ ।
 
सायद त्यो
तोरिको फुलबाट उदायो
सायद त्यो
पाकेको भट्मासको पातबाट उदायो
सायद त्यो
नार्सिस फूलको प्रति सौन्दर्यबाट उदायो
कि त त्यो
भाग्य चम्किने सपना जस्तै
घामको पहेँलो किरणबाट उदायो ।
 
यी सपनाहरुको सारमा
पहेँलोको सम्मोहित एउटा दर्शन ज्ञान
छैठौँ इन्द्रियको चेस्टाबाट बिउँझिएर
आज म आफ्नै झण्डाको पहेँलो किनारमा लपेटिएको छु
महासम्हार पछिको
बैराज्ञ शान्त एउटा पहेँलो सपना ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...