सुमन पाेखरेल

जिन्दगी कहाँ छ, भेट्टाउनु पनि छ
भेटेर त्यसलाई फुल्याउनु पनि छ

के भए मर्छ मानिस, कतिञ्जेल रहन्छ जीवन ?
नमर्दै मर्‍यो भने, मरी के गर्छ जीवन ?
ढलेको आफ्नो लाशलाई उठाउनु पनि छ 
छम्केर केही प्रेम, ज्यूँदाउनु पनि छ ।

मान्छे भनेका मान्छे, कहाँ छन् खै कहाँ छन् ?
स्वार्थी हुन् कोको यहाँ, जालीहरू कहाँ छन् ?
कयौँ अनुहारका लिउन उक्काउनु पनि छ 
विश्वासका गाह्राहरू भत्काउनु पनि छ

आफन्त भन्या को हो ? के गर्छ आफन्तले ?
के गरे शत्रु हुन्छ ?के गर्छ मित्रताले ?
भ्रमका जालाहरू पन्छाउनु पनि छ 
अनेक अर्थहरू खुलाउनु पनि छ

किन यो जीवन सधैँ भ्रमकै भर पर्छ ?
बाँच्नुमा के नै छ र, जीवन त आखिर मर्छ ?
मृत्युको बाटो हेरी पर्खाउनु पनि छ
गन्तव्यसम्मै पुर्‍याई जलाउनु पनि छ 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।