काठमाडौं: नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘मातृभाषाका कविता’ नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको संयोजनमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस’का अवसरमा २०७७ फागुन ९ गते प्रज्ञा भवनमा आयोजित ‘मातृभाषा राष्ट्रिय कविता महोत्स–२०२१’ मा वाचित कविताहरूको सँगालोका रूपमा ‘मातृभाषाका कविता’ प्रकाशित भएको हो ।
‘मातृभाषाका कविता’मा विभागीय प्रमुख प्राज्ञ लक्ष्मी माली प्रधान सम्पादक र पदम राई सम्पादक एवम् डा. रामदयाल राकेश, कृष्णभक्त बोडे, भोगीराज चाम्लिङ र कृष्णराज सर्वहारी सम्पादन सहयोगी रहेका छन् ।
विभिन्न ५६ मातृभाषाका ६९ ओटा कविताका साथै पुस्तकमा ‘नेपाली मातृभाषा साहित्यमा महिला साहित्यकारहरूको सहभागिता, चुनौती र सम्भावना’ शीर्षक कार्यपत्र समावेस गरिएको छ । २६८ पृष्ठको पुस्तकको मूल्य रु. २९० रहेको छ ।
पुस्तक प्रज्ञा भवनमा जारी प्रदर्शनीमा उपलब्ध छ । पुस्तकमा समाविष्ट कविताका कविहरूले भने प्रज्ञाको पुस्तक विक्री कक्ष वा प्रदर्शनीबाट एक प्रति पुस्तक निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...