उत्तरवर्ती सोच (साहित्यिक आन्दोलन) मा आबद्ध राज माङलाकका धुँवाका धूनहरू (ताङ्का सङ्ग्रह), पाँचथरका स्रष्टा र सिर्जना (खोज, अनुसन्धान), येमरे कुनाराहा (लिम्बुभाषाको कविता सङ्ग्रह) लगायत कविता कृतिहरू प्रकाशित छन् ।
कसरी हराउन सक्छु ?
म त यहीँ उम्रिएको रैथाने अस्तित्व हुँ ।
समयको एउटा पहरेदारीबाट
यसरी विलय हुन पुगेछु कि-
ब्युँझिएर बल्ल आज
पहाडका शिरहरू
जो आफ्नो स्वाभिमानबाट झुकेका छन्
फेदाङमाका तान्त्रिक मन्त्र छर्किंदै बौराउँछु
यहाँका खोली र खोल्सीहरू
निराशाको घामपानीले लखतरान भएर
जो आत्महत्याका निम्ति हाम्फाल्दै कुदिरहेका छन्
आशा र भरोसाको तितेपातीले छम्किँदै रोक्छु ।
हेर्नुस् त !
यहाँ-
सगरमाथा जत्तिकै अग्लो टोपी हेरेर
केचना भन्दामुनि पिँधमा
राष्ट्रियताको गीत गाउँदै बस्नुपर्छ
रैथाने अपुङ्गि भनेर के गर्नु ?
अदृश्य जङ्गेको कोर्राले निलडाम भएर बाँच्नुपर्छ ।
आमाको कोखमा उम्रिएको
कञ्चन, अब्बल भाषा भएर के गर्नु
यहाँ बिरानु शब्द र लयको इशारामा गुनगुनाउनु पर्छ
मौलिकताले लपक्क भिजाएर बनाएको
आफ्नै घरायसी उत्सव छन्
तर अर्कै विषालु सर्पको नागिन नृत्यमा रमाउनुपर्छ ।
च्याब्रुङको तालमा
आगनको डिल भत्किने गरी नाच्ने जोशलाई
डर र त्रासको डोरीले कसेर लडाउनु पर्छ
किनभने
यहाँ-
नाक हेरेरै मेरो थेप्चो बुद्धि छ जस्तो लाग्छ
कद हेरेरै मेरो होचो सोच छ जस्तो लाग्छ
भुक्क र चिम्सा आँखा देख्ने बित्तिकै
अदूरदर्शी, असभ्य जस्तो लाग्छ
र मेरो निधार हेरेरै
विवेकहीन अभागी मनुवा जस्तो लाग्छ
म युगौँयुगसम्म
पछि पारिएँ भन्ने निष्कर्षको अन्तिम पानामा
प्रत्येक शासकले यसरी हस्ताक्षर गर्दै आएका छन् ।
आज पनि-
यो देशले हेपेर
(१९१० को मुलुकी ऐन अनुसार नै)
तँ मासिन्या मतवाली होस् भन्छ
र मेरो हुर्मत लिइरहन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...