बिनिता छेत्री दार्जिलिङमा जन्मिएकी हुन् । उनी लामो समयदेखि निरन्तर साहित्यमा कलम चलाउँदै आएकी एक सक्रिय स्रष्टा हुन् ।
खिड्कीछेउ उभिएकी छु। फोन चार्जबाट झिकेर नेट खोल्नसाथ ‘गुडमर्निङ’ लेखिएका नक्साहरू बुटुटु आउन थाल्छन् । जो वर्षौंदेखि नियमित रूपमा आइरहेका छन् । म चाहिँ सधैँ झैँ त्यतिकै छोडेर स्ट्याटसहरू हेर्न थाल्छु।
‘नमस्ते साथी !’ - नयाँ मेसेज।
नयाँ त के भन्नु हाइ, हेल्लो चाहिँ चल्थ्यो कहिलेकाहीँ। राम्रो परिचय भएको थिएन। लुती लुती, लामो केश छोडेको, बान्की परेको एउटा नानी काखमा लिएर सोफामा बसेको अनि अर्को नानी बोकेर एक जना लोग्नेमान्छे उसको पछि उभिएको । प्रोफाइलको फोटो देख्दा पारिवारिक फोटो हो भनेर चिन्न मलाई गाह्रो भएन। लकडाउनको अठारौं दिनको कुरा यो। मोबाइल कोट्याउनुबाहेक अर्को उपाय नै छैन त्यतिखेर। उसैको मेसेज रहेछ। त्यसैले ‘नमस्ते’ भनिदिन्छु म पनि। त्यसपछि शुरू हुन्छ हाम्रो कन्भर्सेसन।
ऊ- "फोटो मनपर्यो है।"
म- "कुनचाहिँ ?"
ऊ- "जंगलको फोटो हौ। मान्छेहरूभन्दा धेर बाँदर मनपर्छ क्या हो? धेर फोटोहरूमा जंगलतिरै देख्छु त।" (हाँसेको इमोजी)
म- "म अलिक जंगली जंगली परेको छु नि त।"त्यस्तै इमोजी पठाउँदै भन्छु म पनि।
ऊ- "त्यस्तो चाहिँ होइन होला है। साथीहरूसँग नि देख्छु कोइ कोइबेला त। मेरो त साथीहरू नि छैन त्यति। खै म त्यति नराम्रो छु जस्तो पनि लाग्दैन। के भएर साथीहरू नभएको कुन्नि?"
म- "त्यस्तो केही होइन। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै बस्नुहोस् जसलाई साथी बन्नुछ उनीहरू एकदिन आफैँ आउनेछन् सधैँको लागि मुटुमै टाँसिनेगरी।"
ऊ- "ए हो ? हाहा ! खुसी लाग्छ जब जब तपाईंसँग कन्भर्सेसन हुन्छ।"
म- "मलाई पनि।"
त्यसपछि हामी दुवै मौन। केहीबेरमै ऊ अफलाइन भई।
भोलिपल्ट उसको गुडमर्निङको मेसेज म एकैचोटी गुडनाइटमा दिन्छु। मन दुखाई होला तर धेरै बेर अनलाइन बसेर पनि मसँग केही गुनासो गरिन।
कहिलेकाहीँ भिडियोहरू पठाउँथी। एक दुईवटा हेरेपछि अरू त्यति वास्ता गरिनँ कारण उसले पठाएको प्रायःजसो भिडियोहरू विरह चल्दो, उराठलाग्दो हुन्थे।
महिना दिनपछि फेरि उसको मेसेज आउन शुरू भयो। लिखितमा।
ऊ- "अन्त आजकल कविता, कथा कतिको लेख्नु हुँदैछ?"
म- "खै ! के भनुम दिल, दिमागभरि बिषयवस्तु बोकेर बसिरहेको छु, पन्नामा उतार्न भने सकिरहेको छुइनँ।"
ऊ- "लेख्नुहोस है, खै हामी त घरको काम गर्दै ठिक्कै। भनुम् भने आफ्नो निम्ति दश पन्ध्र मिनेट टाइम निकाल्नु नि पाउँदैन। त्यहीमाथि नानीहरू सानै छ। बुढा परदेशमा...साँच्ची अस्ति परदेशी कविता पढ्दा मनै कस्तो कस्तो भयो। राम्रो निदाउन नि सकिन।"
म-"धेरै नसोँच्नु होला। म बुझ्छु सबथोक भएर नि एक्लो हुनुको पीडा। मैले नि कुनै समय भोगेकै हुँ। नानीहरू मसिनो हुँदा त झन् गाह्रो हुन्छ । तर आफूलाई अझै बलियो बनाउँदै लानुपर्छ नि।"
ऊ- "त्यो त हो नि, तर बुढा घरमा भाको र नभाको नमिल्दा रहेछ हौ नानीहरू बिमार हुँदा त झन् नानीहरू सँगै रून मन लाग्दोरहेछ।"
म- "परिवार त होला नि साथमा ?"
ऊ- "खै छैन भनौँ भने जोइन्ट फेमिली आठ नौ जना छन्। छ भनौँ भने दुख-सुख बाँड्नलाई मनले झट्ट कसैमाथि विश्वास गरिहाल्नु मान्दैन । एकछिन ल नानी उठ्यो ।"
उ त्यसपछि अनलाइन आइन अर्थात त्यस दिनको कन्भर्सेसन फेरि यतिमै समाप्त भयो।
महामारीको कारणले देश विदेशतिरको समस्या अझै जटिल बन्दै गइरहेको बेला एक हफ्तापछि दिउँसोको यस्तै तीन बजेतिर फेरि अनलाइन देखा परी ऊ।
त्यसपछि हाम्रो कति कति दिन यस्तै कन्भर्सेसनहरूले बितिरहे।
फेरि कति दिन दुवै छापछुप भयौँ।
यस्तै बीस बाइस दिनमा मिठो आवाजमा उसको भोइस मेसेज आयो -
ऊ : ‘‘साथी नमस्ते। मेरो नानीको बाबा छुट्टी आउनुहुने रे!’’
म : ‘‘ए हो? खुसीको खबर रहेछ त, बधाई छ है। कहाँ पोस्टिङ हुनुहुन्थ्यो?’’
ऊ : ‘‘पल्टन फिल्डमा भाकोले गर्दा ग्लेसियरमा हुनुहुन्थ्यो। अब सक्नु आँट्यो साथी। त्यसपछि पिस एरिया आउनुहुने रे! हामीलाई पनि पल्टन घुमाउनु लान्छु भन्नु हुँदैथ्यो कोरोनाले बर्बाद पार्यो सबै सपनाहरू।’’
म : ‘‘अन्त क्वारेन्टाइन राख्ने ठाउँ मिलाउनु भयो? घरमा त स-साना नानीहरू रहेछ परिवार पनि ठुलै छ भन्नुहुँदैथ्यो। अलिक समय त तपाईं पनि टाढ़ै बस्न पर्यो।’’
त्यतिखेर उसँगको आत्मीयताले मलाई उनीहरूको चिन्ता गर्न बाध्य बनायो।
ऊ : ‘‘एउटा रूम अस्ति तयार पारेर राखिसकेँ नि। सबै पकाइ खाने बन्दोबस्त गरिदिएको छु। यहाँसम्म कि अब उसले खान मन पराउने चीजबीज ल्याउनु मात्र बाँकी छ। लगभग आठ महिनापछि घर आउनु हुँदैछ। खै के भन्नु उहाँ आउने भन्नु भएदेखि त भाइरससँग नि डर लागेको छैन साथी। तर आँखैअघि आएर पनि टाढ़ा बस्नुपर्ने भो र पो त।’’
यसपटक उसको मेसेज पढ़्दा उ कति खुसी र उत्साहित थिई म सजिलै अन्दाज लगाउन सक्थेँ।
म : ‘‘हुन्छ नि, चौध दिन त हो बितिहाल्छ। त्यसपछि आफ्नो मान्छे तपाईंले आफ्नै सिरानीछेउ पाइहाल्नुहुन्छ नि। के गर्नु कोरोनाले माया पिरती नभन्दोरहेछ। क्वारेन्टाइन सकेर इन्जोय गर्नुहोला। बात मार्दै गरौँला है पछि, अहिलेलाई शुभरात्री।’’
त्यस दिन मैले पनि उसलाई मज्जाले जिस्काइदिएँ। ऊ खुसी खुसी अफलाइन भई।
देशमा संकट थपिन्दै गयो। ठाउँ ठाउँमा डुबाउ हुन थाल्यो, तुफान आउन थाल्यो तर त्योभन्दा पनि ठूलो संकट गलवान भ्याल्लीमा चीन र भारतीय सेनाबीच झडपमा दुवै देशले आफ्ना वीर सिपाहीहरू गुमाउन पर्यो। त्यसै सम्बन्धि भिडियो र समाचारहरू उसको इनबक्समा शेयर गरिरहेँ। उसले हेरी हेरिन त्यो ध्यान रहेन मलाई।
त्यसपछि एकैचोटी अगस्ट महिनाको अन्तिमतिर मेसेन्जरमा उसको - ‘हाइ!’ - देख्छु।
‘‘अबुई मान्छेहरू त हिरो आएपछि त साथीलाई चट्टै भुल्दोरहेछ। त्यो त भएन है, हाहा।’’ - म फेरि जिस्काउँछु।
‘‘साथी उहाँ आउनु भएन नि, छुट्टी क्यान्सल भयो। हेर्नुस् न उँहाको मेसेज।’’
त्यसपछि मेरो इनबक्समा फटाफट उसको श्रीमानले पठाएको मेसेजहरूको स्क्रिनसट आउन थाल्छ। लोग्ने-स्वास्नीबीचको कन्भर्सेसन कति ठूलो विश्वाससाथ साझा गरेकी! कति सफा मन! वास्तविकता जान्नलाई उत्सुक म बिस्तारै उनीहरूको कन्भर्सेसन पढ्न थाल्छु।
- ‘‘ल यो बोर्डर हो घरिघरि फोन, मेसेज गर्न मिल्दैन। मज्जाले भात खाऊ पहेंलो भएछौ। आफ्नो, नानीहरूको राम्रो ख्याल गर्नू।’’
म केहीबेर स्तब्ध भएँ।
‘‘टेक केयर, स्टे सेफ!’’ - मात्र लेखेर पठाउन सकेँ।
त्यसपछि आजसम्म उसैको मेसेजको प्रतीक्षामा छु।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...