कथा, कविता, रुवाइ लेखनमा विशेष रुचिको भएका केबी पेशाले शिक्षक हुन् ।
जिन्दावाद, जिन्दावाद,
मुर्दावाद, मुर्दावाद,
तिम्रो जितमा यसैगरि जिन्दावादको नारा लगायौँ
तिम्रो हारको विरुद्धमा मुर्दावादको नारा लगायौँ
तिम्रो आदेशमा इट्टा उठायौँ र आँखा चिम्म.... गरेर सालिक फुटायौँ
भरिया बस्ने चौतारी भत्कायौँ,
क्रान्तिको रंगीन झन्डा दुबै हातहरूमा बोक्यौँ
र एकाएक हामी महान क्रान्तिकारी बन्यौँ ।
आज मलाइ अफसोस छ
र सोध्न मन लागेको छ,
ओ क्रान्तिकारी ज्यू,
म कस्तो क्रान्तिकारी हुँ ?
मैले लगाएको क्रान्तिको नाराले
तिम्रो निधार फेरियो देश फेरिएन,
गर्ल्याम गर्ल्याम ढलेका सालिक उठेर तिम्रा लागि महल उभिए
माङ्गेना ढलेको देशको शिर उभिएन,
भत्काइएका चौतारीहरू
करोडौँको पलङ बनेर तिम्रो बेडरुम भित्र छिरे,
यी हातहरूले उचालेका क्रान्तिका रंगीन झन्डाहरूले
रातैपिच्छे तिम्रो पलङको तन्ना फेरियो
तर देशको मुहार फेरिएन ।
ओ क्रान्तिकारी ज्यू,
तिमीले नै सिकाएको नारा लगाएको हुँ
तिम्रै आदेश मानेकै हुँ
जिन्दावाद भनेकै हुँ
मुर्दावाद पनि भनेकै हुँ
सालिक पनि ढालेकै हुँ
चौतारो पनि भत्काएकै हुँ ।
यसो गर्दा क्रान्ति हुन्छ भनेथ्यौ,
देश बन्छ भनेथ्यौ,
खोइ कहाँ भयो र क्रान्ति ?
खोइ कहाँ बन्यो र देश ?
मेरो एउटै मात्र प्रश्न छ,
क्रान्ती गरेर देशको मुहार फेर्न निस्केको म,
कसरी तिम्रो मुहार फेरेर फर्किएँ ?
ओ क्रान्तिकारी ज्यू,
लौन! भन्दिनु पर्यो
म कस्तो क्रान्तिकारी हुँ ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...