कवि खेम बतास नेपाली कवितामा परिचित नाम हो । बतास समकालीन समयका सक्रिय कवि हुन् । उनी शिक्षण तथा पत्रकारितामा पेशामा आबद्ध छन्
दुनियाँ लाल अझै घर पुगेकाे छैन
साबुन पानीले
मिचिमिचि हात धोएर
पेटभरी खाना खाइसक्दा पनि
मास्क लगाएर चोक,
चौतारामा पुगेर
कोरोना भाइरसको ताजा अपडेट सुनाई सक्दा पनि
वडा कार्यालबाट
राहत वितरणको मुआब्जा लिएर
घर फर्किँदा पनि
कोठामा बसेर
चेस,पब्जी र फ्री फायर खेलिसक्दा पनि
दुनियाँ लाल
अझै किन घर पुगेको छैन ?
आखिर किन कोहि
बाल मतलब गर्दैनन् दुनियाँ लालकाे ?
उसले पनि गराएकाे छ
नाम दर्ता मतदाता नामावलीमा
उसले पनि तिरेकै हो
सरकारलाई लेबी
खान त उसले पनि खाएकै हो
आन्दोलनमा पुलिसको लाठी
उसले पनि गाएकै हो
स्वतन्त्रताको गीत
र उसले पनि भनेकै हो
इन्कलाब जिन्दावाद !
कोहि किन,
दुनियाँ लालको हरिखबरी गर्दैनन् ?
दुनियाँ लाल किन अझै घर पुगेको छैन ?
दुनियाँ लालको
फोटो कसैले फेसबुकमा राखेन भन्दैमा
कसैले उसले देशको
नाममा गाएको गीत सुनेन भन्दैमा
टेलिभिजनका समाचारको
भाषा उसले बुझेन भन्दैमा
यो देश उसको पनि हो
यो विश्व उसको पनि हो
खाली गोडा र भोको पेट नै सहि
उसले पनि गर्छ, देशको चिन्ता
उसले पनि आफ्नै भाषामा भन्छ,
सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय
बाटोमा हिँड्दै गरेको
कोही अपरिचित अनुहार भेट्नु भो भने सोध्नु
एक बोतल पानी
र एक प्याकेट चाउचाउको
मूल्य कति छ ?
कतै चौतारोमा भारी बिसाएको
थकित अनुहार भेट्नु भो भने सोध्नु
यतिका वर्ष
कसरी बाँच्नु भएको थियो ?
कसैले देशलाई माँ बहेन गरिरहेको सुन्नु भो भने
कल्पना गर्नु
मान्छे बौलायो भने के के होला ?
अध्याँरो रात ओढेर
देशकै बारेमा सोँचिरहेको
आधा उमेर खाएको
मान्छे भेट्नु भो भने सम्झनु
त्यही हो
मल्ला घरे कान्छो-दुनियाँ लाल
हजार माइलको यात्रा
एक पाईलाबाट सुरु गरिरहेको
फोटो देख्नु भो भने
फेसबुकका भित्तामा सझिनु
त्यही हाे पल्लाघर साईँलो-दुनियाँ लाल
दुनियाँ लाल-दुनियाँ लाल मात्र होईन
पूर्व, पश्चिम र दक्षिणबाट
एक साथ कराइरहेको
प्रत्येक आवाज हो-दुनियाँ लाल
साबुन पानीले
मिचिमिचि हात धोएर
बोतलका बोतल
रक्सी खाइरहेका कमरेडहरु
दुनियाँ लाल
अझै किन घर पुगेको छैन ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।