के थाहा वृद्ध बुवाआमालाई ?
फोटोकै लागि मात्र भए पनि छोरी मुस्कुराउँछे भनेर
त्यही फोटो हेर्दै मुस्कुराउँछन् अनि गुनगान गाउँछन्,
मान अनि धन कमाएका, ती नै ज्वाइँ साहेबको ।
के थाहा छोरीको फोटोको मुस्कानको रहस्य
विचरीको रोदन बुझ्ने आखिरी को नै छ र ?
बुझ्नसक्ने छन् मात्र ती, जो यो रोदनलाई नै जीवन ठान्छन्
बुझ्नुको सट्टा अझ आँसु बरबराउन बाध्य पार्छन्
अनि रमाउँछन् ।
बाहिरबाट रसिला ज्वाइँ साहेबको भित्रि कसिङ्गर कस्ले बुझ्थ्यो र तिनै छोरीबाहेक तर
भन्न पनि सक्दिनन् अरूलाई किनकी डर छ,
माइती परिवारको अनि समाजको ।
हुन त समाजमा नराम्रो देखिने उहाँको के नै छ र
हेर्दा चट्ट परेका,सरकारी जागिरे
त्यति मात्र कहाँ हो र......
सहरमा ठूलै घर पनि
सायद बुवा आमाले वर्षाैंदेखि सपना देखेको ज्वाइँ साहेव यस्तै नै थिए होला ।
के थाहा सोझो माइती परिवारलाई
मलाई पनि बाहिरबाट हेर्दा रानी जस्तै ठान्छन् देख्नेहरू
पाउ देखि शिरसम्म सुनैसुन
महँगामहँगा लत्ता कपडा फेरि-फेरि
यति मात्र कहाँ हो र ,
खानको लागि जे खाए पनि मिल्ने
घुम्न जादा आफ्नै कार ।
सोच्नेलाई लाग्दो हो वाह त्यसको जीवन
कति बुवा आमा भगवानसँग भाकल गर्दै होलान, मेरो छोरीको लागि पनि यस्तै ज्वाइँ मिलोस् भनेर ।
अनि मेरा बुवा आमा यसबारे नै गुनगान गाउँदै अस्ताइरहेका घामको पारिलो ताप दिँदै छन् ।
के थाहा वेदना लुकेको छोरीको हाँसोको रहस्य
तर यति मात्र भएर पनि नहुदो रहेछ,नपुग्दो रहेछ ,
बाहिर निस्कदा अरुको अगाडि किन अध्यारी बनूँ भनेर
फिस्स हाँस्छु ,मुस्कुराउँछु ।
जब रात पर्न थाल्छ तब कतिबेला उज्यालो होला भनी बस्नु पर्छ ,
नपरोस् पनि कसरी !
बिहे हुनुअघि पुकार खाने केटालाई देख्यो कि रिस उठ्थ्यो,
कसैले चुरोट अर्को घरमा खाए भने यता मलाई गन्हाउथ्यो,
जाँडरक्सी खाने मान्छे भेट्यो कि अलि टाढै बस्नुस् भन्थेँ ।
तर आज
म चुपचाप सहन विवश छु
चुरोटबाट आउने धुवालाई अगरबत्तीको गन्ध मान्नुपरेको छ,
गुड्का मुखमा चपाउँदै मेरो ओठ टोक्दा पनि मीठो मान्नु परेको छ,
कार्यालयमा मिटिङ थियो भन्दै केटीसँग रमाउन लाग्दा सधै ढिला घर आउने तर
म उसलाई खाना कुर्दै बस्दा उल्टै झगडा गर्छन् भनी अरूलाई भन्दा कसले पत्याउँछ ?रु
कहिले पार्टी थियो भन्दै जाडको तालमा घरमा आउँदा आफैँलाई संहार गर्ने गरी लुछिरहन्छ्न तन्तुतन्तु दुख्ने गरी
यो अरूलाई भन्दा कसले पत्याउँछ ?
मलाई अपुग केही छैन तर शून्य लाग्छ
के थाहा छोरीको फोटोको मुस्कानभित्रको पीडा,
वृद्ध बुवा आमालाई !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...