उहिल्यै
बादेखि डराएर आमाको सारीको फेरमा लुकेको थिएँ
सम्झन्छु-
आँखा उठाएर हेर्न कहिल्यै सकिन त्यो मानिसलाई !
गाँउको सस्तो भट्टी पसलमा छिरेर
राता भएका आँखा
'बालिघरे' भएरै पनि देखेको सपनाको रङ्ग मिसिएर रहेछ !
बुढेसकालका अन्तिम दिनसम्म खलाती तानिरहेको,
मेरै सपनाको छातीभित्र सास पुगिरहोस् भनेर रहेछ !
बुवाले लिहिमा ठोकेको घनको आवाज
आजपनि महसुस हुन्छ मुटुको प्रत्येक धड्कनमा,
आरनभित्र दन्किरहेको 'घाम'
बुवाले राखिदिनु भयो छातीमा
त्यही उज्यालोको जतनले डामेँ अँध्यारालाई
आफ्नै अनुहारको ऐना त्यसपछि देखियो !
बुवाको ओठमा झुण्डिएको
बाङ्गोटेडो हाँगा जस्तो बलियो कुनै भरोसा भएन,
बुवाकै हत्केलाको खस्रो ठेलामा टेकेर
चिप्लिएको छैन मेरो पृथ्वी !
बुवाकै खुटाले हिडेँ आफ्नो यात्रा,
अन्जान मानिसहरूलाई हेरेर मुस्कुराउन त्यसपछि सिकेँ !
हाम्रो सुकुम्बासी बस्तीको पूर्वी छेउमा
'धोनी/रोनाल्डो'हरूको खेलकुद हुन्थ्यो
म पनि रोनाल्डो हुन हिँडेको दिनहरूको एकदिन
बा'ले चउरभरि लखटेपछि
हातको सनासोले च्याप्दै- 'यो खेला तेरो लागि हैन' भने देखिन
घरछेउकै मैदान 'परदेश' भयो !
ऐलानी जमिनमा ठडिएर बा'को जन्म जान थाल्यो
उहिल्यै 'घरधुरी' गराइ दिन्छु भनेर
'रूख' पार्टीले नारा-जुलुसको उर्दी निकाल्थ्यो
सदरमुकामको सडक छेउ
भिडबाट थुत्दै
ढाड ताकेर पुलिसले भाटा हान्यो बुवाहरूलाई,
त्यसपछि सरुकारु भन्नु
'कम्युनिष्टप्रसाद कोइराला' चढेको 'कार' बाहेक कुनै आएन गाँउमा...
लोकल तीनपाने खानेहरूले देशलाई नै सितन बनाउदैनन्
बा रक्सीको लयमै उ छेउ देखि त्यो छेउ पुगेको
'टसको मस नगर्ने' वंशाणुगत अभावलाई गिज्याउन रहेछ !
बुवालाई सम्झना छैन जन्मेको मितिरसाल
सम्झी ल्याउँदा
पार्टीको झण्डाबाट खसेर ताराहरू
निष्पट्ट भएका रातहरू आउछन्
सम्झि ल्याउदा
जुनै तन्त्रले पनि झण्डाको हसिँया हथौडा झिकेर
कालो बजारीलाई थमाएको दृश्यहरू आउछन् ।
जीवनका ती मैलो दिनहरूबाट
अलिक सुकिलो निस्किएको एउटा चित्र म थिएँ ।
बालाई था'छ
धरतीको छातीभरि उम्लिँदा ताता दुख्खहरू
आकाशले नै त गुथ्छ बाफको मफलर
घाँटीमा बेरेर बाफको मफलर बा आँधी छिचोल्दै हिँड्नुहुन्छ
जब पहाडले उधारिदिन्छ धागो
पुनस्धरतीको हातको चुम्बन दगुर्छ मफलरका रेसाहरूमा
बा भिर्नुहुन्छ मफलर
अनि आफ्नै प्रतिबिम्बलाई भन्नुहुन्छ-
'मेरो पिता र तिम्रो पिता तँहरू भित्रै छ बेटा !'
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...