पाेखराका कवि सारस चरी समसामयिक विषयवस्तुमा गहिरो चासो र दख्खल राख्ने कवि हुन् ।

रगत जस्तै रातो देखिन्छ
मुहार छैन -अर्थात्- कुनै मान्छे हैन
सेतो सेतो सानो देखिन्छ
पखेटा छैन -अर्थात्- परेवा हैन
निलो निलो धर्सा देखिन्छ
हातपाउ छैन -अर्थात्- निलडाम हैन
नाथे पोलको छायाँ पनि बगाउन असमर्थ
खै के पो बगाउँदैछ बागमती ?

लास भए जलिसकेको हुनुपर्ने
आर्यघाटबाट सिङ्गै छुट्न नपर्ने हो
मानिस भए ज्यूँदै  हुनुपर्ने
यहाँ डुबेर त मर्नै नसकिने हो
शान्तिदूत भए मरिसक्नु पर्ने
बाँदरले यसै छाड्नु नपर्ने हो
खै के पो बगाउँदैछ बाग्मती ?

घुङ्ग्रु खोज्ने राजकुमार हो भनुँ ?
यो कुनै चेपाङ बस्ती हुँदै होइन
प्रेमिका खोज्न गएको नवराज हो भनुँ ?
यो कुनै पश्चिमी भेरीको बहाव होइन
बिहे गर्न खोजेको अजित मिजार हो भनुँ ?
यो कुनै फुर्के खोलाको माटो होइन
सायद घर फर्कदै गरेकी निर्मला हो भनुँ ?
यो साधारण उखु लगाउने बारी होइन
धर्म निरपेक्ष देशको रसिकुल हो भनुँ ?
पशुपतिमा कहिल्यै कुनै गोरु काटीदैन

को हो धमिलो पानीमा लम्तन्न सुतिरहने ?
राजधानीको ‘शुद्ध’ नदीमा लुकेरै बगिरहने ?
देशको हजारौं परेशानीबाट दुर रहेको
सम्भ्रान्त-सुखी-सत्तासीन स्थानबाट
खै के के पो बगाउँदैछ बागमती ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार