मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलिसा याक्थुङ्बा  (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९) लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन् । बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको  साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।

लुप्चाप्पा गाउँमा जसराज र अलिक मास्तिर सिरानमा निरप्रसाद एकापसमा मिल्ने दौंतरी हुन् । एकैदिनको फरकमा जन्मेका दुवैको उमेर, वैंश, कामकाज मिल्थे रनै दुवैजनाको उनीहरूका बुवाआमाहरूले एकैदिन, एकैसमय र एकैलग्नमा बिहा गरिदिन्छन् । निरप्रसाद सुब्बा देउप्रसादका छोरा हुन् भने जसराज कारबारी छत्रराजका ।

दुवैको वैंश उन्मुक्त थिउा, धाननाच्न, हटिया जान र तरुनी भेट्न । छिमेकी तरुनीहरूसँग धाननाच्ने, मेजमान दिने र भाका राखेर भेट गर्ने प्रायः चल्थे, तेसबेला ।
‘.......
हिमालै चुली, कान्छी ठूली ।
भेट्भयो रात्मा, कामै भूली ।।
चौरीगोठ् लेक्मा, दुधालु गाई ।
मायाले गर्दा, दिन्रातै धाई ।।
माना र पाथी, चामल् भरुङ् ।
रामरशै जोडि, हाँसी गरुङ् ।।’

भाका रातमा निरप्रसादको पालामले देशीसा ठूली र पाङ्भे कान्छीसँग जोडीजोडी (युगल) धान नाच्छन् । तरुनी ठूली कान्छीहरू पनि के कम, हाँक्छन्, उत्तरमा चारान-चारान भाकाभित्र लय मिलाएर ।

‘.........
आहाल्को पानी, चिरेरेबे ।
जसेको साथी, निरेरेबे ।।
हात्खोली चुरा, मन्कै कुरा ।
जेठीले हान्ला, चाक्का छुरा ।।
मानामा पाथी, जेठी माथि ।
हुँदैन जोवन, कान्छी साथी ।।’

मरिमरि हाँस्छन् अचेल, यी पालामका विगतहरूले । हुनु त सबैको आ–आफ्नै घरबार अरूहरूसँग हुन्छन् । ‘हौ, वैंशका पालामहरू, मायाहरू र धाननाचहरू केवल जोवनको रामरश मात्तै’ निरप्रसाद बोल्छन्, लामो सम्झेर ।
निरप्रसाद छुटेर दुःखका साथ परिवार धान्छन्, कहिले कमान त कहिले धरान् पुगेर । जगर, सुँगुर पाठा, सून, चाँदी व्यापार गरेर परिवारको सुखद जोहो गर्छन् । उनले ईश्वरको वरदान भन्नुपर्छ । छोरीको चाहना लिँदालिँदै छ जना छोराहरू लगातार धर्तीमा उम्रन्छन्, सग्ला बिरुवा भएर ।

जसराज, एक्लोछोरा भएपनि परिवारको कारण बुवाआमासँग छुट्छन् र दुःख गर्छन परिवारका लागि । उनी पनि छोराको चाहनामा छ वटी छोरीहरू धर्तीमा उम्रन्छन् भने छोरा पनि दुईजना । उनी पनि परिवार धान्नकै लागि बेलामौका निरप्रसादसँग सुँगुरको पाठा व्यापार लिएर कमान पुग्छन् ।

येनकेन निरप्रसादका छ वटै छोराहरूलाई दुःखका साथ पढाउँछन् । उमेर पुग्दै जान्छन् छोराहरू । कुनै युकेको लाहुरे, कुनै भारतीय सेनामा । कुनै नेपालकै स्थायी शिक्षक र कर्मचारी । यसैबेला उनले गाउँकै लागि नमुना चारतले गारोको घर ठड्याउँछन् । छोराहरू आ–आफ्नै गरीखाने हुन्छन् । उनको एकखालको सपना साकार हुन्छ । पान्जनाको बिहा एकैदिनमा च्याब्रुङ् घन्काएर बुहारीहरू भित्र्याउँछन्, बाँकी छोराको विस्तार ।

जसराजका छोरीहरू पनि वैदेशिक रोजगारका ज्वाँहरूसँग भागी बिहा गर्छन् । उनले पनि पान्जनाकै एकामुष्ठ इङ्मे लिन्छन् । छोराहरूको भने पालोपिलो गर्छन्, बाँकी छोरीको पनि ।

दुःखजिलो गरेर बसी रहेकै बेला निरप्रसादलाई लिभरको समस्या आउँछ, ओभर मादक डोजले । अस्पताल उपचारपछि सदा झैँ खाने पिउने जस्ता मादकहरू सर्लक्कै छोड्छन् । अल्पकालीन खेती अकबरे खोर्सानी, काँक्रा, टमाटर, गोबी साग खेती गरेर निस्केको कच्चावस्तुहरू चोक, गाउँ र लेकमा लगेर बेच्छन् ।

जसराज भने सबै छोरीहरू ज्वाइँको घरमा छन् । भएका दुई छोराहरू पनि छुटेर गएका । अन्य खेती गर्न नसकेर निर्वाहमूखी खेती पनि दुःखले गर्दैछन् । यसैबेला उनलाई विमार शुरू हुन्छ । हुनु त गाउँभरि कोरोनाको कहर व्याप्त तर कोरोनाले भने छोएन । उनी सिकिस्त भएको पनि मानसिक पीडाकै कारणले भएको हुनसक्छ । श्रीमतीको बिमारले लगभग दुईवर्ष घोपा अस्पतालमा राख्नुपर्ने र तिनको खर्च व्यवस्थापन गर्नुपर्ने, छोराहरूको व्यवहार मिलाउनु पर्ने । लाखौँको व्ययभारले जसराज मानसिक रुपमा थलो परेर बिमार भएको हुन्छ ।

निरप्रसादले अकबरे खोर्सानी थुप्प्रै फलाएकोले आफैँ बोकेर लेकमा आलु साट्ने देखिलिएर क्यास नगदमा बेच्छन् । गाउँभरि डुलाएर । काँक्रा, सागसब्जीहरू चोक–चोकमा क्यास झार्छन् र खुसी पनि हुन्छन् । यसो गर्दागर्दै अचानक एकरात उनले आँखा चिम्लेको उघार्न सकेनन् । सबैलाई त्याग्छन्, छोराबुहारी, श्रीमती, नातीहरू, दाजुभाइहरूलाई । त्यतिमात्र काँ हो र, रोपेका अकबरे खोर्सानी, काँक्रा, मकै, सागहरू समेतलाई सधैँका लागि त्यागे । यो कुरा जसराजले सुन्छ र उनी पनि निरप्रसादकोमा मलामी जान्छन् । र सम्झन्छन्, उनीसँगै धान नाचेको, पालाम गाएको, सँगै बिहा गरेको र व्यापार गरेको कुराहरू । विरक्त भावले मलामीबाट घर फर्कन्छन् । निरप्रसादलाई आफ्नै नम्बरी जग्गाको माटोमा आमाको चिहान नजिक राख्छन्, लुप्चापामै ।

याक्थुङ् जाति, दशदिनमा कार्जे सक्नुपर्ने भएकाले पनि थिबोःङ् याक्थुङ् अथवा दशलिम्बू भनिएको हुनुपर्छ । निरप्रसादको दशदिनमा काम सकिने निम्तो बाँड्छन् । याक्थुङ् संस्कार पुरुषभए नौदिन र महिलाभए आठदिन कुस्रिङ्बा वर्जितपछि दशदिनमा मानवचोला र ईश्वरचोला आत्माहरू छुट्याउने विधि हुन्छ ।

निरप्रसादको नवौंदिन किरियापुत्रीका सबै मामामावली, चेलीबेटी, ज्वाईचेला, कुलकुटुम्ब र दाजुभाइहरू भेला भई किरियापुत्रीहरूलाई चोख्याउन भेला हुँदैछन् । यही नवौंदिन साँझ सँगैको सहोदर साथी जसराजको पनि देहात्याग गर्छन् । उनले पनि त्याग्छन्, श्रीमती, छोराबुहारी, ज्वाइँछोरी, नातिनातिनाहरू अनि छरेका मकै, सिमी, गोलभेँडाहरू । उत्ता निरप्रसादको दशौँदिनमा ‘मानवआत्मा र मृतआत्माबीच कसिङ्गर फराःक्’ भन्दैछन् । यत्ता जसराजलाई लुप्चापाको आफ्नै नम्बरी जग्गा घुर्यानमा बनाइएको खाल्डोमा ढुङ्गाको सुन्दर खोपी बनाई साम (आत्म) निकालेर माटो अर्पण गर्दै लुकाउँदैछन् ।

के विधि र बिडम्वना हो, एउटैजस्तो लेखान्त भावी बोकेका यी दुईहरू ......
‘लन्दो लन्दो लन्दो लन्दो ...’ 
कडास्वरका धनी सागर र नवीनको युगल आवाजले पो म त झसँग हुन्छु ..यार ... । कानै छिचोल्छ । गम्भीर सोचमा मग्न मेरा तन्द्राहरू भत्क्यो एकछिन् । जनि (जसराज र निरप्रसाद) का समान कर्म, व्यवहार र पीडासम्बन्धी मेरा गहिरो कल्पनाहरू ‘लन्दो लन्दो’ कडास्वरले बेस्सरी चुडाइदिन्छन् । र कल्पनालाई यही बिट मार्छु, सायद यो जनिको संयोग मात्र होला कि । मास्तिर, वर्तिर र पर्तिर हेर्छु । मलामीहरू फर्कँदैछन् ।

फाबारी तुम्बा उभेर ध्वाँसो परेको लौरोले चौकारा (चौतारी) तिर देखाउँदै मलामीहरूलाई खाजा खान बेस्सरी कराउँदैछन् ।

‘हना हो ... साथीरू, खाजा खान्याका लागि जौकारा (चौकारा)मा जुङ् है । चात्तासुक्कै नाजुङ् । पाटैपाटोको जौकारामा ।’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...

सम्बन्धित समाचार