वार्शन शियर ९१ अगस्ट १९८८० एक दुर्लभ कवि हुन्, जो अफ्रिकनहर्रोको युरोप बसाईसराइ बारे खुलम्खुला लेख्न आँट गर्छिन् । भिएच वान रियालिटी शो ‘प्रेम र हिपहपः एटलान्टा’को बारेमा हास्यास्पद ट्वीट गर्छिन् ।
लेखक एवं पाठकहरूको प्रत्येक पुस्ताले आफ्नो जीवनमा कवितामार्फत आदर्शको चित्रण गरिरहने गर्दछन् । तर संकुचनमा पारिएको क्षेत्रहरूको बारे ऊ शोकसम्म व्यक्त गर्ने साहास गर्दैन । तर, यहिनेर एक यस्ती कवि अनुहार प्रष्टसाथ् विश्वसामू आउँछ, जो सोमाली-ब्रिटिश महिला हुन् । तर उनको कविता लेखनको छुट्टै अन्दाज-ए-बयाँ छ ।
शियर सन् २०१४ मा लन्डनको वास्तविक युवा कवि पुरस्कार विजेता हुन् । सोमालियाका बाबुआमाको सन्तानको रूपमा केन्यामा जन्मिएकी शियर लन्डनमा हुर्किन् । युरोपको रंगीचंगी वातावरणमा बसेर उनी अफ्रिकाको अँध्यारो समाज र परिस्थितिलाई आफ्नो मनमगजमा संगालीरहकी छन् । आफ्नो देश र आफ्ना पुर्खाहरूको संस्कृतिप्रति उनी झ्याम्मीरहन्छिन् ।
उनले एक अन्तर्वार्तामा भनेकी पनि छन्, “हरेक आप्रवासीको जीवन अतियथार्थवाद जस्तो हुँदो रहेछ । एक दिन तपाइँ आफ्नो देशमा हुनुहुन्छ, रमाइलो वातावारणमा झुमीरहनु भएको छ । आँपको जुस पिएर रमाईरहनु भएको छ । तर अर्को दिन नै तपाइँ लन्डनमा भूमिगत जीवन बिताईरहनु भएको छ र तपाइको बच्चाहरू एउटा नबुझिने भाषमा बोलिरहेका छन् । यो कति दुर्भाग्यपूर्ण छ ।”
उनको ‘घर’ शीर्षकको कविताले हर पाठकलाई उत्तेजित पार्ने गर्दछ- एक उदासीन उत्तेजना । उनको आफ्नो विगत पनि सोही कविता जस्तो छ । उनको आमाबाबु, हजुरबा हजुरआमा, काकाकाकी, अझै पनि त्यहि जीवनचर्या बाँचिरहेका छन् ।
पचास हजार ट्विटर फ्लोअर्स र त्यस्तै संख्याका टम्बलर पाठकहरूको माया संगालीरहेकी एक प्रशंसनीय युवा कवि शियर आफ्नो पुर्खा र जन्मभूमिको कल्पनामा हराइरहकी छन् ।
सन् २०११ मा शायरले टिचिङ माइ मदर हाउ टु गिभ बर्थ प्रकाशित गरिन् । जहाँ, कविताहरूको अतिरिक्त कामुकता, बुद्धिमत्ता र शोकको छ्यासमिसे कोलाजहरू छन्।
'मसँग मेरी आमाको मुख छ र मेरो बुबाको आँखा छन्,
मेरो अनुहारमा तिनीहरू अझै एकसाथ छन्।' - उनले संग्रहमा लेखेकी छन् ।
‘सौन्दर्य’ नामक कवितामा उनी कसैकी दिदीको बारेमा बताउँछिन्ः
“कति कति रात मैले उनको कोठामा चिच्याहट सुन्ने गर्थे,
हामी त्यो आवाज भुलाउन ‘सुरा अल बकरह’ खेल्थ्यौं,
उनको मुखबाट आउने जुनसुकै कुरा यौन जस्तो लाग्छ,
हाम्रो आमाले उनलाई प्रतिबन्धित गरिसक्नुभयो ‘परमेश्वर’को नाममा ।”
'भावार्थफ ‘सुरा अल बकरह’- कुरानको दोस्रो र सबैभन्दा लामो च्याप्टर
‘तिम्रो आमाको पहिलो चुम्बन’ मा उनी लेख्छिन्,
'तपाईंको आमालाई चुम्बन गर्ने पहिलो केटाले
पछि उनैलाई बलात्कार गरे,
जब युद्ध सुरु भयो।'
प्रस्तुत छ, वार्शन शियरका तीन कविताहरूः
१. घर
घर किन छोडोस् कोही व्यक्ति,
तबसम्म जबसम्म घर विषालु शार्कको जिब्रो नबनोस् उसको लागि ?
तिमी पनि भाग्नेछौ सीमा पारी
जब पत्तो पाउनेछौ तिमीले
सम्पूर्ण शहर नै भागिरहेको छ,
टाउकोमाथि आ-आफ्नो पैताला राखेर ।
तिम्रो छिमेकी भागिरहेको छ, तिमीभन्दा रफ्तारमा
रगतमा लात्पिएर अड्किरहेको छ उसको श्वास, उसकै घाँटीमा ।
त्यो केटा- जसको साथसाथ तिमी स्कुल आउजाउ गर्थ्यौं,
जसले लिएको थियो- विवाहको घुम्टो भाँती तिम्रो चुम्बन,
जस्तापाताको त्यो पुरानो कारखानाको पछाडी।।,
उसले समाएको छ स्वयं हातमा एक लामो बन्दुक ।
अब यस भागदौडमा,
तिमी बस्, भाग्न सक्छौं,
जब घर स्वयं तयार छैन तिमीलाई आश्रय दिनको लागि भने ।
कोहि यसै घर किन छोड्छ ?
तबसम्म जबसम्म घर स्वयं तिम्रो पछाडी नलागेको होस् !
पैतालाले आगोको ज्वाला नभेटेको होस् !
तातो रगत तिम्रो पेटदेखि नबगेको होस् !
तिमीले सपनामा पनि कहाँ सोचेका थियौ र
कि कुनै दिन यस्तो पनि आउला भनेर ?
अनन्तसम्म फैलिरहनेछ तिमीविरुद्ध सन्देहहरू,
र, रहीरहनेछ तिम्रो घाँटीमा आरनको रापमा पोलिएर रातो भएको छुरा
र, त्यतिखेर पनि जतिखेर तिमी लैजानेछौँ लुकाउँदै
आफ्नो फोक्सो भित्र आफ्ना मौलिक गीतहरू ।
त्यतिबेला टुटेफुटेको तिम्रो पासपोर्ट
कुनै हवाईअड्डाको शौच क्षेत्रमा,
कागजात भरिएको मुखदेखि चित्कार ओकल्ने छ,
यो पक्का गर्दै कि अब कहिल्यैं
जान पाउनेछैनौ तिमी फर्किएर फेरि आफ्नो घर ।
तिमीलाई सम्झना होला,
कि कोहि आफ्नो कलेजोको टुक्रालाई
तबसम्म यसै धकेली दिदैन कुनै नौकामा,
जबसम्म पानी सबैभन्दा सुरक्षित नलागोस् उसलाई ।
पैताला मुनिको जमिनमा भन्दा,
कोहि पनि खप्नै नसक्ने गरि सेक्न चाहदैन आफ्नो हत्केलाहरू
रेलका डब्बाहरू भित्र, गाडीका छतहरूमा ।
कोही बिताउन चाहँदैन, आफ्नो रात र दिनहरू भोकभोकै
भोका ठूल्ठूलाला ट्रकहरूमा,
अखबारहरूमा खाना चपाउँदै माइलौँ लामो यात्रामा निस्कन चाहँदैन कोही ।
र, यसकारण यो एक यात्रा मात्र कदाचित होइन ।
कोही पनि रुघ्न चाहँदैन काडेतारको बार फेरिफेरि,
कुटाइ खान चाहँदैन कोही,
कोही चाहँदैन कि दया देखायोस् कसैले उसमाथि ।
शरणार्थी शिविर कुनै मतदाता केन्द्र होइन ।
कोर्रा कसैलाई ठिकठाक लाग्दैन,
यो खोज्दै कि आफ्नो जीउमा
अब कहाँ कहाँ चोट लाग्न बाँकी छ ?
जेल कसैलाई ठिकठाक लाग्दैन,
तबसम्म जबसम्म कि सुरक्षित महसुस नगरोस् जलिरहेको कुनै शहर भन्दा !
र, यदि शरण दिन्छ रातको समयमा भने पनि
खचाखच भरिएको ट्रकहरू भन्दा राम्रो लाग्नेछैन उसलाई जेल,
जहाँ हर अनुहार उसको बाउको अनुहारसँग मिल्दछ भने पनि
कोही यसलाई सहन सक्दैन
कोहि यसलाई पचाउन सक्दैन
कसैको छाला यति मजबुत हुन सक्दैन ।
आफ्नो नाम र आफ्नो परिवारलाई गुमाएर
वर्षभरि, दुई वर्ष या दश वर्षका लागि
खोज्दै कुनै आश्रयस्थल या वासस्थान,
नाङ्गोबाङ्गो यताउता भड्कदै गर्दा
हरकही बाटोमा भेटिनेछन्- जेलहरू।।
र, यदि बाची पनि हालेयौं जिउँदो भने
कुन शब्दहरूले सत्कार हुनेछ तिम्रो ?
‘निस्क, निस्किहालो‘,
आ-आफ्नो घर जाओ-
अश्वेतहरू,
शरणार्थीहरू,
गन्हाउने आप्रावासीहरू,
यी आश्रय खोज्दै हिँड्नेहरूले
चुसिसकेका छन् हाम्रो देशलाई
यी कंगालहरू,
यी हब्शीहरू ,
एक अजीव दुर्गन्ध बोकेर आउने जंगलीहरू,
तिमीहरूले तहसनहस पारेर छोड्यौं आफ्नो देश,
के अब तहसनहस पार्न चाहन्छौं हामीहरूलाई पनि ?’
‘ढेंडुहरू,
सोहोरेर जाउ,
आफ्ना काला चाक र पुट्ठाहरू यहाँ देखि !’
उनीहरूको आवाज तब पनि मुलायम हुनेछैन
जब उनीहरूको आवाजको थर्काहटले चोइटिओस्,
तिम्रो-हाम्रो कुनै पनि एक अंग ।
प्रश्न गर्नसम्म भ्याउनेछैनौ,
के यी आवाजहरू अधिक चिसा छन्,
ती चौध व्यक्तिको मृत शरिर भन्दा ?
- जो च्यापिएका थिए तिनीहरूकै तिघ्राको चेपमा ।
या यसप्रकारको अपमानलाई चुपचाप घुट्काउनु अधिक सजिलो छरु
सडक(एवं गोरेटामा तितरबितर भएका पत्थरहरूभन्दा रु वा हाडखोरहरू भन्दा रु
या हाम्रा बच्चाहरूको शरीर भन्दा,
जो बाडिएका छन् टुक्रा(टुक्राहरुमा ?
म घर जान चाहन्छुः
तर घर त कुनै विषालु सार्कको जिब्रो हो,
बन्दूकको नाल हो, घर ।
र, कोही पनि तबसम्म घर छोड्दैन,
जबसम्म घर स्वयं खेद्दै आउनेछैन उसलाई
समुन्द्रको आखिरा किनारासम्म ।
जबसम्म घर आदेश दिन विविश हुने छैनस
‘आफ्नो पैतालाको रफ्तार तेज गर,
छोडेर भाग आफ्नो लत्ताकपडाहरू,
चार हातपाउले घिस्रदै पार गर मरुभूमि,
महासागरहरूमा हाम्फ्याल,
डूब त्यही,
पौडेर बाहिर निस्क,
भोकभोकै मर,
भीख माग,
बिर्स आत्मसम्मान, मान-सम्मान,।,
यतिबेला तिमी जिउँदो रहनु नै सबैभन्दा जरूरी छ ।’
कोहि पनि घर छोड्दैन तबसम्म
जबसम्म घर कानमा साउती मार्दै सानो स्वरमा पिल्पिलाउँदैन,
‘जाऊ,
म बाट निकै टाढा जाऊ,
मलाई पत्तो छैन के बनिसकेको छु म,
तर यत्ति चाहि मलाई थाहा छ कि
दुनियाँको कुनै पनि किनारा
सुरक्षित नै होला म भन्दा ।’
२. के छ हामीसँग ?
हाम्रो पुरुषहरू हाम्रो होइनन् ।
यहाँसम्म कि मेरो आफ्नै पिता पनि,
जो एक मध्यान्ह मलाई छोडेर कहीँ हिँडे,
मेरो होइनन् ।
मेरो भाइ जेलमा छ,
ऊ पनि मेरो होइन ।
मेरो काका, जो घर फर्की आएका छन्
टाउकोभरि गोलीले खोपेको प्वालहरू बोकेर,
उनी पनि मेरो रहेनन् ।
मेरो मामा भान्जा, भाइ बहिनी
जसको गर्धनहरू उखालियो गल्लीहरूमा,
धेरै कारण या निकै कम कारण
उनीहरू पनि मेरो रहेनन् ।
त्यो पुरुष पनि जसलाई म प्रेम प्रस्ताव राख्न चाहन्छु,
भन्छ ऊ, ‘सर्वनाश आफूसँगै लिएर हिंड्छु म,
हरबखत बोकेर हिँड्ने गर्छु म निकै गाढा अँध्यारो आफ्नोसाथ,
बहुत भद्धा लाग्ने गर्छु जब हुने गर्छु म उसको आसपास,
हद भन्दा गयगुज्रिएको छु म प्रेम गर्नको लागि ।’
ऊ छोडेर जान्छ मलाई,
र, म शोकमा डुबिरहन्छु उसको लागि ।
के हामी सिर्फ यत्तिको लागि बाचीरहेको हौँ ?
भान्छाको मेचमाथि बसेर
औंला भाचेर हिसाब लगाउनको लागि ?
ति जो हाम्लाई एक्लै छोडेर मरे ?
या ति जो छोडेर गए, जो आफ्नो भइसकेका पनि थिएनन्
जसलाई उठाई लिएर गयो पुलिसले,
नशाको लतले लिएर गयो या बिमारीले
या कुनै दोस्री आइमाईले ।
यो सब कुराको कुनै अर्थ छैन अब ।
नियाल आफ्नो शरीरलाई, उसको अनुहारलाई,
यी ओठहरूलाई, ती आँखाहरूलाई,
हे ईश्वर, सुन त सहि ती हाँसोहरूलाई ।
त्यो अन्तिम अन्धकारलाई,
जसलाई हामी प्रवेश गर्ने मन्जुरी दिनेछौँ,
त्यो पनि तब
जब चन्द्रमा हाम्रो मजेत्रोमा हुनेछ ।
३. दुखी कदापि छैन म
दुखी कदापि छैन म्,
तर त्यो केटो
जो खोजिमा निस्किरहन्छ,
दुखी केटीहरूको
हमेशा भेट्टाएरै छोड्छ मलाई ।
केटी होइन म, अब त म बिल्कुल होइन,
र, दुखी रु कदापी छैन म ।
तिमी देख्न चाहन्छौं मलाई
एक कारुणिक पृष्ठभूमिसहित
ताकी आफूलाई भेट्टाऔं तिमी,
ज्वाजल्यमान, चैतन्य या ज्ञानी ।
र, देख्नेहरू तिमीले सुन्ने गरि यो भनुन् कि,
‘ क्या बात, यो केटो हद भन्दा ज्यादा दयालु छैन ?
जो प्रेम गर्छ एक यस्तो केटीसँग
जो हरहमेशा दुखी एवं कमजोर देखिन्छे ?”
तिमी चाहन्छौ कि बनूँ म
रातको गाढा अँध्यारो आकाश
ताकी तिमी बन्न सकौं चम्किरहने तारा ?
याद रहोस,
म
निगल्ने छु,
तिमीलाई सम्पूर्णतः
बोनस कविता
४. त्यसपश्चात त्यो रात
त्यसपछि त्यस रात
मैले आफ्नो काखमा एउटा एट्लस राखें
आफ्नो औंलाहरू दगुराए वरपर
दुनियाँको तमाम किनाराहरूसम्म
र, सुस्तरी फुस्फुसाउँदै सोधे उसलाई,
“कहाँ कहाँ घाउँ भएको छ ?
कहाँ कहाँ दुखेको छ ?”
उसले जवाफ दियो,
हर ठाउँमा
हर ठाउँमा
हर ठाउँमा ।”
प्रस्तुत कविताहरू कवि तथा लेखक राजु झल्लु प्रसादले अनुवाद गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...