दिनभरि छाँटेर दर्शन नैतिकताको 

रातभरि उघार्छ कथित  वेश्याको मिनीस्कट 
आफैँले आफैँलाई अन्तर्यामीको स्वघोष गर्दै
लगाएर जुत्ता नयनमा
हल्लाउँदै पुच्छर गाउँ डुल्छ कात्तिके कुकुरजस्तो 
लबस्तारो ! म बाँचेको युग ।
 
साधुको भेषमा पहिरिएर
नानाथरीको परिधान 
अङ्गालोभरि बोकेर यौनपिपासुहरूलाई
दगुरीबस्छ बित्थामा बौलाहा जस्तो 
आफ्नो लिङ्गको तुजुकले मातिएर
आफ्नै आमाको यौनाङ्गको आयतन मापन गर्दै 
उनकै अस्मिता माथि 
क्षेप्यास्त्र प्रहार गर्न खोज्ने
जोताइ नपुगेको साँढे गोरुजस्तो 
डुक्राउँछ मध्यरातमा 
नकचारो ! म बाँचेको युग ।
 
डोर्‍याएर हिँड्छ सिकसिकाउँदो परिवेश 
घाम नलागेको बस्तीजस्तो 
झुक्याएर अन्धाहरूलाई
एक तमासाले कुर्लन्छ हु.................! हु...............!! हु...............!!!
बुकी फुल्ने पाखामा स्यालजस्तो 
कानै नछमाई अचेतन मनहरू
कुहिरोको कागलाई पछ्याउन लगाउँछ,
कहिले बेच्छ फाल्गुनन्दलाई पेरेङ्गोमा खाँदेर
सुँगुरको पाठाजस्तो 
कहिले बेच्छ गौतम बुद्धलाई 
च्याङ्ग्रा, भेडाजस्तो 
कहिले बेच्छ येशुलाई
होलसेलको कपडा जस्तो 
कहिले साटी खान्छ एक प्लेट मःमः र चाउमिनमा
कन्फ्युसियस र जोरोस्टरलाई
कहिले घोडा चढेर सवारी गर्छ
मार्क्श र एङ्गेल्सलाई
कहिले एक ट्वाक लोकलको सितन बनाउँछ
प्लेटो र सुकरातको गिद्दी जिब्रोलाई
कहिले बेच्छ सुम्निमा र पारुहाङलाई
चिन्डोको रक्सी जस्तो 
कहिले बेच्छ लेप्मुहाङलाई
पोल्ट्रिको अण्डा जस्तो 
खरिदे भएर चिप्लिन्दै झुन्डिन्छ
भीरको चिन्डो उँधो न उभो 
यो म बाँचेको युग ।
 
शल्यक्रिया गरेर मेरो टाउको 
हाल्न खोज्छ एसिड गिद्दीमा
बिछ्याएर इन्द्रजाली तारहरू
हाल्न खोज्छ करेन्ट मेरो मथिङ्गलमा
तर म-
जस्तोसुकै सुनामी र भूकम्प पनि प्रतिरोध गर्न
अर्थोडक्स जीवन बाँचेको मान्छे ।
 
बिचरा ! दास बनाउँदै लिलिपुटहरूलाई
कहिल्यै नमाझेको दाँतबाट आउने 
ह्वास ह्वासी सास सुँघाउँदै
बग्दैछ डङ्डङ्ती गन्हाएर बागमती जस्तो 
म बाँचेको युग ।
 
कहिलेकाहीँ त झोँक चल्छ मलाई
जेङ्गिज खाँको लौरो र काङ्सोरेको मुड्की उठाएर 
बूढो रुखजस्तै गर्लम्मै ढाल्नु 
यो म बाँचेको युगलाई ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...