क्षिण एशियाली समाजको बर्बरता हेर्नुछ भने, नाप्नुछ भने सम्भवत यहाँ अन्तरननिहित जात व्यवस्था, छुवाछुत र जातिय विभेदलाई हेरे पुग्छ । यदि यस विभेदको जग मनुस्मृतिलाई मान्ने हो भने मात्रै पनि यो विभेद र उप्पिडनको इतिहास तीन हज्जार वर्ष भन्दा लामो छ । सिङ्गो दक्षिण एशिया २० करोड भन्दा बढी दलितको घर हो । नेपालमा मात्रै ३० लाखभन्दा माथि दलितहरु छन् जुन नेपालको कुल जनसंख्याको १३.०९ प्रतिशत हुन आउँछ । इतिहासदेखि आजसम्म पनि यो अमानवीय विभेदको अन्त्य हुन नसकेको तिक्त अनुभव हाम्रो सामु छ । यद्यपि जातिय विभेद उन्मुलनको लागि जातिय व्यवस्थामाथि नै प्रश्न गर्दै इतिहासदेखि आजसम्म पनि थुप्रै आन्दोलन र अभियानहरु चलिरहेकै छन् । 

अभियानका विभिन्न स्वरुप मध्ये दलित साहित्य र सौन्दर्यशास्त्र तथा मुलधारमा त्यसको सशक्त हस्तक्षेप पनि एक हो । किनकी विभेदपुर्ण जातिय संरचनामाथि प्रहार गर्नु,ऐतिहासिक विभेद र उत्पिडनका व्यक्तिगत तथा सामुहिक अनुभव बाहिर ल्याउनु दलित साहित्यको मुख्य विषय हो । यसले विभेदरहित समाज स्थापनार्थ परम्परागत सामाजिक र सांस्कृतिक मान्यतामाथि पनि हस्तक्षेप गर्छ । 

यसैले त दलित साहित्य आफैँमा विद्रोही साहित्य अर्थात ‘रेसिस्टेन्ट लिटरेचर’ अन्तरगत पर्छ । लेखक राज कुमारका अनुसार, ‘यसले मुलधारको हिन्दु साहित्यको हेजेमोनीमाथि चुनौती दिन्छ’ (६९)। परम्परागत साहित्यको प्रभुत्वमाथि मात्रै होइन विद्रोही साहित्य समाज रुपान्तरणको पनि शसक्त अश्त्र हो । समालोचक तथा लेखक बारबरा हार्लोका अनुसार, सशस्त्र विद्रोहले राजनीतिक तथा प्रशासनिक परिवर्तन ल्याउन सक्छ तर विद्रोही साहित्य भने कसैको निश्चित सास्कृतिक प्रभुत्व विरुद्ध पनि लड्न सक्छ ।  

भारतमा भिमराओ अम्बेडकरले सशक्तसँग सुरु गरेको दलित साहित्य  एक शताब्दी पाको भइसकेको छ । त्यस्तै ७०मा दलित ब्ल्याक प्यान्थर अभियान शुरु भएकै पचास वर्ष पुगिसकेको छ । दक्षिण एशियामा दलित साहित्य र सौन्दर्य शास्त्रको विशिष्ट स्थान छ ।  भलै नेपालमा भने यसको उपस्थिति न्युन छ । यद्यपि यो दलित साहित्यको खडेरी भने पछिल्लो चरणमा विस्तारै हट्दैछ । चाहे त्यो नविन सुब्बाको दलन जस्ता सिनेमाद्धारा होस् या आहुतिजस्ता बौद्धिक लेखकका विविध लेखनीका माध्ययमबाट, अब नेपालमा पनि दलित साहित्य र सौन्दर्य शास्त्रले ढिलोचाँडो समुचित स्थान लिनेमा दुई मत नरहला । दलित साहित्यको महत्वका बारेमा अरुन्धती रोयले भनेकी छिन्, ‘जब दलित साहित्यले पूर्ण रुपमा आफ्नो दायरा फराकिलो पार्नेछ, अहिलेसम्म हामी बाँचिरहेको समाजको अत्याचार र कुरुपताप्रति आँखा चिम्लने भारतीय साहित्यले यि अत्याचार र कुरुपतालाई देख्न थाल्नेछ’ (एम के संसुधिनको लेखबाट) । 

त्यसो त नेपालमा झनै दलित साहित्यको बेवास्ता गरिदैँ आइएको छ । मुलधार कहलिएका चिन्तकहरुले नै यसको बेवास्ता गर्दै आएका छन् । लेखक आहुति जात वार्तामा उल्लेख गर्छन्, ‘शासकीय धारका चिन्तकहरु यस विषयमा गहन रुपमा प्रवेश गर्न चाहँदैनन्, किनभने दलित साहित्यको मन्थनलाई बढवा दिँदा उनीहरुले नेपालको साहित्यमा जबरजस्ती निर्माण गरेका कैयन् मानक र भाष्य भताभुङ्ग हुनेछन् जुन उनीहरुले चाहने कुरै भएन’ (१६८) । तर एक दशक अघिको दलन टेलिचलचित्रको तथा अहिलेको आहुतिकै जात वार्ता पुस्तक तथा उनको पछिल्लो गीत ‘तिमीले थुनेको नर्कलाई...’को लोकप्रियताले भन्छ , अब दलित साहित्य तथा सौन्दर्य शास्त्रले परम्परागत मुलधारका साहित्यको मानक र भाष्यलाई चुनौति दिइसकेको छ । यहाँ यहि पछिल्लो सशक्त गीत ‘तिमीले थुनेको नर्कलाई...’ दलित साहित्यको कसीमा राखेर हेर्ने कोशिस गरिएको छ । 

गीतले शुरुमै भन्छ, ‘तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ बर्ष हिँडेर तिम्लाई सोध्न आइपुगेँ’ । कथित उपल्लो जातका मान्छेेले दलित भनिएकाहरुलाई मानिसको रुपमापनि स्विकार्न नसकेको दलितको जीवन निश्चयनै कुनै नर्कभन्दा कम थिएन । तर यो गीतको वक्ताले भन्छ कि ऊ त्यो नर्क तोडेर आइसकेको छ । नर्क भनेर जान्नु भनेको उत्पिडन बुझ्नु हो । यसलाई उसको सिमान्त चेतना वा ‘सवाल्र्टन कन्सियसनेस’को रुपमा लिन सकिन्छ । अब उसले उत्पिडन वा नर्क नस्विकार्ने प्रण गरेको छ र निश्चित उद्देश्य सहित आएको छ । उ उत्पिडकमाथि प्रश्न गर्न आएको छ । यो उसको विद्रोह चेतना हो । 

उ चानचुनेसँग आएको होइन, ‘हज्जारौ वर्ष’को जातिय उत्पिडन सहेर उ यहाँ आइपुगेको हो । र अब उ उत्पिडकलाई प्रश्न गर्दैछ अर्थात् विद्रोह गर्दैछ, ‘ए..मन भएको मान्छे, मनलाई सन्चै छ कि बिरामी ? ए..ज्ञान भएको मान्छे, ज्ञानलाई सन्चै छ कि बिरामी ? कथित मन र ज्ञान भएको भनिएका तर जातिय विभेदको पृष्ठपोषण गरिरहने र ‘तल्लो जात’ कहलिएकामाथि सदैव उत्पिडन र विभेद गरिरहनेहरुलाई वक्ता ब्यङ्ग्य गर्छ– के साच्चिकै उसको मन र ज्ञान सही छ त ? 

त्यसो त वक्ता उत्पिडकले दिएको पीडालाई बिम्बात्मक शैलीमा भन्छ कि ‘फलाम पगाली कानमा दाग्यौ’ तर यति गर्दागर्दै पनि उसको ज्ञानलाई कसैको उत्पिडनले छेक्न सकेन । बरु उ ‘धातुलाई फुल झैँ फुलाउँदै’ र ‘धर्तिलाई उर्वर बनाउँदै’ अघि बडिरह्यो । उसलाई छुनै नहुने अछुत बनाइन्छ, सम्मान दिईँदैन । तर ऊ भने आजसम्मपनि तिनै उत्पिडकको बस्ती सिँगार्दै आएको छ । 

विभेदको चरम पराकाष्ठाले जतिनै थिचिए पनि जातीय व्यवस्थाले दलित भनिएका नागरिकहरुको ज्ञान र सीपलाई कुनै पनि कालखण्डको जस्तोसुकै परिस्थितिले पनि छेक्न सकेन । आकारहिन धातुलाई आकार दिएर धातुको समेत अस्तित्व निर्माण गर्ने दलितहरुको अस्तित्व र सम्मानलाई आजको समाजले अझै समान धरातलमा सँगै उभ्याउन सकेन । अरुको मान, इमान, अस्तित्व कुल्चिएर अरुभन्दा माथि छु भन्ने भ्रममा बाँचिरहेका छुत भनाउँदो समाजलाई सुन्दर बनाउन, समृद्ध समाजको निर्माण गर्न सदियौँदेखि रगत र पसिना बगाइरहेका नागरिकहरुलाई आजको युगको आधुनिक भनाउँदो समाजले समेत आखिर किन विभेद गरिरहेको छ त ? त्यसैले ऊ समाजका मान र इमान भएको भनिएकालाई ब्यङ्य गर्छ– के तिनको मान र इमान दुवै ठीक छ त ? 

जसले उसलाई समाजबाट बहिस्करणमा पारेको छ फेरी उसैबिना जिउनै सक्दैन । उत्पिडकको भलो उसैले गरिदिएको छ, कुभलोको पनि जिम्मा लिएकोछ । उसैमाथि झन ठूला दुःख थोपरिएको छ । उत्पिडकलाई उल्टो ऊसले आफ्नै गीतसंगीतले खुशी पारेको छ, नचाएको छ, मनोरञ्जन दिएको छ । यति गर्दागर्दैपनि उसको शीपको कुनै कदर गरिँदैन । दलित बनाइएकाहरुको संगीतमा र गीतमा छमछम नाच्ने, रमाउने यो समाजले आखिर किन दलितहरुलाई बहिस्कार र विभेद गरिरह्यो ? त्यसैले त ऊ प्रश्न गर्छ– यो कस्तो इमान हो ? 

आफु उँचो छु भन्ने समाजले जति नै विभेद र बहिस्करण गरेपनि समाज संरचनाले दलित बनाइएकाहरु बिना आखिर समाज कहिल्यै जिउँदो र पुर्ण हुन सकेन । ठुलो भनाउँदा जातहरुको सुखदुखमा साथ दिँदै उनीहरुको दुखलाई सम्हाल्दै भोग्दै आए पनि आखिर दलित भनिएकाहरुको सीपलाई, योगदानलाई आजको समाजले समेत बुझ्न सकेन । किनसँगै एउटै हरफमा उभ्याउन सकेन ? आफ्नै श्रममा भर परेर पनि विभेदको पराकाष्ठा देखाएर आफूँलाई श्रेष्ठ सम्झनेहरु आत्मिय हुन् कि पराइ ? के साच्चै यो उत्पिडक वर्ग स्वस्थ्य त छ ? हो यस्तैयस्तै गुनासो सहितको चुनौती हो यो गीत । त्यसैले वक्ता भन्छ– ‘ए छुत भनिने मान्छे नजिक छौ कि बिरानी ? ए अछुत बनाउने मान्छे सन्चै छौ कि बिरामी ?’

राजनीतिक बिश्लेषक तथा लेखक आहुतिद्वारा लेखिएको गीत वर्ण व्यवस्था, विभेद र बहिस्करण, मान्छेको सोँच र संस्कार, मानवीयता र मानवीय व्यवहार, सामाजिक सोंच र राजनैतिक चिन्तन माथि गरिएको कडा प्रहार हो । हजारौं बर्ष पहिलेदेखि दमित भएर बाँचिरहेको म पात्र अर्थात् वर्ण व्यवस्थाले दलित बनाइएका समाजबाट दलित भनिएका उत्पिडित मान्छेको आत्मा वृतान्त हो यो । इतिहासको कालखण्डदेखिनै नारकिय जीवन बिताइरहेका दमित दलितहरुले उठाउने व्यंग्यात्मक वृतान्त सहितको प्रश्न हो यो ‘ए मन भएको मान्छे मनलाई सन्चै छ कि बिरामी ?’ 

यो गीत विशुद्ध दलित साहित्यमा मात्र पर्दैन सबै रुपमा दलित सौदर्यशास्त्रले पनि पूर्ण छ । यसका लेखक आहुति आफैँमा त्यो निश्चित समुदायको आवाज बोक्ने उपयुक्त पात्र हुन् । यो दलितद्धारा लेखिएको दलित साहित्य हो । भारतको दलित ब्ल्याक प्यान्थर अभियानका अभियन्ता अर्जुन डाङ्लेका अनुसार, दलित साहित्य भन्नाले कथित उपल्लो जातबाट ‘अछुत’ भनिएका वा ‘तल्लो जात’ करार गरिएका समुदायबाट आएका लेखकको साहित्य हो जसले जात, जातिय विभेद र दलितको जनजीवन र अनुभव उजागर गर्छ । अर्थात् दलितको दृष्टिकोणबाट जनजीवनलाई हेर्छ । 

परम्परागत दलित साहित्यकारहरु विशेषत दलितले लेखेको साहित्यलाई मात्र दलित साहित्यको रुपमा लिन्थे । मराठी लेखक नरेन्दर जादव भन्छन्, ‘दलित र गैरदलितले लेखेको दलित साहित्यबीच आमा र धाइआमाले गर्ने प्रेमवत्तिकै फरक हुन्छ’ ( ब्रुक, ११)। यसो हुनुको पछि अर्का तमिल दलित लेखक सिभकामी भन्छन्, ‘गैर दलित लेखकहरु आफ्नै कुलिन दम्भसहित लेख्छन् र तिनले दलितको बारेमा सतही तवरले बुझ्छन्’ ( ब्रुक, ११)। यसको अर्थ तिनको लागि दलित विषय बन्दैन वस्तु मात्र बन्छ । 

तर यस सम्बन्धमा आहुति स्वयम्को धारणा भने फरक छ । ‘दलितको बारेमा मात्र होइन जात व्यवस्था विरुद्ध लेखिएको साहित्यनै दलित साहित्य हो ।  दलितले लेखेमात्र दलित साहित्य मान्ने मत गलत छ’ (१६८) । सम्भवत आहुतिको मत जायज पनि छ, यसले दलित साहित्यको दायरापनि फराकिलो पार्नेछ । तर दलित साहित्यले, ‘दलित जीवन र अनुभुतिको प्रष्फुटनलाई प्रथामिकतामा राख्नुपर्छ’ (आहुति, १६६) । 

लेखन तथा साहित्यका माध्ययमबाट जातिय विभेदपूर्ण सामाजिक संरचनामाथि प्रहार गर्नु नै दलित साहित्यको प्रमुख पाटो हो ।  दलित साहित्य उत्पिडनको अनुभव मात्रै होइन,  विभेदप्रतिको विद्रोह पनि हो । दमितमा आएको चेतना तथा जागरण हो । विभेदकारी राजनीतिक, सामाजिक तथा सांस्कृतिक संरचनाप्रतिको चुनौति हो । यस अर्थमा पनि आहुतिको गीत ‘तिमीले थुनेको नर्कलाई...’ एक पूर्ण दलित साहित्य हो । गायत्री स्पिभाक चक्रवर्ती भन्छिन् कि सवाल्टर्नहरु बोल्न सक्दैनन्, बोलेपनि तिनको आवाज सुनिँदैन । तर अहँ ! यो गीतको दलित पात्र एकदम राम्ररी बोल्छ, सशक्तसँग बोल्छ अनि भातीँ पु¥याएर बोल्छ । ढिलोचाँडो उसको आवाज यो समाजले नसुनी धरै छैन ।


सन्दर्भ सामाग्री 

आहुति. (२०२१). जात वार्ता. काठमाण्डौः बेला पब्लिकेसन.

कुमार, राज. (२०१९). दलित लिटरेचर एण्ड क्रिटिसिज्म. हैदरावादः ओरियन्ट ब्ल्याकस्वान.

डाङ्ग्ले, अर्जुन. (१९९२). प्वाइजन्ड ब्रिडः ट्रास्लेसन फ्रम मोडर्न मराठी दलित लिटरेचर. हैदरावादः ओरियन्ट ब्ल्याकस्वान.

बारबरा, हार्लो (१९८७). रेसिस्टेन्स लिटरेचर. लन्डनः मेथुएन एण्ड को. 

ब्रुक, लाउरा आर. (२०१४). राइटिङ रेसिस्टेन्टः द रिटोरिकल इम्याजिनेसन अफ हिन्दी लिटरेचर. न्युयोर्र्कः कोलम्बिया युनिभर्सिटी प्रेस. २४२–७१.

सम्सोधन, एम. के (२०१६). ‘दलित लिटरेचर एण्ड पोलिटिक्स अफ रिप्रिजेन्टेसन.’ द अश्वमेघ इन्टरनेसल जर्नल एण्ड लिटररी म्यागाजिन. २.२२.

स्पिभाक, गायत्री चक्रवर्ती. क्यान सवाल्टर्न स्पिक. बासिङस्टोकः म्याकमिलन.

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

उत्तम तुम्सा लिम्बू / युवराज भट्टराई

लेखकबाट थप...

सम्बन्धित समाचार