काठमाडाैँ - लामो प्रतिक्षापछि नयाँ कवि तथा प्रकाश दिप्साली राईद्वारा सम्पादित 'लकडाउनमा सर्जक र सिर्जना' पुस्तकको आगामी १९ गते धरानमा लोकार्पण हुने भएको छ ।
गत वर्ष कोरोना महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउनलाई सदुपयोग गर्दै कवि तथा नयाँ अनलाइनकर्मी साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरिएका सिर्जनाहरूको सङ्गालो 'लकडाउनमा सर्जक र सिर्जना' पुस्तकको लोकार्पण आगामी १९ गते धरानमा हुने भएको छ ।
आदिवासी जनजाति साहित्यकार महासंघ नेपालका अध्यक्ष एवं वरिष्ठ साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यमा हुने सो लोकार्पण कार्यक्रममा सो पुस्तकमाथि छलफल तथा रचना वाचन समेत हुने भएको छ । कवि प्रदीप योङहाङले सहजीकरण गर्ने 'महामारीमा सिर्जना किन.....?' विषयक छलफलमा साहित्यिक पत्रकार देबेन्द्र खापुङ, कवि एवं समालोचक मुनाराज शेर्मा र कवि मनु मन्जिलले बोल्ने छन् । यस्तै 'महामारीमा लेखिएका सिर्जनाहरू' (रचना वाचन)मा कवि एवं गजलकारहरूले आफ्नो रचना वाचन गर्ने छन् । गजलकारहरू लक्ष्मण कट्वाल, हृदय लिम्बू, अस्मिता भट्टराई र विवश बलिभद्र कोइरालाले गजल प्रस्तुत गर्नेछन् भने कविहरू गगन योङ्पाङ्देन, नवराज विष्ट, करुणा राई र सुदीप पाख्रिनले महामारीको बेला लेखिएका कविताहरू प्रस्तुत गर्नेछन् ।
सो पुस्तकमा झन्डै १२० जनाभन्दा धेरै सर्जकहरूको सिर्जनाहरू अटाइएको छ । मार्गनिर्देशका निम्ति देशकै प्रतिष्ठित कवि साहित्यकारहरूको अन्तरससंवाद समेत समेटिएको छ । पुस्तकमा कविता, गजल, गीत र मुलढोका स्तम्भ गरी ४ खण्डमा विभाजित गरिएको छ । सो पुस्तकको आवरण चित्रकार ओम डिसिआरले कोरेका छन् यस्तै पुस्तकमा समेटिएका सर्जकहरुको चित्र चित्रकार कृष्ण मर्सानीले कोरेका छन् भने खण्डगत चित्र चित्रकार मुकुन्द प्रयासको रहेको छ । पुस्तकमा प्रदीप योङहाङको प्राविधिक सहयोग रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...