केबल बिनाबी

आफ्नै नाम पनि नबुझेका
मेरा निश्चछल नानीहरू 
उभिएर स्कुलको आँगनमा
किन गाइरहेछन्
भगवान भक्तिका गीतहरू ?
  
सधैँ मस्त निदाउने 
मेरा अबोध नानीहरू 
किन बिउँझिन्छ्न घरिघरि
क्रिश्चमस इभको चिसो रातमा ?

महाशय !
कसले भिराएको हो
यो भ्रमको रातो टोपी 
मेरा अञ्जन नानीहरूको शिरमा ? 

तिम्रो जात के हो ?
तिम्रो धर्म  के हो ?

प्रश्नैप्रश्नले रन्थनिएर
घर फर्केका मेरा नानीहरूलाई
म कसरी बुझाउन सक्छु 
मान्छेको जात हुँदैन
मान्छेको धर्म हुँदैन

महाशय !
कसले रोपिरहेछ
जातधर्म र भ्रमका भ्रुणहरू ?

कसले एकोहोरो घोकाइरहेछ
राष्ट्रिय गानको नाममा
बहुल जाति भाषा धर्म ?

किन धरधर च्यातिरहेछन्
किताबका पानाहरू ?
किन स्कुल जाने बेलासम्म पनि
निदाएको अभिनय  गर्दैछन् नानीहरू ?

महाशय !
तिम्रो विद्यालयले 
वेद पढाउँछ या विज्ञान ?
तिम्रो शिक्षाले 
मान्छे जन्माउँछ या मेसिन ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।