प्रगति राई समकालीन नेपाली कविता र उपन्यासमा परिचित नाम हाे । लेखक तथा सामाजिक अभियन्ता प्रगति राई प्रदेश नं.१ साकेला गाउँपालिका खाेटाङमा जन्मिएकी हुन् । 'बादी विज्ञप्ति' (कविता सङ्ग्रह, २०६२), 'लेखककी स्वास्नी' (उपन्यास, २०६९), 'बिर्सिएको मृत्यु' (उपन्यास, २०७४) उनका प्रकाशित कृतिहरू हुन् । राई आफ्नो नयाँ उपन्यास कृति 'थाङ्ग्रा' लिएर पाठकसामू चाडैँ आउँदैछिन् ।
टाेकरी
टोकरी पाएपछि
नानीले सबथोक भुली
खाना भुली, आमा भुली
टोकरी पाएपछि काख भुली
काख छोडेकी नानीलाई
आमाको कुनै अधिन पनि त लाग्दैन ।
सबथोक बिर्सेर
टोकरी भर्नुछ नानीलाई
टोकरीमा फूल राखी
उनलाई जून मन पर्यो
फूल झिकेर जून राखी
उनलाई तारा झन् मन पर्यो
तारा भन्दा पनि
उनलाई त हावा, पानी, पुतली, वादल
झन् के के मन पर्यो
टोकरी एउटा छ, राख्नु छ धेरै थोक
राख्दै-झिक्दै, राख्दै-झिक्दै गर्दागर्दै
झमक्कै साँझ पर्यो
नानी रुन थाली
टोकरी रित्तै थियो
टोकरीलाई जीवनसँग दाँजेर
नानीसँगै आमा पनि रोइन्
धेरै इच्छाहरु पूरा गर्न खोज्दाखोज्दै
आखिर, जीवन पनि त रित्तै रहन्छ
अन्ततः
सुकसुकाउँदै नानीलाई भनिन् आमाले
टोकरीमा एकथोक भर
बाँकी सबैको यादहरु मनमा भर ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।