एलिसा लिङ्देन

साँझको समय । हिमालको काखबाट लुकामारि खेल्दै बहने तन्नेरी अरुणको हाक्पारे लयले क्रमशः साँझको एकोहोरो सन्नाटा चिर्दै छ । पदयात्राको पहिलो दिन, शरीरमा थकान छ । घुँडा दुखिरहेको छ । उत्सुकताको हिमालले तानेर हो कसो, मनको स्फूर्ति भने जाग्दो छ । अरुण नदी पार गरी सेदुवाको एक छिमल उकालो उक्लिएर च्याक्से डाँडामा हामीले आफ्नो झोलातुम्बी बिसाएका छौँ । आजको यात्रा यहाँसम्म भएकोले सामान्य चियापान पछि रित्तो ज्यान डुलाउन बाहिर खुला ठाउँमा निस्कियौँ ।

नेपथ्यमा देखिने गोहिका दाँतजस्ता हिमालका ससाना चुचुराहरू पहेलिँदै हराउँदै छन् । तल बेंसीका गाउँहरूमा भने जुनकीरी झैँ बत्तीहरू क्रमशः एकपछि अर्को थपिँदो छ । अँध्यारोले आफ्नो साम्राज्य जति फैल्याउँदै छ, पारिका गाउँहरूमा त्यति नै जुनकिरीहरू उदाउँदै छन् । गाउँलाई वक्षस्थलमा बसाएर युगौँदेखि मौन बसेको यो पहाड मानौँ कवि श्रवण मुकारुङको आमाको गाउँ हो, जो त्यही छ तर कहिल्यै पुगिन्न ।



यात्रारत समुहमा जम्मा चारजना छौँ । पहिला पनि मकालु आधार शिविर पार गरिसकेको हुनाले एकजना दाइ समूहको क्याप्टेन जस्तै हुनुहुन्थ्यो । भनौँ, समूहको गाइड । बाँकी हामी तीन जना नयाँ । मनमा उत्साह थियो । कस्तो आनन्द होला हिमालको सामु भएर उभिँदा ? भावनाहरू ओकल्नु थियो हिमाललाई । लामो भलाकुसारी गर्नु थियो हिमालसँग ।

हिमाल भुगोलको चिसोमा खाना यसै स्वादिलो । साँझको खाना तयार भएछ । खानपिन भयो । केही थकान थियो शरीरमा । यात्राको पहिलो दिन, हामीले आ-आफ्नो अनुभव साट्यौँ । खुसीका तरङ्गहरू यस्तरी फैलिएका थिए, आँखा खोलु मन बहलाउने । आँखा बन्द गरूँ, आँखै अघि हिमाल । बैचनको कोल्टे फेर्दाफेर्दै कतिखेर भुसुक्क भएछु ।

बल्लतल्लको गहिरो निन्द्रामा रातका सबै प्रहरहरू एकै निन्द्रामा कटेछन् । बिहान टि-सपको दिदीले उठाउनु भो । उहाँ एकदमै मिजालिसो । नौलो भएर पनि रत्तिभर नौलो अनुभव नलाग्ने । उहाँ खाजाको जोरजाममा लाग्नु भो । हामी भने आजको यात्रा प्रारम्भको लागि सामान्य कसरतमा जुट्यौँ । खाजा तयार भएछ । बिहानको खाजा खाएपश्चात, फर्कदा भेटने बाचासहित त्यहाबाट छुट्यौँ । त्यतिन्जेल सम्म गोहीका दाँतजस्ता साँझका सुनौला हिमालका चुचुराहरू चाँदी जस्तै टल्कदै थिए । घाम निक्कै तन्नेरी भएछ क्यार !



उच्च हिमाली पदमार्गमा प्रकृतिसँग साक्षातकार गर्नु मेरो लागि पहिलो अनुभव थियो । कहिले समूहमा एकाकार भई खुसी साट्दै हिड्थ्यौँ त कहिले एक्लै आफैँमा हराउँदै । झरनाको आवाज, चराको चिरबिर । मौसम सार्है सुन्दर थियो । बाटोमा भेटिने प्रत्येक मानिसहरू हाम्रो जीवनका नयाँ थिए । सबैलाई 'टाँसिदेले' भनेर सम्मान गर्नु अघिल्लो दिनयताकै अभ्यास थियो । यात्रारत क्रममै भेटियो पेम्बा। टासlगाउँ रहेछ उनको घर । तिहारको छुट्टी मनाउन विद्यालयबाट घर फिर्दै गरेको उनले बताए । उनी पढ्ने विद्यालय सेदुवामा रहेछ । माध्यमिक तह सम्मको ।

टासीगाउँबाट सेधुवाको बाटो पूरापूर एकदिनको हो । गाउँमा प्राथमिक तहसम्मको मात्र विद्यालय भएकाले माध्यमिक तहको लागि सेदुवा जानुको विकल्प रहेन छ । उतै बस्नेगरी । पहाडी भेगमा कखरा चिन्नु सहज छैन । उनीजस्ता धेरै विद्यार्थीहरूको बाध्यता थियो त्यो ।



बल्लतल्ल जंगलको बाटो पार गर्यौं । पारी देखियो गाउँ । यसैलाई टासीगाउँ भनिँदो रहेछ । अन्दाजी चार पाँच दर्जन घरहरू देखिए । घरका छानोहरू भने हरियो च्यादरले छाएका । बस्ती आसपास खेतीको लागि जग्गा छ । गाउँदेखि माथि घना जंगल छ । तलतल सुनिन्छ अरुणको सुसेली । हिमाली टापुमा सजिएका घरहरूबाट धुवाँ पुतपुताईरहेका छन्। 

टासिगाउँलाई होमस्टे बनाइएको रहेछ । गाउँ नै होमस्टे बनेपछि पर्यटन व्यवस्थापनको लागि धेरै  सहज भएको रहेछ । गाउँका प्रत्येक मानिसहरूमा सद्भाव, मनमा पुष्पगुच्छा देखिन्थ्यो । मानौँ गाउँ नै पर्यटकहरूको स्वागतमा छ । होमस्टे पुग्नसाथ एकजना सानो बालक होमस्टे बाहिर देखियो । स्वागतार्थ उभिए झैँ । बालकको नाम टेण्डी रहेछ। पुक्क पुक्क उठेका गाला । पर्यटकहरूको स्वागतार्थ सानै उमेरमा सद्भाव झल्काउने टेण्डी, मानौँ उनी हिमालको साथि हो। भविस्य हो हिमाल नाप्ने। टिसपमा केहिछिन आराम लियौँ। मध्यदिन हुँदो हो, खानाको लागि हामी त्यही मकालु बरुण होमस्टेमा बस्यौँ । गाउँका धेरै परिवारहरू पर्यटन व्यवसायमै आबद्ध रहेछन् । बाँकी परिवारहरूको लागि दैनिक जीविकोपार्जनमा कृषि र पसुपालन । सन् १९५० को दशक अघिसम्म यो गाउँ नेपालको तल्लो भू-भागसँग खासै जोडिएको रहेनछ । त्यसअघि व्यापारिक कारोबार तत्कालीन तिब्बतसँग हुन्थेछ । सन् १९५० को दशकमा इरिक सिप्टोनको समूहले मकालु आधारशिविरसम्मको पदमार्ग खोज्दै आए । त्यसपछि भने आंशिक रूपमा गाउँ दुनियाँसँग जोडिँदै गयो । सोही समयमा तत्कालीन तिब्बत गणराज्य चीनको सामित्वमा गाभियो । पूर्वको सहज नाका किमाथांकाबाट व्यापार गर्न पहिला झैँ सहज भएन । त्यसपछि झनै अन्य प्रयोजनको लागि पनि गाउँ तल्लो भेगसँग जोडिनुको विकल्प रहेन । त्यसताका सहजताको बजार चैनपुर थिएछ । जहाँ पुग्न करिबन हप्तादिन लाग्थ्यो । 



दिउँसोको खाना तयार भयो । बाँकी यात्रा निक्कै उकालो भएको पहिला आधारशिविर अनुभवी हाम्रो समूहको दाइले भन्नु भो । बाटोमा जुका लाग्ने भएपछि नुन बोक्यौँ, ता कि जुका उकाउन सहज होस् । फर्कदा भेटने बाचासहित उक्त होमस्टेबाट छुट्यौँ हामी । दाइले भन्नुभए झै बाटो उकालो थियो । बाटोको केही भाग सितझर भएकाले त्यहा जुका लाग्ने रहेछ । कहीँकतै खर्कहरू भेटिन्थ्यो । मंसिर पौषमा चौरीहरू हिमालबाट बेंसी झारिँदो रहेछ । प्रकृतिको यो मौसम विज्ञान चौरीहरू आफैँ बुझ्छन् र मधेश झर्छन् । खर्कका मानिसहरू यस्तैयस्तै कहानी सुनाउँथे ।



ढाडो उकालो छ बाटो । उकालो कट्न सहज होस भनी बाटोमा ढुङ्गाको खाप बिछ्याइएको छ । पदमार्ग व्यवस्थापनको दृष्टिले मकालु आधारशिविर पदमार्ग निकै व्यवस्थित छ । बाटो आसपास मार्क्सका दाह्री झैँ झ्याउ पलाएका बडेमानका रूखहरू छन् । एउटा डाँडा कट्यो अर्को आउँछ । फेरि अर्को । डाडाँसँग लुकामारी खेल्दै जाँदै छौँ । यत्रो बडेमानको पहाडमा नाथे मान्छेको पाहिला के गनिन्थ्यो र ? प्रत्येक डाडो कट्न निक्कै समय लाग्थ्यो । आँखाले हेरेर टाढाको नजिक देख्नु त मान्छेको प्रवृति पो रहेछ । पाहिला चालेपछि खास हैसियत थाहा हुँदो रहेछ । त्यस दिन मैले पनि सोही अनुभूत गरे । बाटोमा भेटिएका केही टिसपहरू बन्द थिए । सायद विश्व महामारी कोभिडको प्रभाव हुनसक्छ यो । पर्यटकको संख्यामा अत्यधिक गिरावटपछि टिसप सञ्चालकहरू धेरै त गाउँ झरिसकेका थिएछन् । आंशिक पर्यटकका लागि नि टिसपहरू खुल्ला थिए । साँझ उक्लदै थियो । अर्को टिसप पुग्नुको विकल्प थिएन हामीसँग ।



उक्लदो छ साँझ । स्वागतार्थ झ्याउँकिरीहरू सङ्गीत कराइरहेका छन् । चराहरू घर फिर्दै छन् । सायद चिरबिरले बन गीतमय छ । हामी एकोहोरो बाटो नापिरहेका छौँ । अँध्यारोले आफ्नो साम्राज्य निक्कै फैलाइसकेको थियो । पूरापूर दर्जन तौलको भारीहरू कस्तरी गह्राैँ भएका, सास्ती थपिँदै थियो । आफैँले निम्त्याएको खुसीको सास्ती । जंगलबीचको एकलास एकान्त बाटो । हामी चुपचाप थियौँ । मनमा केही डर थियो । त्यही बेला कतैबाट मानिसको आवाज आयो । हामी केही सतर्क भयौँ । एकजना भाइ टाँसिगाउँबाटै आउँदै रहेछन् । काँधमा भारी छ भाइको । पुर्याउनु पर्ने छ सिप्तोङला पास । सामान्य चिनापर्ची भो । भाइले आफ्नो नाउँ लाक्पा बतायो । उमेर १८ वर्ष । अब भने थप साहस आयो उकालो बाटो पछ्याउने । हाम्रो हिँडाइको सुस्तता देखेर होला, भाइले मेरो झोला माग्यो । लाक्पाको साथमा भारी देखेर मैले इन्कार गरे । साह्रै कर गरेपछि झोला भाइको भारीमाथि झनै भारी भो । आफैँलाई असहज लागिरहेथ्यो । बाफ्रे, आउँदै गर्नु है भनी अघि लागेको भाइ केही छिनमै डाँडो उक्लियो । हामीले गम खायौँ । यात्रारत झापाको एकजना दिदीलाई केही गाह्राै भो सायद । अलि पछि हुनुहुन्थ्यो । समूहको गाइड दाइसँगै । लाक्पाले पर्खिरहेको रहेछ, हामीले पनि दिदीलाई पर्ख्यौं । 

लाक्पा भाइ उमेरले सानो । सानै भएपनि ठूलो सपना । सपनालाई साकार पार्ने उनको ताकत झनै गज्जपको । त्यहाँको अधिकांश युवाहरूको सपना गाइड हुँदै पर्वतारोहण टोलीको सहयोगी बन्ने हुँदो रहेछ । लाक्पाले उत्साहित हुँदै सोही सुनायो । हिमाली काखमा जन्मिएको लाक्पा, हिमालमै हुर्कियो । उनको कुरा सुन्दा यस्तो लाग्थ्यो, परिवारको आर्थिक स्थिति सुधार्नुको विकल्प उनीसँग छैन । बडेमानको उकालो उक्लिसकेपछि पारी देखियो मधुर बत्तीको प्रकाश । मन यसै प्रकासमय भयो । हर्षले एकपटक त चिच्याएछु ।

उकालोको यात्राले ज्यान यसै थकित थियो । सबैले आआफ्नो भारी बिसायौँ टिसपमा । समूहको दाइले पहिल्यै चिन्नुभएको रहेछ टिसपको आन्टीलाई । हामी अन्यको सामान्य चिनापर्ची भयो । पासाङ बुटी रहेछ आन्टीको नाम । हिमालजस्तै हँसिलो मुहार । त्यत्तिकै मिजालिसो व्यवहार पनि । कोभिड महामारीको कारण कलेज बन्द भएपछि आन्टीको छोरी पनि घर आउनुभएको रहेछ । पासाङ डोल्मा बताउनु भयो आफ्नो नाम । सम्बोधनले बहिनी भन्यौँ । सानै उमेरदेखि घरबाहिर रहेपनि गाउँप्रतिको औधी माया । हिमालप्रतिको निश्चल प्रेम । यसै पारिवारिक मौसम बन्यो ।



अघिल्लो दिनको उकालो बाटोले हामीलाई निक्कै गलाएछ । त्यो दिन करिबन १२ घण्टा हिँडेको थियौँ । आधा भन्दा धेरै त ठाडो उकालो बाटो । त्यही थकानले होला बिहान उठ्न अबेर भो । आन्टीले चिया तय गरिसक्नु भएको रहेछ । भन्दै हुनुहुन्थ्यो, पर्यटकको अनुहार नदेखेको केही दिन भा थ्यो तपाईंहरूको लागि स्पेसल चिया । चियामा चौरीको घ्यू मिसाइएको रहेछ । औधी स्वादिलो । हिजोको थकानले आज यतै हाईकिङ गर्ने निधो गर्यौं । 

त्यो दिन हामीले गह्राै भारीहरू त्यही बिसायौँ । एक त हामी थप यात्राको लागि अन्योलमा थियौँ । महामारीको प्रभावले पर्यटनको संख्यामा अत्यधिक गिरावट आएपछि त्यहाँ भन्दा माथिको प्राय टिसपहरू बन्द भै सकेका थिएछन् । जानुपरे यतैबाट थप गाइड हायर गर्नुपर्ने रहेछ । सामान्य खाजाको व्यवस्था गरेर त्यहाँभन्दा माथि उकालो लाग्यौँ । मौसम छिनभरमै परिवर्तन हुँदै थियो । जति माथि जान्थ्यौँ उति नै बादलले पछ्याउँदै थियो । बादलसँगै बयेली खेल्दै हामी उकालो लाग्यौँ ।

वरिपरि हिमालय पर्वतशृंखला । बादलका झुप्पाहरू लुकामारी खेलिरहेको । बाटोमै भेट्यौँ सानोपोखरी । युगौँदेखि हिमालले कस्तरी साँचेको होला पोखरीलाई आफ्नो वक्षस्थलमा नाथे मान्छेको खुसी एकैछिनमा मनको पोखरीबाट छछल्किने । लाग्यो, प्रकृति साँच्चिकै अद्भुत छ । सम्झनाको लागि फोटो खिच्यौँ । त्यसपछि लाग्यौँ फेरि उकालो । एकछिमल उकालो कटेपछि पुग्यौँ हिमाली भञ्ज्याङ । भञ्ज्याङ फराकिलो थियो । वरपर तोरण टाँगिएको । हिमाली चिसो बतासले तोरणहरू फहराइरहेका थिए ।

सन् १९६० को दशकमा एरिक सिप्टोनको टोलीले पहिल्याएका रहेछन् यो पास । त्यही भएर उनको नाममा भञ्ज्याङको नाम सिप्टोनला पास राखिएको रहेछ। 'ला' को अर्थ भज्याङ हुने रहेछ स्थानीय भाषामा । करिबन ४२०० मिटरको उच्च पास मेरो लागि साहसको विषय थियो । मन यसै प्रफुल्लित थियो । हामी आफैँमा हराएका थियौँ । वारिपारि हिमाल थिए । यसैयसै, कतै हराएछु । मनमनै हिमालसँग धेरै कुराहरू पोखे । यहाँसम्म डोहोर्याउने आफ्ना पैतालाहरूलाई धन्यवाद दिए । सम्झे, बाटोमा भेटिएका प्रत्येक मानिसलाई । एकछिन पछि हामीले हामीसँग भएका खाजा खायौँ । खाजामा भुटेको मकै झनै स्पेसल थियो । बोजुलाई एकफेर सम्झिएँ, उहाँले नै भन्नुभएको थियो हिमालमा सातु र भुटेको मकैले लेक काट्छ ।



मौसम प्रतिकुल बन्दै थियो । म जस्तै यात्रारत दाइ, झापाको आत्मिय दिदी र फिक्कलकी समकक्षी साथी यसै प्रफुल्ल थिए । फिक्कलकी समकक्षी साथि झनै प्रफुल्लित देखिन्थिन् । उनको अनुहारमा यो भाब प्रष्ट देखिन्थ्यो । उनीसहित हामी तीन जना आफ्नो नियमित ड्युटीको समय मिलाएर हिमाल चुम्न आएका थियौँ । सम्झनामा हामीले तस्वीर लियौँ । हिमालको मौसम ठम्याउनै नसकिने, एक्कासी आकाश धुमिलिएर आयो । हामी ओरालाे लाग्यौँ ।

भोलिपल्ट अन्योलमै बित्यो दिन । बिहान पानी परेकोले त्यसदिन पनि त्यतै रह्यौँ । दिउँसो पासाङ बुटी, आन्टी र पासाङ बैनीसित छोटो हाइकिङमा निस्कियौँ । उहाँहरूले स्थानीय गुफा, पुरानो खर्कतिर डुलाउनु भो । उहाँहरूको संघर्षको कथा त्यही गुफा, खर्कसँग गाँसिएको रहेछ । साह्रै प्रेरणादायी लाग्यो । त्यस साँझ पनि मौसम त्यस्तै रहेकोले अन्तत मकालु आधार शिविर जाने हिम्मत रहेन हामीमा । 

बीचमा तापको लागि चिम्नी छ । हामी त्यसको वरिपरि छौँ । हातमा चिया छ, चौँरीको घ्यूसँग साँधिएको । त्यस साँझ आधार शिविर पुगिसक्नु भएको दाइबाट त्यहाँभन्दा माथिको थप कुराहरू सुन्यौँ। कुराहरू एकदमै चाखलाग्दा थिए । हिमालहरू यसै मिथले भरिएका हुन्छन् । त्यहाँ भन्दा माथिका शिवधारा, याङलेखर्क भित्ताबाट निस्किएको बडेमानको प्राकृतिक धारा जो दलाई लामाको मिथसँग गाँसिएका थिए । मकालु हिमालको काखैनेरको दूधपोखरी । बड्नले यस्तो भावाकृत गरायो, मानौँ आफ्नै अघि बिराजमान छ मकालु हिमाल ।

भोलिपल्ट बिहानै हामी ओरालो झर्ने तरखरमा लाग्यौँ । झोलातुम्बी ठिक पार्यौं । एक त मन खुसी थियो, दुखी पनि । हामीले मनलाग्दो प्रेम पाएका थियौँ । हिमालको सामिप्यता पनि । महामारी र मौसम सामान्य नभएकोले बाँकी यात्रा अपुरो रहयो । भारी मन लिएर डोल्मा फुटी आन्टी, अंकल र डोल्मासित बिदा लियौँ । समय मिले फेरि भेट्ने बाचासहित । ओरालाेमा जति खुट्टा गह्राैँ भइरहेको थियो, मन पनि त्यतिको गह्राैँ । जसरी हिमालको सामिप्य उकालो लाग्दा हामीले बाटोमा सहयात्री भेटेका थियौँ । झर्दा पनि उसैरी नै भेट्यौ । भेटेका प्रत्येकमा दरिलो सपना देखिन्थ्यो । मानौ तिनै युवाहरूको काँधमा छ हिमाल । ती मध्ये मिङदोर्जे भाइको संघर्षले मन छोयो । एकदिनको सहयात्री बन्यो मिङदोर्जे । छुट्ने बेलामा उसमा आबेग देखिन्थ्यो । मन त हो, बहलाउँछ । बहलाउने मन थाम्न चिनोस्वरूप हामीले यात्राभर प्रयोग गरेको एकजनाको लाठी छाड्यौँ । लाठी, मिङदोर्जेको रोजाइको थियो ।



यात्राको दशौँ दिन । अब भने खुट्टाको सास्ती हट्नेवाला थियो । हामी नुम आइपुगेको थियौँ । निर्माणधीन अरुण तेस्रो जलविद्युतको लागि नुमसम्म मोटरबाटो केही सहज रहेछ । त्यहाँभन्दा यता यातायातको सुविधा थियो । 

ट्याक्सीमा गीत बजिरहेछ । पहाडसँग लुकामारी खेल्दै मधेश झर्दै छौँ । छोटै समयमा कस्तरी सम्बन्ध बसेको होला त्यो ठाउँसँग ? मन गह्राैँ भएजस्तो भएजस्तो भो । यात्रामा भेटिएका प्रत्येक आफन्तजस्ता मानिसहरूको याद आइरहेको थियो । करिबन दर्जन दिनजसो पैदल हिँडेछौँ, आफैँलाई विश्वास लागिरहेको थिएन । ट्याक्सीबाटै प.....र, नेपथ्यमा देखिन्छ मकालुको माथ । एउटा पहाड कट्यो, फेरि देखिन्छ । अर्को पहाड कट्यो, फेरि देखिन्छ । मानौँ मकालु हिमालले मलाई नै हेरिरहेको छ । एकोहोरो एकोहोरो.......। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...