मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलिसा याक्थुङ्बा  (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको  साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।

पारी सुर्केनागी गाउँको कम्मरमा पुरानो सल्लाघारी छ । त्यसकाे बीचमा सानो थुम्की छ । तर, वारिपारिबाट देखिन्न । भित्रै छ, लोभैलाग्दो सल्लाघारी । भित्रको कुनै आकार प्रकारहरू सल्लाका बोटहरूले छपक्कै छोपेर नदेखिने र बाहिरी आवरण सुन्दर हरियाली वनको आकारमा मात्र देखिने ।

चैतवैशाखको हुण्डरीमा पूरै थर्कमान आवाज निकाल्छन्, वनले । सल्लाका रूखहरू, यति अग्ला–अग्ला छन् कि फेददेखि टुप्पा हेर्दा टोपी नै खस्ने । फेदहरू एक नाम्लाले नभ्याउने, अजंग । लाग्छ, ती सल्लाहरू कुन बाजेपुस्ताका पालादेखि हुर्कँदै आएका । वारिबाट अग्ला र गतिला बोटहरू बिहानै सैनिकहरू कवाजमा ताँत उभिएजसरी मारुनीडाँडालाई सुरक्षा गरे जस्तै देखिन्छन् । त्यसभित्रको एउटा थुम्कीलाई वरिपरिबाट मारुनीडाँडा र स्थानीयले पिङ्डाँडा र चतुरे डाँडा भन्छन् । यो डाँडा वरिपरि, तलमाथि, वरपर बस्ने समूदायहरू याक्थुङ् जातिको पुरानै बसोबास अथवा काल–कालान्तरदेखि बस्दै आएकाहरूले मारुनीडाँडा नाम भनेर ल्याउँछन्, बाजे पुस्तादेखि । त्यो डाँडामा पहिले चतुर्दशीका दिन पाक्षिक हाट लागेकाले पनि चतुरेडाँडा भनिएको हो । यिनको शिरनेर सार्किटार भन्ने स्थान पनि छ ।

सल्लाको सिम्टा (आङ्सेक्) संकलन गरी खान, राति बाल्नका लागि दियालो, माटोका गाग्रालाई टाल्न अनि घाउखटिरा, भुतप्रेत हटाउनका लागि चाहिने ओखती खोटो र त्यस वरिपरिका मानिसहरूको बिहाभोज कार्जेमा चाहिने दाउरा अनि घर बनाउने काठहरू यसै सल्लाघारीले पुर्याउँछन्, भरपुर ।

केवल, मारुनीडाँडा अथवा पिङ्डाँडाका आसपासमा अत्ति पुरानो चिहानहरू सल्लाघारी वनभित्र उत्जीवित छन् । सायद, मारुनीडाँडा मृतक मानवका लागि एक नर्कलोकको एक काल्पनिक शहर नै थिए भन्नु फरक नहोला । चिहानहरू पनि शताब्दियौँ पुराना भएकाले कुनवेलामा स्थापित भए भन्ने पनि इतिहासको गर्भभित्रै अडेका छन् । जब मारुनीडाँडाको बाक्लो जंगल आवरणभित्र मारुनीहरू नाच्न, धाननाच्न, पालामगाउन, ख्याली भन्न र पिङ् लाउन थाल्नुभन्दा धेरैअघि देखिनै मानिसको दफन कार्य बन्द थिए ।

बुवा पुस्ताहरूको वैंशमा मारुनीडाँडामा वर्षेनी दशैं र तिहारको समयमा रोटेपिङ् लाउँथे, तेहाँका सुब्बा (याक्थुङ्)हरू मिलेर । पिङ् लाएपछि मात्र पिङ्डाँडा स्थानीय नाम जुरे । मारुनीडाँडामा पिङ् लाएपछि वरिपरि, वरपर, तलमाथि, छिमेकी याक्थुङ् गाउँका साराका सारा तरुनी–तेन्नेरीहरू पिङ् खेल्न र धाननाच्न भेलिन्थे । आउँथे, बाँसको राँकोहरू बालेर, हरेक बेलुका पालाम रन्काउँदै । चेली–माइती खुबै मिलेर लस्कर ताँतमा । चेलीहरू हिँडेपछि माइतीहरू पछि–पछि लाग्नैपर्ने त्यसबेलाको चलन । चेलीले माइतीको र माइतीले चेलीको कुनै हातखुट्टा, अंगहरू छोइनु हुन्नथ्यो र अञ्जानवश छोइएमा ढोग्नु पर्दथ्यो । नत्रता शिर उठाउनी राखेर पञ्चभलाद्मी सामू शिर निहुराउनु पर्दछ, दण्ड जरिवानामा । यसो नभए फुङ्वालेम् (फूल ओइलिने) भन्ने विश्वास थियो याक्थुङ् समाजमा र छ । यहाँ पुग्न घरदेखि आधादेखि एकघण्टासम्म टाढाका गाउँका युवा–युवतीहरू भेलिएर रहौश गर्दथे । धान नाच्थे, पालाम गाएर । ख्याली भन्थे, धारावाहिक । यस्तो मनोरञ्जन एउटा विन्द्रावनभित्र चल्दथे, बुवा पुस्ताहरूमा । यसै परिवेशमा याक्थुङ् संस्कृतिभन्दा पृथक जातीहरूले मारुनीनाच संस्कारकाहरू आएर धाननाच र पालामको सट्टा मादल बजाई नाच्दथे, मादलको तालमा मारुनी गीतहरूमा रहौशका लागि । तसैले अलिक टाढाकाहरूले मारुनीडाँडा भनेर साँकेतिक नाम जुराएको हुनसक्छ ।

मारुनीडाँडा खासै डाँडा पनि होइन, थुम्की भन्नु पनि उपयुक्त नभएको । तर डाँडा भनिदिए, बुढापाकाहरूले । सुन्दर नाकेडाँडीको शिरमा वल्लोपल्लो दुवैपाटा खोल्सीहरूका मुख भएका र तल्लोपाटा डाँडा आकारमा बसेको जग्गा । मारुनीडाँडाका तलमाथि वा वरीपरी सबै सल्लैसल्लाले उधुम्मै भरीएर सल्लेबन सुन्दरतामा सुसाउँथे, फेञ्चेखोलाको हावा सुसाइसँग मिलेर स न न न न न । सल्लीपिरको चिप्लेटि अर्कै मज्जा र आनन्दता । साँच्चै रमाइलो नै हुन्थे, त्यसबेला । सल्लेजंगल जागो हुँदा रातभर खाल–खालका फ्याउराहरू कराउने, स्यालहरू कराउने, हूँचिलहरू कराउने र बेलामौका मृग कराउने वारीबाट प्रष्ट सुनिन्थे । ती जंगलको माथिल्लो पाटाको भिरमा प्रेतआत्मा (सोघा) समेत कराउँथे भनेर बोजुहरूले सुनाउँथे ।

सालबसाल पिङ् लाएर दशैंदेखि तिहारसम्म बाक्लो र ठूलो सल्लेबनको बीचमा अन्कन्टार पालामका धूनहरू रातभर घन्किन्थे । कत्तिपय, धाननाच्न आउनेहरूको प्रेमविहा हुन्थे भने कत्तिपयले तानीविहा पनि गरिदिन्थे, मारुनीडाँडाले । कुनै–कुनै टोलका टोल शत्रुता पनि हुन्थे, झगडा, लडाइँ र कुटाकुट, काटाकाट पनि गर्दथे । पत्र लेखालेख गरेर दानवीयको चेतको झगडाहरु चल्थे, त्यसताका । यसरी सुन्दर मनका युवायुवतीहरूले विहा गर्ने, माया खेलाउने र सम्बन्ध स्थापना गर्ने गराए भने कत्तिपय कुरुप विचारका युवायुवतीहरूले झगडा गर्ने, व्यभिचार गर्ने अनि अनैतिक सम्बन्ध स्थापना गर्ने बाटो पनि बन्दै गए । पिङ्देखि रिङ्गटा चलेर थुप्प्रै मानिसहरू खस्थे । खस्नेमा मेरो आमा समेत खसेकि थिइन् । जुनबेला म गर्भभित्र थिएँ रे भन्ने कुरा आमा भन्नुहुन्थ्यो । वास्तवमा मारुनीडाँडाले धेरै युवा–युवतीहरू अन्तरसम्बन्धको प्रगाडतालाई रुढतामा परिणत गरिदिए, जिजीविषाकै लागि । जहाँ सल्लाजस्तै अटल र अविचल माया राखेर जीवनभरि अग्ल्याए, गृहस्थमा । सल्लाघारी जस्तै प्रेमसम्बन्धका प्रेमिल जिवाणूहरू फैलाएका थिए, सफा सुसाइका तरंगहरू भएर । 

सयौँ युवा–युवतीहरूका जीवनमा सल्लाझैँ उज्ज्वल भविष्य निर्धारण गरिदिएका मारुनीडाँडामा वर्षेनी डढेलो लाग्न र लगाउन थाले, स्वच्छ प्रेमका खातिर । झगडा, कुटाकुट गर्नु र अर्काको प्रेममा आगो सल्काउनु मानवीय प्रेमीलता थिएन । तर मारुनीडाँडामा भएर छाड्यो । त्यहाँका सल्लाहरू सुसाउन मानिरहेका छैनन् । किनकि वर्षेनी मानवप्रेमले मातेको अमानवीय चेतले झगडाका नाममा आगो लगाइ रहे । 

हरेकवर्ष झगडाका कारण रोटेपिङ् वर्जित भएपछि मारुनीडाँडा विरक्त भइन् । दयाभाव हीनतामा पुरै बदल भए । तर, पनि मंसिर र पुस महिनामा माथि सुर्केनागीका खेतीवाल किसानहरू तल निबू र फेञ्चे खोलाको बाली उठाउन बिहानको पहिलो भालेडाकदेखि राँको बालेर लस्करका लस्कर मारुनीडाँडा ओरालो झर्थे । वरिपरि गाउँ थर्किने गरी ‘बसै माया बस’ स्थायी गीतको बोलीमा युवा–युवतीहरू गाउँदै बिटा, पराल र धानका भारी लिन । कुनै भने यस्तो कुर्लिन्थे, वारीपारी सुतिराखेको मानिसहरूको निद्रा नै भंग हुनेगरी । वारीबाट सुनिन्थे ।
...... 
खोर्सानी पिरो, नुन चर्को हौ
अगाडि झर्ने, कुन थर्को हौ बसै माया बस ।
.......
धानैमा बोक्नु, छ भारी हौ
नागीका दुलाल, भकारी हौ बसै माया बस ।
.......
हामी नि जाने, तै ठौँमा हो
संगैनै फर्कौं, तै गौँमा हो बसै माया बस ।

एबम्रितले माथिकाले तलका राँको समूहहरुलाई गीतबाटै थाहा दिन्थे र पर्खापर्ख गरेर धानको बिटा लिइ आउँथे, मारुनीडाँडा ठाडै उकालो पसिना तपतप चुहाउँदै । आँखीभौंबाट पसिनाको धारै खस्थे । हुनु पनि सनपाटे सहेकेजी बोरामा भरी धानको भारी वा डेढसहे मुठे बाँधिएको परालको भारी बोकेर ठाडो उकालो, क्या गजब । चौतारापिच्छे भारी बिसाएर थर्कमान कुर्लिन्थे, लामो स्वर तानेर ।

मारुनीको माथिल्लो पाटामा चिहानघारी थिए र छन्, पुरानो मूलगल्ली पनि । त्यस ठाउँमा बेलुका रात परेपछि राँकोहरू बल्न थाल्थे, टिलपिल, टिलपिल गरेर । पहिले एउटा बल्ने अनि एउटाबाट दुईतीन चारहुँदै निक्कैवटा हुने, त कहिले निभेको जस्तो एउटामात्र पनि राँको बल्ने । अनि कहिले बल्दाबल्दै हराउँथे, अँध्यारोमा । हजुरमा भन्नुहुन्थे । ‘लु हेर त, राँक्या भूतहरू । ऊ, येक् तुई तिन । इन्धेर्ले सातो लान्छन् नि । चुपचाप सुत् ।’ भन्दै हामीलाई सुताउनु हुन्थ्यो, डर देखाएर । नातीहरु हो नै भनेर मनग्गे डरले सुत्थ्यौँ ।

बुवा पुस्ताहरुले यसरी वर्षेनी रमाइलो बिताएको मारुनीडाँडामा अचेल छोरा पुस्ताहरूको पालामा रोटेपिङ् झुण्डिदैनन् । धाननाच्न त के युवायुवती भेलिने अवसरै गुमेर गए, सालाना झगडाका कारण । न धाननाचेर पालाम बँचाए या त ख्याली नै । न त मारुनी नाच पनि बँचाए । सल्लेबनको सुन्दर दृष्यहरूमा सालबसाल डढेलो लगाउनाले बन सकिँदो अवस्थामा पुग्दै गए । यसो गर्दागर्दै पछिल्लो समयमा वनविनाशले नराम्ररी छोप्यो मारुनीडाँडालाई । नाम्लाले नभ्याउने सल्लाका रूखहरू युद्धमा गोली लागे जस्तै भकाभक ढल्न थाले । छोरापुस्ताका मारुनीडाँडामा वनका विचौलियाहरू छिरेर सातनम्बरी जग्गा धनीहरूले एकाएक दामासाहीमा सल्ला रूखहरू काटेर बेचे, तँछाड मछाड भएर । धनीपूर्जावालाहरू पनि युद्धकै बाटो लिए, सल्लाह जीवनमा । ढाल्दाढाल्दै मारुनीडाँडा नाङ्गिए । वरिपरिका सबै सल्लाघारी जंगलका रूखहरू रित्तिए । अचेल चैतवैशाखको हुण्डरीमा न आवाज दिन्छिन् नत सुसाई पनि । न त्यहाँ सल्लिपिरको चिप्लेटि हुन्छ न त सल्लाको खोटो र दियालो नै । न सल्लाको सिम्टा (आङ्सेक्) नै पाइन्छन् न त विहेभोजका लागि दाउरा नै । घर बनाउन काठ पनि सकियो । अहिले त्यस मूलगल्लीको उकालो–ओरालो भारी बोक्दा न बसै माया बस गीत गाउँछन् । न त बेलुका रात परेपछि ति राँकेभूतहरू खेल्छन् । मनग्गै सुनसान भएर मारुनीडाँडा सुतेकि छन् । नत धानको बिटा उकालिन्छन् यात सहेकेजी सनपाटे बोराभरी धाननै ।

अचेल तेहाँ मोटरबाटोको कच्ची सडकले चिरेको छ उजाडता लिएर । पहिले नदेखिएका जंगलभित्र अंग–प्रत्यंग भिरहरू, खोल्साहरू, ढुङ्गाहरू, जग्गाका तहहरूका करङ् पारदर्शी रूपमा छर्लङ्गै देखिन्छन्, वारीबाट । हरियाली आवरण करुणामय नाङ्गो छ । आफ्नै जीवनचक्रमा मसिना बिरुवाहरू हुर्कन चाहेपनि वर्षेनि डढेलोले क्लिनस्वीप गरिदिन्छन्, वेहदतामा ।

म वारी गाउँबाट बोजुको आख्यान जस्तै बुवापुस्ताको रोटेपिङ् र बाक्लो सल्लाघारी जंगल अनि बसै माया बस गीत र राँकेभूतहरूको टिलपिल प्रकाशका परिवेशहरू हरेक दिन र बेलुका मारुनीडाँडातिर फर्केर हेर्छु र कानहरू लालायित पार्छु तर त्यो महशुस पाउन सकेको छैन, मेरो अंगप्रत्यंगहरूले । सल्लाका सिम्टा, खोटो, दियालो, दाउरा र घर बनाउने काठहरू कहिलेसम्ममा उपयोग गर्न पाइएला भन्ने चनाखो आँखाहरू त्यता घुम्छन् । कहिले आउँला, हरियाली र घनाजंगलको आवरण ? अगाडि सम्झनाकल्पमा सल्लाघारी उभेको आइरहन्छ, अहिलेसम्म ।

कथा लेखनताका सहयोग गर्नुहुने भिम नेम्बाङ् (सत्तेरुपा), दिलकुमार नेम्बाङ् (सार्किटार) र इन्दिरा नेम्बाङ् (सत्तेरुपा)हरूले रमाइलो सहयोग गरेका छन् । सहयोग ऋणी भएकोले पनि म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन्छु ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...

सम्बन्धित समाचार