गफाडीले सबैलाई कुराले जित्छ
बलवानले दुनिया पाखुराले जित्छ
घरभित्रै बुहारी बलात्कृत हुन्छे
अदालतमा मुद्दा ससुराले जित्छ
अर्बुदले हार खान्छ राजधानीसँग
कर्णालीलाई भने दादुराले जित्छ
संगीतले नजितेको प्रेमीको मन
प्रेमीकाले बजाउने चुराले जित्छ
रहस्यले लड्ने हरेक लडाइँमा
बिधुवाले जित्छिन् ,टुहुराले जित्छ ।
तमसुकमा म कैद छु राहदानीमा पनि
छैनन् रहरहरू यो जवानीमा पनि
हिजो निष्ठुरीका ती तस्बिरहरू जलाएँ
आज त्यही मुहार देखेँ खरानीमा पनि
रित्तो मुटु बोकि हिँड्नेले के थाहा पाउँथे
ब्रह्माण्ड अँट्न सक्छ आँखाका नानीमा पनि
ऐनामा कोहि भेट्टाएँ मजस्तै उदास
उही मान्छे पाएँ तलाउको पानीमा पनि
अब म कुनै हालतमा एक्लो हुनेछैन
चोटहरू साथी छन् ,जिन्दगानीमा पनि ।
धनाढ्यलाई लुटे बरु महल भेटिन्छ
मेरो त यार गोजीभरि गजल भेटिन्छ
मैले गजल दिँदा उसले चामल दियोस्
के यो शहरमा यस्तो पसल भेटिन्छ?
मैले फेरि मैन बनेर पुग्न सक्नुपर्छ
जहाँ इस्पातको अवस्था तरल भेटिन्छ
प्यासीलाई नदीले पियो भन्ने बुझ्नु
जब ढुङ्गामाथि एक जोडि चप्पल भेटिन्छ
रहस्यभित्र पनि चिरफार गरेर हेर
उनकै यादको गहिरो अम्मल भेटिन्छ ।
इस्पातको छ छाती उसको मन फूलको छ
काँडा बिझेको मुटुमा धड्कन फूलको छ
त्यसैले तिम्रो महलमा पुतली डुल्दैनन्
मेरो झुप्रो अगाडि आँगन फूलको छ
मान्छे नाङ्गो छ हे मान्छे तेरो पृथ्वीमा
बुख्याँचाले लगा'को पहिरन फूलको छ
मृत्युदण्ड दिईँदैछ कसैलाई चोकमा
बज्रको तरबार छ गर्धन फूलको छ
समृद्द हुनुको पनि रहस्य यही हो
सदीयौँदेखि प्रकृतिमा शासन फूलको छ ।
रहस्य विक्रम चिमरिया कनकाई न.पा. ३ झापाका एक सक्रिय गजलकार हुन् । उनकाे यस अघि "हैसियत" संयुक्त गजल संग्रह "कनकाईका सुस्केराहरू" संयुक्त गजल संग्रह प्रकाशित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।